
राजनीति कुनै पनि राज्य कसरी अगाडी बढ्छ भन्ने कुराको निर्धारण गर्ने मूल संयन्त्र हो । वर्तमान समयमा राजनीतिलाई जे जसरी अथ्याईए पनि राजनीति भन्ने शब्दको उत्पत्ति नै राज्यं नीति मिलेर भएको हो । मतलब राजनीति अर्थात् राज्यको नीति । यसकारण राजनीति बिनाको राज्य कल्पना पनि गर्न सकिंदैन । बहुदलीय शासन व्यवस्थामा राजनीति भन्ने बित्तिकै दुई वटा कुराहरुको मुख्यतय महत्व हुन्छ । पहिलो उक्त राजनीतिक पार्टिले बोकेको बैचारीक धरातल, अथवा भनौं उक्त पार्टिले विश्वास गर्ने आस्था । दोस्रो कुरा हो– उक्त राजनैतिक पार्टीको नेतृत्व सोझो भाषामा भन्दा पार्टीका नेता । यी दुवै मध्ये कुनै एक मात्र राज्यको आवश्यकता अनुरुप भएन भने त्यो कुरा राज्यको लागि एकदम घातक हुन्छ । अर्थात भनौं पार्टीको सिद्धान्त गतिलो भएपनि त्यो सिद्धान्तमा हिड्ने, त्यो सिद्धान्तलाई अगाडि बढाउने नेता गतिलो भएन भने काम छैन । यदि पार्टीको सिद्धान्त नै राज्यको हित विपरित छ भने त त्यस्तो सिद्धान्तको पथमा हिड्ने नेता राज्यको हितमा हुने कुरै भएन । त्यस कारण पार्टीको सिद्धान्त र पार्टीको नेता यी दुवै कुराहरु सही हुनु अति आवश्यक छ । यो दृष्टिकोणबाट हेर्दा राजनीतिक पार्टीको लागि सिद्धान्त र नेता ज्यादै नै महत्वपूर्ण कुरा हो । तर पंक्तिकारलाई के लाग्छ भने राजनीतिमा सिद्धान्त र नेता त महत्वपूर्ण हुन्छ नै, तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा हो– राजनीतिक कार्यकर्ता । कुनै पनि राजनैतिक पार्टीको कार्यकर्ता उक्त पार्टीको सिद्धान्त र नेतृत्व भन्दा पनि महत्वपूर्ण र शक्तिशाली
हुन्छ ।
भनिन्छ, गुरु विनाको शिष्य हुन सक्छ, तर शिष्य विनाको गुरु हुँदैन । यदि यो विचारलाई सत्य मान्ने हो भने राजनीतिमा पनि नेता विनाको कार्यकर्ता हुन सक्ला तर कार्यकर्ता विनाको नेताको हुनै सक्दैन । त्यसकारण नेता भन्दा पनि महत्वपूर्ण कार्यकर्ता हो । तिनै कार्यकर्ताले नै नेतालाई नेता बनाउने हो । कार्यकर्ताले चाहे भने एकै झड्कामा नेता फेरिन सक्छ तर नेताले चाहँदैमा कार्यकर्ता फेर्न सक्दैन । यो हिसाबले पनि नेता भन्दा शक्तिशाली कार्यकर्ता हो, हुन्छ र हुनुपर्दछ । तर जबसम्म राजनैतिक पार्टीका कार्यकर्ताले त्यो कुराको महसुस गर्दैनन्, जबसम्म उनिहरु नेता भन्दा हामी तल्लो बर्गका हौं भन्ने मनोदशामा रहन्छन् तबसम्म राजनीतिमा सुधार आउन धेरै मुस्किल छ ।
एक एक कार्यकर्ताको सहयोग र समर्थनबाट नै कुनै एउटा व्यक्ति नेता बन्दछ । तर नेपालको हालको सन्दर्भलाई नियाल्ने हो भने नेता बनि सकेपछि त्यो व्यक्तिमा यस्तो अहमता पलाउँछ, उसले केबल आफूलाई नै सर्वेसर्वा ठान्दछ । मानौं ऊ अर्को कुनै दुनियाबाट कुनै विशेष शक्तिले पठाएको यस्तो प्राणी हो, जसको काम केबल शासन गर्नु हो । चुनावको समयमा दुई हातका दशवटै औला टमक्क मिलाएर मुसुक्क