
२, ४ दिन मात्र अगाडीको कुरा हो । एकजना नजिक गाउँकै दिदिसँग छोटो गफ भयो । गफ एकदमै छोटो भएपनि दिदिले भन्नुभएको एउटा कुराले मस्तिष्कमा साह्रै हलचल मच्चाईदियो । सन्दर्भ थियो दिदिको नातीनि(छोरीको छोरी) को विद्यालयमा भर्ना सम्दर्भमा । उहाँ दिदिको नातीनिलाई निजी विद्यालयमा नर्सरी(बालविकास÷ शिशु) मा भर्ना गरेको भन्ने सुनेको थिए । एकिन हुनको लागि उहाँसंग प्रश्न गरें । उहाँले हो भन्नुभयो । घरायसी आर्थिक अवस्थाको कुरा गर्ने हो भने दिदिको आर्थिक अवस्था अलिक कमजोर नै छ । यसर्थ पनि मैले किन झन् खर्च बढाउने मेसो गर्नुभएको त ? गाउँमै सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको भए हुन्थ्यो । पढाई राम्रै छ त भनें । दिदिले उत्तर दिनुभयो नातीनिले साह्रै रहर गरी सरकारी स्कुलमा पढ्दिन, बोडिङ जान्छु भनेर हैरान गरी बाबु । त्यहि भएर जसोतसो पढाउँला भनेर उतै भर्ना गरीदिएँ । मैले ए भनेर वार्तालाप टुङ्ग्याएँ । घर आईसकेपछि एकछिन यसो सोचें । दिदिले दिनुभएको उत्तरले साह्रै मन कस्तोकस्तो बनायो । दुःख सुख जसो तसो गरेर भएपनि नातीनिलाई निजी विद्यालयमै पढाउँछु भन्ने उहाँको रहर भएको तर धेरै कुरा नगरौं भनेर नातीनिले मानिन भन्नुभएको भए अलग कुरो नत्र एउटा भर्खर बालविकास केन्द्रमा भर्ना हुने उमेरको बच्चालाई बोडिङ र सामुदायिक विद्यालय बीचको फरक कसरी थाहा हुन्छ ? कसरी त्यो भर्खरको कलिलो मस्तिष्कमा बोडिङको भूत पस्यो ? यो प्रश्नले मनमा धेरै हुटहुटी जगायो । त्यसो त उहाँ दिदिले झुट बोलेको मलाई खास त्यस्तो सम्झना छैन । त्यसैले पनि मलाई अझ बढी कौतुहलता जाग्यो । आखिर किन त्यो भर्खरकी बच्चीले बोडिङमै पढ्ने जिद्दी गरी त ?
नेपालको शिक्षा पद्धति दुई धारमा विभाजित छ भन्ने कुरा भनिरहन आवश्यक छैन । एकातर्फ राज्यले लगानि गरेको सामुदायिक विद्यालय छ भने अर्कोतर्फ निजी क्षेत्रको लगानि भएको निजी विद्यालयहरु । हिजो शसस्त्र जनविद्रोह शुरु गर्दैगर्दा दुई थरी शिक्षा पद्धति हुनु हुँदैन भनेर निजी विद्यालय बन्द गराउनेहरु पटक पटक सरकारको नेतृत्वमा पुगिसके तर पनि एकै खालको शिक्षा पद्धति लागु हुन सकेन । बरु एकैखालको शिक्षा पद्धति हुनसपर्छ भनेर आवाज उठाउनेका छोराछोरी नातीनातीनाहरु मासिक लाखौं शुल्क बुझाउनुपर्ने निजि विद्यालयका विद्यार्थीहरु चाहिं बन्न पुगे । हिसाब कता मिल्यो कता बिग्रियो भन्ने कुराको निर्णय गर्ने जिम्मा समझदार पाठक वर्गमा नै ।
