तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित रामचन्द्र पौडेल देशको राष्ट्रपति भएपछि, बारा क्षेत्र नं. २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि त्यो क्षेत्रका मतदाता पुनः मतदान गर्न बाद्य भए । त्यसैगरी रवि लामिछानेको गृहमन्त्री र सांसद पदै खाइदिने अभिष्ट कार्यान्वयनमा ल्याउन विदेश र नेपालमा बराबर बसोबास गर्ने नेतादेखि उच्च तहका व्यक्तित्वहरुले धारण गरेकै जस्तो रवि लामिछानेको नागरिकता विरुद्ध प्रश्न उठाएर अदालतलाई सिघ्र कानुनी छिद्रको प्राविधिक व्याख्या गर्नै पर्ने अवस्था सिर्जना गराएर रिक्त भएको चितवन क्षेत्र नं. २ मा बैशाख १० गते पुनः निर्वाचन भएको छ ।
उपनिर्वाचन परिणामले रिक्त स्थान पुरा गरेको छ । एक जना अर्थविद्लाई संसदमा पु¥याएको छ । राज्यले कसूरदार करार गर्न खोजेको एकजना व्यक्तिलाई जनता जनार्दनले निर्दोष सावित गर्दै सफाई दिलाएको छ । अर्को एक जना जनमतबाट कारवाहीमा परेका व्यक्तिलाई अर्को क्षेत्रका जनताले संसदमा पु¥याई दिएका छन् ।
सवाल यत्तिमै सकिदैन । २०८० साल बैशाख १० गते सम्पन्न उपनिर्वाचन परिणामले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई राम्रै पाठ सिकाएको छ । सैद्धान्तिक धरातलबाट च्यूत भएर गठबन्धन गरेर सत्तास्वार्थको आहालमा डुबुल्की मारेर राजामहाराजाको रजगजमा रमाइरहेकाहरुलाई पुर्पुरो समाउन बाद्य पार्ने जनादेश उपनिर्वाचनले दिएको छ । अबको जनमत गठबन्धनको नाममा आलोपालो देश लुट्ने नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विरुद्धमा गएको दृष्टान्त तनहुँ र चितवनबाट आएको छ । चितवनको जनादेश भन्दा पनि तनहुँको जनादेशले देशभरका जनताको भावनात्मक धड्कनलाई राजनीतिक बृत्तमा यस पटक जवरजस्त पस्कीदिएको छ ।
तनहुँका जनताले राजनीतिक आर्दश मूल्य मान्यतालाई हेरेर, बुझेर, पढेर यस पटक मतदान गरेको भन्दा त्यति पत्यारिलो हुँदैन । किनभने रामचन्द्र पौडेल, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, गोविन्द भट्टराई, शंकर भण्डारी, प्रदीप पौडेल, बैकुण्ठ न्यौपानेहरु एउटा ध्रुबमा रहेर र अर्को ध्रुवमा गोविन्दराज जोशी रहेर प्रशिक्षित गरेको नेपाली काँग्रेसका मतदाताले नेपाली काँग्रेसको सिद्धान्त बेठीक मानेको हुँदै होइनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सैद्धान्तिक पक्ष पढेकै छैनन् । पटक पटक सांसद बन्ने, मन्त्री बन्ने अनि पुनः बन्नका लागि सैद्धान्तिक धरातल त्यागेर गठबन्धन गर्नेहरुले काँग्रेस छोड्दिन, रुखमै मतदान गर्छु भन्ने कार्यकर्तालाई नै ‘कृतघ्न’ भनेर सराप्दै निषेधको राजनीति गर्न थालेपछि असैह्य भएर चितवनमा जगननाथ पौडेलहरुले, तनहुँमा विश्व वास्तोलाहरुले विद्रोह गरेका हुन् ।
जनादेशको आधारमा एमालेको अवस्था झनै दर्दनाक छ । टुकराज सिग्देल, किरण गुरुङ्ग, केदार सिग्देल, एकबहादुर राना, छिमेकबाट पृथ्वी सुब्बा गुरुङ्ग, खगराज अधिकारीहरुबाट प्रशिक्षित एमाले कार्यकर्ता त नेपाली काँग्रेस भन्दा परिपक्व भन्ने विगतको विश्वास यस पटक धरमरायो । हुन त एमाले कार्यकर्तामा पनि परिवर्तनको चाहान देखियो । अर्थात सबै दलका मतदातामा यस पटक विवेक प्रयोग गर्न नेपाली लोकतन्त्रले उत्प्रेरित गरेको पाईयो ।
पानी बाराबार गर्ने, खेताला, मेलापर्म बाराबार गर्ने, बंशको नाता भन्दा राजनीतिक नातालाई नजिक मान्ने, राजनीतिक लडाईमा जीवन उत्सर्ग गर्न अग्रसर हुने स्वाभिमानी कार्यकर्तालाई पटक पटक सत्तास्वार्थमा गठबन्धनको फेरबदल गर्ने नेता र दलहरुले ब्यूँझाई दिएका छन् । जनतालाई ललीपप देखाएर सत्तास्वार्थमा गठबन्धन गरेर देश र जनता लुट्ने नेताहरुले नमान्ने अनुशासन कार्यकर्ताले मात्रै मानिरहन पर्दैन भनेर दिव्यज्ञान दिएका हुन् । अर्थविद्को रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याती कमाएको व्यक्तिलाई मतदान गर्दा आफ्नो आत्मस्वाभिमान प्रफुल्लित हुने देखेर यसपटक मत फेरी दिएका मात्रै हुन् । लोकतन्त्रको परिभाषा पढाएर आफूलाई राजामहाराजाको शैलीमा प्रस्तुत गर्ने राजनीतिक नेतृत्वलाई यस पटकको जनादेशले ओठ तालु सुकाई दिएको छ । ३२ वर्षमा नेपाली जीवनस्तर सुदृढ गर्न र दशवर्षे सशस्त्र विद्रोहका घाइतेहरुको चहराइरहेको घाउमा मलम लगाउन नसक्ने, सत्याग्रहबाट जीवनउत्सग्र गर्न बाद्य पार्ने, नेपाली युवा उद्यमीलाई दिनदहाडै आत्मदाह गर्न बाद्य पार्ने, कुमारीत्व हरणपछि पनि मृत्यूवरणको नीयती भोगेका किसोरीहरुको आत्मालाई न्याय दिलाउन नसक्ने राज्यसंयन्त्र र त्यसका अनुयायीहरुलाई नेपाली जनमतले बहिष्कार गरेको छ । अब नयाँ पुस्तालाई राजनीतिमा आउन नेपाली जनादेशले आव्हान गरिरहेको छ ।