
“हो ! हामी टीबी अन्त्य गर्न सक्छौंः प्रतिबद्धता, लगानी, कार्यान्वयन” भन्ने नाराका साथ सोमबार मार्च २४ मा विश्वभर क्षयरोग दिवस मनाइयो । क्षयरोग अन्त्य गर्ने प्रतिवद्धता, त्यसका लागि आवश्यक लगानी र कार्यान्वयनमा सक्रियता हुने हो भने हामी यसको अन्त्य गर्न सफल हुनेछौं भन्ने यस वर्षको नाराको अर्थ हो ।
क्षयरोगका बारेमा जानकारी गराउने, चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्ने गर्दा यो रोग निको हुन्छ, डराउनु पर्दैन भन्ने सन्देश प्रवाह गर्नु यो दिवस मनाउनुको उद्देश्य हो । चिकित्सा विज्ञानले संसारमा ठूलो फड्को मारेको छ । असाध्य भनिएका रोग उन्मूलन भएका छन् । तर क्षयरोग उन्मूलनमा अपेक्षित सफलता हात परेको
छैन । अझ यस वर्षको तनहुँको तथ्याङ्कलाई हेर्ने हो भने क्षयरोगीको संख्या बढ्दै गएको छ ।
तथ्याङ्क भन्छ, विश्व जनसंख्याको एक तिहाई जनसंख्या क्षयरोगको जिवाणु संक्रणको जोखिममा छ । नेपालको अवस्था त्यो भन्दा कमजोर । भनिन्छ, नेपालको आधा जनसंख्या क्षयरोगका जिवाणुको संक्रमणमा छ ।
संसारलाई क्षयरोगबाट मुक्त गराउन विश्वका प्रत्येक राष्ट्र, त्यहाँका नागरिकको सामूहिक प्रतिवद्धता, त्यसका लागि आवश्यक लगानी र प्रतिवद्धता कार्यान्वयनमा तदारुकता आवश्यक छ भन्नु पनि यस वर्षको नाराको आशय हो । हामीले सानो सावधानी अपनाउँदा दैनिक क्षयरोगबाट संक्रमित हुने झण्डै ३० हजार नागरिकको नाममा हाम्रो नाम समावेश हुँदैन भन्ने पनि यसको अन्तर्य हो ।
पुरानो नाम खबटे र अहिलेको नेपाली नाम क्षयरोग तथा अंग्रेजी संक्षिप्त नाम टीबी झण्डै दुइ शताब्दीदेखि विश्व मानव समुदायको मुख्य स्वास्थ्य समस्या बन्दै आएको छ । यसलाई किन स्वास्थ्य समस्या भनिएको भने कतिपय रोगहरु देखा पर्दछन्, त्यसको उपचार पद्धतिको विकास हुन्छ अनि हराएर जान्छन् तर क्षयरोग अहिले सम्म पनि विश्व समुदायको टाउको दुखाइ बनेर रहेको छ । अझ हाम्रो जस्तो अल्पविकसित राष्ट्रमा यसको संक्रमण दर अझ धेरै रहने गरेको छ । नेपालमा प्रत्येक वर्ष झण्डै ४० हजार नयाँ क्षयरोगी थपिने र पाँच देखि सात हजारले यसका कारण मृत्यवरण गर्ने गरेको तथ्याङ्क छ । विश्व तथ्याङ्क केलाउने हो भने वार्षिक संक्रमितको संख्या झण्डै ८० लाख हुने अनुमान गरिएको छ भने झण्डै दैनिक पाँच हजार जनाले क्षयरोगका कारण ज्यान गुमाउने गरेको पाईन्छ । यसको अर्थ केही भएको छैन , भएन भन्ने होइन । संक्रमण दर घट्ने तथा मृत्युदर समेत घट्ने भएका छन् । पछिल्लो दुइ दशकमा भएको प्रभावकारी प्रयासका कारण ७४ लाख भन्दा बढी नागरिकको ज्यान जोगिएको विश्व स्वास्थ्य संगठनको दावी छ ।
नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य गर्ने, सन् २०३५ सम्ममा क्षयरोगबाट हुने मृत्युलाई ९५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । यसैगरी सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने लक्ष्य पनि नेपालले राखेको छ । तर ग्रामिण क्षेत्रमा व्याप्त अशिक्षा र गरिबीका कारण यो लक्ष्य सहजै हासिल होला भन्न सकिने अवस्था छैन । खासगरी धूमपान र मद्यपानका कारण मानव शरिरको महत्वपूर्ण अङ्ग फोक्सोमा हुने क्षयरोगको दर हामी कहाँ बढी छ । यसलाई कम गर्न क्षयरोग विरुद्ध जनचेतना जगाउनु नै महत्वपूर्ण काम हुन आउँछ ।
