नेपालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको साथै कतिपय मतदाता पेट्रोल, रक्सी तथा मासुको प्रभावमा परेर मतदान गर्ने गरेको विषय निर्वाचनका बेला बढी र अरुबेला पनि हुने गरेको चर्चा बढेको छ । झण्डै तीन वर्ष अगाडीको नेपालको पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियनमा स्याङ्जाली प्रतियोगी विष्णुप्रसाद गौडेलको प्रस्तुती हरेपछि त्यसका निर्णयक प्रदिप भट्टराईले दिएको प्रतिक्रियाको अंश हो आजको आलेखको शीर्षक । गौडेलले प्रस्तुतिका क्रममा पैसाको प्रभावमा परेर आफुले आफ्नै बाबुलाई मतदान नगरेर बुबाका प्रतिस्पर्धीलाई मतदान गरेको उल्लेख गरेका थिए ।
खुल्ला चर्चा नभए पनि निर्वाचनका बेला मतदानलाई प्रभाव पार्न अर्थात उम्मेदबारले आफ्नो पक्षमा मतदान गराउन पैसाको खोलो बगाउने गरेको कुरा निर्वाचन आसपास निकै चर्चामा आउने गर्छ । राम्रो मान्छे मतदान गरेर आफ्नो प्रतिनिधिको रुपमा पठाउनेभन्दा पैसा दिनेलाई मतदान गरेर जिताउने गर्दा मतदाताको स्वाभिमानमा दाग लाग्ने गरेको कुराले यत्रतत्र चर्चा पाउने गरेको छ । र यसैलाई संकेत गर्दै निर्णायक भट्टराइले भनेका थिए, मतदान गर्दा दाग नङमा मात्र लागोस्, स्वाभिमानमा होइन ।
हामीकहाँ आवधिक निर्वाचनहरु भइरहेका छन् । धेरैजसो अवस्थामा आम मतदाताले नङमा मात्र दाग लाग्ने तर स्वाभिमानमा दाग नलाग्ने गरी मतदान गरेका उदाहरण छन् । बालेन, हर्क तथा गोपीहरु रोजिनु नङमा मात्र दाग लाग्ने कर्म हो । तर दुर्भाग्यवश कतिपय बेला र केही मतदाताले मासु र चिउरा अनि पेट्रोल र पैसाको प्रभावमा परेर मतदान गरेका गुनासो सुनिन्छन् । यो कतिपय राजनैतिक दलका नेताहरुकै गुनासो हो । पछिल्लो समय धेरैजसो राजनैतिक दलका नेताहरुको भाषण सुन्ने हो भने निर्वाचन प्रणाली अत्यन्त महंगो भएको र यसमा आमूल परिवर्तन आवश्यक भएको भन्ने सुन्न पाईन्छ । यसको सिधा अर्थ हो, मतदानमा पैसाको प्रभाव रहन्छ । हुन पनि मध्यम वर्गिय परिवारको कुनै सदस्यले राजनीतिमा लाग्ने र कुनै पदका लागि चाहे त्यो वडा अध्यक्ष नै किन नहोस् निर्वाचन लड्न सक्ने अवस्था अहिले छैन । संघिय संसदको सदस्यको उम्मेदबारले कति खर्च गर्छ हिसाब छैन तर गाउँ पालिकाको अध्यक्षको निर्वाचनमा खडा हुन करोडको हाराहारी र वडा अध्यक्षले समेत लाखौ रकम खर्च गर्नुपर्ने अवस्था छ ।
अहिलेको यथार्थ हो, निर्वाचनका बेला सम्बन्धित क्षेत्रका सबैजसो उम्मेदबारले खाना व्यवस्था गरेका होटलमा खाना खान पुग्ने तथा सबैजसो पेट्रोल पम्पमा फुल ट्याङ्क गर्न जाने खासगरी दुइपाङ्ग्रे सवारीका धनी प्रसस्तै भेटिन्छन् । विहान एउटा उम्मेदबारको जुलुसमा सहभागी भएर घर आयो अनि त्यो झण्डा झिकेर अर्काे झण्डा राख्दै अर्काेकोमा गयो । यसरी दिनभरमा दुइ चार उम्मेदबारको कार्यकर्ता शुभचिन्तक बन्न पुग्ने जमात पनि छ । यस्तै प्रवृत्तिले निर्वाचन प्रणाली मात्र विकृत भएको छैन कि व्यवस्था माथि नै अविश्वास पैदा भएको छ ।
