भनिन्छ, कुपात्रमा परेको अमृत पनि विष बन्छ । नेपालको राजनीति र छिनछिनमा परिवर्तन भईरहने राजनीतिक परिदृश्यहरुलाई नियाल्दा यो भनाई एकदर्म ठिक हो जस्तो लाग्छ । हुन पनि नेपालको सन्दर्भमा राजनीति, राजनीति नभएर लाजनीति भईसक्यो र नेपालको राजनीति गर्ने मानिसहरु बीचको आपसी दोहोरी यतिसम्म फाहोरी भइसक्यो कि त्यसबाट सत्ता र शक्तिको स्वार्थको दुर्गन्ध सिवाय केही आउँदैन ।
संघीयता र गणतान्त्रिक शासन व्यवस्था संसारकै उत्कृष्ट शासन व्यवस्था मध्ये एक हो भन्ने कुरामा दुइमत छैन तर नेपालको सन्दर्भमा संघीयता र गणतान्त्रिक शासन व्यवस्था कुपात्रमा परेको अमृत जस्तो भएको छ । नेताहरुको स्वार्थ, मनोमानी र सत्ता लिप्साले गर्दा संसारको उत्कृष्ट शासन व्यवस्था मध्येको एक गणतान्त्रिक शासन व्यवस्था नेपालमा क्रमशः असफल सावित हुँदै गएको छ । नेपाली जन मानसबाट क्रमशः यो शासन व्यवस्था प्रतिको आशा, भरोषा र विश्वास क्रमशः क्षिण हुँदै गएको छ । जसको केवल अनि केवल जिम्मेबार सीमित नेताहरु नै हुन् । र यसमा पनि थप लाजमर्दाे कुरा चाहिँ यी सीमित नेताहरुलाई आफ्नो गल्तीको कत्तिपनि आभाष छैन, आभाष भएको भए पनि पश्चाताप र आत्मग्लानी छैन । बरु यीनै लाज नभएकाहरु शीर ठाडो पारेर राज्यको शक्ति र श्रोतको गलत दोहन गरेर हाम्रो अगाडि उभिइरहेका छन् । कहिले काहीँ त लाग्छ, यी नेताहरुमा लाज र गाली पचाउने क्षमता बढी हो कि हामी नागरिकमा अन्याय सहने क्षमता बढी ? यी नेताहरु लाज पचेका नकचरा हुन् कि हामी नागरिक निरिह ? यी कुराहरुले बारबार मस्तिष्कमा तुफान पैदा गर्छन् ।
जनताको हक हित र बहुदलीय शासन व्यवस्थाको लागि नेपाली जनताको लडाईँ धेरै पुरानो हो । तर दलीय शासन व्यवस्थामा जनताकौ मत लिएर जनतामाथि नै चरम शोषण गरी स्वार्थ सिद्धीको जनस खालको नाङ्गो नाच अहिले नेताहरुले नाचिरहेका छन्, यो देख्दा लाग्छ बरु नेपालमा दलिय शासन व्यवस्थाको सुरुवात नै नभएको भए हुन्थ्यो होला । बहुदलीय शासन व्यवस्थाको औचित्य के हो ? यसको अर्थ के हो ? यसको अभ्यास कसरी गरिनु पर्दछ ? हामीले नेपालमा यसको आवश्यकता किन महसुस ग¥यौं ? के नेपालमा यो शासन व्यवस्थाको सहि तरिकाले अभ्यास भइरहेको छ ? राजनीतिमा लागेका आफुलाई नेता भन्न रुचाउनेहरुसंग यि कुनै पनि प्रश्नको जवाफ छैन । बहुदलीय शासन व्यवस्थाको सोझो अर्थ हो शासन सत्ता प्राप्तिको लागि स्वस्थ प्रतिस्पर्धा हुने व्यवस्था । दलहरुबीच सरकार निर्माणको लागि आपसमा स्वस्थ प्रतिस्पर्धा गर्ने र जित्ने दलले जनताको हक हितको लागि , देशको विकासको लागि समृद्धिको लागि काम गर्ने । तर विडम्बना हाम्रो देशको राजनीतिक दलहरुसंग चुनावमा एक अर्काको आमने सामने हुने हिम्मतसम्म छैन ।