नीजि विद्यालय भन्दैमा सबै विद्यालय एकदमै राम्रा छन् भन्ने छैन र सामुदायिक भन्दैमा सबै विद्यालय नराम्रै हुन्छ भन्ने पनि त छैन । नाम मात्रका नीजि विद्यलाय पनि छन् र उत्कृष्ट भन्दा उत्कृष्ट नतिजा दिने सामुदायिक विद्यालय पनि छन् । तर औसतमा कुरा गर्ने हो भने अभिभावकको झुकाव सामुदायिक भन्दा पनि नीजि विद्यालयतिर छ । आखिर किन यस्तो भैरहेको छ ? राज्यले यतिका लगानी गरेको छ, समुदायिक विद्यालयको शिक्षाको लागिः पाठ्यपुस्तक दिएको छ, खाजा दिएको छ, शिक्षालाइ निःशुल्क गराएको छ र पनि सामुदायिक विद्यालयतर्फ एकाधलाई छोड्ने हो भने आकर्षण ज्यादै कम छ । यो ज्यादै चिन्ताको विषय हो । जब कि सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले पाउने तलब लगायतको सेवा सुविधामा ति नीजि विद्यालयमा बाबुनानी पढाउने अभिभावकको कर पनि मिसिएको हुन्छ र पनि अभिभावकहरु आफूले तिरेको करको सदुपयोग गरौं, त्यसबाट लाभ लिऔं भन्नेतर्फ अग्रसर हुन सकिरहेका छैनन् । यो बडो आश्चर्यको विषय हो ।
अहिलेको अवस्थाको कुरा गर्ने हो भने पाँच दश बर्ष पहिले जस्तो, सरकारी विद्यालयमा कम पढेका शिक्षक हुन्छन् । राजनीतिक नियुक्ति लिएर बसेका पढाउन नसक्ने शिक्षक हुन्छन्, पढाई हुँदैन, अंग्रेजीमा कमजोर हुन्छन् भन्ने अवस्था पनि छैन । भरखरै नयाँ नियुक्ति लिएर आएका, एकसे एक शिक्षकहरु छन्, अधिकाँश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम पनि शुरु भैसकेको छ र पनि विद्यार्थी संख्या बढ्न सकेको छैन । आखिर कि त ? यसको पछाडि अरु पनि थुप्रै कारणहरु होलान् तर पंक्तिकारलाई चाही अभिभावहरुको मनोविज्ञान यसको सबैभन्दा ठूलो कारण हो जस्तो लाग्दछ । हाम्रो समाजमा मेटाउन गाह्रो हुने गरी एउटा छाप बसेको छ । त्यो के भने जसरी हुन्छ, आफूलाई आधुनिक र शहरीया देखाउनु पर्दछ । मानिसहरु नेपाली ब्राण्ड भन्दा विदेशी ब्राण्डको सामान प्रयोग गर्नुपर्दछ, नेपाली बोल्दा भन्दा अंग्रेजी बोल्दा गर्व गर्दछन् । मात्रीभाषाहरु त यही पारा रहिरहने हो भने अबका केही बर्षमा लुप्त नै हुन्छन् । चटक्क परेको परम्परागत नेपाली शैलीको घरमा बस्न भन्दा ढलान गरेको आर सी सी घरमै बस्न रुचाउँछन् । चाहे पुगोस या नपुगोस्, यस्तै गलत भाष्य, शिक्षाको क्षेत्रमा पनि स्थापित भएको छ । जसले अभिभावकको मनोविज्ञानमा नराम्रोसंग जरा गाडेको छ । शिक्षा क्षेत्रमा स्थापित भएको ती गलत भाष्यहरु यस्ता छन्ः जति गरेपनि सरकारी स्कूलको पढाई, बोर्डिङ्गको जस्तो हुँदैन, अहिलको जमानामा अंग्रेजी नजानी हुँदैन, अंग्रेजी जान्न बोर्डिङ्ग पढ्नै पर्दछ, सामुदायिक विद्यालयमा पढाउने भनेको आर्थिक अवस्था कमजोर हुनेले मात्र हो, सरकारी स्कूलम पढाउँदा हैसियत घट्छ, घर छिमेकले के भन्दछन् ? सक्ने भएर पनि बोर्डिङ पढाएन भन्दछन् । इज्जतको लागि पढाउनु पर्दछ, समझदार अभिभावकले बोर्डिङ्गमै पढाउँछन्, बोर्डिङ्गमा भर्ना गरिदिएपछि ढु्क्क भएहुन्छ । सबै कुरा स्कूलले नै गर्दछ , आदि ।
