
– ऋषिङँको एक विद्यालयमा विगत एक दशकदेखि जापानी विद्यार्थीको समूह आउने गरेको छ । श्रमदान गरेर विद्यालय भवन बनाएका उनीहरुले कम्प्युटर, खेलकुद तथा शैक्षिक समाग्री प्रदान गरेर विद्यालयको शैक्षिक उन्नयनमा समेत महत्वपूर्ण योगदान गर्ने गरेका छन् ।
–तनहुँकै अर्काे एक विद्यालयमा बेलायतका विद्यार्थीको टोली आएर विद्यालय भवन निर्माणका लागि निर्माण सामग्री निर्माण स्थलमा लैजाने तथा विद्यालय भवनमा रंग रोगन गर्ने गरेर भर्खरै फर्केका छन् ।
माथिका दुइवटा विदेशी विद्यार्थीका कुरा भए । अब एकछिन हाम्रो कुरा गरौं । सामान्यतया वर्ष विदा भनेर सामुदायिक विद्यालयहरु असार र साउन महिना समेट्ने गरी झण्डै एक महिना बन्द हुने गरेका छन् । तर अधिकांश विद्यालयहरुले यो विदा दिन छाडेका छन् । यसैगरी दशैमा पनि घटस्थापनाको दिनबाट बन्द हुन पर्ने विद्यालयहरु विस्तारै महाअष्टमीबाट मात्र बन्द हुन थालेका छन् । विद्यालय समयपछि बेलुका ११ बजेसम्म, विहान ५ बजे नै उठेर घुँडा धेसेर/टुप्पी कसेर गर्दा पनि नसकिएर विद्यालय जाँदै गर्दा सडक छेउमा झोला विसाएर सक्नु पर्ने गरी गृहकार्य दिन थालिएका छन् । कक्षा ४ देखि १२ सम्म आन्तरिक मूल्याङ्कनका लागि निश्चित प्रतिशत अंक छुट्याइएको छ । यसका लागि गृहकार्य तथा परियोजना कार्य, कक्षा कार्य, उपस्थिति, अनुशासन, आवधिक सिकाई उपलब्धि मूल्याङ्कनमा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीको मूल्याङकन गर्ने भनिएको छ । शिक्षकहरूले तोकिएका मूल्याङ्कनका आधारहरूलाई हुबहु अनुशरण गरेका छन् भन्ने कुरामा शंका गर्ने प्रसस्त ठाउँ रहने गरेका छन् । अर्थात अधिकांश शिक्षकले आन्तरिक मूल्याङ्कनको अंक पनि के थोरै दिनु भनेर आफुखुसी÷ विना कुनै मूल्याङ्कन अंक दिने गरेका भन्ने आरोप छन् ।
स्नातक तथा स्नातकोत्तर तहमा शिक्षा विषय लिएर पढेका विद्यार्थीहरुले तोकिएको संंख्यामा दैनिक पाठ योजना बनाउने तथा तोेकिएको दिन अभ्यास शिक्षण गर्नुपर्ने व्यवस्था छ । तर ति अभ्यास शिक्षण क्रियाकलाप तथा दैनिक पाठ योजना निर्माण कति कर्मकाण्डी हुन्छन् भन्ने कुरा हामी धेरैले अनुभव गर्ने गरेका छौं । सिक्नेलाई पनि धेरैभन्दा धेरै अभ्यास गरेर सिकौं भन्ने हुँदैन सक्दो चाँडो विद्यालयबाट फर्कन पाए हुन्थ्यो भन्ने हुन्छ । अनि सिकाईको थलो भनिएको विद्यालय पनि नियमित आउनु नपर्ने तथा निर्धारित पिरियड पढाउनु नपर्नै सुविधा(?) प्रशिक्षार्थी शिक्षकलाई दिने कुरामा अग्रसर हुन्छन् । एकछिन माथि भनिएका जापानी विद्यार्थीको कुरा गरौं । भ्रमणमा सहभागी प्रत्येक वर्ष फरक हुन्छन् । उनीहरू नेपाली समाजमा घुलमिल हुन तथा यहाँको सभ्यता संस्कृति, रहनसहन, भाषा, इतिहास बारे जान्ने उत्सुकता राख्छन् । विद्यार्थीका घर घरमा बाँडिएर बस्छन् । उनीहरूको भान्छामा जे पाक्छ, त्यही खान्छन् । भुईँ वा खाट, डसना सहित वा गुन्द्री मात्र जस्तो छ, त्यस्तैमा सुत्छन् । धार्मीक, ऐतिहासिक,साँस्कृतिक, पर्यटकीय स्थलको अवलोकन र भ्रमण गर्छन् । स्थानीय नाचगानमा रमाउँछन् र हप्ता विताएर जापान फर्कन्छन् ।
