गत आइतबार नेपालमा र संसारभर शून्य भेदभाव दिवस मनाइयो । भेदभावका अनेक रुप छन् र अनेक कारणले संसारमा मानिसले मानिस माथि भेदभाव गर्दै आएको हामीले पाउँछौं । शून्य भेदभाव दिवस मनाउनुको अर्थ प्रकृतिले सबैलाई समान दृष्टिले हेर्छ भने मानवले मानवप्रति कुनै पनि बहानामा भेदभाव गर्नु हुँदैन भन्ने हो ।
संसारमा मानिस र मानिसबीच रङ्गका आधारमा अर्थात छाला गोरो र कालो भएका आधारमा, जातका आधारमा, धर्मका आधारमा, आर्थिक अवस्थामा आधारमा, शिक्षित भएको र अशिक्षित भएको आधारमा अनि लिङ्गका आधारमा भेदभाव हुने गरेको पाईन्छ । वर्ण वा रङ्गका आधारमा हुने भेदभावले विकसित भनिएको पश्चिमा समाज अझै आक्रान्त छ । त्यहाँ गोरो छाला हुनेहरुले कालो छाला हुनेहरु माथि गर्ने भेदभाव त्यस समाजको कलंकको रुपमा रहेको छ । यस्तो भेदभाव नेपालमा पनि छ । गोरो वा गहुँ गोरो वर्णको नेपाली जन्मैले राष्ट्रपे्रमि हुने र कालो वर्ण भएकाहरुलाई नेपाली कहलाउन गौतम बुद्ध नै भएर जन्मनु पर्ने बिडम्बनाबाट हामी गुज्रियौं र अद्यापि यो कायमै छ । जातका आधारमा हुने भेदभावले नेपाली समाजमा राम्रैगरी जरा गाडेको छ । र भनिरहनु परेन जातका आधारमा हुने भेदभावले हामीलाई विकास प्रक्रियामा कति पछाडि धकेलेको छ ।
लिङ्गका आधारमा हुने भेदभावको पनि त्यस्तै भयावह अवस्था छ, हाम्रोमा । महिला भएकै कारणले समाजमा उसले सहने भेदभावको लामै सूचि बन्न सक्छ । यसैगरी आर्थिक अवस्थाका आधारमा हुने भेदभाव, राजनैतिक वा धार्मीक आस्थाका आधारमा हुने भेदभावले पनि बलियो गरी जरा गाडेको छ । भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो बिष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन । शिक्षा र चेतनाको राम्रै विकास भएको भनिएको बर्तमानमा अझै पनि सर्वश्रेष्ठ प्राणी भनिएको मानिसले मानिसमाथि गर्ने अनकौं खालका भेदभावको श्रृङ्खला अब टुट्नु पर्छ । भेदभाव रहित समाज निर्माणमा हामी सबै लाग्नु जरुरी छ । यदि हाम्रो समाज कुनैपनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ ।
भेदभाव अन्त्यका लागि सबै एकमत बनौं-सम्पादकीय
previous post