‘मान्छेले कि पढेर जान्दछ कि परेर जान्दछ’ बुढापाकाहरुमा यो भनाइ निकै प्रचलित छ जसको अर्थ हुन्छ ज्ञान कि त अध्ययन गरेर पाइन्छ कि त आफैले अनुभव गरेर वा भोगेर पाईन्छ । विभिन्न शिक्षाविद् मनोवैज्ञानिकहरुको पनि अन्य कुरामा मतान्तर रहेपनि बालबालिकाले पढेर घोकेर भन्दा प्रत्यक्ष आफैले अनुभव गरेर धेरै कुराहरु सिक्न जान्न सक्ने कुरामा एकमत छन् र यथार्थ के पनि हो भने बालबालिकालाई जिवनमा चाहिने सम्पूर्ण ज्ञान, सीप, किताबबाट मात्र सिकाउन सम्भव छैन । कतिपय कुराहरु घरपरिवार साथीभाईबाट सिक्नु पर्ने वा सिक्न सकिने पनि हुन्छन् । तर बर्तमानका अधिकाँश बालबालिकाहरु यो अबसरबाट बञ्चित छन् । यस आलेखमा यही विषय माथि चर्चा गर्ने प्रयास गरिने छ ।
अहिले अधिकाँश परिवारहरु साना आकारका हुन्छन् । सानो परिवार सुखी परिवार भनिन्छ, सायद त्यसैले पनि होला मानिसहरु सानो परिवार नै रुचाउँदछन् । परिवारका सदस्यहरु हुन्छन्, बुबा आमा र सन्तान भनिन्छ परिवार बालबालिकाको पहिलो पाठशाला हो । परिवारले सिकाउने र परिवारमा सिक्ने कुराहरु कुनै पनि विश्वविद्यालयले सिकाउन सक्दैनन् । तर अहिलेका अधिकाँश बालबालिकाहरु परिवारको आधार सानो भएकै कारणले पनि कतिपय कुराहरु सिक्नबाट बञ्चित भएका छन् । यसर्थ पंक्तिकारलाई के लाग्दछ भने समाजबाट हराउँदै गएका विद्यालयहरु मध्ये एउटा विद्यालय हो ठूलो परिवार । अलिक पहिलेपहिले परिवारको आकार ठूलो हुन्थ्यो । बाजे, बज्यै, ठूलाबा ठूलीआमा, बुवाआमा, काकाकाकी, दाजूभाउजु, एउटै परिवारमा हु्न्थे । एउटै परिवारमा बाह्र पन्ध्रजनासम्म सदस्य हुन्थे । हो, ठूलो परिवार चलाउन आर्थिक रुपमा समस्या हुन्थ्यो होला, तर ठूलो परिवारमा बालबालिकाले धेरै कुराहरु सिक्ने मौका पनि पाउँदथे । पारिवारिक एकताको महत्व, परिवारका सदस्यहरु बीचको आपसी मेलमलिप र सामान्जस्यता, जस्ता कुराहरु बालबालिकाले ठूलो परिवारमै सिक्न पाउँदथे । बाजेबज्यैले सुनाउने, लोककथा र नीति कथाका ज्ञान, ती कथाहरु सुन्दै गर्दा पाईने आनन्द, बज्यैले भुटेर दिनुभएको बासीभातको स्वाद, अहिलेका बालबालिकाहरुले कहाँ महसुस गर्न पाउनु ? एक पुरिया विस्कुट, चारपाँच जना दाजूभाईको बीचमा बाँडेर खाँदाको आनन्द, अझ कहिले काही त्यसैको लागि लुछाचुँडी गर्न पर्दाको मिठास, अहो अहिले कहाँ पाउनु ती सबै ? पंक्तिकारले अकबर र विरबलका नीति कथाहरु अलि ठूलो भएपछि मात्र किताबहरुमा पढ्न पाएको हो । तर धेरै कथाहरु पहिले नै कण्ठ थिए । कारण प्रत्येक रात सुत्ने बेलामा बाजेले मलाई कथा सुनाउनु हुन्थ्यो । अहिलेका बालबालिकालाई बाजेबज्यैसंग भेटघाट हुन या त चाडबाड आउनु पर्दछ । यात विद्यालय छुट्टि हुनु पर्दछ । हो सानो परिवार चलाउन सजिलो हुन्छ तर परिवार सानो हुँदा परिवारबाट सिक्न सक्ने धेरै कुराहरु छुटिरहेका पनि हुन्छन् ।
