हिन्दु धर्म, संस्कृति र चाडपर्वको हिसाबले अस्तित्वमा रहेका अन्य धर्महरु भन्दा अगाडि छ । अर्काे वाक्यमा यस्तो पनि भन्न सकिन्छ, धनी छ । हिन्दु धर्मशास्त्रमा ३३ कोटी देवीदेवता भनेर भनिन्छ । जसको अर्थ ३३ करोड देवीदेवता भन्ने हुन्छ । देवी देवता नै ३३ कोटी भएपछि तिनलाई पुज्ने तौरतरिका, तिनको पुजा–आजापनि पक्कै धेरै हुने भयो र छ पनि । विद्याकी दवी सरस्वती, सरस्वतीको पुज्ने तरिका छुट्टै, धनकी देवी लक्ष्मी, लक्ष्मीको पुज्ने तरिका छुट्टै, प्रथम पुज्य गणेश भगवान, गणेश पुज्ने तरिका छुट्टै, जलका देवता इन्द्र, वायुका देवता छुट्टै, अग्निका देवता छुट्टै, सूर्य पनि देउता, साँच्चै हिन्दु धर्ममा अनगिन्ती देवी देवताहरु छन् । अनगिन्ती देवीदेवताहरु मध्ये त्रिदेवलाई अग्रपङ्तिमा राखिन्छ । त्रिदेव अर्थात ब्रम्हा, विष्णु, र महेश । ब्रम्हा सृष्टि कर्ता, विष्णु पालनकर्ता, र महेश संहारकर्ता । त्रिदेवमा पनि महेश अर्थात शिवलाई महादेव पनि भन्ने गरिन्छ । महादेव अर्थात सबैभन्दा ठूलो देवता । भोली, फागुन ९ गते शुक्रबार उनै देवका पनि देव महादेवको पुजा आराधना गर्दै शिवरात्री मनाईँदैछ ।
हिन्दु धर्मशास्त्रमा पुजिने देवी देउता अनुसार पर्वहरुपनि फरक फरक छन् र पुज्ने तौरतरिका पनि । जस्तै लक्ष्मीलाई विशेषगरी तिहारमा पुजिन्छ । सरस्वतीलाई वसन्त पञ्चमीमा, दुर्गालाई दशैंमा, सूर्यलाई छठमा आदि । त्यस्तै भगवानलाई विशेष पुजिने पर्वहरु मध्ये एक हो, महाशिवरात्री । शिवभक्तहरुका लागि महाशिवरात्रीको दिन वास्तवमै महत्वपूर्ण दिन हो । महाशिवरात्रीको दिन भगवान् शिवलाई सम्भव भएसम्म शास्त्रोचित विधि पु¥याएर, त्यो सम्भव नभए शुद्ध मनले आफुले जानेका तरिकाले भगवान् शिवको पुजा पाठ गरिन्छ । शिवको प्रतिक मानिने शिव लिङ्गमा दूध, बेलपत्र चढाउने कार्य गरिन्छ । महिलाहरु आफ्नो र आफ्नो परिवारको सुस्वास्थ्य, समृद्धि र दीर्घायूको कामना गर्दै भगवान् शिवको नाममा ब्रत लिन्छन् । समग्रमा भन्दा हिन्दु धर्मावलम्बीहरुको लागि महाशिवरात्रीको आफ्नै महत्व छ । ठूलो महत्व । शिवरात्रीको बारेमा कुरा गर्दै गर्दा शिवरात्री संगै एउटा कुरा जोडिएर आउँछ, बुटी, प्रसाद मतलब गाँजा ।
शिवजीको बारेमा कुरा गर्दा होस् या लेख लेख्दा, गाँजाको प्रसङ्ग छुट्न गयो भने अलिक खल्लो खल्लो नै लाग्छ । जनमानसमा पनि शिवरात्रीका दिन अलिकती त तान्नुपर्छ (खानुपर्छ) भन्ने खालको धारणा पाउन सकिन्छ । प्रायः गाँजा सेवन नगर्ने व्यक्तिहरु पनि शिवरात्रीको दिन शिवजीको बुटी, शिवजीको प्रसाद भन्दै गाँजा खाने गरेको देख्न सकिन्छ । सधैं सेवन गर्नेको लागि त त्योे दिन झन दशैं नै भैगो । तसर्थ यस आलेखमा शिवरात्रीको दिन शिवजीको प्रसाद भन्दै गाँजा पिउने जुन चलन बसेको छ (विशेष गरी युवा पुस्तामा) त्यसै सन्दर्भमा आफ्नो धारणहरु राख्ने प्रयास गर्दैछु । मेरो यो आलेख न गाँजा खानुहुन्न भनेर विरोध गर्नको लागि हो न त गाँजा खान पाउनुपर्छ, खानुपर्छ भनेर समर्थन गर्नको लागि नै । यो मेरो नितान्त व्यक्तिगत बुझाई र धारणा हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा प्रकाशित “ नेपाली बृहत् शब्दकोश” मा बुटी शब्दको अर्थ यसरी दिईएको छ । १) औषधको काममा आउने झारपात आदि, वनौषधि बुटी । २) केटाकेटीको रक्षाका निम्ती बाँधिने सानो जन्त्र ३) फुल नफुलिकन फल लाग्ने एक जातको रुख ४) गाँजा, भाङ( शिव ) । त्यस्तै प्रसाद शव्दको अर्थ यसरी लगाइएको छ । प्रसादी–१.देउता वा पुज्य व्यक्तिलाई चढाएको वा चढाएर बाँकी रहेको फलफूल, मिष्ठान्न। २. पवित्र भोजन, नैवेद्य ३. आदरणीय व्यक्तिको जुठो पुरो ।
