२०८१ कार्तिक २१ –२३, तीन दिन । गल्बुवेसी टोल सुधार आमा समूह व्यास–१ गल्बुवेसीका पदाधिकारी तथा सदस्य र परिवारको एक जना सम्मिलित टोली मुक्तिनाथ तीर्थाटनमा जाने निर्णय भयो । मेरी पूर्णाङ्गिनी उक्त समूहको सदस्य भएकाले भ्रमण दलमा सहभागी हुने अवसर मलाई पनि मिल्ने भयो ।
आदिकवि भानुभक्त क्याम्पसका लेक्चरर चिजकुमार श्रेष्ठसरले ६१ जना सम्मिलित हाम्रो भ्रमण टोलीलाई आवास खानाको प्रबन्ध मिलाउने अग्रसरता लिएपछि मुस्ताङमा पर्यटकको घुईँचो लाग्ने सिजनमा पनि गास र वासको समस्या नहुनेमा म ढुक्क भएँ । कास्कीको लुम्ले, पर्वतको कुस्मा बजार, म्याग्दीको बेनी, गलेश्वरधाम, तातोपानी, म्याग्दीकै रुप्से झरना अनि लोकगीतमा सुनेको मुस्ताङको लेते, काली नदीले बनाएका गहिरा खोाचहरु सबै नौला थिए मेरा
लागि । मार्फा बजार र नजिकै रहेको मार्फा गाउँ अनि जोमसोम, कागवेनी र मुक्तिनाथ त देख्ने कुरै भएन हेङ्जावेसी कटेर अगाडी नगएको मैले ।
नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ लुम्लेको माटोलाई छुने रहर ममा जति थियो, कुस्मा बजार र अनि सानो छँदा गुनगुनाउने गरको प्रिय गीत “बेनीको बजार, जता मायाँ उतै छ नजर”मा उल्लेखित म्याग्दीको बेनी बजार हेर्ने अभिलाषा त्यति नै थियो । रुपवती रुप्सेलाई अघाउन्जेल हेर्ने, सिनेमामा देखेको मार्फा गाउँ टेक्ने र त्यहाँको वगैंचामा फलेका स्याऊ आफ्नै हातले टिपेर खाने अनि निलगिरी हिमालको काखमा रहेको जोमसोम बजार हेर्ने रहर उस्तै । काली नदी र गण्डकी नदीको संगमस्थल कागवेनी पुगेर पितृ स्मरण गर्ने अनि हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मुक्तिनाथको १०८ धारामा नुहाउने आकांक्षा म मा पनि थियो । र मुक्तिनाथ यात्राका लागि सधैं उत्सुक रहन्थें । तर फुर्सद हुँदा पैसा नहुने अनि पैसा हुँदा फुर्सद नहुने कुराले पालैपालो तगारोको काम गरेका थिए । म जस्ता मध्यमवर्गिय जागिरेको मूल समस्या नै यही हुन्छ । यसपटक पैसा र फुर्सद दुबै जुटे र टोलवासीसंगै मुक्तिनाथको यात्राका लागि तयार भएँ ।
२१ गते विहान ५.३० मा दमौलीबाट प्रस्थान गर्ने समय तालिका थियो । जाडो निकै भएको अनुमान साथ बाक्लो लुगा, लेक नलागोस भन्नका लागि अग्रजहरुका सुझावको आधारमा केही खाने कुरा झोलामा अघिल्लो साँझ नै तयार पारिएको थियो । जलदेवी माविका प्रधानाध्यापक पिताम्बर सिग्देल सर, विनु म्याडम र हामी दुइसंगै निस्कियौं । दुइमध्ये एक गाडीको अन्तिम सिट बाहेक सबै भरिइसकेका रहेछन् । हामी चारै जना अन्तिम सिटमा बस्यौं ।
