‘यदि हाम्रो पार्टी सरकारमा पुग्यो भने कुनै पनि युवाले विेदशीनु पर्ने छैन ।’
‘यदि म प्रधानमन्त्री भए भने तीन बर्षमा पाँच लाख युवालाई रोजागरी प्रदान गर्नेछु ।’
‘मलाई मौका दिने हो भने म यो देशको कायापलट गरिदिन्छु । देशलाई स्वीजरल्याण्ड बनाई दिन्छु ।’
माथि उल्लेख गरिएका वाक्यांशहरु नेपालका अधिकाँश राजनीतिक नेतृत्वले प्रयोग गर्ने साझा भनाईहरु हुन् । के काँग्रेस, के एमाले, के माओवादी सबै पार्टीले सत्ताप्राप्तीको लागि उच्चारण गर्ने मूलमन्त्रहरु हुन यी वाक्यहरु । चाहे त्यो शेरबहादुर होस्, या केपि ओली, प्रचण्ड होस् या माधव कुमार । सबै नेता भनाउँदाहरुले आफ्नो राजनीतिक भाषण यी वाक्यहरु प्रयोग गर्न छुटाउँदैनन् । हाम्रो नेताहरुले आफ्नो भाषणमा अर्को नेतालाई गालि गर्ने भन्दा बाहेक बोल्ने भनेको यिनै र यस्तै खालका अरु दुई चार ओटा वाक्यहरु मात्र हो । जुन वाक्यहरु तीन दशभन्दा बढी समयदेखि खाली भाषणमा मात्र सीमित हुन पुगेका छन् । झण्ट्ट सुन्दा यी बाक्यहरु आफैमा सुन्दर छन्, मिठा छन् तर सुन्दासुन्दै नागरिकको कान यति आजित भै सके कि अब न यी वाक्यहरु मिठा लाग्छन्, न यी भनाईप्रति कुनै मोह र विश्वास नै बाँकी छन् । देशभित्रै खास रोजगारीको सिर्जना र विदेशिनु पर्ने वाद्यताको अन्त्य, प्रत्येक राजनीतिक पार्टीले बोकेको मुद्धा हो, हरेक राजनीतिक शक्तिको राजनीति गर्न प्रयोग हुने शास्त्र मध्येको एक शास्त्र हो । तर हाम्रो दुर्भाग्य भनौं या विडम्बना यी शास्त्रहरु राजनीतिक पार्टीको चुनावी घोषणा पत्रहरुमा मात्र सीमित भए । राजनीतिक नेतृत्वले के महसुस गर्न सकेन भने पार्टीको घोषणा पत्रमा सुन्दर अक्षरहरुमा हामी रोजगारी दिनेछौं भनेर लेख्दैमा मात्र नागरिकले रोजगारी पाउँदैनन् । बोलेर दिएको रोजगारीले नागरिकको घर चल्दैन । काम गरेर दिनु पर्दछ । तर हाम्रो राजनीतिक नेतृत्वको आदत सदैव एउटा काम गरेर देखाउने भन्दा ज्यादा दश ओटा कुरा गर्ने र झुटा आश्वासन दिएर जनता छक्याउने तिर मात्रै केन्द्रित भयो । यो खालको राजनीतिक अभ्यास अझै कति समय चल्ने हो भनेर सम्झदा मात्र पनि दिग्दार लाग्ने भै
सक्यो ।
देशमा बेरोजगारीको दर दिनानु दिन बढ्दै छ । तै पनि नेताहरु भन्न छोड्दैनन् – हामी रोजारी दिन्छौं भनेर । दैनिक हजारौं हजारका दरले नेपाली युवाहरु विदेशीदै छन् । पचासौं लाख युवाहरु आज पनि विदेशमा नगदसंग रगत पसिना साट्दै छन् । तै पनि नेताहरु भन्न छोड्दैनन् –अब कोही पनि विदेशिनु पर्दैन भनेर । मलाई यहाँनेर नेता वर्गमा पर्नेहरुसंग सोध्न मन चाहि के लागेको छ भने, हामी रोजगारी दिन्छौ भनेर त तिमीहरु मजाले भन्छौ, तर रोजगारी दिन्छौ चाहि कसरी ? के साच्चै नै विदेशमा कार्यरत लाखौं नेपालीले स्वदेशमै फर्कन चाह्यो भने आधाको आधालाई