नेपालको संविधानले निर्वाचनमा स्पष्ट बहुमत ल्याउने राजनीतिक दलले मात्र सरकार बनाउन पाउने संवैधानिक व्यवस्था गरेको छ । निर्वाचनको मत परिणाममा कुनै पनि राजनैतिक दलको बहुमत नआएको खण्डमा गठबन्धनको सरका बन्नु, मिलिजुली सरकार बन्नु, अलग कुरा हो । तर निर्वाचनमा लड्नै डराए, पहिल्यै आफ्नो हार स्वीकार गरेर निर्वाचन लड्नै गठबन्धन गर्नुभन्दा लज्जाको विषय राजनैतिक जीवनमा अरु के हुन सक्छ ? नगर्नु गठबन्धन गरिसकेपछि गठबन्धनलाई देशको समृद्धिको बाटो तिर उन्मुख नगराएर केवल आफ्नो स्वार्थ सिद्धी र शक्ति प्राप्तीको लािग मनोमानी ढंगबाट चल्नु र चलाउनुलाई तानाशाही पनको पनि पराकाष्ठा भन्दा गल्ती होला र ? अहिलको राजनीतिक दलको हर्कत र कुकृत्य राजा महेन्द्र र राजा ज्ञानेन्द्रले गरेको भनिएको “कु” भन्दापनि तल्लो स्तरको छ । नेपाली भाषामा एउटा उखान छ, “कहिँ नभएको जात्रा हाँडी गाउँमा” । अहिलको नेपालको राजनीतिक दृष्य ठ्याक्कै त्यस्तो छ । निर्वाचनको मत परिणामले पहिलो र दोस्रो राजनैतिक शक्ति बनाएको दललाई तेस्रो शक्तिले फनफनी रिगाईरहेको छ । र सत्ताको लालचमा पहिलो र दोस्रो शक्तिपनि तेस्रो शक्तिको पुच्छर बनेर लुरुलुरु घुमिरहेको छ । कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो छ, अवस्था ।
हिजो निर्वाचनको समयमा बहदलीय शासन व्यवस्था र स्वस्थ प्रतिस्पर्धाको धज्जी उडाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावको लािग गठबन्धन गरे । निर्वाचन पश्चात कांग्रेसले आफुलाई प्रधानमन्त्रीको कुर्सी नदिने छाँटकाँट देखेपछि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल एकाएक बुढानिलकण्ठबाट बालकोट पुगे, त्यो व्यक्तिको शरण लिन जोसंग उनले विगतमा सहकार्य गरेर पनि अलग भैसकेका थिए । उनकै शब्दमा भन्नु पर्दा जसको उनी नामसम्म पनि सुन्न चाहँदैनथे । बालकोटबासीलाई पनि निर्वाचन हारेर पाँच वर्षसम्म सत्ता बाहिर वस्नुपर्ने पिरलोले सताइरहेको बेला पेरिसडाँडा लुरुलुरु बालकोट आउँदा त कुवा नै प्यासीको सम्मुख आए सरह
भैगो । आखिर बालकोट तिरका झिँगाहरु पनि यही फोहरी राजनीतिको पानीमा हुर्केका न
परे । एकै क्षणमा विगतका तिक्ततालाई भुलेर गल्र्याम्म अंगालो हालीहाले । शक्तिको लोभ एकातिर थियो भने, मौका मिल्नासाथ पेरिसडाँडाको सबै रुख काटेर बाँङ्गो र वञ्जर बनाई दिने दाउ पनि हुँदो हो । तर पेरिसडाँडाको जंगलमा हुर्केको स्याल पनि कम्तिको त कहाँ हो र ? बालकोटको घामले हरियाली सुकाउने मेसो पाएपछि फुत्त निस्किएर रुखतिर छहारी लाग्न आइहाले । उनलाई जसरी हुन्छ आफु सुरक्षित हुनु जो छ । हिजो शसत्र विद्रोह गर्दैगर्दा राजालाई यो देश तिम्रो बाउका विर्ता होइन् भन्ने प्रचण्डलाई यही लेख मार्फत स्मरण गराउँ कि यो देश तिम्रो बाउको पनि विर्ता होइन । प्रचण्ड एकाएक बालकोट गइदिएर हिस्रिक्क परेर सल्र्याकसुर्लुक भएको बुढानिलकण्ठ निवासीलाई फेरी प्रचण्ड छहारी खोज्दै आएपछि त मरुभूमिमा पानी परे सरह भई
