पृष्ठभूमिः
गत सोमबार जेठ २१ गते २०८१ मा व्यास–१ अम्रेनीमा अकल्पनीय मानवीय क्षति भयो । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर प्रविण कैनीलाई सो घटनामा सदाका लागि गुमाउनु प¥यो । सोमबारदेखि बुधबार साँझसम्म शोकाकुल नगरपालिका कर्मचारी, तनहूँ इन्जियिरिङ्ग कन्सल्टेन्सी संगठन निन्तर मानवीय क्षतिको उचित क्षतिपूर्तिको दावी गर्दै चरणवद्ध आन्दोलनमा छ ।
मानवीय क्षतिको नामाकरणः
कानुनमा भएको व्यवस्था अनुसार मानवीय क्षतिमा अभियुक्तलाई दण्डित गर्न सबै अवस्थामा एउटै दृष्टिकोण रहेको हुँदैन । सामान्यतः मनसाय प्रेरित हत्या र मानिसको ज्यान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने कारण हुँदा हुँदै त्यस्तो काम गर्नेलाई जन्म कैदको सजाय हुने व्यवस्था छ । त्यसैगरी आवेश प्रेरित हत्यामा दशदेखि पन्ध्र बर्षसम्म कैद र एक लाखदेखि डेढलाखसम्म जरिवाना हुने व्यवस्था छ । मनसाय, आबेश नदेखिएको अवस्थामा लापरवाहीपूर्ण कामबाट मान्छे मरेमा तीनदेखि दशबर्ष कैद तीन हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर मार्ने नियत नभएको, लापरवाही र हेलचेक्रयाई भन्दा भवितब्य भएको तथ्यले पुष्टि गरेको अवस्थामा छ महिनादेखि दुईबर्षसम्म कैद हुने र बीस हजार रुपयाँसम्म जरिवाना हुने
व्यवस्था छ ।
सवारी ज्यान कसूरः
सवारी कसूरबाट भएको मानवीय क्षतिमा ज्यान मार्ने मनसाय लिई सवारी चलाई कुनै मानिसलाइ किची, ठक्कर दिइ दुर्घटना गराइ मान्छेको मृत्यू भएमा जन्म कैद सजाय हुने व्यवस्था छ । सवारी साधन व्याक गर्दा कुनै सवारी वा मान्छे च्यापिन सक्छ, पर्न सक्छ भन्ने देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाएको तथ्य स्थापित हुन गएमा तीन बर्षदेखि दश बर्षसम्म कैद र तीस हजारदेखि एक लाख रुपयाँसम्म जरिवाना हुन सक्ने अवस्था छ । कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो अवस्था नदेखिएको अवस्थामा दुर्घटना भै मान्छेको मृत्यू हुन गएमा एक बर्षसम्म कैद र दुई हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
हत्या कि दुर्घटनाः
अम्रेनी प्रकरणको घटना हत्या कि दुर्घटना निकै गरमागरम चर्चा चलेको छ । पीडित पक्षले हत्या भएको आरोप लगाएको
छ । आरोपित पक्ष हत्या आरोपमा असहमत देखिन्छ । पानीको ट्याङ्गकर व्याक गर्नुुपर्ने अवस्थामा मोटरसाईकल वा सवार इन्जिनियर देख्न नसक्दा, ध्यान पु¥याउन नसक्दा, सहयोगीको साथ नलिँदा मानवीय क्षति भएको तथ्यबाट लापरवाही, हेलचेक्राई वा भवितव्य देखिन्छ । मनसाय तथ्य स्थापित हुन कठिन हुने देखिँदा हत्या भन्न वा मान्न कठिन छ ।
प्रमाणको लोपः
पीडित पक्षले प्रमाणको लोप गराइ कसूरलाई कमजोर बनाउन खोजेको आशंका गरिरहेको छ । तर घटनाको प्रमाण यथासिघ्र संरक्षण गर्नु अनुसन्धान अधिकृत वा अभियोजन पक्षको र गृह प्रशासनले राजमार्गको निर्वाध आवागमनको व्यवस्था मिलाउनु पनि कर्तव्य हो ।
निष्कर्षः
अकल्पनिय घटना कसैको बसको कुरा होइन । नियतीको परिणाम हामी सबैको काबुबाहिर छ । आक्रोसले समस्यालाई बल्झाउँछ । संयमताले समाधनमा पु¥याउँछ । आखिर समाधान हामी सबैको जीवनको निष्कर्ष हो ।
अम्रेनी प्रकरणः मानवीय क्षतिको कसूर
previous post