विश्वव्यापि महामारी कोभिडका दोस्रो लहरसंग पौंठेजोरी खेलिरहेका नेपाली जनताले फेरी अर्काे संक्रमणसंग पौंठेजोरी खेल्नु पर्ने अवस्था आएको छ । तर यो नयाँ संक्रमणको कारण कुनै जैविक भाइरस नभएर राजनीतिक भाइरस हो । सत्ताको लुछाचुँडी र पद प्राप्तीको लागि जे पनि गर्न तयार हुने राजनीतिक नेतृत्वको विकृत र विरामी मानसिकताले नेपालको राष्ट्रिय राजनीतिमा फेरी एकपटक ठूलो तरङ्ग पैदा गरेको छ । तत्कालिन नेकपा माओवादी केन्द्रसंग चुनाबी गठबन्धन र पार्टी एकिकरण गरी नेपालको पहिलो राजनैतिक शक्ति बनेको तत्कालिन नेकपा एमालेका पार्टी अध्यक्ष, स्पष्ट दुईतिहाई बहुमत प्राप्त सरकारको नेपालको इतिहासमै सर्वशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सहकर्मीहरुको साथ समर्थन नपाएपछि संसदमा विश्वासको मतको लागि गरिएको परीक्षामा असफल भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मतमा अल्पमतमा परेपछि अब ओलीले के गर्लान्, नयाँ प्रधानमन्त्रीको बन्ला, वा फेरी संविधानकै कुनै धारा र उपधाराको सहारा लिएर ओली नै प्रधानमन्त्रीको कुर्सीमा बसिरहलान्, नयाँ प्रधानमन्त्री बन्ने भयो यदि भने राजनैतिक पार्टीको पहिलो पुस्ताले नै कुर्सी कब्जा गर्ला या दोस्रो पुस्तालाई राज्य सञ्चालनको अभिभारा
सुम्पेलान् ? आमनेपालीलाई अहिले कोभिडको डर पछि यहि विषयको चासो र जिज्ञासा छ ।
नेपालको राजनीतिले अब कुन मोड लिन्छ ? यो चासोको विषय त छँदैछ तर प्रधानमन्त्री ओली विश्वासको मतमा अल्पमतमा पर्नुले के चाहिँ छर्लङ्ग पारिदिएको छ भने आफु शाक्तिशाली पदमा छु भन्दैमा आफैलाई मात्र सर्वापरी ठान्न, सबैथोक मै हुँ भन्ने दम्भ राखेर हिँड्ने मानिसको यात्रा लामो र टिकाउ हुन सक्दैन । त्यस्ता दम्भकारीहरुको सरकार पनि विपक्षले ढाली राख्नु पर्दैन आफ्नै पक्षकाले ढालिदिन्छन् । यदि साँच्चै नै ओली भक्तहरुले भनेजस्तो ओली दूरदृष्टि भएका राजनेता भन्न सुहाउने खालको राजनीतिक व्यक्तित्व भएको भए ओलीले आजको दिन देख्नु पर्ने थिएन । विश्वासको मतमा ओली अल्पमतमा पर्नु भनेको माधवकुमार र प्रचण्डलाई थमथमाउन नसक्नुको परिणाम नै हो । या त ओलीले प्रचण्डसंग सहकार्य गर्नु हुन्थेन या त गरिसकेपछि उसलाई पनि आवश्यक र उचित ठाउँ दिनु पर्दथ्यो । ओली यी दुवै कुरामा चुके, पहिलो हतारमा सहकार्यको हात अगाडि बढाए दोस्रो सहकार्य सुरु भइसकेपछि उचित स्थान दिएनन् । आफ्नो बोली र प्रतिबद्धताबाट पछि हटे । फलतः उनलाई आफ्नै सहकर्मीहरुले विश्वास गरेनन् । भनिन्छ नि मित्रता गर्नु भन्दा ज्यादा मित्रता निभाउन सक्नुपर्छ ।
हुन त यदि प्रधानमन्त्री ओलीले अहिले बहुमत पाएको भएपनि उनको अहिलेसम्मको काम गराईको रबैया हेर्दा आगामी निर्वाचनमा उनको स्थान कहाँ पुग्थ्यो त्यो भनिराख्नु नपर्ला तर यति कुरा चाहिँ यथार्थ हो कि प्रचण्डको चित्त बुझाउन सकेको भए उनी पाँच वर्षसम्म ढुक्कले प्रधानमन्त्री हुन पाउँथे । आजको अवस्था पक्कै
आउँदैनथ्यो । अर्काेतर्फ सौताको रिसले पोइको काखमा …..। प्रचण्ड र माधव नेपालहरु पनि दूधका धुला छैनन् । सत्ता र पदको लागि जत्ति पनि गिर्न सक्ने नेताहरुको सूचि बनाउने हो भने यिनको नाम पनि अग्रपङ्तिमै आउँछ । आफुले खोजेको मान नपाएपछि आफ्नै सरकार ढाल्नसम्म पनि पछि नहट्नेहरुको पनि के कुरा गरिसाध्य छ र ? विचरा ओलीलाई विश्वासको मत आह्वान गर्ने अवस्थासम्म पु¥याएको त आखिर प्रचण्डले आफुले सहमति भएजति भाग नपाएर न हो ।