सिक्ने क्रममा रहेकाले यहाँसम्म आएको बताउने बेलायती विद्यार्थीले यहाँको कला संस्कृति, सभ्यता, इतिहास आदि विषयमा बसाईको क्रममा जानकारी लिने बताएका थिए । उनीहरु पनि स्थानीय धार्मीक, ऐतिहासिक, सांस्कृति तथा पर्यटकीय स्थलको अवलोकन र भ्रमणमा निस्किए । घुमे,रमाए अनि नेपालको प्रसंशा गर्दै स्वदेश फर्किए ।
पेपर पेन्सिल टेस्टमा धेरै अंक ल्याउनुलाई विद्यार्थीको सम्पूर्ण सफलता मान्ने हो भने बर्षे विदा र दशैं बिदाको कटौती अनि रातदिन गर्दा पनि नसकिने गरी दिइने गृहकार्य फलदायी भएका होलान् । तर भोलिका कर्णधार भनिएका बालबालिका बाबु–आमा, हजुरबा–हजुरआमा तथा अन्यबाट जीवन उपयोगी सीप सिक्नबाट वञ्चित भएको चाहिँ कटु सत्य हो । वर्षे विदाकै कुरा गरौं । त्यो समयमा बालबालिका आ–आफ्ना अभिभावकसँग बसेर धान, मकै तथा कोदो जस्ता प्रमुख खाद्यान्न लगायत अन्य बाली लगाउने तरिका सिक्छन् । किसानको सघर्ष बुझ्ने मौका पाउँछन् । र शायद भोली किसानको सम्मान गर्ने नागरिक बन्छन् । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान थाहा पाउँछन् । टोलछिमेकका साथीसँगी, इष्टमित्रसँग घुुलमिल हुने हाँसखेल गर्ने अवसर पाउँछन्, समाजिकीकरणमा सहयोग पुग्छ ।
दशै विदामा गाउँघर तिर बाटो, कुवा, पँधेरो,मन्दिर तथा देवलहरू मर्मत तथा सरसफाई गर्ने, पिङ हाल्ने, घरको सरसफाई र लिपपोत गर्ने जस्ता काम गरिन्छन् । दशै विदा छोट्याउँदा बालबालिका यि सबै काममा सहभागी हुनबाट बञ्चित भएका छन् । यी क्रियाकलापले बालबालिकाको सिकाइलाई व्यवहारमा परिवर्तन गर्न सघाउने गर्छन्, उनीहरूको सामाजिकीकरणमा सहयोग पु¥याउँछन् । समाज, परिवार र परिवारका सदस्यको सोचाइ, मनोभाव, अनुभव र अुनभूतिहरू बुझ्न यस्ता विदाहरूको आवश्यकता पर्दैन र ? पर्छ भने किन छोट्याइरहेका छौं ? रातभर गर्दा पनि नसिकिने गरी दिइने गृहकार्यको चर्चा यहाँ धेरै नगरौं होला किनभने गृहकार्य धेरै दिन शिक्षकलाई पहिले अनुरोध गर्ने नभए दवाव दिने हामी अभिभावक नै हौं । तर यसले बच्चाको सिकाईमा पर्ने दुष्प्रभावको चर्चा गरिसाध्य छैन र त्यसको हिसाब राख्ने चाह पनि हामीलाई छैन ।
निर्धारित समयको पेपर पेन्सील टेष्टमा प्राप्त गरेको अंकका आधारमा आन्तरिक मूल्याङ्कन गरिने कुराले बालबालिकाको सिकाई कमजोर हुनमा खुबै सघाएको छ । स्नातक तथा स्नातकोत्तर तहको अभ्यास शिक्षणमा पर्याप्त ध्यान नदिँदा घोकेको आधारमा लेख्न सक्ने तर अनुभवको आधारमा उत्तर लेख्नु पर्ने मौलिक प्रश्नहरुको उत्तर दिन परीक्षार्थी असमर्थ हुने गरेका भन्ने सुनिन्छ । र यसको परिणाम अध्यापन अनुमति पत्रको परीक्षा तथा शिक्षक सेवा आयोगको परीक्षामा उत्तिर्ण हुने न्यून परीक्षार्थी संख्याले बताउने गरेको छ । सामुदायिक विद्यालयमा पढाउनु पर्दैन भन्ने मनोविज्ञान बन्ने त छँदैछ यसले बालबालिकाको सिकाईमा पर्ने दूरगामी नकारात्मक असर झन डरलाग्दो छ ।
एकातिर सरकार हरेक वर्ष शिक्षामा लगानी घटाउँदै जाने । स्थानीय सरकारको नेतृत्वमा, शिक्षामा लगानी गर्नेहरूमाथि खिसिट्युरी गर्नेहरु हुने । यस्तोमा बालबालिकाको सिकाईमा सुधारको अपेक्षा गर्न सकिँदैन । सिकाईलाई कसैले पनि प्राथमिकतामा नराख्दा बालबालिकाको सिकाईमा नकारात्मक प्रभाव परेको छ । त्यसमा हामी अभिभावक र अन्य सरोकारवालाको वेवास्ता मिसिएको छ र बालबालिकाको सिकाई कमजोर हुँदै गएको छ ।