
[email protected]
पुरै समय बजार व्यवस्था खुल्ला भएको छ । पहिरोको कारण समस्या उत्पन्न भएपनि सडकमा सवारी साधनको चाप केहि बाक्लिएको छ । सडकमा नीजी सवारी साधनहरु पनि तुलनात्मक रुपमा बाक्लिएका छन् । सरकारी कार्यलयहरुमा मानिसको भिडभाड बढ्न थालेको छ । चिया पसलहरुमा चियाको चुस्कि सङ्गसङ्गै देशको बारेमा चिन्ता गर्नेहरुको जमात पनि पहिले भन्दा केहि बढेको छ । सरकारले भदौ १ गतेदेखि सामुदायिक विद्यालयहरु पनि संचालन गरी भर्नाको कार्यक्रमलाई अगाडी बढाउन र विस्तारै नियमित पठनपाठन शुरु गर्न निर्देशन पनि दिइसकेको छ । केहि स्थानीय तहहरुको केन्द्रय सरकारले तोकेको मिति अगावै विद्यालयहरु संचालन गर्ने तयारी पनि गरेका छन् र क्वारेन्टाइनहरु विस्तारै विस्तारै खाली हुने क्रममा जारी छ । मनमा त्रास लिएरै भएपनि मानिसहरु सामान्य जीवन यापनमा फर्कने कोशिस गर्दैछन् । नेपाली जनजीवनको पहिलो परिदृश्य हो– विश्वव्यापी महामारी कोभिड–१९ (कोरोना भाईरस)को कारणले गत चैत्र देखि विगत ४ महिनादेखि गर्नुपरेको बाध्यात्मक बन्दाबन्दिको समाप्ति भएको औपचारीक घोषणा सरकारले गरेपछिको परीदृश्य ।
समय गतिशिल छ । जसरी पानीलाई रोक्न सकिन्न त्यसरी नै समयलाई बित्नबाट पनि छेक्न सकिन्न । गत चैत्रमा सरकारले पहिलो पटक औपचारीक रुपमा बन्दाबन्दीको घोषणा गरे लगत्तै तय थियो कि एउटा निश्चित समय सीमामा पुगेपछि सरकारले बन्दाबन्दीको समाप्ति गर्नैपर्छ, अवस्था चाहे अनुकुल होस् या प्रतिकुल । यतिबेला सरकारले औपचारीक रुपमै ४ महिने लामो बन्दाबन्दीको अन्त्य भएको जानकारी दिईसकेको छ । सायद त्यसैले होला बजार, सरकारी कार्यलय र सार्वजनिक स्थलहरुमा भीडभाड बढेको । तर त्यो भिडलाई नियाल्दा एउटा कुरा सोच्न चाहिँ जो कोहि पनि वाध्य हुन्छ । मानिसले बुझेनन् या बुझेर पनि वाक्क भएकोले अटेर गरेका हुन् । पङ्तिकारलाइ दोस्रो बुँदामा दम छ कि जस्तो लाग्छ । बन्दाबन्दीको शुरुवाती अवस्थामा मानिसहरु घरभित्र पनि मास्क लगाएर बस्थे, खल्तीमा मिनि स्यानीटाइजर बोकेरै हिड्ने, हत्तपत्त घरको ढोका बाहिर निस्कन चाहँदैन थे, आफुले जानेको र सकेको सुरक्षा सावधानी अपनाउथे । छिमेकीसंग पनि सामाजिक दुरी कायम गर्थे । तर अहिले परिस्थिति ठ्याक्कै त नभनौं धेरै हदसम्म उल्टो भएको छ । त्यसैले पङ्तिकारलाई लाग्छ मानिसले नबुझेका त हैनन्, बरु बुझ्दा बुझ्दै वाक्क भएर अटेर पो गरेका हुन् कि ? तर सङ्गसङ्गै हामीले यो पनि बुझ्नु जरुरी छ कि नेपालमा बन्दाबन्दीको औपचारीक रुपमा हटेको हो, कोरोनाको प्रभाव घटेको हैन ।
सरकारले बन्दा– बन्दीको अन्त्य भएको औपचारीक घोषणा गरे लगत्तै मानिसहरुको व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । मानिसहरुले मास्कको प्रयोगमा कमी गरी सकेका छन् । सरकारले, स्थानीय प्रशासनले मास्क, पञ्जा जस्ता सुरक्षा सामाग्री बिना बाहिर हिडडुल नगर्न जानकारी निरन्तर प्रवाह गरिरहेको छ, कतिपय स्थानमा त अटेर गरे कारवाहि गर्ने कुरा पनि भएको छ । तैपनि मानिसहरुले अटेर गर्न छोडिरहेको छैनन् । बैँकको एटियममा पनि पहिले त भरपुर मात्रामा सेनिटाइजर पाइन्थ्यो । अहिले त सेनिटाइजरको बोतलबाट झोलको सट्टा हावा आउन थालेको छ । बैँकमै जाँदा पनि पहिले