सानो छँदाताकाको एउटा घटना याद आउँछ । हामी बाजे बज्यै सहित संयुक्त परिवारमै थियौं । बुबा पेशाले शिक्षक हुनुहुन्थ्यो । बाजे र आमा आफ्नै खेतीपाती र मेलापातमा पनि जानुपर्ने भएकोले घरधन्दा र सानो बच्चालाई (म स्वयमलाई र पछि भाईलाई पनि) हेर्ने काम बज्यैको हुन्थ्यो । हाम्रो घरसँगै कान्छा बाजेको घर पनि जोडिएको थियो । पानीको पधेँरो अलिक परतिर भएकोले पानी लिन जानुपर्दा बज्यै प्रायः मलाई कान्छा बाजेको घरमा छाडेर जानुहुन्थ्यो । घरमा एक्लै छोडेर जानुपर्ने भएमा सधैँ जसो एउटै कुरा भन्नुहुन्थ्यो– ‘घर भित्रै बस है । बाहिर नआइज । गुजी आउँछ ।’ त्यो अदृश्य र अमूर्त गुजीले बालपन भरीनै मेरो मन मस्तिष्कमा एक किसिमको डर बसाईरह्यो । आफ्नो नातीलाई आउन सक्ने सम्भावित खतराबाट बचाउन त्यतिबेला बज्यैसँग सायद अर्को विकल्प थिएन होला ।
मैले वालपनको यो अनुभवलाई यहाँ उल्लेख गर्नुको कारण चाहि के हो भने बालापन बितेको दुई दशक भन्दा लामो समयपछि फेरी त्यहि प्रकारको अनुभव गर्दैैछु । समयसमयमा सञ्चार माध्यममा आउने खबरहरुले फेरी त्यहि बालापनकै अनुभवहरुको याद दिलाउँछ । फरक यति हो हिजो भन्ने मान्छे अर्कै थियो आज अर्कै छ । हिजो भन्नुपर्ने कारण र अवस्था फरक थियो । आज फरक छ ।
केहि समय पहिले मात्र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जनहितमा जारी एउटा सन्देश पढ्ने मौका पाएँ, सामाजिक सञ्जालमा । सन्देशको आशय यस्तो थियो ः हिन्दुहरुको महान पर्व दशै नजिकिए सँगै भिडभाड बढ्ने र कोरोनाको संक्रमण फैलन सक्ने भएकोले यसपालि दशैंमा टिकाटालो पनि नगरौं । फोनबाटै आर्सिवाद र शुभकामना साटौं । यसपालिको दशैं पुरानै लुगामा मनाऔं । अनावश्यक किनमेल गरेर भिडभाड नबढाऔं । अर्थात जतिसकिन्छ घरभित्रै बसौं । प्रवक्ता ज्यूको जनहितमा जारी यो सन्देश पढ्दै गर्दा कताकता सानोमा बज्यैले घरबाहिर नजाऊ है, गुजी छ भनेको कुरा सम्झना आयो । त्यतिबेला बज्यैले भनेको गुजी साँच्चिकै थियो या थिएन थाहा भएन । तर अहिले चाहि घरबाहिर साँच्चिकै गुजी छ, कोरोना नामको गुजी । माहामारीको यो विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको प्रबक्ताबाट यत्तिको सन्देशमुलुक कुरा आउनु, जायज नै लाग्यो । अरु खबरहरु के के छ भनेर हेर्नको लागि मोवाईलको स्क्रिनमा औंलाले छुनै आँटेको थिए । अन्नपूर्ण पोष्टको त्यो प्रथम पृष्ट झल्याँस्स सम्झिए । जहाँ भनिएको थियो, वेहोस भएमा थाहा हुन लागेमा मात्र अस्पताल आउनु नत्र घरमै बस्नु । अचानक सवालजवाफका ज्वारभाटाहरुले मनको शान्ति भंग गरिदियो ।
डाक्टर सावले आफ्नो सन्देशमा जुन कुराहरु भन्नुभएको छ, त्यो ककसको लागि हो ? निम्न बर्गहरुको लागि, मध्यम बर्गहरुको लागि, वा उच्च बर्गहरुको लागि पनि ? अहिलको वर्तमान अवस्थामा उहाँले भन्नु भएको कुरा ठीक छ, सोह्रै आना ठीक छ, तर कार्यान्वयनका दृष्टिकोणले कत्तिको सम्भव छ ? टिकाटालो नगरौं, फोनबाटै आर्सिवाद लिऔं , पुरानौ लगुगामा दशैं टारौ भन्ने कुरा उच्च तह र ओहोदामा भएका व्यक्तिहरुले कत्तिको मनन् गर्लान् ? स्वयम् प्रवक्ता ज्यू कै परिवार र आफन्तहरुमा यो कुरा लागू होला त ? मैले यसो भन्नुको मनसाय हामीले मनपर्दी गर्न