जसले जसलाई अन्तर्घात गरेपनि, जसको स्वार्थ सिद्ध नभएर रिसिवीको कारणले भएपनि ओली अल्पमतमा परे, उनको सरकार ढल्यो । यो आजको यथार्थ हो । तर गम्भीर र महत्वपूर्ण कुरा चाहिँ के हो भने अबको प्रधानमन्त्री को
हुन्छ ? अब नेपाल कसको नेतृत्वमा अगाडि बढ्छ ? राजनीतिक शक्तिहरुको आपसी सहकार्य र तालमेल नमिल्दा फेरी पनि ओली नै प्रधानमन्त्री हुनसक्ने आधारहरु संविधानमा भएपनि पङ्तिकारको नितान्त व्यक्तिगत बुझाई चाहिँ नैतिकताकै आधारमा भएपनि अब ओलीले फेरी त्यो कुर्सीमा बस्न सुहाउँदैन आफुलाई विश्वासको मत प्राप्त नभएको अवस्थामा यदि ओलीले संविधानका आधारहरु भएतापनि प्रधानमन्त्रीको कुर्सी मोह त्याग गरेर अरुको लागि बाटो खुल्ला गरिदिने हो भने उनको बचेखुचेको राजनीतिक साख पनि जोगिन्छ र सत्ता लिप्साको जुन कलङ्क लागेको छ, उनलाई थोरै भएप्नि कम होला ।
एकछिनलाई मानौं प्रधानमन्त्री ओलीले सहजै अरुको लागि बाटो खुला गरिदिए, भलै त्यो ओलीको राजनैतिक चरित्र भित्र पर्दैन र पनि मानौं उनले सहजै वातावरण बनाईदिए, त्यो अवस्थामा अब पालो कसको ? म कुनै एउटा नेताको भक्त होइन, कुनै राजनैतिक विचार, सिद्धान्तप्रति आस्था राख्नु मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा भयो, त्यस कारण म यहाँ कुनै व्यक्ति विशेष भन्दा पनि व्यक्तित्व र चरित्रका कुरा गर्न चाहन्छु । मेरो व्यक्तिगत बुझाई चाहिँ के हो भने भोलीको दिनमा ओलीले सहज वातावरण बनाएको खण्डमा पनि शेरबहादुर, प्रचण्ड, माधव जस्ता व्यक्तिहरु प्रधानमन्त्रीको कुर्सीमा पुग्नु
हुँदैन । किनभने यिनीहरु सबैले विगतमा काम गर्ने मौका पाईसकेका हुन् तर कसैले पनि आफुलाई सक्षम सावित गर्न सकेनन् । मलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ भनेर राम भरोषामा पार्टी संगठन छोड्ने शेरबहादुरबाट अब पनि के आशा गर्नु ? आफुले भनेको नपुगेपछि सरकार नै ढाली दिने प्रचण्ड र माधवकुमारहरु भोली सरकार प्रमुख भएभने कतिसम्म निरंकुश र तानाशाही हुन सक्छन् अड्कल गर्न गाह्रो छैन । त्यस कारण पहिलो पुस्ताका यी कुनैपनि नेताहरु अब प्रधानमन्त्री बन्नको लागि समय सापेक्ष र योग्य छैनन् । अब दोस्रो पुस्ताबाट त्यस्ता व्यक्तिहरु सरकारको प्रमुख हुनुपर्छ जो देशको प्रधानमन्त्री बन्न
सकोस् । नेपाली जनले चाहेको जस्तो प्रधानमन्त्री बन्न सकोस् । खाली सिंहदरबारमा फोटो झुुण्ड्याउन र प्रधानमन्त्री बन्नकै लागि मात्र नबनोस् । विश्वमा त्यस्ता पनि देशहरु छन् जुन देश एउटा व्यक्तिको सोंच र दृष्टिकोणले परिवर्तन भएका
छन् । विकसित भएका छन् । हामीलाई पनि अब त्यस्तै नेतृत्वको खाँचो छ । त्यसकारण अब आममानिसले पनि आफ्नै पार्टीको के विरोध गर्नु भनेर चुप लागेर बस्न हुने अवस्था
छैन । नेतृत्वको गलत निर्णयप्रति कार्यकर्ता तहबाटै विरोध गरिनु अपरिहार्य भएको छ । पूर्व लिखित चलचित्र जस्तै हुन त सम्भव होला नहोला तर अनिल कपुर अभिनित एउटा हिन्दी चलचित्र छ, नायक । हो अहिले नेपालमा त्यस्तै चरित्रको व्यक्तित्व चाहिएको छ, जस्तो चरित्र नायक चलचित्रमा अनिल कपुरको छ । तब मात्र नेपालको राजनीति पनि सफा होला । देशले निकास पाउला ।
देशमा एउटा पद्धति विकास होला । अतः राजनीतिको यो संक्रमणकालिन अवस्थामा हामी सबै नेपाली सचेत भएर आ–आफ्नो ठाउँबाट खबरदारी गर्न जरुरी छ । अबको प्रधानमन्त्री देश र जनताका लागि बन्नु पर्दछ । नकि देश लुट्ने जागिर खानका लागि ।
बन्नकै लागि मात्र नबनोस् प्रधानमन्त्री
previous post