गयो । यसै पनि उ त प्रतिपक्षको धर्म भूलेर सरकारलाई विश्वासको मत दिएर बसेको । हुन्छ नि त्यो एउटा जन्तु, देला र खाउँला भनेर मान्छेको दैलोमा ¥याल काढेर ढुकी वस्ने ठ्याक्कै त्यस्तै । हातमा गास लिएर आउँदै गरेको देखेपछि त के चाहियो र ? फेरी फर्केर नजाओस् भन्नका लागि चाप्लुसी गर्न, चाट्न पुगी त हाल्यो । तर मनको कपट अझै सकिहालेको भने छैन । मनमनै हातको गाँस खाईहाल्छु, त्यसपछि यसको पिँडौलामा कसरी झम्टनु पर्छ मैले जान्या छु भन्ने चाहिँ सोचि नै राछ । आखिर बुदुनो पनि नेपाली राजनीतिको फोहोरी पानीमा हुर्केको न प¥यो ।
अहिले शेरबहादुर, खड्ग ओली र पुष्पकमलले जुन खालको नाटक देखाईरहेका छन्, यत्तिको नाटक त गुरुकुलमा शिक्षा लिएका नाट्यकर्मीहरुले पनि देखाउन सक्दैनन् । प्रचण्डको चरित्र अहिले ठ्याक्कै ती यौनकर्मी महिलाको जस्तो छ, जो जसले बढी पैसा दिन्छ, उसैलाई आफ्नो सर्वस्व सुम्पिन्छे । अनि शेरबहादुर र ओलीको चरित्र ति यौनकर्मी पुरुषको जस्तो छ जो वेश्याले म त हजुरको मात्रै हो नि भनेको सुन्दा मख्ख पर्छ । जबकि उसलाई थाहा छ, उनको रात हिजो अर्कैसंग रंगिन थियो, आज उसंग रंगिन हुँदैछ र शायद भोली अरु कसैसंग । र पनि उ मधुर वाणी सुनेर मख्ख पर्छ । सायद फरक फरक वाणी सुनेर मख्ख पर्दै प्यास मेटाउने बानी परेको हुँदो हो । यस्तो लाजमर्दाे नाटक मञ्चन गर्दैछन्, हाम्रा नेताहरु र फेरी हामी जनताहरु पनि पार्टी–पार्टीको नाममा विभाजित भएर आफ्नाले गरेको जेपनि राम्रो अरुले गरेको सबै नराम्रो भन्ने दासित मानसिकताबाट गुज्रिएर यो अश्लिल नाटक हेरिरहेका छौं । र आफ्नो धिक्कारको पात्र आँफै बनिरहेका छौं ।
संघीय निर्वाचन सकिएको पनि तीन महिना पूरा भएर चौथो महिना लागिसक्यो । यदि यी नेताहरुलाई साँच्चिकै देशको माया हुन्थ्यो भने यतिबेलासम्म सरकारले पूर्णता पाएर पनि एउटा लय समाईसक्नु पर्ने हो । तर विडम्बना दुइ महिना पहिले सरकारमा गएको ठूलो दल एमाले सरकारबाट बाहिरिएको
छ । प्रतिपक्षमा बसेको कांग्रेस सरकारमा जाने तयारी गर्दैछ । केटाकेटी भाँडाकुटी खेल्दा आलोपालो गरेजस्तो । तर अझै पनि यहि नै हो भन्ने निश्चित छैन । पाँच वर्षको लागि सरकार चलाउन जाने हो । पहिलो वर्ष चुनावी वर्ष भन्यो बितायो । दास्रो वर्ष अब छोड्ने बेला भयो भन्यो अल्छी ग¥यो । तेस्रो वर्ष प्रधानमन्त्री फेरीयो, नयाँ प्रधानमन्त्रीको पहिलो वर्ष भन्यो, मन्त्री हेरफेर ग¥यो । विदेश भ्रमण ग¥यो, सकियो । चौथो वर्ष मन्त्रीमण्डललाई पूर्णता दिने भन्यो, भागवण्डा मिलाउँदै खत्तम । पाँचौ वर्ष आगामी निर्वाचनको तयारी गर्दैमा ठिक्क, काम नगरेपनि ग¥याछौं भनेर जनताको आँखामा धूलो हाल्दैमा ठिक्क । पाँचवटै वर्ष यसरी बिताएपछि देश र जनताको लागि काम चाहिँ कहिले गर्छौ
हँ ?
