पृष्ठभूमिः
बालश्रमिक राख्न पाइदैन । राख्न दिनु हुँदैन । वेसहारा, अभिभावक र संरक्षक विहिन अवोध बालबालिका राज्यको संरक्षणमा हुनु पर्दछ । यही मान्यतामा निःशुल्क शिक्षा, संरक्षकत्व, माथवर सम्बन्धी कानूनी व्यवस्थाहरु बन्दै गए । तर कतिपय अवस्थामा बालश्रम बालबालिकाकै हितको लागि आवश्यक देखिएको अवस्थामा, बालश्रमिकका रुपमा रहन बस्न पाउँदा बालबालिकाकै शिक्षा, आवास, स्वास्थ्य, लत्ताकपडा, खानपानको उचित प्रबन्ध हुन सक्ने अवस्थामा भने १४ बर्ष पुगेको बालबालिकाको हकमा बालश्रमिक राख्न पाउने वैधानिक प्रावधान राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनले गरेको छ ।
श्रम स्वीकृति लिनु पर्नेः
चौध बर्ष मुनिको बालबालिकालाई श्रमिकको रुपमा रहन बस्न कानूनले निषेध गरेको छ । बालकको आवश्यकताका आधारमा श्रम स्वीकृति लिइ खास खास क्षेत्रमा १४ बर्ष माथिका बालबालिकालाई काममा लगाउन सकिन्छ । काममा लगाउनु अघि श्रमिकको रुपमा काम गर्न सक्ने योग्यताको प्रमाण पत्र लिई सकेको हुनु पर्ने कानूनी प्रावधान छ । त्यसैगरी कुनै प्रतिष्ठानले काम गर्न स्वीकृत उमेर समूहका बालबालिकालाई काममा लगाउनु परेमा सम्बन्धित श्रम कार्यालय वा सो कार्यालयले तोकेको अन्य कुनै निकाय वा अधिकारी र बालकको बाबु, आमा वा संरक्षकको स्वीकृत लिनु पर्दछ ।
ससर्त स्वीकृतिः
श्रम कार्यालयले काम गर्न सक्ने योग्यताको प्रमाण पत्र दिन सक्ने भएतापनि ससर्त स्वीकृति दिनु पर्दछ । बाल बालिकालाई काममा लगाउने संस्था वा प्रतिष्ठानले बालबालिकाको सीप र योग्यताको विकास गर्ने तथा शिक्षा प्रदान गर्ने उद्देश्य समेतका उपयुक्त सर्त लगाएर मात्र त्यस्तो स्वीकृति वा काम गर्न सक्ने योग्यताको प्रमाण पत्र दिनु पर्दछ । सो ससर्त स्वीकृतिको पूर्ण पालना १४ बर्ष उमेर पुरा गरेका नावालकलाई काममा लगाउने संघ सस्था वा प्रतिष्ठानले गर्नु पर्दछ ।
इच्छा विरुद्ध काममा लगाउन नहुनेः
कसैले पनि बाल बालिकालाई फकाई वा झुक्याई वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले कुनै व्यक्तिलाई निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउन हुँदैन ।
बालश्रमिकलाई दिनु पर्ने सुविधाः
बालश्रमिकलाई काममा लगाउँदा विहान ६ बजेपछि र बेलुका ६ बजेको समय भन्दा अघि मात्र काममा लगाउनु पर्नेछ । रातको समयमा काममा लगाउन
हुँदैन । १४ बर्ष उमेर पुगेको नावालकलाई काममा लगाउँदा दिनमा ६ घण्टाभन्दा बढी समय काममा लगाउन हुँदैन । साथै सातामा ३६ घण्टा भन्दा बढी समय काममा लगाउन हुँदैन । उमेर पुगेका श्रमिकलाई ८ घण्टा भन्दा बढी समय काममा लगाउँदा अतिरिक्त पारिश्रमिक दिएर काममा लगाए जस्तो उमेर नपुगेका बालश्रमिकलाई काममा लगाउँदा अतिरिक्त पारिश्रम दिएर वा नदिएर ६ घण्टा भन्दा बढी काममा लगाउँन पाईदैन । बालश्रमिकलाई काममा लगाउँदा लगातार तीन घण्टा भन्दा बढी काममा लगाउन पाईदैन । तीन घण्टा काम गरेपछि आधा घण्टाको आरामगर्ने समय दिनु पर्दछ । एक सातामा १ दिन विदा दिनु पर्नेछ । प्रत्येक तीन घण्टामा पाएको आरामगर्ने आधा घण्टाको समय र साताको एक दिन विदा समेत काम गरेको अवधि मानिने कानूनी व्यवस्था छ ।
फरक फरक श्रम निषेधः
काममा लगाउने संघ संस्था वा प्रतिष्ठानले कुनै एक संघ संस्थावा प्रतिष्ठानमा तोकिएको ६ घण्टा काम गरेको नावालकलाई त्यस्तो संस्था वा प्रतिष्ठान फेरेर पुनः अर्को समय काममा लगाउन नपाउने गरी कानूनले बन्देज लगाएको छ ।
भेदभावगर्न नहुनेः
नावालकलाई काममा लगाउने प्रतिष्ठानले कुनै पनि आधारमा भेदभाव गर्न हुँदैन । लिङ्ग, वर्ण, धर्म वा जातजातिको आधारमा कुनै भेदभाव गर्न हुँदैन । कामको आधारमा समान पारिश्रमिक दिनु पर्दछ । सुविधा पनि समान आधारमा दिनु पर्दछ ।
निष्कर्षः
संघ संस्था, प्रतिष्ठान वा व्यक्तिले बालबालिकालाई काममा लगाउँदा व्यवासायीक स्वार्थले भन्दा पनि मानवताको भावनाले काममा लगाउने हो । आफ्नो व्यवसायी स्वार्थको लागि भन्दा पनि बालकको हीत रक्षार्थ काममा लगादैछु भन्ने भावनाले काममा लगाउने हो । मानौ आफ्नै छोराछोरीलाई काममा लगाइ रहेको छु भन्ने भावनाबाट निर्देशित भएर काममा लगाउने हो । आफूले संरक्षण नगरिदिएमा त्यो नावालकको सबै अवसर र सम्भावनाहरु अबरुद्ध हुने भयो भन्ने मानवीय भावनाले कुनै बालबालिकालाई काममा लगाइयो भने मात्रै माथि चर्चा गरिएको कानूनको पूर्ण परिपालना हुन्छ । तर कानूनको आँखा छलेर व्यवसायीक स्वार्थको लागि सकेको बालश्रमको शोषण गर्ने मनसायबाट काममा लगाइएका थुप्रै उदाहरणहरु छन् । जिम्मेवार निकाय वा पदाधिकारीहरुले इमानदारी पूर्वक खोजि गरेका बखत भेटिने नै छ । त्यसैले नेपाल सरकार अन्तरगतका जिम्मेवार अधिकारीहरु, बालअधिकारको संरक्षण गर्ने मूललक्ष्यका साथ स्थापित संघ संस्थाहरु कानून विपरितको बालश्रम शोषण रोक्न, पूर्ण बन्देज लगाउनजिम्मेवार ढङ्गबाट लाग्नु पर्दछ ।