22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
Uncategorized

पृथ्वी जयन्तीको सान्दर्भिकता

पुष २७ गते नेपालको भौगालिक एकिकरणका नायक पृथ्वीनारायण शाहका जन्म जयन्ती मनाईंदै छ । झण्डै तीनसय वर्ष अगाडि गोरखाको राजपरिवारमा जन्मेका उनले अढाईसय वर्ष अगाडि व्यक्त गरेका विचारहरु अहिले पनि त्यत्तिकै सान्दर्भिक लाग्छन् ।

दिव्योपदेश मार्फत शाहले व्यक्त गरेका विचार मध्येको एक हो “देश निर्माणमा सम्पूर्ण जातजातिको समान सहभागिता रहेकाले र समान परिश्रम परेकाले देशबाट नागरिकलाई प्रदान गरिने सेवा र सुविधा पनि समानुपातिक रुपमा सबै वर्ग र क्षेत्रका नागरिकले समान रुपमा प्रदान गर्नुपर्छ ।” असमान वितरणका कारण धनी र गरिब बीचको खाडल दिन प्रतिदिन बढ्दै गइरहेका सन्दर्भमा यो विचार झनै सान्दर्भिक हुँदै गएको छ । उत्तरमा रहेको भीमकाय छिमेकी शान्त स्वभावको भए पनि दक्षिणी छिमेकी चतुर रहेकाले सतर्कतापूर्ण सम्वन्ध राख्नु पर्ने पृथ्वीनारायण शाहको विचार आजै देखेर व्यक्त गरे जस्तो लाग्छ, जब हामी भारतले हामी माथि विभिन्न समयमा गरेका गर्न हुने र नहुने व्यवहार भोगिरहेका छौं ।

खेती योग्य जमिनमा घर बनाउन नहुने कुरा के कहिल्यै असान्दर्भिक हुन्छ र ? नेपाललाई इश्वरले रचना गरेका रहेछन् भन्ने भनाइ नेपालको सुन्दरता हेर्दा सत्य प्रमाणित हुन्छ । पृथ्वीनारायण शाहका सन्दर्भमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको विचार मनन् योग्य छ । भट्टराईले भनेका छन्ः शाहको दिव्योपदेश पढ्दा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुन्छ । विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मार्ग निर्देशन आधारभूत रुपमा आज पनि सही छ । पहिले पहिले क्षणिक राजनीतिक फाइदाका लागि शाहलाई विस्तारवादी भनेर सत्तोसराप गर्ने बामपन्थी नेताहरु पुष्पकमल दाहाल, केपी ओली तथा झलनाथ खनालले समेत उनलाई राष्ट्र निर्माताका रुपमा स्वीकार्न थालेका छन् ।

घुस लिने र दिने दुवै देशका शत्रु हुन भन्ने पृथ्वीनारायण शाहको विचार के अहिले पनि उत्तिकै सान्दर्भिक छैन र ? राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि आमनागरिकलाई प्रेरित गर्ने उनका सन्देशको मनन् गर्न सके र कार्यान्वयन गर्न सके पृथ्वी जयन्ती मनाउनुको सार्थकता रहनेछ । राष्ट्रिय एकता दिवसको सबैमा हाम्रो पनि शुभकामना ।

Related posts

चर्चामा कांग्रेस युवा नेता

admin

सर्वाेच्च, व्यस्त कि अस्तव्यस्त ?

admin

नयाँ कानूनमा सुविधाभारको व्यवस्था

admin