Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

तारीख लिनेले जान्नै पर्ने कुरा

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्टभूमिः
मुद्धा मामिला अड्डा अदालत जीवनको अभिन्न अंग जस्तै बनेको छ । कानुनमा भएको व्यवस्था हामीले आफैलाई परेर वा आफन्त छिमेकलाई परेर पनि जान्न बुझ्न र थाहा पाउन पर्दछ । मुद्धा परेपछि हामीले अदालतले दिएको तारीखमा हाजिर हुनै पर्दछ । त्यो समय छ महिनादेखि मुद्धाको प्रकृति र संख्याका आधारमा दुईबर्षसम्म शुरु अदालतमा हिड्न पर्न सक्दछ ।

तारीखमा राख्नुपर्नेः
मुद्धा दायर गर्ने वादी र प्रतिउत्तर दायर गर्ने प्रतिवादी अदालतले प्रतिवादी कायम गर्न पर्ने देखेको पक्षलाई समेत तारीखमा राखेर दुवै पक्षका कुरा सुनेर अदालतले मुद्धाको कारवाही र किनारा गर्दछ ।
तारीखमा नबस्न पनि पाउनेः
अदालतले बोलाएको समयभित्र अदालतमा उपस्थित भै आफ्नो कुरा राखी सकेपछि अर्थात अदालतले बुझ्न पर्ने प्रमाण बुझिसकेपछि फैसला ुहुँदासम्म कुनै पक्ष तारीखमा रहन नसक्ने, नभ्याउने उपयुक्त कारण भएमा अदालतको अनुमति लिएर कुनै पक्ष तारीखमा नबस्न पनि सक्ने व्यवस्था कानुनले गरेको छ ।
एकैदिन तारीख तोक्न पर्नेः
मुद्धाका पक्षलाई एकै दिन तारीख तोक्ने व्यवस्था अदालतले मिलाउनु पर्दछ । मुद्धा दायर गरेको पक्षलाई प्रतिउत्तर पर्ने समयको अनुमान गरी तारीख तोकि प्रतिउत्तर परेपछि दुवै पक्षलाई एकै दिनको तारीख तोक्दै मुद्धाको कारवाही अगाडि बढाउनु पर्दछ ।
प्रयोजन खुलाउनु पर्नेः
तारीखमा हिड्ने पक्षले आउँदो तारीख के कारण र प्रयोजनका लागि बोलाएको हो भनेर थाहा पाउने गरी तारीख पर्चामा कारण र प्रयोजन खुलाउन पर्ने व्यवस्था कानुनले गरेको छ । कारण र प्रयोजन नखुलेको अवस्थामा पक्षले खुलाई माग्न सक्ने त्यो व्यवस्थाले जनाएको छ । जुन काम र प्रयोजनका लागि बोलाइएको हो, सो काम तोकिएको तारीखमा गर्नुपर्नेछ । काम हुन नसकेमा तारीख भरपाईमा पनि त्यसको कारण खुलाई अर्को तारीख तोक्नु पर्दछ ।
तारिख जुधाउन नहुनेः
अदालतले तारिख तोक्दा पक्षको अर्को अदालतमा तारिख परेको मितिमा जुधाउने गरी तारिख तोक्न हुँदैन । सो जानकारी पक्षले अदालतलाई गराउनु पर्दछ । एउटै पक्ष बीच धेरैवटा मुद्धा भएमा सकेसम्म अदालतले एकैदिनको तारिख तोकिदिनु पर्दछ ।
तारीख नगुज्रनेः
मुद्धाको पक्ष एकैदिन एउटा मुद्धामा वा एउटा फाँटको मुद्धामा हाजिर रहेको र अर्को मुद्धा वा अर्को फाँटको मुद्धामा हाजिर नभएको अवस्थामा तारीख गुज्रने छैन । त्यसै गरी अदालतले तारीख तोकेको दिनमा सार्वजनिक विदा परी अदालत बन्द रहेमा तारिख गुज्रदैन । भोलिपल्ट लिन पाईन्छ । थुनामा परेमा त्यसको जानकारी अदालतलाई दिएमा पनि तारीख गुज्रेको मानिने छैन । कुनै पक्षले तारिख गुजारेमा पनि कारवाही भने रोकिने छैन ।
निष्कर्षः
तारीख पर्चामा कारण र प्रयोजन खुलाउने अभ्यासलाई अदालतले सबै अवस्थामा कार्यान्वयनमा ल्याउन सक्दा न्याय पाउन ढिलाई भएको अनुभूति पक्षलाई हुन पाउँदैन ।

Related posts

अन्त्य गरौं महिला माथिका पूर्वाग्रह

admin

समाजको तस्वीर स्वास्थ्यकर्मीको तलब

admin

प्रश्न हराउँदै गएको पत्रकारिता

admin