गाउँघर तिर भेडा बाख्रा वा गाई वस्तुलाई पखाला लाग्दा गाँजा खुवाउने चलन छ । तसर्थ यो औषधिय गुण युक्त वनस्पति हो । अहिलेका नविनतम् अध्ययन अनुसन्धानहरुले गाँजामा औषधिमूलक अन्य विशेषताहरु पनि भएको पाएको कुराहरु आइरहेका छन् । त्यसैले गाँजालाई बुटी भन्नु त्यत्ति गलत पनि नहोला । तर गाँजाको औषधिय गुणले गर्दा बुटी नाम रहन गयो या अन्य कुनै कारण वा प्रसङ्गले, त्यसमा भने मेरो अध्ययन पुगेन । क्षमा चाहन्छु ।
त्यस्तैगरी गाँजालाई शिवजीको प्रसाद पनि भन्ने गरिउको पाईन्छ । शिवजीको पुजा गर्दा प्रसादको रुपमा गाँजा चढाउने गरेको त पङ्तिकारलाई खासै थाहा भएन, शास्त्रमा पनि शिवजीको प्रसादको रुपमा गाँजा सेवन गर्नु भनेर कहिँ कतै लेखिएको छैन होला, सायद । हिन्दु धर्ममा शिवलाई गाँजा,भाङ, धतुरो खाएर सधैं लठ्ठ भई तपस्यामा लीन रहने भोला(सोझो) देउताको रुपमा चित्रण गरेको पाईन्छ । सायद यहि कारणले होला गाँजा सेवनकर्ताहरुले गाँजालाई शिवजीको प्रसाद भन्ने गरेको । वर्षाै देखि योगी बनेकाहरु हुन् या भर्खर गाँजा तान्न सिक्दै गरेका, चिलिममा भरेको होस् या चुरोटको खिल्लीमा रहेको सुर्ती फालेर भरेको, विचार गर्नुपर्छ पहिलो सर्काे तान्नु भन्दा पहिले “जय शम्भो” भन्ने गर्दछन् । यो उनीहरुको शिव प्रतिको भक्ति होला या सायद गाँजा जुठो हुनुभन्दा पहिले शिवजीलाई अर्पण गरेको होला ।
गाँजा सेवन गर्नु नेपालमा गैर कानुनी काम हो । यसको खेती गर्न, बेचविखन गर्न पाईँदैन । यदि त्यसो गरेका खण्डमा कानुन अनुसार सजायको भागिदार हुनुपर्छ । पहिले नेपालमा गाँजा प्रतिवन्धित थिएन । गाँजा खुल्लमखुल्ला सेवन गर्न पाईन्थ्यो । त्यसैले अमेरिकाले भियतनामा आक्रमण गरे पश्चात वैराग्यिका पश्चिमाहरु नेपाल आउने थाले । उनीहरु नेपाल आउनुको प्रमुख उद्देश्य हुन्थ्यो, यहाँ पाइने उच्च कोटीको गाँजा, चरेस सेवन गरी आफ्नै दुनियामा हराउनु । (नेपालमा हिप्पी संस्कृतिको बारेमा लेखिएका पुस्तकहरुमा यसबारे धेरै कुराहरु पाईन्छ ।) यसरी आफ्नो देशको युवा शक्ति नेपालमा आई गाँजा र चरेशको नशामा डुबेर आफ्नो राष्ट्रलाई नै विर्सन खोजेपछि अमेरिकाले नै नेपालमा गाँजालाई गैर कानुनी बनाउन दवाव दिएको हो । र त्यही दवावका कारण गाँजा प्रतिबन्धित हुन पुगेको हो । भलै कानुन नेपालले बनायो तर त्यो कानुन बन्नुमा अमेरिकको हात थियो भन्ने पाईन्छ, विभिन्न विश्लेषकहरुको लेख पढ्दा ।