त्यसैले सरकार र सरोकारवाला निकायहरु सबै यस तर्फ सचेत हुनु जरुरी छ । क्षणिक प्रचारप्रसारका लागि सहरी क्षेत्रमा कर्मकाण्डी जनचेतनाका कार्यक्रमहरु चलाएर हाम्रो लक्ष्य पूरा हुँदैन । क्षयरोग विरुद्धको अभियानलाई देशका कुनाकाप्चासम्म लैजानु आवश्यक छ, किनभने अशिक्षा र गरिबीको दुश्चक्रमा फसेका ग्रामिण नागरिकलाई न त क्षयरोगको भयावहता जानकारी छ न उपचार बारेको जानकारी । मलाई क्षयरोग लागेको भनेर थाहा नपाउने त छँदैछ, रोग लागेको थाहा पाएर पनि लुकाउने महारोग त झन भयावह छ ।
तीन हप्ता वा सो भन्दा बढी लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, सास फेर्न गाह्रो भएमा वा छाती भारी भएमा, अचानक शरिको तौल घटेमा, थकान महासुस हुने भएमा क्षयरोग लागेको हुनसक्छ । अर्काे वाक्यमा यस्ता लक्षणहरु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षणहरु देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गराउनु पर्दछ । यो सरुवा रोग भएका कारणले अरुलाई सर्न नपाओस् भन्ने कुरामा सचेत हुनु पनि जरुरी छ । सरकारले क्षयरोगको उपचार निःशुल्क गरेको छ । क्षयरोग चिकित्सकको प्रत्यक्ष निगरानीमा नियमित औषधी सवन गर्दा निको हुन्छ । तर उपचार पद्दतिको विकास भएको छ अनि निःशुल्क उपचार हुन्छ भनेर लापरवाही गर्नु भने हुँदैन । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले क्षयरोगबारे जानकारी राख्नु र सचेत हुनु अनि माथि भनिएका लक्षण देखिनासाथ स्वास्थ्य जाँच गराउनु बुद्धिमानी हो । संसारभर र नेपालमा पनि यो दिवस मनाउनुको अर्थ र उद्देश्य क्षयरोग विरुद्ध आम मानिसमा सचेतना जगाउनु र यसका बारेमा जानकारी गराउनु हो जसका कारण क्षयरोग लाग्ने अवस्था नै नबनोस् । जो कोही पनि माथि उल्लेख गरिएजस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराई यदि रोग पहिचान भएमा चिकित्सकको निगरानीमा नियमित औषधी खाएर पहिले जस्तै पूर्ण स्वस्थ्य बनोस् ।
डा. रोबर्ट कोचले क्षयरोगको कारक व्याक्टेरिया पत्ता लगाएको घोषणा गरेको दिन मार्च २४ को उपलब्धिको सम्झनामा विश्वभर मनाइने क्षयरोग दिवसको मूल उद्देश्य त रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम हो भन्ने कुराको स्मरण विश्व मानव समुदायलाई गराउनु हो । तसर्थ अन्य सावधानीका अतिरिक्त रक्सी तथा चुरोटको सेवन नगर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानाहरु खाने र आफ्ना आफन्त तथा साथीभाइलाई खान सल्लाह दिने गररेर यसको संक्रमण र सम्भावित मृत्यबाट हामीले आफु, आफन्त र साथीभाइलाई बचाउन सक्छौं ।
उत्पादक उमेर समूहलाई संक्रमणको शिकार बनाउने यो रोगबाट बचौं र बचाऔं । हामी सबै क्षयरोगको संक्रमणबाट बच्न सकौं । सन् २०२५ को क्षयरोग दिवसको नाराको सार्थकताको कामना ।