पाउनु पर्दछ भन्ने होइन । हाम्रो स्वास्थ्यको लागि हामी स्वयम् नै सबैभन्दा सचेत हुनु पर्दछ । तर चाडबाडको बेलामा हुन सक्ने भिडभाडलाई मध्ये नजर गरेर आवश्यक सावधानी र मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई कसरी चुस्तदुरुस्त बनाउन सकिन्छ ? कसरी विस्तार गर्न सकिन्छ भन्ने कुरा छाडेर बच्चालाई हाउ गुजीको डर देखाएर घरै बस भने जस्तो टिका नलगा, आर्सिवाद फोनबाटै लिई, वेहोस् नभएसम्म अस्पताल नआईज भन्नु एउटा जिम्मेवार राज्यको स्वास्थ्य मन्त्रालयको प्रवक्तालाई सुहाउने कुरा हो र ? सरकारको एक जिम्मेवार व्यक्तिले नागरिकको लागि सन्देश मुलुक सूचना दिनु राम्रो कुरा हो । तर सन्देशको नाममा सरकारको लाचारी र राज्यको दायित्वलाई खुलेआम निवस्त्र पार्नु एउटा स्वाभिमानी नेपालीको लागि स्वीकार्य कुरा होइन ।
डाक्टरसाव तपाई वेहोस नभएसम्म अस्पताल नआईज भन्नुहुन्छ । ठीक छ हामी तपाईको कुरा मान्छौं । दशैंको लागि एकदम सामान्य तरिकाले मनाउँला । यो पालीलाई किनमेल पनि नगर्ने । सानो तिनो व्यथालाई तातो पानी खाएरै पचाई दिउला । तर दुभाग्र्यवस वेहोस भैहालियो या हुन हुन लागियो भने हामी सर्वसाधारण जाने अस्पताल चाहि कुन हो ? चाहे उपत्यकाको होस् या उपत्यका बाहिरको सबै ठूलो अस्पतालमा वेड खाली छैनन् । एउटा पनि छैनन् भन्ने खालको समाचारहरु त तपाईसम्म पनि पुगेकै होला ? साँच्चै बेड खाली छैन या वेड खाली छैन भनिएको मात्र हो । त्यतातिर पनि ध्यानदृष्टि पु¥याउने कृपा गर्ने हो कि ? कि अस्पतालमा पनि ठूलाठालूको लागि बेड सुरक्षित छ र आनन्दमा हुनुहुन्छ ? तपाई वेहोस् भएपछि मात्र अस्पताल आईज भन्ने, अस्पतालले वेड छैन भनेर भर्ना लिनै नमान्ने, अस्पताल चाहर्दा चाहर्दै विरामीले एम्वुलेन्स मै ज्यान गुमाउनु पर्ने, यसको अर्थ तिमी सर्वसाधारणहरु भाग्यमा भए बाँच, नत्र परे हुन्छ भन्ने नै हो त ?
हे मेरा आदरणीय नेपाली दाजूभाई, दिदीबहिनीहरु, हामी बडोअचम्मको देशको नागरिक हौं । यहाँ महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिन एक रुपयाँ नहुने सरकारसंग सर्प पाल्न करोडौं छ । त्यो पनि सर्प पालिए त हुन्थ्यो । गाडि र फर्निचर किनेरै सकिन्छ । शान्ति सुव्यवस्थाका अभिभावक, गृहमन्त्री बलत्कार जस्तो जघन्य सामाजिक र मानवीय अपराधलाई अंकमा राखेर तुलना गर्दछन् ।
करोडौं अर्बौको भ्रष्टाचारमा मुछिएर पदच्यूत भएका हनुमानहरु फेरी गद्धीमा विराजमान गराईन्छ । क्षेत्रीय टीमको छनौटमा नपरेकाहरु देशको प्रतिनिधित्व गर्न राष्ट्रिय टोलीमा छानिन्छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताहरु वेहोस भएमात्र अस्पताल आउनु खुलेआम रुपमा भन्दैछन् । बडो विचित्रको छ, हाम्रो देश । हाम्रै नजिक छ, भुटान । हामी भन्दा पनि धेरै सानो छ, तर त्यहाँ स्वास्थ्य पनि निःशुल्क छ । शिक्षा पनि निःशुल्क छ । तर हाम्रो विडम्बना निःशुल्कको त कुरै छोडौं । पैसा तिरेर उपचार गर्दछु भन्दा पनि नपाईने अवस्था छ । सरकारले हात उठाएर आत्मसपर्मण गरिसक्यो । अब त उखान टुक्काले पनि धान्न सकेन ।
बाँचेर बसे सबै कुराको हिसाब भोलिको दिनमा गर्न पाईन्छ । त्यसैले यसपालिको दशैं चाहि घरमै ल !
घरै बस ल !
previous post