हाम्रा संघिय तथा प्रदेश सभाका सभासदहरु विधायकभन्दा बढी विकासे प्रतिनिधि अनि दाताको भूमिकामा रहँदा यो अवस्था आएको हो भन्न मिल्ने प्रसस्त आधारहरु छन् । न त जो निर्वाचन जितेर विधायक बनेर जान्छन् उनीहरुलाई जानकारी छ । हामी नागरिकको अपेक्षा पनि उनीहरु देश र जनताको हित अनुकुल हुने समय सापेक्ष कानून र नीति नियम बनाउने तिनीहरुको काम हो र त्यसमै उनीहरु सिमित रहुन भन्ने छैन । हामी चाहन्छौं उनीहरु आएर आफ्नो घर छेउको सडकको खाल्डा पुर्ने रकम उपलब्ध गराउन, हामीले पानी खाने कुवा वा धाराको मर्मत गर्ने पैसाको जोहो उनीहरुले नै गरिदिउन् । हामीले कहिल्यै प्रश्न गर्ने गरेका छैनौं कि हाम्रो हित अनुकूलका कति कानुन तयार ग¥यौ ? कति नयाँ कानुनहरु बने र कार्यान्यनमा आए ? जसले देशमा व्याप्त भ्रष्टाचार र बेथितीको अन्त्य होस् । जसले गाउँका गरिबहरुको जीवन स्तर सुध्रिन सहयोग गरोस् ।
जहाँ उनीहरु जान्छन् हामी भव्य स्वागत गर्छाै, यस्तो लाग्छ उ जनताको सेवाका लागि निर्वाचित भएको एउटा प्रतिनिधि होइन् । उ परम्परागत राजा हो र हामी रैति । यस्तो सान र मान पाउने भएपछि उसलाई सांसद हुन मन नलाग्ने कुरै भएन । र त एकपटक सांसद भएको मानिस कहिल्यै त्यो पद छाड्न नपरोस भनेर लागि पर्छ अनि त्यो सान र सौकत देखेका अरुपनि सांसद हुन बल गर्छन । अझ मन्त्री बन्न पाए आघिपछि सुरक्षा निकायका प्रतिनिधि र कार्यकर्ता लिएर सानका साथ झण्डा हल्लाउँदै राजसी ठाँटमा हिड्न पाइने र पछि पनि आजिवन पाइने सुविधाको लोभले त्यता जान हरदम जो कोहिलाई मन लागिरहन्छ र निर्वाचन जित्न जस्तोसुकै काम गर्नपनि उनीहरु तयार हुन्छन् । चाहे मतदान केन्द्रमा अन्य दलका मतदातालाई मतदान गर्न नसक्ने अवस्था सिर्जना गर्ने होस् वा पैसाको खोला बगाउन किन नपरोस् ।
जहाँ जान्छन् विकासे भाषण गर्नुपर्छ अनि मन्दिर, पाटी, पौवा, कुवा, पंधेरो, चौतारी, खेलकुद मैदान, आमा समूहको भवन आदि आदि बनाउन पैसा बाँड्नु पर्ने हुुन्छ । न भए हामी नै उसलाई मतदान गर्दैनौं । निर्वाचको बेला त झन त्यसको माग आम मानिसमा बढी नै हुन्छ । उनीहरु दाता र हामी मगन्तेको रुपमा बढीनै प्रकट हुन्छौं हामी । राजनैतिक नैतिकता र सैद्धान्तिक अडान भन्ने कुरा नेतामा छैन हामी मतदातामा हुने कुरै भएन र त अघिल्लो रात एउटा निर्वाचन चिन्हमा मत दिन तयार मान्छे केही थान हजारका नोट हात पर्नासाथ अर्के चिन्हमा मतदान गर्न राजी हुन्छौं । मन्दिर, पाटी, पौवा, कुवा, पंधेरो, चौतारी, खेलकुद मैदान, आमा समूहको भवन बनाउनु हुँदैन भनेको होइन तर हामी जोसंगबाट अपेक्षा गरिरहेका छौं ति संरचना बनाउने काममा उनीहरु निर्वाचित भएका होइनन् भन्ने हामीले बुझ्नु जरुरी छ । ति काम गर्ने सरकारी संयन्त्र छन् र हामीले आवश्यक खवरदारी गर्नसक्दा ति समयमै र हाम्रो आवश्यकता अनुसार बन्छन् ।
अब बेला भएको छ, पैसाको प्रभावमा परेर स्वाभिमानमा दाग लाग्नेगरी मतदान गर्न छाड्ने । दाग निर्वाचनका दिन नङमा मात्र लागोस्, स्वाभिमानमा कहिल्यै नलागोस् ।
निर्वाचन अर्थात मासु–भात अनि पैसा र पेट्रोल
previous post