समाज सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक रुपमा विभाजित छ । वर्तमान समयमा केही सिमित व्यक्तिले राजनैतिक शक्तिलाई आफ्नो नियन्त्रणमा लिएका छन् । शक्तिको आडमा भ्रष्टाचार, राजगारीमाथि नियन्त्रण, दमन, शोषण, लटपाट, चोरी, डकैती, हत्या, हिंसा,बलात्कार जस्ता कार्यलाई मलजल गरिरहेका छन् । यो २१ औं शताब्दिको संस्कृतिको रुपमा मौलाएको छ । भ्रष्टाचार, थिचोमिचो, अन्याय, अत्याचार, राजनीतिज्ञ देखि व्यापारीसम्म, मनोरञ्जन देखि शिक्षासम्म जटिल रोगको रुपमा देखापरेको छ । भ्रष्टाचार निमूर्ल गर्ने सरकारी निकाय निकम्मा साबित भएको छ । भ्रष्टाचारलाई यकिन गर्ने सजिलो मापदण्ड सार्वजनिक जीवन र निजी सम्पत्तिको बीचको अन्तरबाट यसको यकिन गर्न सकिन्छ ।
नेपाल जस्ता देशमा भएको ढिलो विकासको कारण भ्रष्टाचार प्रमुख कारणमा पर्दछ । हाम्रो राजनीतिक व्यवस्थामा भ्रष्टाचारको बीउ रोपिएको छ । हाम्रा राजनीतिकर्मीले भ्रष्टाचारको मूलद्वारलाई खुल्ला गरिदिएका छन् । सबैभन्दा बढी भ्रष्टाचार भौतिकपूर्वाधारका योजनामा भएको छ । भ्रष्ट न्यायिक प्रणाली अपराधसंग संघर्ष गर्न असक्षम देखिएको छ । न्यायिक जवाफदेहिता र पारदर्शिताको अभाव छ । केन्द्र सरकारमा भएको भ्रष्टाचारले सिङ्गो देशलाई प्रभावित पार्ने देखिन्छ । राष्ट्रको छ्ट्टै पहिचान र स्वतन्त्रता असम्भव जस्तो भएको छ ।
राजनीतिले समाजलाई एकताबद्ध पार्न र परिवर्तित परिस्थितिसंग अनुकूल बनाउन सकेको छैन । राजनीतिक नेताले सामाजिक संघ, संगठनमाथी नियन्त्रण कायम राखेका छन् । राजनीतिक परिचालन नियन्त्रण भन्दा बाहिर छ । उनीहरु नैतिकता र विधिको राजनीति छोडेर अस्तित्वको राजनीतिमा लागेका छन् । छलकपट नेताद्वारा लिइएको अनैतिक नीति हो । प्रमुख पदमा आफ्ना मानिसलाई दोहो–याइरहेका छन् । यस्ता व्यक्ति राजनैतिक भ–याङको उच्चतहमा पुगेका छन् । आर्थिक उन्नति गरेका छन् । शक्तिको श्रोत व्यक्ति हो संस्था होइन् । संस्था भन्दा माथि व्यक्ति विराजमान भएका छन् । व्यक्तिको विचारबाट शक्ति जन्मिन्छ । शक्ति कार्यान्वयन गर्न भौतिक उपस्थिति आवश्यक हुन्छ । कसरी मानिसहरुको सोचाइमा परिवर्तन आइरहेको छ ? अध्ययन, अनुसन्धान गर्नु अत्यावश्यक हुन्छ । राजनीतिक सदस्यले अराजक, अवान्छित क्रियाकलापलाई अगाडि बढाइरहेका छन् । जस्तै हिंसाजन्य क्रियाकलाप, व्यक्ति हत्या राजनैतिक गुण्डागर्दी । समाजमा व्याप्त हिंसा अन्त्य गर्न असमर्थ भएका छन् । राज्य संचालन गर्ने शासकहरुले कमजोर ढंगले काम कारवाही अगाडि बढाएका छन् । विकास निर्माण योजना कार्यान्वयनमा प्रभावकारी प्रशासन यन्त्रको प्रयोग गरेका छैनन् । राजनीतिको संस्थाकरण र शासनको स्थायित्व काय हुन सकेको छैन । राज्य हाँक्नेहरु आफ्नो पहूँच र प्राथमिकता भित्र परेको साधनको प्रयोग गर्न लिप्त छन् । पक्षपात रहित ढंगले राज्यका संयन्त्रलाई सञ्चालन गर्न सकिरहेका छैनन् । आर्थिक स्रोतलाई दीगो विकासमा परिचालन गनै सकेमा मात्र राष्ट्र रबल र सक्षम बन्दछ । यि यस्ता काममा कुनै गम्भीरता पूर्वक ध्यान दिइएको छैन ।
राजनैतिक कटुता बढ्दै जाँदा बहुमत र अल्पमतका बीचमा उचित व्यवस्थापन नहुँदा राजनैतिक अहम बढ्दै गएको छ । बाह्य हस्तक्षेपको प्रभावबाट सबैले आपफ्नो अनुकुल व्याख्या गरिदिंदा द्वन्दले तिब्र रुप लिनसक्ने संभावना बढेर गएको छ । समाज र राष्ट्र परिवर्तनको दृष्टिकोणले अत्यन्त संवेदनशिल अवस्थामा पुगेको छ । देशमा भएका सम्पूर्ण देशवासी जनता पिडाबाट आक्रान्त छन् । अन्योलग्रस्त बाटोबाट हाम्रो राजनीतिले मोड लिएको छ । क्षमतावान र प्रभावशाली युवा देश बाहिर छन् । ८१ लाख नेपाली युवाहरु विदेशी भूमिमा पलायन भएका छन् । निराशाको कालो बादल पहाड देखि तराई सम्म अनि हिमाल देखि संसारभर छरिएर रहेका नेपालीमो हृदयको स्पनदनमा फैलिएको छ । अब भन्नुहोस् हाम्रो समाज के मा गौरब गर्ने ? अविलम्व सुधारको शुभकामना !