डायरी
विद्यालयबाट फर्किने क्रममा कमलबारीका गाडीको प्रतिक्षा गर्दै थियौं म र केही साथीहरु । पूर्वतर्फबाट हुँइकिएर आएको एउटा निजी सवारी साधनले सडक पार गर्न लागेको कुकुरलाई ठक्कर दियो । पैदलयात्रुलार्ई ठक्कर दिँदा समेत सकेसम्म भाग्न खोज्ने सवारी चालकले कुकुरलाई ठक्कर दिँदा रोकेर सोधि खोजी गर्ने कुरै भएन । जुन गतिमा आएको थियो त्यही गतिमा गयो पनि । कमेरे रङको, नम्बरको पछिल्लो दुई अंक १८ भएको उक्त गाडीका बारेका थप जानकारी लिने समय नै भएन हामीसंग नजिकैको घुम्ती पार गरेर गाडी क्षणभरमै अलप भयो । आफुलाई ठक्कर दिने गाडीतर्फ फर्केर कुकुरले एक छिन पिडा मिसिएको स्वरमा भुक्यो र विस्तारै हामी भए ठाउँ आयो । आँखाभरी आँसु थिए, दाहिने खुट्टा चलाउनै नमिल्ने गरी दुखेको थियो सायद देब्रे कोल्टो फेरेर बस्यो । शरीर थरथर काँपीरहेको थियो । कुनै मानिसले घरमा राम्रै स्याहारपूर्वक पालेको जस्तो खाइलाग्दो देखिन्थ्यो कुकुर तर कोही मालिक भेटिइरहेको थिएन ।
नेपाल टेलिकम दमौली शाखाको काम सकेर फर्कँदै थिएँ, मालपोत कार्यालयको मोडमा कार्यालयको पर्खालको रेलिङमा बाँधेर राखिएका थुप्रै खसी बोकाहरु देखिए । जाडो मौसम, सजिलोसंग बस्न नमिल्ने र बस्न मिलिहाले पनि चिसो भुईँ, अनि खाली पेट । त्यसमाथि ग्राहकको उचालपछार ।
काठमाण्डौंको यात्राका क्रममा नाकमा डोरी बाँधी बस्न नमिल्ने गरी झुण्ड्याएर ट्रकमा राँगो वा भैँसी लग्दै गरेको दृश्य हामी सबैले देखेको हुनुपर्छ । घण्टौँ लामो यस्तो यात्रा ती पशुहरुले कसरी गर्दा हुन् ? मोटरसाइकल वा साइकलमा वोइलर कुखुरालाई टाउको तल र खुट्टा माथि गरेर झुण्ड्याएर लगेको दृश्य हाम्रा लागि नयाँ होइन ।
गाडीको ठक्करबाट आहत त्यो कुकुरले उपचार अनि आफ्ना मालिकको स्याहार सुरार पाउनुपर्ने होइन र ? अनि मर्नका लागि भोकै, रेलिङमा झुण्डिएर चिसो भुइँमा समय विताउनु पर्ने खसी बोकाले, भैँसी वा राँगोले र कुखुराहरुले त्यो यातनाबाट मुक्ति पाउनु पर्ने होइन ? हाम्रा पुर्खाहरु भन्छन्ः एउटा सज्जनले भुलवस चोरीको अन्न खायो भने उसको मनमा पनि चोरी गर्न विचार आउँछ । त्यसो भए हामीले खाने गरेका ति राँगा, भैँसी, खसी, बोका वा कुखुराका मासु कति हाम्रा लागि हितकर होलान ? पशुहरुका बारेमा त हामीले चासो राखेनौँ तर आफ्नै स्वास्थ्यका बारेमा समेत ख्याल नराख्ने भएकै हाँै हामी ?