अहिले अधिकाँश युवाहरु वैदेशिक रोजगारीमा छन्, आफ्नो सन्तान र भविष्यको सुनिश्चिताको लागि विदेशीनु उनिहरुको बाध्यता हो । तर सन्तानकै लागि भनेर कमाउन विदेशीदा सन्तानसंगै दुरी बढी रहेको हुन्छ । वैदेशिक रोजगारीमा रहेको एउटा युवा एक पटक छुट्टी आउँदा बच्चा गर्भमा हुन्छ, अर्को पटक आउँदा त्यो सन्तान दुई तीन बर्षको हुन्छ, अनि अर्को पटक आउँदा स्कूल जान थालिसकेको हुन्छ । उ सन्तानकै लागि कमाउन भनेर विदेशीएको हो । तर छोराछोरी पढाउन विदेश बस्दै गर्दा उसका छोरा छोरीले एउटा ठूलो स्कूलमा सिक्ने मौका गुमाई रहेका हुन्छन् । स्कूल हो बुबाको काख । बुवाको काखमा लुटपुटिएर निँदाउनुको मज्जा, कहिले औंला समातेर त कहिले काँधमा चढेर गाउँको छिमेक डुल्नुको आनन्द, शनिबार बुवासंगै धारामा पानी छ्यापाछ्याप गरेर नुहाउनुको मिठास जानीनजानी सकि नसकि लुगा धुने प्रयास गर्नुको रमाईलो, त्यो सबै एउटा बालकले कुन विद्यालयमा अनुभूत गर्न र सिक्न पाउला र ? सायद त्यसैले पनि होला अचेलका धेरै किसोर किसोरीहरुमा आफ्नो बुवाआमाप्रतिको आदर आत्मियता त्यतिविधि पाईदैन । एकिन तथ्याङ्कत नहोला, तर विगतको तुलनामा अहिलेको अवस्थामा अभिभावक र सन्तान बीचको दुरी पक्कै बढेको छ । अहिलेको समाजबाट हराउँदै गएको अर्को विद्यालय हो साथीसंगीको साथ । सम्भव हुँदासम्म हरेक अभिभावक आफ्ना सन्ततीको आवश्यकता र उसलाई चाहिने सुविधाहरु पुरा गर्न लालायित हुन्छन् । यो अभिभावकको सन्तानप्रतिको मायाँ पनि हो । र दायित्व पनि । तर सुविधा दिने नाउँमा कतिपय अभिभावक यतिसम्म पनि गर्दछन् कि उनिहरुको सन्तानलाई न साथिसंगिको साथको आवश्यकता पर्दछ, न उसले त्यसको महत्व बुझ्ने मौका नै पाउँदछ । झन प्रविधिको चरम विकासले त आजभोलिका बालबालिकालाई घरको चारभित्ता भित्र कैद गरिदिएको छ । कहिले साथिहरुसंग मागेर काम चलाउनु, कहिले साथिलाई दिनुको मजा र महत्व, अचेलका बालबालिकालाई सायदै थाहा होला । अहिलेका बालबालिका बन्द कोठाभित्र बसेर, कोशौ टाढाको अपरिचितसंग मोवाईलमा खेल खेल्दछन् । उहिले उहिले जस्तो समूह बनाएर थोत्रो मोजामा कागज कोचेर बनाएको बल खेल्दाको रमाईलो र त्यसबाट सिकिने समूहको आवश्यकता र महत्वको ज्ञान, सामूहिक एकताको पाठ, मोवाईलमा खेलिने खेलमा कहाँ ? अभिभावकहरु पनि आफ्ना छोराछोरी साथीभाईसंग हिडेको डुलेको भन्दा बरु घरमै मोवाईल चलाएर बस्दा आनन्द मान्दछन् । साथिभाईसंग हिँड्दा डुल्दा खराब संगतमा पर्ने, विग्रने संभावना पनि रहन्छ त्यसको हेरविचार गर्ने जिम्मा अभिभावकको हो तर साथसंगतबाट जान्न र सिक्न सकिने धेरै कुराहरु पनि हुन्छन् जुन अहिलेका प्रायः बाल बालिकाहरुले छुटाई रहेका छन् । कतिपय अवस्थामा छुटाइएका छन् । त्यसैले आज समाजमा धेरै स्वार्थी र एक्लो मानिसहरुको तादात बढिरहेको छ ।
