विद्यालय संरचनामा गरिएको परिवर्तनलाई पनि शिक्षा क्षेत्रमा आएको सकारात्मक परिवर्तन कै रुपमा लिन सकिन्छ । तर संगसंगै यो परिवर्तनले निम्त्याएको समस्याहरुका बारेमा पनि विचार, विमर्श र बहस गर्नु जरुरी छ । नेपालको वर्तमान विद्यालय संरचना आभारभूत कक्षा १–८ र माध्यमिक ९– १२ रहेको कुरा हामी सबैलाई थाहा छ । यो साविकको संरचना १–५,६–८ र ९–१२ पछिको सबैभन्दा पछिल्लो परिवर्तन हो । यो परिवर्तनले विद्यालयको संरचनालाई ३ तहबाट २ तहमा सिमित गरेको छ । बदलिँदो समयसंगै शिक्षामा परिवर्तन आउनु समय सापेक्ष स्वाभाविक कुरा हो । विद्यालय संरचनामा गरिएको परिवर्तनलाई पनि शिक्षा क्षेत्रमा आएको सकारात्मक परिवर्तन कै रुपमा लिन सकिन्छ । तर संगसंगै यो परिवर्तनले निम्त्याएको एउटा जटिल समस्याको बारेमा पनि विचार, विमर्श र बहस गर्नु जरुरी छ । त्यो के भने हाल कक्षा १० सम्म पढाई भइरहेको अधिकांश विद्यालयहरु जसलाई हामी हालसम्म माध्यमिक विद्यालय नै भन्छौं, ति विद्यालयहरु १२ कक्षा सम्म सञ्चालन गरी मावि नै रहलान वा आधारभूत तहमा सिमित हुन पुग्लान ? हामिले विद्यालय तहको संरचना परिवर्तन गरी त्यसलाई सहर्ष स्वीकार त ग–यौं तर के हामी त्यो परिवर्तनको लागि तयार थियौं ? के हामीले पर्याप्त गृहकार्य गरेका थियौं ? या फेरी फगत लोक रिझाइँ र अन्तर्राष्ट्रिय दाताहरुलाई देखाउनकै लागि वा भनौं अन्तर्राष्ट्रिय जगतमा नेपालले शिक्षा क्षेत्रमा प्रगति गरेको छ भन्ने देखाउन कै लागि मात्र परिवर्तन ग–यौं , अझ गम्भीर विषय त के छ भने यो परिवर्तनको आशातित उपलब्धि हासिल गर्न सरकारसंग ठोस योजना छ कि छैन ? विद्यालय संरचना परिवर्तनको कुरा मोफसलका विद्यालयहरुलाई पनि ध्यानमा राखेर गरिएको हो वा राजधानी र केही ठूला शहरहरुका विद्यालयहरुलाई मात्र मध्यनजर गरेर गरिएको हो ?
नेपालका विकास कार्यक्रमहरु चाहे त्यो शिक्षा क्षेत्रमा होस्, स्वास्थ्यमा होस्, राजनीति वा यातायात हतारमा निर्णय गरी फुर्सदमा पछुताउने रोगले कहिल्यै छाडेको छैन ? नेतृत्व गणमा सधै देखिने गरेको र आम नागरिकले भोगेको कुरा के हो भने हाम्रो राजनैतिक र कर्मचारी नेतृत्वमा अहिले जसरी हुन्छ निर्णय गरौं,कसरी कार्यान्वयन गर्ने सोच्दै गरौंला भन्ने अपरिपक्व मानसिकता रहेको छ । राष्ट्रको दीर्घकालिन विकासको लागि यो खालको मानसिकता कदापि फलदायि हुन सक्दैन । विद्यालय शिक्षाको परिवर्तित संरचना पनि यस्तै हतारोको निर्णय त हैन ? एउटा उदाहरण हरौं । नेपालमा राज्य पुनःसंरचनासंगै साविकका गाविसहरुलाई पूर्ण रुपमा विस्थापन गरी गाउँपालिका र नगरपालिकामा परिवर्तन गरिएको छ । महानगरपालिकको संख्या थपिएको छ । सुन्दा कति मिठो लाग्छ, नेपालमा गाविस नै रहेनन् । अब सबै गाउँपालिका र नगरपालिका भए । यस्तो सुनिन्छ मानौं नेपालको विकास गति १ नम्बर गियरबाट एक्कासी ५ नम्बर गियरमा पुग्यो । तर वास्तवमा नागरिकले के पाए त ? कर बृद्धिको बोझिलो उपहार बाहेक । के गाविसलाई नगरपालिका बनाउँदैमा कुनै एक नागरिकको पनि प्रतिव्यक्ति आयमा बृद्धि भएको छ ? के नागरिकले पाउने सेवा सुविधा बढेको छ ? अहँ छैन । अवस्था उस्तै छ । कतिपय ठाउँमा त नागरिकलाई झन सास्ती थपिएकोछ । त्यसो भए गाविसहरु नगरपालिका बनेकोमा खुसी के मा हुने त ? राम्रो कतिखेर हुन्थ्यो भने हामीले सबै ठाउँमा सेवा सुविधाहरु विस्तार गरी सबैको आयश्रोतहरु बृद्धि गरी आवश्यक पूर्वाधारहरुको विकास पश्चात बल्ल गाविसबाट विस्थापन गरी पालिका घोषणा गर्नु पथ्र्याे । तर हामीले यति हतार ग–यौं मानौं गाविसबाट पालिका बनाएपछि विकास आफै हुन्छ, समृद्धि आफै आउँछ, महाभारतको खण्डप्रस्थ इन्द्रपस्थ बनेजसरी । पङ्तिकारको उठानको विषय के हो भने कतै विद्यालय संरचनामा गरिएको परिवर्तन पनि हामीले हतारमा त गरेनौं ? त्यति सजिलै पुग्लान त हाल १० कक्षा सम्म चलेका विद्यालयहरु १२ कक्षा सम्म ? कक्षा १–३ सञ्चालन भएका आधारभूत विद्यालयहरु समायोजन गरिनाले सयौं विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्था सिर्जना भए जस्तै अहिले दश कक्षासम्म पढाई हुने विद्यालयहरु १२ कक्षा चलाउन नसकि कक्षा ८ मा सीमित हुनु पर्दा फेरी अर्का सयौं विद्यार्थीले कक्षा ८ मै आफ्नो पढाई बीट मार्नुपर्ने अवस्था त आउँदैन ?
कुनैपनि विद्यालय राम्रोसंग सञ्चालन हुन धेरै पक्षको संलग्नता र सहयोग चाहिन्छ । तर कमसेकम विद्यालय हो मात्रै भन्नको लागि पनि तीनवटा कुरा नभई हुँदैन । विद्यार्थी , शिक्षक र भौतिक संरचना । आंैलामा गन्न सकिने बाहेक अधिकांश विद्यालयको अवस्था यी तिनवटै पक्षमा मजबुत छैन । अधिकांश सामुदायिक विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । दक्ष शिक्षकहरुको अभाव छ र भौतिक पूर्वाधारहरुको पनि । मैले यहाँनिर समग्र विद्यालयको भन्दा पनि कक्षा १० बाट ११ र १२ पुर्याउँदा सामना गर्नुपर्ने समस्याहरुको झलक मात्र प्रस्तुत गर्न खोजेको हो । किनभने एकाध विद्यालयलाई छोडेर कक्षा ११, १२ सञ्चालन गरिरहेका विद्यालयहरु १२ चलेको विद्यालय भन्न सुहाउने खालका छन् ? उनीहरुले कस्ता कस्ता समस्याहरु सामना गरिहेका होलान त ? यो आलेख यही सेरोफेरोमा केन्द्रित गर्ने जमर्काे गरेको छु । कक्षा १० बाट कक्षा १२ सञ्चालन गर्दै गर्दा विशेषतः तिन किसिमको समस्या आउन सक्छ ।
१) दक्ष शिक्षक २) भौतिक संरचना ३) विद्यार्थी संख्या