पनि रोजगारी दिने ल्याकत छ ? बनाएका छौ तिमीहरुले त्यो वातावरण ? विदेशमा कार्यरत युवाहरुलाई स्वदेश फर्काउने गफ छोड, अब नेपालमा बचेका युवाहरुलाई मात्र रोजगारी दिने वातावरणसम्म बनाउन सकेपनि तिम्रो पुस्ताको राजनीति सफल हुन्थ्यो । तर दुःखको कुरा त्यति ल्याकत पनि छैन तिमीहरुसंग । त्यो स्तरको सोचाईसम्म राख्न सक्ने हैसियत पनि छैन । अनि सिन्को पनि नभाँच्नेले हामी प्रत्येक युवालाई रोजगारीको अवसर दिन्छौं भनेर गफ मात्रै किन हाँक्नु ।
मैले आलेखको सुरुवातमै भनेको छु । हामी रोजगारीको अवसर सिर्जना गछौ भनेर प्रत्येक पार्टीले भनेकै हुन्छ । आफ्नो पार्टीलाई बढवा दिन र पार्टीको प्रचार गर्न प्रत्येक नेताले बेलाबेलामा यो कुरा जनतालाई सुनाएकै हुन्छन् । तर खाली के मात्र भन्छन् रोजगारी दिन्छौं । कसरी दिन्छौ कुन क्षेत्रमा कति रोजगारीको अवसर सिर्जना गछौं भनेर स्पष्ट अवधारण त कुनै पार्टीसंग छ न कुनै नेतासंग । यदि हुँदो हो त त्यो पनि सुनाउँथे होला । कृषिको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, व्यापार र व्यवसायको क्षेत्रमा उद्योग कल कार्खानाको क्षेत्रमा वार्षिक कति रोजगारीको संभावना छ ? बािषर््क कति प्रतिशतका दरले बढाउँदै लान सकिन्छ ? त्यसका लागि नागरिकको स्तरबाट के के गर्न सकिन्छ, सरकारको पूर्व तयारी के छ ? पूर्वाधारहरु विकासको अवस्था के छ ? अहँ कसैसंग यसको उत्तर छैन । कुरा छ त खाली के मात्र भने हामी रोजगारी दिन्छौं । कहाँ, के कसरी, दिने हो, कतिलाई दिने हो त्यो चाही दैव जाने । यदि सरकारले हामी बर्षेनी यति संख्यामा नयाँ रोजगारीको अवसर सिर्जना गर्दछौं भनेर भन्न सकने र सोही अनुरुप ठोस कदम चाल्न सक्ने हो भने जति पनि विदेशीएका छन्, वा विदेशीने सोंचमा छन्, ति मध्ये केहीले नेपालमा अड्किने हिम्मत गर्थे कि ? तर हाम्रो देशमा रोजगारी भनेको कि त लोक सेवा लड कि त शिक्षक सेवा । ज्यान परेको छ भने सेना प्रहरी तिर प्रयास गर । यतातिर सक्दैनौ भने न्यून पारिश्रमिकमा कुनै निजी संस्थातिर झुण्डिऊ । बाँकी अरु सम्भावना र अवसरको आश नगर । तै पनि नेताहरु फलाकी रहन्छन् – हामी रोजगारी दिन्छौं ।’ हाम्रो पार्टीले विदेशीनु पर्ने बाद्यता समाप्त पार्दछ । कति पत्याउनु । यिनका झुटा गफ ।
नेपालमा सरकार बनिरहन्छ, ढलि रहन्छ । जब जब नयाँ सरकार बन्छ, तब तब त्यो सरकारले एउटा काम चाही अवश्य गर्दछ । त्यो चाही के भने श्रम सम्झौता नभएको राष्ट्रहरुसंग श्रम सम्झौता गर्ने, कामको लागि विदेश जाने प्रक्रियाहरु सजिलो बनाउने, फ्रि भिसा, फ्रि टिकटको कुराहरु उठाउने ? एकातिर त्यही सरकार नयाँ राष्ट्रहरुसंग श्रम सम्झौता गरेर विदेशीन उत्प्रेरित गर्दछ । ल है तिमिहरुको पसिना बेच्न नयाँ ठाउँ खोजि दिएका छौं । त्यता