२०६२/०६३ को आन्दोलन लगत्तै जस्तो लाग्दछ, मलाई शारदा शर्माद्वारा लिखित एउटा पुस्तक पढ्ने मौका मिलेको थियो । अग्नि स्पर्श नामको उक्त पुस्तकमा समेटिएका मुक्त आलेखहरु निकै रुची पूर्वक पढेको थिए । जब कुनै सन्दर्भमा साथीहरु बीच उक्त पुस्तकको चर्चा हुन्छ, त्यसमा समावेश केही आलेखहरुले मेरो मनलाई कुतकुत्याई रहन्छ । दोहो¥याएर पढ्न पाए हुन्थ्यो जस्तो लाग्दछ । अहिले त्यो पुस्तक मसंग छैन । एक पुस्तक प्रेमी साथीले लगेका थिए । तर फिर्ता गरेका छैनन् र अब फिर्ता आउने आशा पनि रहेन ।
मैले किनेका तर अहिले मसंग नभएका पुस्तकको सुची लामै छ । कति पय पुस्तक कसैले लगेर फिर्ता नगरेकोमा खासै चिन्ता लाग्दैन । आफूसंग अहिले नभएकोमा रित्तो अनुभूति हुँदैन । तर त्यसमध्ये केही यस्ता पुस्तक छन्, जुन पुस्तक अलिे मसंग नहुँदा मलाई नमिठो लागेर आउँछ । त्यस मध्ये नेपाली राजनीतिका शिखर पुरुष वी.पी. कोईरालाको कुराकानी समेटर भारतीय समाजवादी नेता भोला चाटर्जीले तयार पारेको पुस्तक थियो मसंग । एक पटक पढेर सकेको त थिए, तर त्यो संग्रह गर्न पर्ने पुस्तक लागेको थियो । किनभने पुस्तकमा कोईरालाले राणा तथा पंञ्चायतकालमा राजबन्दीका रुपमा जेल भोगेका शारीरिक तथा मानसिक यातनाको विवरण त छ । कोईरालामा निहित आत्मविश्वास, राष्ट्रप्रेम र स्वाभिमानका बारेमा पनि पुस्तक पढेर जानकारी पाईन्छ । यी सबै पढ्दा वी पी र उनको पुस्तकले जहाँनिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध अनि नेपाली नागरिकको श्रीबृद्धिका लागि गरेको प्रयत्न देख्दा उनिहरु त्यो पुस्तकका प्रति असीम श्रद्धा उत्पन्न भएर आउँदछ । मैले त्यो पुस्तक भृकुटी मण्डप छेउमा रहेको पसलमा भेटेर किनेको थिएँ । २०५२ सालतिर । लामो समय साथीले फिर्ता नगरेपछि कैयौं पटक काठमाण्डौ जाँदा उक्त पुस्तक खोंजे तर पाएको छैन । साथीले फिर्ता गर्ला भन्ने आशा पनि अब रहेन । किनभने जसले लगेको हो उसले निर्लज्ज भएर आफूले नलगेको उद्घोष गरिसक्यो ।
बंगलादेशकी लेखक तसलिमा नसरिनको उपन्यास पनि त्यस्तै पुस्तक मध्ये पर्दछ । बंगलदेशका दुई धार्मिक सम्प्रदायका बीच भएको द्वन्दलाई विषयवस्तु बनाईएको उक्त उपन्यासले विश्वमै चर्चा पायो । उपन्यास माथि बंगलादेशमा प्रतिबन्ध लाग्यो अनि उपन्यास लेखेकै कारण नसरिनको टाउकोको मूल्य तोकियो र उनि लामो समय बेलायतमा निर्वाशनमा बस्नु प¥यो । मलाई त्यो उपन्यासको विषयवस्तुले त छोएको थियो नै संगै कथाभन्नै शैली खुब मन परेको थियो । तर लज्जा पनि निर्लज्जताको शिकार भयो र अहिले मसंग छैन । चक्रपाणी चालिसेद्वारा तयार पारिएको गद्य महाभारत पनि त्यस्तै पुस्तक मध्येको एक थियो । त्यसले पनि अग्नि स्पर्श, लज्जा र वी पी कै पुस्तकको नियति भोग्यो । र अहिले अरु कसैको पुस्तक धराजमा सजिएर बसेको छ । पुस्तक किन्ने तर साथमा संग्रह गर्न र पछि मन लाग्दा झिकेर पढ्ने मौका नपाउनेमा म मात्रै पर्दछु वा अरु पनि हुनुहुन्छ थाहा छैन । तर मेरो हकमा यस्तो धेरै भएको छ । पुस्तक लगेकै दिनदेखि फोन म्यासेज र भेटघाटबाट टाढा हुने पनि भेटिन थालेका छन्, पछिल्लो समय त ।