त सुरक्षा गार्डले सेनिटाइजर प्रयोग नगरी छिर्नै दिदैनथे । तर अहिले त ढोकाको कुनामा सेनिटाइजर छ । मन लागे नलाऊ, नलागे नलगाऊ भने जस्तो छ । बन्दाबन्दी सकिएसँगै सार्वनजिक यातायात चल्न थालेका छन् । सरकारले एक सिट एक व्यक्तिको नीति अगाडी सारेको छ । तर सार्वजनिक यातायातमा खुट्टा टेक्ने ठाउँसम्म नहुने अनुभव सुनाउँछन् सार्वजनिक यातायातमा सवारी गर्नेहरु । भाडा तीन गुणासम्म महङ्गो छ तर शुन्य अनुगमन । अझ विचित्र त सार्वजनिक यातायातमा कोचीइकोचीई यात्रा गर्ने हामी सर्वसाधरण नै हौं जसले बन्दाबन्दीको शुरुवाती अवस्थामा गाउँगाउँमा टोलटोलमा जाने बाटोमा बाँसको तगरा र तारबार लगायौं कोरोना रोक्नको लागि । सरकारी कार्यालयमा सामाजिक दुरी कायम गर्नको लागि रातो गोलो घेरा भित्र बसी सेवा लिऔं भन्ने सन्देश जारी गरिएको छ र रातो गोलो घेरा पनि बनाइएको छ । तर कस्लाई कस्को वास्ता ? अपवादमा १/२ जना छोडेर सबै भिडभाडमा मस्त छन् । न त मुखमा मास्क छ, न त हातमा पन्जा । नभुलौं नेपालबाट बन्दाबन्दी मात्र हटेको हो कोरोनाको प्रभाव घटेको हैन । हाम्रै यस्तै व्यवहारले फेरी बन्दाबन्दी गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
सरकारको बन्दाबन्दी अन्त्य गर्ने घोषणालाई कतिले ताली दिए कतिले गालि । यसलाई मूल्याङ्कन पनि दुबै दृष्टिकोणले गर्न सकिन्छ । परिस्थिति सामान्य नभईसकेको अवस्थामा यसरी एकाएक बन्दाबन्दीको अन्त्य गर्नु सरसर्ती हेर्दा विवेकपूर्ण कार्य त पक्कैपनि होइन तर सरकारको पनि बाध्यता होला । जस्तो कि सबै कुरा ठप्प राखेर कति दिनसम्म पो टिक्न सकिएला र ? आज यस्तो प्रतिकुल अवस्थामा बन्दाबन्दी खोल्नु हुँदैनथ्यो भन्ने एकथरीको भनाई छ । हिजो बन्दाबन्दी कायमै हुँदा कि गाँस दे कि बन्दाबन्दी खोल काम गरेर खान्छौं भन्ने अर्को थरीको माग थियो । बिचरा सरकारले पनि क कसको कुरा सुनेर सकोस् त ? फेरी सरकारले बन्दाबन्दी कायमै राख्दा हामीले पनि पूर्ण रुपमा पालना त कहाँ गरेका थियौं र ? अहिले खोल्यो भनेर खाली गालि गरेर मात्र हुन्छ
र ? अह ! सबै परिस्थितिको विश्लेषण पश्चात् सरकारले बन्दाबन्दीको अन्त्य गर्ने निर्णय ग¥यो सबै खुल्ला भयो । हिजो हाम्रो सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ भनेर करायौं तर अब हाम्रो सुरक्षाको जिम्मेवारी स्वयम् हाम्रो आफ्नै हो किनभने बदाबन्दी मात्र हटेको हो, कोरोनाको प्रभाव घटेको हैन ।
बन्दाबन्दीको समयमा मानिसलाई कुरा काट्न र आरोप लगाउन सजिलो भएको एउटा समुह शिक्षक पनि हो, विशेषतः सामुदायिक विद्यालयको
शिक्षक । अधिकांशको एउटै गुनासो थियो शिक्षकले घरमै बसी बसी तलब खाए । कतिपय विद्यालयको त स्वयम् प्रधानाध्यापकले पनि त्यसो भन्न भ्याए जब कि उनी आफैं पनि एउटा शिक्षक हुन् । शिक्षक वर्गलाई यति तुच्छ आरोप लगाउनु पूर्व कसैले पनि किन सोचेनन् कि भोली सरकारले निर्देशन दिए १०ः४ हैन ८ः६ पढाउने पनि यिनै शिक्षक हुन् । शनिबार पनि विद्यालय जाउ भने जाने यीनै शिक्षक हुन् । पङ्क्तिकार स्वयम् पनि शिक्षक भएको नाताले भोलिको दिनमा सरकारको तर्फबाट यस्तो किसिमको निर्देशन आएमा सहर्ष स्वीकार्ने छौं र सबै शिक्षकले नैतिक दृष्टिकोणबाट पनि यो दायित्व पूरा