साविकको माध्यमिक कक्षा १० सम्म अध्यापन गर्न शैक्षिक मापदण्ड विएड वा सो सरह तोकिएको छ भने हालको माध्यमिक कक्षा १२ सम्म अध्यापन गर्न स्नातकोत्तर तह सम्मको शैक्षिक योग्यता चाहिन्छ । समस्या यहीँबाट सुरु हुन्छ । अहिले माध्यमिक तहमा अध्यापन गर्ने कति शिक्षकहरु स्नातकोत्तर उत्तिर्ण होलान् ? यदि आधारभूत तहकै शिक्षकले पनि माथिल्लो तहका कक्षा लिएर विद्यालय सञ्चालन गर्ने हो भने पनि समग्र नेपालका शिक्षकहरु मध्ये कति होलान कक्षा ११, १२ पढाउन योग्य ? शैक्षिक योग्यता पुगेका दक्ष जनशक्ति निजी क्षेत्रबाटै प्रयोग गरौं न त भन्ने हो भने पनि उनीहरुलाई दिने सेवा सुविधा र पारिश्रमिकको जिम्मेबारी कसले लिने ? सम्वन्धित विद्यालयले कि सरकारले ? अवस्था कस्तो सम्म छ भने १० औं वर्षदेखि माध्यमिक तह (साविकको) सञ्चालन गरिरहेको विद्यालयमा एउटा सम्म पनि माविको दरबन्दी छैन । के यो विद्यालयको गल्ती हो ? के हाम्रो परिवर्तित संरचना अनुरुप अब उनीहरु कक्षा १२ जानु साटो घटेर आधारभूत तहमा सिमित हुने हो ? कक्षा १० र ११ को विषय वस्तु कति अन्तर छ ? ११ कक्षाका संकाय पिच्छे कति भिन्न विषयहरु छन् , कति फराकिलो छ विषय वस्तुको दायरा ? के हालको हामीसंग उपलब्ध जनशक्तिले त्यो सबै धान्न सम्भव छ ? के यसबारे सम्वन्धित सबै पक्षको ध्यान पुगेको छ ? अब कुरा गरौं भौतिक संरचनाको । एकसय जना विद्यार्थी लिएर कक्षा ११, १२ सञ्चालन गर्न झण्डै तीनसय विद्यार्थी लिएर कक्षा १० सम्म सञ्चालन गर्न चाहिने जति भौतिक सामग्री र पूर्वाधार आवश्यक पर्छ । के हाम्रा विद्यालयहरुमा त्यो किसिमको पूर्वाधार तयार छ ? छैन भने बनाउने कसले ? निजी क्षेत्रमा त लगानी कर्ताले लगानी गर्छन् र विभिन्न बहानामा विद्यार्थीबाट असुल उपर गर्छन । सामुदायिक विद्यालयमा त धेरै शुल्क लिन पनि पाइएन । सरकारी अनुदानको कुरा गर्ने हो भने एउटा भवन बन्न पनि वर्षाै लागेका उदाहरण बग्रेल्ती छन् । विज्ञान जस्तो खर्चिलो र महंगो विषय कसरी व्यवस्थापन गर्ने तयारी छ त ? भौतिक पूर्वाधारको कुराहरुमा पनि यस्ता थुप्रै समस्याहरु छन् ।
समस्या विद्यार्थी संख्यामा पनि छ । १० औं वर्ष एउटै विद्यालयमा पढे पछि विद्यार्थीहरु पनि कक्षा ११ मा नयाँ ठाउँमा अध्ययन गर्ने चाहना राख्छन् । सोच बनाएका हुन्छन् । उनीहरुको चाहनालाई कसरी सम्बोधन गर्ने, उनीहरु सोही विद्यालयमा पढ्ने वातावरण कसरी बनाउने ? कक्षा ११ र १२ सञ्चालन गर्न न्यूनतम कति विद्यार्थी हुनुपर्ने र त्यो विद्यार्थी संख्या कसरी पु–याउने जस्ता थुप्रै समस्याहरु हाम्रो आगाडि छन् । समस्याहरुको फेहरिस्त प्रस्तुत गरेर सरकारको निर्णय गलत भयो भन्नु मात्र मेरो आशय होइन् । मैले केवल यस्ता समस्या छन् है हाम्रा अगाडि भनेर सम्वन्धित पक्षहरुलाई सजग गराउन चाहेको मात्रै हो ताकि आउँदा दिनहरुमा कुनै निर्णय गर्नु पूर्व पर्याप्त गृहकार्य र पूर्व तयारी होस् । सामुदायिक विद्यालयको शैक्षिक प्रगति र उन्नयनका लागि सरकारले धेरै कामहरु गरिरहेको पनि छ । यो परिवर्तित संरचनाको कुरामा पनि सरकार सफल रहोस् र हामी सबैले लाभ लिन सकौं भन्ने शुभेच्छा । अनि यो कदम सफल बनाउन हामीसबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरौं र गर्न सकौं भन्ने आह्वान र कामना !