वर्तमान समयमा छापाहरुमा, सामाजिक सञ्जालहरुमा गाँजाको समर्थनमा पनि विभिन्न लेख रचनाहरु आइरहेका छन् । गाँजा फुकुवा गरिनुपर्छ, स्वास्थ्यको दृष्टिकोणले पनि, व्यवसायिक दृष्टिकोणले पनि गाँजा निकै महत्वपूर्ण रहेको तर्कहरु प्रस्तुत गरिन्छन् । ति कुरा पनि पक्कै सहि र सत्य होलान् । त्यो क्षेत्र तर्फ धेरै ज्ञान र अध्ययन नभएकोले यसै भन्न त सक्दिन तर राष्ट्रिय स्तरका पत्रिकामा छापिएको कुरा पूर्ण रुपमा गलत पनि त पक्कै नहोला । यदि त्यो हो भने सरकारले यस विषयमा राम्रै अध्ययन गर्नुपर्ने हुुन्छ ।
अहो प्रसङ्ग थोरै यताउता हुन गएछ । क्षमा चाहन्छु । मैले यो आलेख मार्फत चर्चा गर्न चाहेको मुख्य विषय चाहिँ गाँजाको गुण, अवगुण नियम कानुनको कुरा भन्दापनि शिवजीको प्रसादको रुपमा गाँजा सेवन गर्ने चलनको विषयमा हो । हामी शिवजीको प्रसाद भन्दै गाँजा तान्न रुचाउँछौं । शिव जस्तै लठ्ठ बन्न मन पराउँछौं । शिव भक्त भन्दै लामो लामो जटा पाल्न रुचाउँछौं । (लामो कपाल हुने सबैले गाँजा खान्छन् भन्ने अर्थमा होइन्) शिवजीको आनिबानी, उनको लवाई खवाई अनुशरण गर्न रुचाउँछौं । तर के हामीले वास्तवमै भगवान शिव को हुन् ? चिनेका छौ त । शिव भक्त हुनलाई गाँजा खानै पर्ने हो त ? लोककल्याणका लागि महादेवले के के गरे, हामीलाई थाहा छ ? के हामी त्यो गर्ने सामथ्र्य राख्छौं ? लोक कल्याणको लागि भगवान शिवले समुन्द्र मन्थनबाट निस्केको कालकुट विष सेवन गरेका थिए । गङ्गा माता धरतीमा बहँदा भएको उर्लापात रोक्न गङ्गालाई आफ्नो जटामा धानेका थिए । के हामीसंग त्यो क्षमता छ ? क्षमतापनि नभनौं , के हामी हाम्रो समाजको लागि त्यस्तै जटिल काम गर्ने साहस मात्र पनि छ ? सतिदेवीको अवसान पश्चात उनको अङ्ग–अङ्ग गलेर नसकिउन्जेल बोकेरै हिँडे । के आजको हामी कलियुगका प्रेमीहरुमा त्यति धेरै त्याग र समर्पण छ ,आफ्नी अर्धाङ्गिनी र प्रेमिकाका प्रति ? भगवान शिव आफ्नो रौद्र अवतारमा आउँदा बाहेक सधैं शान्त र गम्भीर रहन्थे । के हामीपनि त्यस्तै शान्त स्वभावका छौं त ? हो शास्त्रहरुमा भगवान शिवले गाँजा खाने कुरा उल्लेख गरिएको छ । तर हामीले शिवले गाँजा खान्थे भन्ने कुरा मात्र जान्यौं । न त भगवान शिवको अन्य क्षमता र शक्तिलाई अनुशरण गर्न सिक्यौं, न त शिवले किन गाँजा खाए भन्ने नै जान्न चाह्यौं । जान्यौं त केवल शिवले गाँजा खान्छन् । त्यसैले त एक चिलिम जय शम्भो । आफ्नो जीवनलाई सदुपयोग गर्ने नगर्ने, कसरी जिउने, यो प्रत्येक व्यक्तिको व्यक्तिगत कुरा हो । यसको निर्णय गर्न प्रत्येक व्यक्ति स्वतन्त्र छ । हो आज नेपालमा गाँजा प्रतिबन्धित छ । भोली कानुनी मान्यता पाउला÷नपाउला त्यो आफ्नो ठाउँमा छ । स्वास्थ्यको दृष्टिले राम्रो हुन्छ भनिन्छ, त्योपनि सत्य होला तर एउटा कुरा के पनि सत्य हो भने गाँजा नशालु पदार्थ चाहिँ पक्कै हो । अहिले त गैर कानुनी नै भैहाल्यो । तर कानुनी मान्यता पाए पनि अतिले खती भने जस्तो धेरै गाँजा सेवनले राम्रो त नगर्ला । अतः मेरो आशय के हो भने गाँजा एउटा नशा हो । एक पटक शुरु गरेपछि यसको विस्तारै विस्तारै लत पर्न थाल्छ । अनि हामीले आफ्नो लत पुरा गर्न खाने चिजलाई भगवानको प्रसाद भनेर किन त्यसैमा आफ्नो जीवन खेर फाल्नु ? कतै हामी पनि यसपाली शिवजीको प्रसाद चाख्ने तरखरमा त छैनौं ? कतै तपाईँ हाम्रा छोराछोरी पनि यसपाली बुटी लिने सुरसारमा त छैनन ?
1 comment
समसामयिक विषयमा राम्रो लेख्नु भएको छ सर ।