वर्तमान समयमा विद्यालय उमेका नानी बाबुहरुको अभिभावकको मनोविज्ञानमा यस्तै कुराले राज गरिरहेको छ र उहाँहरु भ्रमित हुनुभएको छ । म यही आलेख मार्फत भ्रमित नहुन पनि अनुरोध गर्दछु । सामुदायिक विद्यलायमा छोरा छोरी पढाउँदैमा यहाँहरुको हैसियत घट्दैन र बोर्डिङ्ग पढाउँदैमा ढुक्क भएर बसेहुन्छ भन्ने अवस्था पनि हुँदैन । बरु आफ्नो बाबुनानीलाई पनि सामुदायिक विद्यालयमै पढाएर विद्यालयलाई थप उन्नती र प्रगतिको बाटोमा लाग्न जुझारु हुनु नै सचेत र शिक्षित अभिभावकको कर्तब्य हो ।
बाबुनानीलाई गाउँमै सामुदायिक विद्यालयमा भर्ना गरौं भन्दा एकजना अभिभावकले बडो सरल तरिकाले भन्नु भयो, पहिले स्कूल बनाउनुहोस्, अनि ल्याउँला केटाकेटी । बडो आश्चर्य लाग्छ, स्कूल बनाउने चाही कस्ले हो ? के खाली शिक्षकको प्रयासल मात्र विद्यालय बन्छ र ? उहाँको आषय शैक्षिक उन्नति तर्फ हो कि जस्तो लाग्छ, तर रित्तो पोखरीमा त जति सुकै सिपालु मानिसले जाल हाने पनि माछा पर्दैन नी ! अर्को एक जना अभिभावकले निराश मुद्रामा भन्नु भयो कि गाउँको स्कूलमा केटाकेटी नै छैनन् । विद्यार्थी थोरै भएपछि कम्पीटशन नै हुँदैन । कम्पिटिशन नै नभएपछि बच्चाले कसरी प्रगति गर्दछ ? बडो उदेक लाग्छ, म हजुर सबैले यसो भन्दै बच्चा भर्ना नगर्दै गरेपछि कहाँबाट हुन्छन् त स्कूलमा केटा केटी ? पहिलो कुरा त बालबालिकामा प्रतिष्पर्धाको भावना आउन दिनु हुँदैन । यो बालबालिकाको मष्तिष्क विकासको लागि राम्रो होइन । एउटा बालकलाई स्वतन्त्र रुपमा विकशित हुन दिनु पर्दछ भनेर विभिन्न अध्ययन अनुसन्धानले देखाइ सकेको छ । अर्को कुरा प्रतिष्प्रर्धा नै होस् भन्ने चाहनु हुन्छ भने सबैले ल्याएर भर्ना गर्नुस् न । कक्षाभरि विद्यार्थी भएपछि त कसो कम्पिटिशन नहोला र ? सामुदायिक विद्यालयमा पढाउँदै गर्दा प्रतिष्पर्धासंग सम्बन्धित एउटा नमिठो अनुभव छ, एक बर्ष एक जना नानी नीजि विद्यालयबाट हाम्रो विद्यालयमा आईन । तर अर्को बर्ष फेरी निजीमा नै पकिन् । हाम्रो दुर्भाग्य भनौ या के उनको कषामा उनिसंग प्रतिष्पर्धा गर्न सक्ने अरु विद्यार्थी नै थिएनन् । अरु सबै विद्यार्थी मध्ययम स्तरका थिए उनि मध्यम भन्दा धेरै माथिल्लो स्तर कि । अनि उनिफेरी नीजि मै फर्किएकोक कुरालाई लिएर हामी शक्षक माथि घोंपेच, छेडखान िशुरु भयो । म यही आलेख मार्फत भन्न ाहन्छु – मपुठा सल्काउँदा झिंजा बाल्दा, बाल्द ा सबै झिंजा एकैचोटी बाल्नु पर्दछ । एउटा बाल्ने फेरी अर्को बाल्ने गरेर, मुठा सल्कदैन । विद्यालयमा पनि त्यस्तै हो । एउटै गाउँबाट नीजिमा पढि रहेका पचास सय जना एक बर्ष सामुदायिक विद्यालयमा भर्ना गर्नुहोस् र विद्यालयमा चासो दिनुहोस् त, यहाँहरुले सोंचेको, खोजेको कसो नपाउला ? एक बर्ष एउटा, एक बर्ष एउटा गरेर जुवा च्याखे थापेको पाराले त कसरी हुन्छ र हजुर ? त्यसैले म समेत अभिभावक बर्गमा अनुरोध गर्न चाहन्छु कि सामुदायिक विद्यालयप्रति स्थापित भएको गलत भाष्यको भ्रमबाट माथि उठेर एक पटक आ–आफ्नो क्षेत्रको सामुदायिक विद्यालयलाई मौका दिने कि ?