हाँस्दै शिर निहुराएर नमस्ते गर्दै भोट माग्ने नेता चुनाव जितेपछि तिनै मतदाता र कार्यकर्ताहरुको नमस्कार फर्काउन समेत आवश्यक ठान्दैनन् । तपाईहरुको कारणले गर्दा यहाँसम्म आईपुगेको छु भनेर पहिले नमस्कार गर्नु त एकादेशको कुरा भयो । तर त्यो अवस्थाको निर्माणमा हुनुमा पनि कार्यकर्ता नै सबैभन्दा बढी जिम्मेवार हुन्छन् । नेता भनिने जातको मानिसहरु सामू आफूलाई के नै हूँ र भन्दै निरिह महसुस गर्नु र आफ्नो काम बनाउन नेतालाई अनावश्यक चाप्लुसी गर्नु नै नेताले आफूलाई मै हूँ भन्ने वातावरण सिर्जना हुनुको प्रमुख कारण हो जस्तो लाग्छ ।
भनिन्छ, प्रजातन्त्रमा टाउकाको गन्ति हुन्छ, मस्तिष्कको हुँदैन । गणतन्त्रमा पनि यो कुरा हुँ बहू लागू हुन्छ । यसैको फाईदा उठाउँदै सोझासाझा जनताको सपना र भावनासंग खेलवाड गर्दछन् नेताहरु । तर विडम्बनाको कुरा चाही कहाँनेर हो भने सोझा अशिक्षित जनताहरु त सोझासाझा नै भै हाले । शिक्षित पंक्तिका कार्यकर्ताहरुले समेत नेतृत्वको गलत कार्यशैलीको खुलेर विरोध गर्ने हिम्मत गर्दैनन् । जस्ले गर्दा नेताहरुमा मैले जे गरेपनि हुन्छ भन्ने भावना झन मजवूद भएर पलाउँछ । त्यसकारण राजनीतिक पार्टीका कार्यकर्ताहरु सचेत आवाश्यकता पर्दा खबरदारी गर्न सँधै तयार रहनु पर्दछ । विपक्षी पार्टीको मात्र होइन, आफ्नै पार्टीलाई पनि खबरदारी गर्ने हिम्मत राख्नु पर्दछ ।
यतिकुरा भन्दै गर्दा के त्यसो भए राजनीतिक समुदायमा नेताहरु मात्रै बेठिक हुन् ? कार्यकर्ताहरु एकदमै ठीक हुन् त ? अहँ कार्यकर्ताहरु पनि दुधका धुला छैनन् । आफ्नो काम बनाउनु छ भने नेताको पैतालै मोल्न, ढोग्न पनि तयार हुन्छन् । चाहे त्यसको लागि नीति, नियम, सिद्धान्तको गला घोट्न नै किन नपरोस् । यहाँ नेता होस् या कार्यकर्ता सबैको एउटै सोचाई छ, नीति नियम र कानुन अरुले मान्नु पर्दछ, आफूले पर्दैन । यस्तो विकृत सोंचाई भएको राजनीतिक समाजले राज्यलाई कसरी सही मार्ग देखाउला त ?
एउटा सानो उदाहरण माथि छलफल गरौं । कुनै एउटा व्यक्ति चुनावमा उम्मेदवारको रुपमा उठ्छ । अब टिकट पाए वापत पार्टीलाई सुटुक्क बुझाउने शुल्क, प्रचार प्रसार गर्दा प्रयोग हुने गाडि र मोटरसाईकलमा चाहिने डिजेल र पेट्रोलको शुल्क, आमसभामा बाँड्नु पर्ने मासुभात, साँझ पहरेदार ग्याँङको केटाहरुलाई चिकन, मटन फ्राई हो कि सेकुवा, सोम रस त छँदैछ । पार्टीका सामान्य कार्यकर्तादेखि ठूला नेतासम्म सबैसंग तहगत बसाई, यसो खाजा पनि भन्दा भन्दै उसको झिटी झाम्टो, शकिईसकेको हुन्छ । अझ स्थानीय युवा क्लब, आमा समूहरुलाई दश÷बीस÷पचास हजारका दरले बाँडिने रकम पनि संगै छ । वर्तमान परिप्रेक्षमा चुनावमा उम्मेदवारको चुनावी घोषणा पत्रमा के छ ? के के कुराहरुको प्रतिबद्धता व्यक्त गरेको छ, भन्ने कुराले खास अर्थ राख्दैन । अर्थ केबल अर्थले राख्दछ । अर्थात कस्ले कति खर्च गर्न