शिक्षा जीवनमा नभै नहुने कुरा हो । झन अहिलेको आधुनिक समाजमा शिक्षाको महत्व कति छ यो भनि राख्नु पर्ने कुरा होइन । तर शिक्षा आवश्यक छ भन्दैमा विहान छ बजेदेखि बेलुका छ बजेसम्म किताबमै डुबाउनु कत्तिको जायज हो । बालबालिकाको लागि सुनौलो हजार दिन भनिन्छ, जुन भनेको करिब तीन बर्ष हो तर तीन बर्ष लग्दा नलाग्दै बालबालिकालाई विद्यालय भर्ना गरिदिनु सान्दर्भिक होला र ? अझ कतिपय अभिभावक आफ्नो छोराछोरीलाई होस्टेल राखेर पढाउँछन् । बच्चा सानो हुँदा फुर्सद छैन भनेर पैसा तिरेर होस्टेल राख्ने अभिभावकलाई बुढाबुढी हुँदा तिनै सन्तानले पैसा तिरेर बृद्धाश्रममा राख्न मिल्ने कि नमिल्ने ? कतिपय अभिभावकहरु गुनासो गर्नुहुन्छ भनेको सबै पु¥याई दिएकै छ तै पनि खै किन हो कुन्नी यस्तो ? हामीले के बुझ्नु जरुरी छ भने पैसाले किन्न सकिने चिज दिएर मात्रै वा भनौं पैसा पु¥याई दिएर मात्रै सन्तान सप्रिदैनन्, भविष्य बन्दैन । भावना, पैसा भन्दा पनि धेरै ठूलो कुरा हो । आफ्नो सन्तानसंग भावनात्मक रुपमा राम्रो र बलियो सम्बन्ध कायम गर्नु पर्दछ । कहिले काही मागे जति सबै कुरा दिएर भन्दा पनि केही कुरा नदिएर अभाव सिर्जना गरेर पनि बालबालिकालाई धेरै कुराहरु सिकाउन सकिन्छ । हामीले के कुरा विर्सनु हुँदैन भने परिवार नै बालबालिकाको पहिलो र सबैभन्दा ठूलो विद्यालय हो । तसर्थ बालबालिकालाई अधिकाँश समय किताबमा डुब्न लगाउनु मात्र भन्दा पनि परिवारमा घुलमिल हुन सिकाउने, व्यवहारिक ज्ञान दिने गर्नु
पर्दछ । जस्ले उसलाई जीवनमा असल र सफल मानिस बन्न मद्दत पुगोस् ।
समय गतिशिल छ, साथै परिवर्तनशिल पनि । समयको गतिसंगै बहनु मानिसको प्रबृत्ति पनि हो र बाध्यता पनि । पहिलेका धेरै कुराहरुलाई अबलम्बन गर्नु अब संभव नहोला । तर समयसंगै चल्दै गर्दा हामीबाट छुट्न पुगेका कुराहरुको ख्याल समयमै गर्न सकिएन भने त्यसको मूल्य धेरै महसंगो पर्दछ । जस्तो कि एउटा दम्पत्ती कमाउनका लागि शहर छिर्छ । श्रीमान श्रीमति दुवै जागिरमा । जागिर गर्ने छोरा छोरीको लागि भनेर हो तर उनिहरुलाई आवश्यक समय दिन नसक्दा छोरा छोरी टाढिने सम्भावना पनि उत्तिकै रहन्छ । यदि त्यस्तो भएमा दिनरात नभनि दुःख गरेर कमाएको के अर्थ ? तसर्थ हामीले भन्ने गरेको विद्यालय बालबालिकाको औपचारिक शिक्षाको लागि मात्र हो । अरु यस्ता धेरै अनौपचारिक विद्यालय हुन्छन् (सबै यो आलेखमा समावेश छैनन्) जहाँ एउटा बालकले आफ्नो जीवनमा आवश्यक पर्ने मानवीय र सामाजिक गुण, ज्ञान, सीप हासिल गर्न सक्दछ । औपचारिक विद्यालयमा मात्र जोड दिदै गर्दा हाम्रा बालबालिकाहरु कतै त्यस्ता अति आवश्यक अनौपचारिक विद्यालयहरुबाट बञ्चित त भएका छैनन् । समयमै सतर्क हुनु आवश्यक छ ।
हराउँदै गरेका विद्यालयहरु
previous post