
८८ वर्षको उमेरमा क्यान्सरका कारण अमेरिकी न्यायाधीश फ्र्यांक क्याप्रियो गत बुधबार बिते । आम मानिसलाई न्याय दिने उनको शैली प्रेरणादायी देखिन्थ्यो, लाग्थ्यो–हाम्रो देशमा पनि उहाँजस्तो व्यक्ति जन्मिएको भए…!
‘क्याप्रियो शैली’का २ दृष्टान्त
स्कुल क्षेत्रको सडकमा बढी स्पिडमा गाडी कुदाएको आरोपमा एक वृद्धलाई ट्राफिक प्रहरीले दण्डित ग¥यो र मामला अदालतसम्म आइपुग्यो । अदालत आएर वृद्ध मलिन स्वरमा भन्न थाले, “म ९६ वर्षको भएँ । तीव्र गतिमा गाडी चलाउँदिन । आवश्यक पर्दा मात्र बेस्सरी चलाउँछु । छोरो क्यान्सर पीडित छ र हरेक हप्ताका दुई दिन म उसलाई अस्पताल लैजान्छु…।”
न्यायाधीश क्याप्रियोले ती वृद्ध बाउले निर्वाह गरेको जिम्मेवारीको तारिफ गर्दै भने, “तपाईं असल व्यक्ति हुनुहुन्छ । ९६ वर्षको उमेरमा समेत यहाँले निर्वाह गरेको जिम्मेवारी तारिफयोग्य हो । सर, तपाईं र तपाईंको छोरालाई शुभकामनाछ । सुस्वास्थ्यको समेत शुभकामना । तपाईंको मुद्दा खारेज गरिएको छ, घर जान सक्नुहुन्छ।”
एक युवती ट्राफिक नियम उल्लंघन गरेको आरोपमा अदालतमा उपस्थित भइन् । जरिबाना रकम ठूलो थियो । उनले भनिन्, “भर्खरै कलेज पढ्न थालेको छु । परिवारको आर्थिक अवस्था दयनीय छ ।”
क्याप्रियोले युवतीको आँखामा हेर्दै भने, “तपाईं शिक्षा हासिल गर्दै हुनुहुन्छ । तपाईंले जरिबाना तिर्ने होइन, भविष्य जित्नुपर्छ ।” यहाँ पनि न्यायाधीशले जरिबाना कम गर्दै न्यायमा मानवीय दृष्टि देखाए ।
क्याप्रियोले देखाएको न्यायका यस्ता धेरै दृष्टान्त ’कट इन् प्रभिन्स’ नामक टिभी कार्यक्रममा हेर्न पाइन्थ्यो । अहिले पनि युट्युब र अन्य सामाजिक सञ्जालतिर कार्यक्रमको आर्काइभ वा छोटा क्लिप्सहरू उपलब्ध छन् । क्याप्रियोले अदालतभित्र यसरी न्याय सम्पादन गर्ने विषय मूल रूपमा सामान्य मुद्दा (पार्किङ स्थलमा नियम तोडेको, गलत स्थानमा गाडी राखेको, स्पिड लिमिट नाघेको, रातो बत्तीमा गाडी कुदाएको, ध्वनि प्रदूषण गरेको र सडक सुरक्षासम्बन्धी नियम उल्लंघन) बारे हुन्थे । र, त्यस्ता फैसलामा क्याप्रियोले पर्याप्त मानवता र विवेक प्रयोग गर्थे ।
कानूनी पुस्तकमा मात्र सीमित नभई सम्पादन गर्ने निकाय र व्यक्तिमा हुने सहानुभूति र विवेकले न्यायलाई थप गरिमा दिन्छ भन्ने उदाहरण थिए क्याप्रियोका फैसला । क्याप्रियो अब हामीमाझ छैनन्, तर करुणामय न्याय सम्पादनको शैलीले उनलाई सधैँ सम्झन लायक बनाएको छ ।
यताको कुरा
आफ्नो र देशको भने कहानी अर्कै छ । तीन वर्षयता म ब्लड क्यान्सरसँग लडिरहेको छु । रोगले थला पारे पनि समाजलाई केही गर्न सक्छु भन्ने अठोटका कारण क्याप्रियोकै देशबाट झन्डै दशकअघि फर्किएँ । म जहाँ बस्थेँ, त्यहाँको जीवन र उपचार सहज थियो, तर आफ्नै माटो र समाजका लागि केही गर्नुपर्छ, जहाँ रोपिएँ, त्यहाँ फुलेर सुगन्ध छर्नुपर्छ भन्ने चाहनाले मातृभूमि फर्किएँ ।
फर्केपछि बुझेँ, समाज रूपान्तरणको मूल बाटो कमसेकम मेरा लागि राजनीति हो । २०७९ मा सम्पन्न स्थानीय तहको चुनावमा तनहुँको व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरको उम्मेदवार भई प्रतिस्पर्धा गरेँ । विडम्बना, ‘लोकतन्त्रको इन्डिकेटर’ भनिने चुनावमा सहभागी हुने क्रममै मलाई ज्यानै लिने गरी पिटियो । भाग्यले बाँचेँ । हमला गर्नेविरुद्ध किटानी जाहेरी गरेँ, तर सुनवाइ भएन । त्यस क्षणले मेरो आँखामा यस देशको कठोर वास्तविकता देखाइदियो । यहाँ लोकतन्त्र पुस्तिकामा छ, धूलो परेको कानूनका किताबमा न्याय ।
चुनावको नतिजा आयो, २५१ भोटले पराजित भएँ । परिणाम आउँदै गर्दा म भने अस्पतालमा मृत्युसँग लडिरहेको थिएँ । टाउकोमा ७ वटा गहिरो चोट थियो । दमौली, पोखरा, काठमाडौँ हुँदै उपचारको क्रममा मेदान्त अस्पताल (दिल्ली) मा पुगेको थिएँ । मेरा कार्यकर्ता र शुभेच्छुकहरूलाई मतगणनास्थलमा बस्ने वातावरण थिएन । रोचक के भने चुनावमा प्रतिस्पर्धा गर्नेले आफ्नै विपक्षीलाई मरणासन्न हुने गरी पिट्ने÷पिटाउने काम गर्न सक्छ भने मतगणनामा उसले जालसाजी गरेन÷गराएन भनेर कसरी विश्वास गर्ने? त्यो पनि सरकार चलाएकै पार्टीका मान्छेले !
