इन्टरनेट अर्थात वर्तमान मानव समाजको अनिवार्य अंश । सूचना तथा सञ्चारको नविनतम् र आधुनिकतम माध्यम । यस्तो लाग्छ इन्टरनेट विना अब मानिसको जीवन सम्भवनै छैन । जहाँ गएपनि हाम्रो पहिलो चासो हुन्छ, यहाँ वाइफाई छ कि छैन भए पासकोड कति हो ? अनि सुरु हुन्छौं समाजिक सञ्जालमा अपडेट हाल्न वा साथी भाइसंग गफिन वा गुगलमा गएर कुनै नयाँ सामग्री खोज्न अथावा युट्युव आदिमा गएर नयाँ भिडियोहरु हेर्न ।
तर पछिल्लो समय जसरी इन्टरनेटमा मानिसहरु आश्रित हुँदै गएका छन् त्यसले निम्त्याउन सक्ने समस्याका बारेमा विचार विमर्शहरु पनि हुन थालेका छन् । जसरी आगोलाई सही ढंगले चलाउन सक्दा हामी त्यसबाट खाना बनाउन वा अन्य काम गर्न सक्छौं र त्यो नभई हाम्रा काम बन्दैनन् तर त्यही आगोलाई राम्ररी चलाउन नजान्दा क्षण भरमै हाम्रो घर खरानी हुन बेर लाग्दैन । त्यसरी नै इन्टरनेटको प्रयोग पनि सहि भयो भने त्यसले हामीलाई राम्रो प्रतिफल दिने वा त्यसबाट फाईदा लिन सकिने हो तर बढी भयो भने चाहीँ यसले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न थाल्दछ । जुनसुकै कुराका पनि सकारात्कम र नकारात्मक पक्षहरु हुन्छन् । त्यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा हो । इन्टरनेटको प्रयोगले खासगरी हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव वा असर पार्दछ जसको चर्चा यहाँ गर्न चाहन्छु ।
सबैभन्दा पहिले त हामी कुनै तनाबबाट गुज्रिरहेका छौं भने यसको प्रयोग मार्फत आफ्नो जस्तै तनाबबाट गुज्रेका र छुटकारा पाएका मानिसहरुको समूहमा हामी आबद्ध हुन सक्छौं ।आफुसंग समानुभूति राख्ने साथी र समूह भेट्न सक्छौं । यसले हामीलाई तनाबबाट मुक्त हुने विभिन्न उपायहरु मिल्न सक्छ र अवश्य पनि हाम्रो मानिसक स्वास्थ्यमा सकारात्मक असर पर्दछ । वर्तमान सन्दर्भमा मानिलिउँ म कोभिडबाट संक्रमित भएको छु र यसले मलाई तनाब दिएको छ भने म इन्टरनेटको माध्यमबाट कोभिड संक्रमिति र कोभिडको संक्रमण भएर उपचार पछि निको भएका विभिन्न मानिसहरुसंग सम्पर्कमा आउन सक्छु । उनीहरुसंगको कुराकानी र अनुभव आदान प्रदानले मलाई कोभिडसंग कसरी लड्ने र विजय प्राप्त गर्ने भन्ने विभिन्न उपायहरु प्राप्त हुन्छ । यसले आफुमात्र कोभिड संक्रमित नभएको र कोभिड संक्रमण हुनु भनेको जीवनको समाप्ती होइन भन्ने थाहा हुन्छ । अरुजस्तै मपनि कोभिडसंग लडेर विजय प्राप्त गर्न सक्छु भन्ने आत्म विश्वास पलाउँछ । यो भनेको मेरो मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक असर हो ।
कुनै कुलतमा परेको मान्छे यसैको सहायताबाट कुलतबाट उम्केका मानिसहरुको सम्पर्कमा जान सक्छ र त्यसबाट उम्कने उपायहरुको बारेमा जानकारी पाउन सक्छ । कुलतबाट आफुलाई मुक्त बनाउन सफल व्यक्तिहरुको सफलताको कथाबाट उत्प्रेरित भएर आफु पनि कुलत मुक्त हुन सक्छ । जीवनका प्रति सकारात्मक भाव उत्पन्न हुन थाल्छ । यसको अर्थ उसमा रहेको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव परेको भन्ने नै हो । यस्ता अन्य थुप्रै उदाहरण हुन सक्छन्, इन्टरनेटको प्रयोगले मानिसको मानसिक स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बारेका ।