गर्नुपर्छ । तर अहिले नै पङ्क्तिकार एउटा कुरामा पक्का चाहिँ के छ भने भोलि माथि भनिए बमोजिम सरकारबाट निर्देशन आएर शिक्षक खटिए पनि शिक्षकहरुले कोशिस गरेका छन् है कसैले भन्ने छैनन् । बरु के चाहिँ पक्कै भन्ने छन् भने ४–४ महिना सुतीसुती तलब खाएसी यति पनि नगरेर पाईन्छ ? खैर, जे होस् भदौ १ गतेबाट सामुदायिक विद्यालयहरु शुरु गर्ने भन्ने कुराले मनमा एउटा खुशी चाही के दिएको छ भने सामाजिक सञ्जालको भित्तामा शिक्षकहरुलाई तुच्छ गाली गरेर आफ्नो बौद्धिकता देखाउने जमातको आँखाको तारो बन्नु पर्ने छैन अब । विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिए पनि सुरक्षाको दृष्टिकोणलाई भने विद्यार्थी, शिक्षक र अभिभावक कसैले नजरअन्दाज नगरौं, किनकि खाली बन्दा बन्दी हटेकोे हो, कोरोना घटेको होइन ।
विश्वव्यापी महामारी कोरोनाले संसारलाई धेरै पिडा दियो, केही गहिरो पाठ सिकायो र केही अबसर पनि दिलायो । लाखौंको संख्यामा मानिसको मृत्यू गराएर धेरै नमिठो पिडा दिएको छ कोरोनाले । तर संगसंगै धेरै कुरा सिकाएको पनि छ । यसले मानिसलाई हरदम नयाँ चुनौतिको सामना गर्न तयार रहन सिकाएको छ । कोरोनाले सिकाएको मानिसलाई रोगले धनि गरीब, उचनिच पूर्वपश्चिम केही भन्दैन । यसले सिकाएको छ हामीलाई आफैमा स्वावलम्वी रहनु पर्दछ भन्ने कुरा । यसले महसुस गराएको छ मानिसलाई शारीरिक व्यायम र स्वस्थ भोजनको महत्व । धेरै कुरा सिकाउनुको साथसाथै धेरै अवसर पनि जुराई दिएको छ कोरोनाले । बषौंदेखि शहर पसेका छोरा छोरी नाति नातिनाको भेट बुढा बाउआमासंग गराई दिएको छ । रुखा बनेका पाखाकाहरुले बषौं पछि खेती फलाउने अबसर पाएका छन् । गाउँको आँटोपिठो र ढिडोले शहरीयाको मुखमा पस्ने मौका पाएका छन् । काम काम भन्दा भन्दै समय दिन नभ्याउने जोडीलाई एकअर्कामा नजिक हुन र सामिप्यता प्रकट गर्न अबसर जुराई दिएको छ । आफू उठ्दा बुवा काममा गै सक्ने र बुवा फर्कदा आफू निदाई सक्ने बच्चालाई बुवाको काखमा लुटपुटिने अवसर जुराई दिएको छ । यी त सानातिना अवसरको कुरा भए । कोरोनाले सिर्जना गरिदिएको, ठूलो ठूलो अवसर त अझ कति हो कति । दश रुपयाँको माक्सलाई तीस चालीस रुपयाँमा बेच्ने अवसर जुराई दियो, टेस्ट किटको नाउँमा अरबौं कुम्ल्याउने अवसर पनि । यही कोरोनाले जुराई दियो, प्लेन भाडामा घोटाला गरेर करोडपति बन्ने अवसरको जस पनि यही कोरोनालाई जान्छ । कुहिएर सडेर फाल्नु पर्ने अवस्थाको खाद्य सामाग्री राहतको नाउँमा बाँडेर जस खाने अवसर पनि यही कोरोनाले जुराई दियो । अहो, कति धेरै अवसर ।
विज्ञानले धेरै प्रगति गरेको भएपनि विज्ञान आफैमा पूर्ण छैन । बषौं पहिलेदेखिको एच आईभि भाईरसको दवाई अझ पत्ता लागेको छैन । हुन सक्दछ कोरोनाको दवाई पत्ता लाग्न पनि अझ धेरै समय लाग्छ । यस्तो अवस्थामा बन्दाबन्दी मात्र सबै समस्याको अन्तिम समाधान होइन । संसारमा यस्ता देश पनि छन् । जसले बन्दाबन्दी नगरीकनै कोरोनालाई नियन्त्रण गरिरहेका छन् । सबै भन्दा ठूलो हाम्रो आफ्नै सर्तकता हो । नाकामा गरिनु पर्ने सुरक्षाको कुरा सरकार हेरोस् । तपाई हाम्रो ठाउँमा हामी आफै सर्तक रहौं । नबोलौं बन्दाबन्दी हटेको हो । कोरोना घटेको होइन । हाम्रो सुरक्षाको जिम्मेवारी हाम्रै हातमा ।