सक्छ, कि त्यो तर यथार्थ कुरा हो यो, सिद्धान्त र निष्ठाको राजनीति गर्नेले चुनावमा टिकट पाउनु भनेको फलमको च्यूरा चपाउनु सरह छ । अनि यस्तो माहोलबाट चुनावी जितेको नेता जस्ले चुनाव जित्नकै लागि करोडौं खर्चेको टाउँमा पुगेपछि उसले हात चाट्दैन त ? कमसेकम लगानि उठाउनु प¥यो, अर्को चुनावको लागि अलिअलि जम्मा गर्नु प¥यो । उसले पाएसम्म खाईरहन्छ तर किन खाईस भनेर सोध्ने नैतिकता कार्यकर्ता र मतदाताले गुमाई सकेका हुन्छन् । किनभने उनिहरुलाई खुवाएको मासुभात र सोमरस, हालिदिएको डिजेल, पेट्रोलको खर्च न उठाएको हो, तै पनि हामी लाज पचाएर नेताले पैसा खायो भन्न चाहि छाड्दैनौ है । मौका पाउँदा हामीले खान्छौं भने मौका मिल्दा नेताले पनि खान्छन्, फरक यति हो हामी कोही हजार खान्छौं, कोही लाख । उनिहरु कोही करोड खान्छन्, कोही अबर । दुई तीनवटा शून्यको फरक न हो ।
आउनुहोस् न । राजनीतिक आस्थामा विश्वास राख्ने सबै कार्यकर्ताहरु मिलेर यस्तो वातावरणको सिर्जना गरौं, एउटा नेताले चुनाव जित्न पैसाको खोला बगाउन नपरोस् । यदि वास्तवमै आफ्नो पार्टीको सिद्धान्तप्रति आस्था छ भने, चुनावी प्रचार प्रसारमा हाम्रो गाडिहरुमा नेताको पैसाको पेट्रोल नपरोस् । मांसहारी खाना र सोम रसको डिमाण्ड
नगरौं । खर्च गर्न सक्ने नेताको होइन, निष्ठाको राजनीति गर्ने नेतालाई साथ दिऔ । तब पो भोलि त्यो व्यक्तिले गलत गरे, त्यसको कठालो समाउने नैतिकता हामीसंग रहन्छ । नेताहरु भोट माग्न आउँदा तपाईहरुलाई के चाहिको छ भन्दा बाटो, पानी, चाहियो, बत्ती चाहियो । हाम्रो आमा समूहको भवन छैन, केटाहरुलाई खेल्न बल नेटको छैन भन्न छाडि दिऔ । काम गरेर खाने वातावरणको सिर्जना गर, रोजगारीको सिर्जना गर, राज्यमा विधि र विधानको शासन स्थापना गर, पार्टी पार्टी लडेर होइन, मिलेर देश बना भनौं न । बल्ल पो चुनाव पछि प्रश्न गर्ने ठाउँ
रहन्छ । हामी मााग नै सानो सानो राख्छौं । अनि नेताहरु पनि जसो तसो गरेर हाम्रा सानातिना माग पुरा गरेर उम्काई हाल्छन् ।
यहाँनेर म एकजना भारतीय हास्यव्यङ्ग्य कविको भनाई सम्झन चाहन्छु । उनले भनेका छन्–‘यदि ट्राफिक चेकिङमा पर्दा चलान काट्नुको सट्टा सय दुई सय दिएर उम्कन्छु भने यदि म कार्यालयमा आफ्नो काम छिटो गराउन दुई चार सय घुस दिन तयार छु भने मलाई कुनै पनि हक छैन, देशमा भष्ट्राचार भयो भनेर कराउन । त्यो नैतिकता मैले गुमाई सकेको हुन्छु । त्यस्तै अर्का एकजना कविले भनेका छन्, म देशबाट भ्रष्टाचार अन्त्य गर्छु नभनौं, म मेरो भ्रष्ट्राचार अन्त्य गर्दछु
भनौ । म मेरा भ्रष्ट्राचार अन्त्य गर्दछु तपाई तपाईको भ्रष्टाचार अन्त्य गर्नुस् ।
देशको भ्रष्ट्राचार आफै अन्त्य हुन्छ । त्यसैले हामी पनि नेताहरु खत्तम भए मात्र नभनौं, पहिला सचिन पर्ने ठाउँमा आफू सचियौं र गलत नियत भएका नेताहरुको साथ छोडिदिऊ । तब बल्ल केही हुन्छ ।