नेपालमा संसदको बैठक चलेको दिन मध्ये आजसम्म एकदिन पनि यस्तो छैन जुन बैठकमा एउटा नेताले अर्काेका पार्टीको नेतालाई गाली नगरेको होस् र एकदिन पनि यस्तो छैन जुन बैठकमा देशलाई कसरी विकासको बाटोमा लैजान सकिन्छ, कसरी समृद्ध गराउन सकिन्छ भनेर छलफल भएको होस्, बहस भएको होस् । आफ्नो पार्टीको नेताले अर्काे पार्टीको नेतालाई गाली गर्दा परर ताली बजायो । अझ हातलाई पनि किन दुःख दिनु कुर्सीमा अडेस लगाएर टेबुल ठटायो । रोष्टममा गएर थुकका छिटा उछिट्याउँदै चोर औला उठाउँदै अरुलाई गाली ग¥यो । माहोल आफ्नो पक्षमा होला जस्तो छैन भने संसद छोड्यो हिँडिदियो । भत्ता पाक्यो बैठक खत्तम । यसरी हुन्छ, देशको विकास ? देशको युवा शक्तिलाई देशमै राख्नुपर्छ , आविष्कारको ढोका खोल्नुपर्छ भनेर अमेरिका जस्तो देशमा अनगिन्ती सम्भावनालाई छाडेर आएका महावीर पुनहरुको आविष्कार केन्द्र चन्दाको भरमा चलिरहेछ । संस्थालाई जीवित राख्न महावीर पुन जस्ता सपुतहरु आफ्नो नीजि सम्पत्तिको विक्री गर्दैछन् । तर यो देशका कुपुत्रहरु कहिले उपचार खर्चको नाममा त कहिले प्रतिष्ठानको नाममा देशको ढुकुटीबाट लाखौ करोडौं असुली रहेका छन् । सिन्को नभाँचेकाहरु पूर्व विशिष्टको व्यक्तित्वमो नाममा करोडौं करोड रुपैया वर्षेनी यो राज्यबाट चुसी रहेका छन् । यसरी आउँछ, देशमा समृद्धि ?
अहिले नेपालमा राष्ट्र बैकले बैंकहरु धमाधम मर्ज गर्दैछ । बैंकको संख्या धेरै भएको तर कार्य सम्पादन राम्रो नभएको एवं व्यवस्थापन कठिन भएकोले बैंकहरु मर्ज हुँदैछन् । यदि नेपालको राजनीतिलाई पनि सुधार्ने हो भने बैंक जस्तै राजनैतिक पार्टीलाई पनि मर्ज गर्नुपर्छ । ५ जना मिल्याछ, पार्टी खोल्याछ । यो चुनाबमा भएको पार्टी अर्काे चुनाव आइपुग्दा हुँदैन । अहिले अस्तित्वमै नभएको अर्काे चुनाबमा देखियाछ । त्यसकारण दुइवटा पार्टी मात्र हुने एउटा रुलिङ पार्टी (सरकार पक्ष) र अर्काे अपोजिसन( प्रतिपक्ष) । दुइवटा मात्रै पार्टी भएमा राज्यको निर्वाचन खर्च पनि कम हुने । मन्त्री मण्डलमा भागवण्डा गर्नु पनि नपर्ने । यल्ले छोड्ला, त्यल्ले छोड्ला भन्ने तनाब पनि नहुने । कसैले कसैलाई घुक्र्याउन पनि नपाउने । यस्तो गरे चाहिँ अलिक मेसो आउँथ्यो कि ? र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के लाग्छ भने अहिले देशको कार्यकारी प्रमुख हुने जुन खालको व्यवस्था छ, यो तुरुन्त खारेज गरी देशको कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष रुपमा हुने व्यवस्था ल्याएर यो आलोपालो बाँडीचुँडी खाने व्यवस्थाको अन्त्य गरिहाल्नुपर्छ । तब बल्ल अलिकति आशा गर्न सकिन्छ कि ?
फोहरी लाजनीति
previous post