हामीले अनुसन्धान गरिहेका छौं भन्दै पिडितलाई पर्खाउने र न्यायका लागि लाडिरहेकाहरुलाई थकाउने रणनीतिमा यसो गरिएको भन्ने बाहेका अरु विकल्प अब आम नागरिकमा रहेन ।
कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ९ महिना भएको छ । सरकार प्रहरी प्रशासन बलात्कारी हत्याराको खोजी भैरहेको र अनुसन्धान धेरै नजिक पुगिसकेको बताईरहेको छ । नेपाल प्रहरीका सुरुवाती क्रियाकलापले आम नागरिका आशंका पैदा ग–यो र प्रहरी अनुसन्धानमा जे नतिजा आए पनि विश्वास नगर्ने बनायो ।
आम नागरिक प्रहरी पिडितको पक्षम नरहेको बरु पिडकको संरक्षणमा लागेको आशंका गरिरहँदा भएका शंकास्पदहरुको डिएनए परिक्षण प्रहरीकै विधिविज्ञान प्रयोगशालामा गरिनाले नागरिकमा थप शंसय पैदा ग–यो । नेपालमै डिएनए परिक्षणका लागि अर्काे प्रयोगशाला हुँदा–हुँदै जन आग्रहलाई वेवास्ता गरेर प्रहरीको मै परिक्षण गरिनुले प्रहरी माथी शंसय थपेको हो । दोषी पत्ता लगाउन भनेर गठन गरिएका आयोगहरु दोषी पत्ता लगाउनु साटो बरालिएका प्रतिवेदन दिएर पन्छिए । प्रहरी भन्छ, ६० भन्दा बढीको डिएनए परिक्षण भै सक्यो तर कसैको पनि निर्मलाको भेजाइनल स्वाबसंग मेल खाँदैन । त्यसो भए अहिले सम्मको सबै अनुसन्धान भष्मासुरको पारा त रहेछ भन्ने वा हामीले अनुसन्धान गरिहेका छौं भन्दै पिडितलाई पर्खाउने र न्यायका निम्ती लडिरहेकाहरुलाई थकाउने रणनीतिमा यसो गरिएको भन्ने बाहेका अरु विकल्प अब आम नागरिकमा रहेन ।
अहिले सम्मको घटनाक्रम देख्दा तथा प्रधानमन्त्रीको हत्याराको खोजीमा १२ वर्ष पनि लाग्न सक्छ भन्ने भनाइ सुन्दा निर्मलाले न्याय पाउने कुरामा विश्वास घट्दै गएको छ । आफ्नी छोरीको हत्याराको खाजी गरिदिन आग्रह्र गर्न काठमाण्डौं आएका निर्मलाका बाबु आमाले प्रधानमन्त्रीलाई भेट्न एक हप्ता कुर्नु प–यो तर सोही समयमा नेपाल आएका भारतीय अभिनेता गोविन्दाले भने प्रधानमन्त्री ओलीलाई काठमाण्डौं ओर्लेको भोलीपल्ट नै भेट्न पाए । अझ हाल राज्यव्यवस्था समितिकी सभापति समेत रहेकी नकपाकी नेत्रृ सशी श्रेष्ठले त निर्मलाको बलात्कार पछि हत्या गर्ने व्यक्तिलाई कानुनको कठघरामा ल्याउन र कारवाही गर्न माग गर्दै गरिएको आन्दोलनलाई नेकपाको सत्ता विरुद्धको आन्दोलनको संज्ञा दिइन् । एउटी महिलाले अर्की महिलाको न्याय प्राप्तीको लागि भएको आन्दोलनका सन्दर्भमा व्यक्त गर्ने यो भन्दा दुःखदायी टिप्पणी अरु के होला ? यी सबै कुराले हाम्रा चेलीको जीवनलाई कति सस्तो ठानिन्छ भन्ने प्रष्टिँदैछ ।
केही समय अगाडि तत्कालिन कानून मन्त्री शेरबहादुर तामाङले एमविविएस अध्ययनका लागि बंगलादेश जाने नेपाली चेलीले देहव्यापार गर्ने गरेको भनेर नेपाली चेलीको आत्म सम्मानमा ठूलो प्रहार गरे । जसका सूत्रधार थिए, व्यवसायी दुर्गा प्रसाईं । तामाङले त आपत्तिजनक टिप्पणीका कारण सजाय भोगे तर अचम्म प्रसाईं त झन पुरस्कृत भए । नेकपाका अध्यक्षद्वय केपी र पिकेलाई मार्सीको भात खुवाएर आफ्नो प्रभावमा पार्न सफल प्रसाईको अनुकुल निर्णय गर्न सरकारले आफ्नो दुइतिहाईको बल नै प्रयोग ग–यो । राज्य नै महिलाको आत्म सम्मानमा प्रहार गर्नेहरुलाई पुरस्कृत गर्ने गर्छ भने अरुबाट के आशा गर्ने ?
अलि अगाडिको कुरा हो पर्याप्त दाइजो नदिएको भने र जन्ती फर्कंदै गर्दा बाटोमै बेहुली छोडेर हिडे एक बेहुला । हामी अनुमान मात्र गर्न सक्छौं, ति बेहुलीको मनमा कत्रो चोट पुग्यो । यही फागुनको कुरा हो, जीराभवानी गाउँ पालिका–२ की लालसा कुमारीले आत्महत्या गरिन । कारण खोज्दै जाँदा थाहा लाग्यो, आफ्नो बिहेका लागि केटा पक्षले मागेजति दाइजो दिन बाबु आमा असमर्थ पाए पछि उनले आत्महत्याको बाटो रोजेकी रहिछन् । माइतीबाट दाइजोमा घर र कार नल्याएको भन्दै डा. श्रीमान्बाट कुटपिट गरिएकी वीरगञ्जकी सुनिता यादवको यही शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । १५ वर्षे बैवाहिक जीवनमा दाइजो नल्याएका कारण कयौ पटक कुटाई खाईन अनेकौं खालका यातना सहिन । अन्ततः दैनिकको बर्बर यातना सुनिताको शरिरले सहन गर्न सकेन र मृत्युवरण गर्न पुगिन् ।
दाइजो नल्याएका कारण वा छोरा नजन्माएका कारण बर्बर यातनाको शीकार हुनु पर्ने वा मृत्युबरण नै गर्नु पर्ने नेपाली चेलीको संख्या दिनदिनै बढ्दै छ । दाइजोका कारण हुने हत्या र यातनाका घटना शिक्षित र घरानिया परिवारमा बढी नै छ । दाइजो सामाजिक अपराध हो भन्ने कुरा अन्तस्करणबाट सबैले नस्विकार्दा सम्म र पुरुषको जस्तै महिलाको पनि आत्मा हुन्छ र उनिहरुको पनि सम्मान गर्नु पर्छ भन्ने बोध नहुँदासम्म हाम्रा चेलीको आत्मसम्मान र जीवन सस्तो नै भैरहन्छ ।