आलेखको आधाअंश त आफूलाई राम्रा लागेका पुस्तक फिर्ता नपाएको गुनासोमै खर्च भएछ । अब विषयवस्तु तिर लागौं । मलाई ठ्याक्कै शिर्षक त याद छैन तर शारद शर्माको अग्नि स्पर्श पुस्तकमा भएको एउटा आलेखमा उल्लेख भएको विषयको सानो अंश याद छ र त्यसको विषयमा केही चर्चा गर्न चाहेको हूँ यो आलेखमा । शर्माले उक्त आलेखमा हामीलाई सिद्धार्थहरु बुद्ध भएको मन पर्ने वा त्यो आदर्श मन पर्ने तर आफ्नो सन्तान वा आफन्त सिद्धार्थबाट बुद्ध बनेको हेर्न/देख्न नचाहने गरेको उल्लेख गरेकी छन् । मलाई सम्झना भएसम्म शर्माको उक्त आलेखको आशय कुनै पनि आमाले आफूले जन्माएको सिद्धार्थ, बुद्ध बनेको हेर्न चाहदैनन् तर त्यो आदर्श मन पराउँदछन् भन्ने थियो । आमा मात्र किन कुनै पनि बाबु आफ्नो छोरा/छोरी सिद्धार्थ बास्तवमै बुद्ध बनेको देख्न चाहँदैनन् । यदि आफ्नो सन्तानले बुद्ध बन्ने अभयसमा लागेमा उ असफल छोरी/छोरा भनि अथ्याउने गरेको पाईने उल्लेख शर्माले गरेकी छन् ।
आचकलका सुद्धोधन र मायाँदेवीका औकात अनुसारका आफ्ना सन्तानसंगका अपेक्षा छन् । सन्तानले पुरा गरिदिनु पर्ने सपना छन्, गच्छेअनुहारका । आर्थिक अवस्था कमजोर भएका सुद्धोधन र मायाँदेवीको आकाँक्षा छ, छोरा/छोरी खासगरी छोरा साउदी वा कतार देश जाओस् र कमाई गरेर शहर बजारमा सके घर, नभएपनि घडेरी जोडोस् । खेतीपाती, मेलापात, गोवर घसेटा गरेर वितेको दैनिकीमा परिवर्तनमा ल्याओस् । मोही र आँटो खान पर्ने अवस्थाबाट अलि माथि उठेर मिठो मसिनो खान पाउने, आँङ्ग ढाक्ने गरी लुगा लगाउन पाउने अवस्था बनोस् । शहर बजारका र अलि सम्पन्न परिवारका सुद्धोधन र मायाँदेवीको आकाँक्षा अलि फरक हुन्छ । उनिहरु आफ्ना सिद्धार्थहरु अमेरिका, अष्ट्रेलिया, यूरोप वा यस्तै देश जाउन, त्यतैको पिआर वा ग्रिनकार्ड छ भनेर छिमेकी वा आफन्तसंग भन्न पाइयोस् । छोरा वा छोरीले समय मिलाएर उता घुम्न आउने निम्तो दिउन र जान पाउँ अनि फर्केर आएर त्यहाँको बैभवका बारेमा बर्णन गर्न पाईयोस् । शहरमा अझै ठूलो घर होस् । गाडी होस् । घरमा नोकर चाकर राख्न सकियोस् । आदि आदी । बुबा आमा, साथीसंगी लगायत सबैको पुरा गर्न पर्ने अनगिन्ती अपेक्षाको भारीले थिचिएको कोहीले कसरी मार्गको अनुशरण गर्ने अपेक्षा गर्न सकिन्छ र ?
शर्माले भने झैं आधुनिक आमा अब मायाँदेवी बनेर सिद्धार्थ जन्माउन तयार त छन् । तर तिनीहरु बुद्ध भएको हेर्न चाहँदैनन् । अनि सुद्धोधनहरु पनि आफ्ना सन्तान सिद्धार्थबाट बुद्धमा रुपमान्तरित भएको हेर्न तयार छैनन् । हामी कामना गर्दछौं, हरेक नेपाली आमाहरु मायाँदेवी बनेर सिद्धार्थको जन्म दिउन् । र उनीहरु बुद्ध बनुन् । गर्व गर्दछौं बुद्ध नेपालमा जन्मेको भनेर । यशियाका तारा जन्मेको देशका नागरिक भनेर ।
तर आफ्नो सन्तान यशियाको तारा बनेको देख्ने चाह राख्दैनौं । जसले दरबारको सुविधा त्यागेर संसारको हितको लागि सन्न्यास धारण गरेको थियो । आर्दश मन पर्ने तर त्यसको अनुशरण गर्न मन नपराउने हामी कसरी बुद्धका अनुयायी भयौं ?
हामी कसरी बुद्धका अनुयायी
previous post