विश्व प्रसिद्ध स्वयम्सेवी संस्था रेडक्रसले स्लोगनको रुपमा प्रयोग गर्ने ‘रक्तदान जीवनदान’ वाक्यांश झट्ट सुन्दा सामान्य लाग्छ । तर यो वाक्याँशले बोकेको अर्थ र दिन चाहेको सन्देश सामान्य छैन । कुनै एक व्यक्तिले रक्त अर्थात रगत दान गर्दा कसैको परिवारको सदस्य, कसैको सन्तान, कसैको अभिभावक, कसैको आफन्त अनि कुनै समुदायको सदस्यले जीवन पाउँछ । कोही टुहुरो हुनुपर्ने, कसैको कोख रित्तिने, कसैको सिंदुर पुछिने अनि जीवनसंगी गुम्ने र पथप्रदर्शक गुम्ने थुप्रै दुःखद नियती रक्तदानबाट टार्न सम्भव हुन्छ । त्यसैले भनिएको हो, ‘रक्तदान जीवनदान’ अर्थात रगत दान गर्नु भनेको जीवन दिनु हो ।
आईतवार जुन १४ मा नेपाल र संसारभर विविध कार्यक्रमका साथ ‘विश्व रक्तदाता दिवस’ मनाइयो । यो दिवस मनाउनुका मूलतः दुई कारण छन् । पहिलो कारण विश्व समुदायलाई रक्तदानको महत्व बुझाउनु । दोस्रो कारण रक्तदान गरेर जीवन प्रदान गर्नेहरुको योगदानको स्मरण र सम्मान गर्नु । यो दिवसले रक्तदानका लागि थप दाताहरुलाई उत्प्रेरित गर्दछ । साथै यो दिवसले रक्तदाताहरुमा मैले यतिपटक रक्तदान गरेर मान्छेको जीवन बचाउने रेडक्रसको अभियानमा सहयोग गरेको छु भनेर आत्मगौरवको अनुभूति पनि दिलाउँछ ।
विश्व स्वास्थ्य संगठनको आव्हानमा मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डिस्टिनको जन्मदिन १४ जुनको अवसर पारेर विश्व रक्तदाता दिवस मनाउने गरिएको हो । सन २००४ देखि मनाउन थालिएको यो दिवसमा रक्तदान कार्यक्रमका अतिरिक्त रक्तदान र रक्तदाताको महत्व बुझाउन ¥याली तथा छलफलहरु आयोजना
गरिन्छन् । यसका साथै रक्तदाता सम्मान कार्यक्रम पनि हुन्छन् ।
आफूलाई कुनै हानी हुने डर वा आशंकाले कतिपय हामी रक्तदान गर्न हिच्किचाउँछौं । तर हामीले बुझ्नु पर्ने के हो भने रक्तदानले हामीलाई कुनै पनि प्रकारको हानी हुँदैन । बरु कसैलाई जीवन दिएकोमा असिम आत्मसन्तुष्टि प्राप्त हुन्छ । त्यसैले १८ बर्ष उमेर पुरा भै ६० बर्ष ननाघेका, सामान्यतया पचास केजी भन्दा बढी तौल नभएका, अनुभवि स्वास्थ्यकर्मिले रक्तदानका लागि सिफारिस गरेका हामी सबै रक्तदानका लागि तयार होऊ । जीवनदानका लागि अग्रसर बनौं ।