एक–दुइजना आउन बाँकी हुन भएकाले एकछिन पर्खियौं । निर्धारित समयमै यात्रा प्रारम्भ भयो । मेरो मन फुरुङ्ग थियो । गाडी भित्र जय मुक्तिनाथको सामूहिक स्वर गुन्जियो । भजन गाउँदै अनि कुनै बेला दोहोरीमा रमाउँदै यात्रा अघि बढ्यो । लुम्लेको माटोका स्पर्श भयो तर त्यसलाई हेर्ने बुझ्ने मौका मिलेन । समूहिक भ्रमणमा यस्तै हुन्छ । त्यसमा पनि हामीलाई जोमसोम पुग्ने हतारो थियो । पर्वत सदरमुकाम कुस्मा पुगेर खाना खायौं । कुस्माको फराकिलो डिभाइडर सहितको चार लेनको सडक, व्यवस्थित होटल र बजार देखेर मैले हाम्रो जिल्ला सदरमुकाम दमौली सम्झें ।
पाँच दशभन्दा बढी भयो दमौली राष्ट्रिय सडक सञ्जालमा जिडिएको तर यहाँको सडकको अवस्था कस्तो छ मैले भनिरहनु पर्दैन । एकैपटक ५०/६० जना जम्मा भए खाना खुवाउने स्तरिय होटल छैनन् । शिक्षा, स्वास्थ्य सुविधाको चर्चा नै नगरौं । यहाँका नेताहरु मन्त्री, उपप्रधानमन्त्री, सभामुख र राष्ट्रपतिसम्म भए तर जिल्लाका जनताका लागि निर्वाचनका बेला आश्वासनको पोका बाँड्ने बाहेकका उल्लेख्य काम गरेका रहेनछन् भन्ने लाग्यो, कुस्मा बजार देख्दा । कुस्माको मुटुमा रहेको बन्दना होटलको आतिथ्यले बन्जी र लामा तथा अग्ला पुल देखाएर मात्र होइन न्यानो आतिथ्यले पर्यटनका दीगो विकास गर्न सकिन्छ भन्ने सत्य कुस्मेली व्यवसायीले बुझेको अनुभूति गरायो ।
नेपालमा केही छैन, केही गर्न सकिन्न भनेर निराशाको व्यापार गर्नेहरुका लागि कालीगण्डकीले बनाएको खोँचले चुनौति दिएको छ । पछिल्लो समय साहासिक पर्यटनको आकर्षक थलो भनेकै कालीगण्डकीले बनाएका खोँचहरु भएका छन् । कतै बन्जी कतै अग्ला र लामा झोलुङगे पुलहरु । आन्तरिक तथा वाह्य पर्यटकको घुईँचो । केही नयाँ गर्ने र त्यसको बजारीकरण गर्ने सोच,जाँगर र धैर्य भए के रहेन छ र नेपालमा ? मैले यस्तै सोचें ।
वैशाख संक्रान्ती, हरिशयनी एकादशी तथा हरिबोधनी एकादशीमा सानो छँदा बुबा–आमालाई पछ्याउँदै दुइघण्टा पैदल हिँडेर हामी नुहाउन जान्थ्यौं । आज त्यही नदीको किनारै किनार त्यसको शिर दर्शन गर्न गइरहेको थिएँ, म ।
समुन्द्र नदेखेको मलाई हामीतिर आइपुग्दाको काली समुन्द्र जस्तै लाग्थ्यो, विशाल अनि शान्त । तर कुस्माबाट उत्तर लाग्दै जाँदा कालीको त्यो विशालता खुम्चँदै गएको थियो भने डाँडा पाखामा व्याप्त शान्ति भंग गर्न उद्धत । मैले किप्याड मोवाइलमा रमाइलो मानेर खेलिने स्नेक गेम सम्झें ।
कालीगण्डकी र म्याग्दी नदीको दोभान अनि पहाडको खोचमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार निकै सुन्दर देखिन्थ्यो । काली तरेर बेनी पुग्दा “बेनीको बजार,जता मायाँ उतै छ नजर” गीत गुन्जियो बसमा । टिकाबहादुर श्रेष्ठ र प्रेम बरालले संकलन र संगीतबद्ध गरेको तथा राजु परियार, प्रेम बराल, मनकुमारी छन्त्याल र विमाकुमारी दुराकोे सुमधुर स्वरले सजिएको यो गीत झण्डै तीन दशकदेखि नेपाली जनजिब्रोमा झुण्डिरहेको छ ।