यही शंका र असन्तुष्टिका कारण मेरो पक्षले उच्च अदालतमा मतगणनालाई लिएर मुद्दा हाल्यो । दुई वर्षसम्म त्यो मुद्दा त्यहीँ अल्झिरह्यो । संयोग ठानौँ या सन्देह मानौँ, माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार ढलेपछि मेरो मुद्दाको पालो आयो र उच्च अदालतको डिभिजन बेन्चले पुनः मतगणना हुनुपर्छ भन्दै मेरो पक्षमा फैसला गरिदियो । तर पुनः मतगणना हुनुभन्दा एक दिन अघि उच्च अदालतका रजिस्ट्रारले आदेश जारी गर्दै पुनः मतगणना प्रक्रिया रोकिदिए । न्यायमूर्तिले दिएको आदेशलाई रजिस्ट्रारले रोक्ने, यो कस्तो विडम्बना! त्यसपछि म सो मुद्दा लिएर सर्वोच्च धाउँदै छु ।
मेरो शरीर रोगसँग जुधिरहेको छ, आत्मा अन्यायसँग । मलाई लाग्छ मेरो जीवन व्यक्तिगत पीडाभन्दा पर, मेरो देशको लोकतन्त्र र न्याय प्रणालीको दुर्बलताको प्रतिविम्ब हो ।
रोगले थला पारेको मान्छे म, अस्पताल, अदालत र राजनीति धाउँदै छु । बाँच्ने–मर्ने ठेगान छैन, समाज बदल्छु भन्ने अठोटले तानिएको छु । कहिले भारतको मेदान्त अस्पताल पुग्छु, कहिले भरतपुर अस्पतालको कोठाकोठा चहार्छु, कहिले थैलीमा औषधी बोकेर पोखराको न्यायालय धाउँछु, कहिले सर्वोच्च अदालतको भिडभाडमा हराउँछु । हरेक ठाउँमा एउटै आवाज निकाल्छु–मलाई न्याय चाहियो ।
आँखामा पट्टी बाँधेकी न्यायदेवीले सायद मलाई देखिनन् होला, तर उनको कान त खुलै थियो !
यो मुलुकले थोरै मात्र नागरिकलाई समयमै न्याय दिने गरेको छ । न्याय ढिला दिने बानी परेको छ अदालतलाई । मुद्दा टारिन्छ, कागजका पानामा वर्षौंसम्म थन्किइन्छ । कहिले ‘हेर्न नमिल्ने’ भन्दै पन्छाइन्छ, कहिले मिति पछाडि सारिन्छ । अदालतमा ठोक्किँदा लाग्छ–न्यायभन्दा ढिला केही छैन, तर अन्याय तत्क्षण पाइन्छ ।
शरीरलाई रोगले प्रतिदिन क्षीण बनाउँदै छ, तर अझै आशाको धागो समाइरहेको छु । लाग्छ, मेरो मृत्युपछि पनि मेरो मुद्दा यहीँ टारिँदै, पन्छिइँदै अदालतको कुनै फाइलभित्र हराइरहनेछ । बाँचुन्जेल न्याय पाउँछु या पाउँदिन, थाहा छैन ।
व्यक्तिगत मात्र होइन मेरो संघर्ष, न्याय खोज्ने हरेक आम नागरिकको सामूहिक कथा हो । म त रोगी भएर अस्पताल–अदालत धाइरहेको छु, तर भोलिका दिन मेरो छोरा, नाति र जन साधारणका सन्तानले समेत न्याय पाउन यस्तै पीडा भोगिइरहनुपर्छ कि भन्ने कुराले ज्यादा डर लाग्छ ।
न्यायाधीश फ्र्यांक क्याप्रियोको कर्मले हामीलाई सिर्फ कानून पालनामा मात्र नभई मानवता आधारित हुनुपर्छ भन्ने सम्झाउँछ । हाम्रो देशमा पनि यस्तै न्याय सम्पादन आवश्यक छ, जहाँ पीडित र असहायलाई समयमै न्याय मिलोस्, मानवताको मूल्य कायम रहोस् ।
मसँग समय धेरै छैन । लामो आयुले होइन, सार्थक लडाइँले अर्थ राख्छ जीवनमा । मेरा लागि बाँचेका प्रत्येक पल र दिन उपहार हो । मृत्युको छायासँग हातेमालो गरिसकेको म ‘ओरल कीमो’ खाएर बाँचेको छु । तर जबसम्म म उठ्न सक्छु, जबसम्म मेरो श्वास चलिरहन्छ, तबसम्म लडिरहन्छु । सबैका छोराछोरी र नातिनातिना यस देशमा स्वाभिमानसाथ बस्न सकुन्, सुरक्षित महसुस गर्न सकुन् र गर्वसाथ ‘यो देश हाम्रो हो’ भन्न सकुन् । त्यसका लागि सके र जानेको गरिरहन्छु ।