भोली शुक्रबार, जुलाई ११ मा संसारभर विश्व जनसंख्या दिवस मनाईँदै छ । सन् १९८७ जुन ११ तारिखमा विश्वको जनसंख्या करिब पाँच अर्ब पुगेको घोषणा गरिएको थियो । यही मितिलाई सम्झंदै विश्वभर जुन ११ तारिखमा विश्व जनसंख्या दिवस मनाउन थालियो ।
कुनै पनि देशको यथोचित विकासका लागि सबैभन्दा महत्वपूर्ण तत्व भनेको मानवसाधन हो । मानव साधनको उपलब्धता बेगर देश विकासको परिकल्पना गर्न सकिंदैन । जनसंख्याको आकारले त्यस देशको विकासमा प्रत्यक्ष प्रभाव पार्दछ । जनसंख्याको आकार सानो हुँदा पनि देश विकासले अपेक्षित गति लिन सक्दैन भने अधिक जनसंख्याले पनि त्यस्तै समस्या ल्याउँछ ।
वर्तमान विश्वको चिन्ताको विषय यही हो कि कुनै देशमा आवश्यक जनसंख्या नहुँदा अपेक्षित विकास गर्न सकिएन भन्ने चिन्ता व्याप्त छ भने अल्पविकसित राष्ट्रहरुका लागि अधिक जनसंख्या टाउको दुखाईको विषय बनेको छ । जापान जस्ता देशहरु अल्पजनसंख्याका कारण विकास गर्न नसकिएको निष्कर्षमा पुग्दा हामीपनि त्यही अवस्थामा पुग्न लागेका छौं ।
हाम्रो जनसंख्या वृद्धिदर अपेक्षा गरेभन्दा निकै कम छ र कुनै दिन जनसंख्या वृद्धिका प्रयत्नहरु थालिनु पर्ने हो कि भनेजस्तो छ । हामीसँग आजको दिनसम्म जनसंख्या पर्याप्त छ तर दक्ष जनशक्तिको अभावमा उपलब्ध प्राकृतिक साधनको उच्चतम प्रयोग हुन नसक्दा विकासले अपेक्षित गति लिन सकेको छैन । औद्योगिकरणको अभावका कारण आवश्यक मात्रामा रोजगारीको सिर्जना हुन सकेको छैन । कृषि उत्पादनको उपयुक्त बजार नहुँदा यता तर्फ पनि उत्पादनशिल जनसंख्या आकर्षित हुन सकेको छैन । हाम्रो शिक्षा प्रणालीले श्रमको सम्मान गर्ने जनशक्ति उत्पादन गर्न सकेन ।
देशभित्र रोजगारीको अवसर नहुँदा विदेशिने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ । त्यसैले नेपालको अबको चुनौति भनेको उपलब्ध जनसंख्याको व्यवस्थापन हो । रोजगारीका अवसरहरुको सृजना गर्न सके वा उत्पादक जनसंख्यालाई स्वरोजगार गराउन सके अहिले जुन आकारको जनसंख्या छ, त्यसले देश विकासको गतिलाई तिब्रता दिनसक्छ । जनसंख्याको सहि व्यवस्थापन हुँदै देशले विकासको गति समातोस् । विश्व जनसंख्या दिवसको अवसरमा यहि कामना !
विकास र जनसंख्या-सम्पादकीय
previous post