तिरको बाटो लाग भन्छ, फ्रि भिसा र फ्रि टिकटको लोभ देखाएर नेपाल बस्ने हैनन नि विदेश जाने हो । टिकट र भिसाको पैसा नलाग्ने बनाई दियाछन् भन्छ । अर्कोतिर त्यही सरकार अब कोही पनि युवाले विदेश जानु पर्दैन । हातमुख जोर्नको लागि खाडीमा पसिना बगाउनु पर्दैन, हामी नेपालमै रोजगारी दिन्छौं भनेर ठूला ठूला गफ लगाउँछ । नेपाली उखान आफै बोक्सी, आफै झाँक्री भने जस्तो एकातिर विदेश जाउँ जाउँ भन्ने, फेरी त्यही मुखले कोही पनि विदेशीनु पर्दैन भन्ने । कस्तो लाज र नैतिकता हराएका मानिसहरु ।
देशभित्रै रोजगारीको अवसर सिर्जना गर्दछु भन्ने सरकारले चाहे जुन सुकै पार्टीको होस्, उखु किसानलाई समयमै भुक्तानी दिलाउन सक्दैन । नेपाली किसानहरुले उत्पादन गरेको धानले सही मुल्य पाउँदैन । भारतीय सरकारले नेपाली उत्पादनलाई कप्ल्याक्कै निल्दा पनि नेपाली तरकारीलाई उकास्न सरकार च्यूँसम्म पनि गर्दैन । बेला बेलामा नेपाली नेपाली किसानका दुधहरु नाली भरि बगिरहन्छन् । अन्न भण्डार भनेर चिनेने तराई किसानहरु आफ्नो पसिनाको मूल्य पाउन सिंहदरबारमा धर्ना दिनु पर्ने बाद्यता छ । तै पनि सरकार भन्न छाड्दैन हामी दिन्छौं रोजगारी । अब कृषिमा आमूल परिवर्तन हुन्छ । आधुनिक कृषि क्रान्ति हुन्छ, हाय…. रे तिम्रा मिथ्या गफ ।
सपनै नदेखेर कुरै नगरेर राज्यको विकास हुँदैन । समृद्धि आउँदैन । आज विश्वमा जतिपनि विकसित र समृद्धि प्राप्त गरेका देशहरु छन् । ति कसै न कसैको सपनाको आधारमा टेकेर नै आजको अवस्थामा आईपुगेका छन् । तर सपनै मात्रै देखाएर गफै मात्र लगाएर पनि त देशको विकास सम्भव छैन । हामी समृद्धि ल्याउँछौं भनेकै भरमा देश समृद्ध हुने त होइन होला । त्यसको लागि त काम गर्नु प¥यो । नागरिकलाई पनि काम गर्ने वातावरण बनाई दिनु प¥यो । खाली एउटाले अर्कोलाई अर्कोले अर्कोलाई गालि मात्र गरेर त देश बन्दैन होला । देश बन्नलाई त देशको कसरी बनाउने भनेर पनि सोच्नु पर्दछ होला । दिनरात सत्तामा कसरी पुग्ने, विपक्षीलाई कसरी हराउने भनेर सोंचेर मात्र त देश पक्कै बन्दैन होला । त्यसैले ए नेताहरु हो, पुरा गर्न सक्दैनौं भने छोडि देऊ यी ठूला ठूला गफहरु हाक्न । हाम्रा कान थाकि सके । तिम्रा झुटा झुटा आश्वासन सुन्दा सुन्दा । छोडि देऊ अब कोही पनि विदेशीनु पर्दैन भनेर भन्नलाई । सक्छौ भने हाम्रो पार्टी सरकारमा रहँदा वैदेशिक रोजगारीमा जाने दर यतिले घट्यो, वेरोजगारी दर यतिप्रतिशतले घट्यो । यति युवाले नेपालमै रोजगारी पाए भनेर भन्न सक्ने दिन देखाऊ । त्यो दिन साँच्चि नै मनैदेखि तिमीलाई फुल माला लगाई दिउँला । होइन भने अझै पनि हामी दिन्छांै रोजगारी कोही जानु पर्दैन विदेश भन्दै गफै मात्र चुट्छौ भने याद गर्नु फुलको माला बनाउन बेर लाग्छ, जुत्ताको माला बनाउन लाग्दैन ।