इन्टरनेटको प्रयोगबाट हामीले विभिन्न उत्प्रेरणा प्राप्त गर्ने श्रोतहरु प्राप्त गर्न सक्छौं । ठूलो भनिएको संसार इन्टरनेटका कारण सानो भएको छ । अझ भनौं संसार हाम्रो हातको औलामा सिमित भएको छ । हातका औला चलाएको भरमा इन्टरनेटको माध्यमबाट हामी संसार घुम्न, त्यहाँको भूगोल, भाषा, संस्कृति, सभ्यता, खानपान, रहनसहन, रितिरिवाज, भेषभुषा लगाएत सबै विषयमा जानकारी पाउन सक्छौं । यसले हाम्रो ज्ञानको भण्डारलाई भरिदिन्छ र जसरी हामी घरमा धानको भकारी भरिँदा सन्तुष्ट हुन्छौं त्यसरी नै हाम्रो ज्ञानको भण्डार भरिँदा मानसिक रुपमा स्वस्थ्य र फर्तिलो हुन्छौं आर्थत हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ ।
आजकल इन्टरनेटको माध्यमबाट युट्युवा वा लाईभका माध्यमबाट बाढी पहिरो, भूकम्प, आगलागी जस्ता कारणबाट घरबास गुमाएका, अभावका कारण खान नपाएका, घरको बहिष्करणमा परेर घर न गोठको भएका बृद्ध बृद्धा, जटिल रोग लागेका र उपाचार गर्ने पैसा नभएर नागकिय जीवन विताउन बाध्य भएकाहरुका लागि सहयोग जुटाउने र घर, गास, लुगा अनि स्वस्थ्य उपचार गराउनेहरु निकै भएका छन् । यसले एकातिर सहयोग जुटाउनेको मनमा आफुले राम्रो काम गर्न सकेको भनेर अत्मसन्तुष्टि हुुन्छ र उनीहरुको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ भने घर,वास, लुगा र उपचार पाएकाको मानसिक स्वास्थ्यमा पनि उस्तै सकारात्मक असर पर्दछ । यसका साथै टिकटक बनाएर मानिसहरुले आफ्नो अभिनय भोक मेटाएका छन् । १५ सेकेण्डका छोटा भिडियो मार्फत आम मानिसले आफ्नो अभिनय भोक मात्र मेटाएका छैनन् बरु राम्रो कमाई पनि गरेका छन् । देशका नाम चलेका कलाकारमा गनिन पुगेका छन् ।
वर्षाै दखि पररहेका आफन्त, साथी भाई र परिवारका सदस्यसंग जोडिन पाउने इन्टरनेटको अर्काै फाईदा हो । इन्टरनेटको सहयोगमा सामाजिक सञ्जालहरुको माध्यमबाट हामी वर्षौै देखि सम्पर्कमा नरहेका वा सम्पर्कमा रहेर पनि भेटघाट गर्न नपाएका आफन्त, साथीसंगी र परिवारका सदस्यसंग भेटघाट, भलाकुसारी गर्न सक्छौं । सामाजिक सञ्जालमा उसले अभिव्यक्त गरेका विचारहरुमा वा पोष्ट गरेका तस्विरहरुमा लाईक, कमेन्ट र रियाक्ट गरेर हामीले उसंगै रहेको अनुभूति दिलाउन सक्छौं । अहिले त भिडियो कल गर्ने सुविधा पनि आएको छ । कोही सात समुन्द्र पारि छ, भेट नभएको वर्षाै भयो भन्नु पर्ने अवस्था अहिले छैन । यसरी पर रहेका आफन्त, साथीसंगी र परिवारका सदस्यलाई भेट्ने, कुराकानी गर्ने र सम्बन्धमा ताजापन ल्याउने वा पूनः ताजगी गर्ने अवसर इन्टरनेटले हामीलाई दिएको छ । यसले हामी र हाम्रा आफन्त, साथीभाई र परिवारका सदस्यको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ । कोभिडको समयमा विद्यालय उमेर समूहका बालकालिकामा पढाई छुटेका कारणले एकखाले तनाव उत्पन्न भएको थियो । ईन्टरनेटको सहयताले उनीहरु आफ्ना शिक्षकसंग जोडिन पाए र पढाई छुटेको तनाब कम त भयो नै नयाँ तरिकाले पढ्न र सिक्न पाएकोमा मानसिक रुपमा स्वस्थ्य भए ।