मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता नविन्द्रराज जोशीको चैत्र १३ गते शुक्रबार राती निधन भएको छ । जोशीको सम्मानमा नेपाली कांग्रेसले तीन दिन देशभरका पार्टी कार्यालयहरुमा आधा झण्डा झुकायो । प्रचण्ड, माधव नेपाल लगाएत अन्य दलका नेताहरुपनि उनलाई श्रद्धान्जली व्यक्त गर्न आर्यघाट पुगे । उनी प्रति श्रद्धाञ्जली व्यक्त गर्ने सबैका विचार थियो, एउटा सादगीपन र सरल राजनेता नेपालले गुमाएको छ ।
विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका जोशी २०३६ सालदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । उच्चरक्तचार र मधुमेहका विरामी जोशीको मस्तिष्कको दाहिने भागमा समस्या भएका कारण केही दिन अगाडि शल्यक्रिया भएको थियो । तर समस्या समाधान नभएपछि उनलाई नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो । राजनैतिक यात्राका क्रममा पटक–पटक पक्राउ परी हिरासतमा बसेका जोशी २०७० सालको संविधानसभा निर्वाचनमा काठमाण्डौं–८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
समकालिन अन्य राजनीतिज्ञको भन्दा उनको परिचय भिन्न थियो । सरलता र सादगीको पर्याय जोशी २० वर्षको हुँदा त्रिचन्द्र कलेजको स्ववियु सचिव बनेका थिए, नेपाल विद्यार्थी संघको तर्फबाट । २०४९ सालको स्थानीय निर्वाचनमा काठमाण्डौं नगरपालिकाका उपप्रमुख बनेका जोशीले राजनैतिक इमान्दारी र सादगीपनकै कारण कहिल्यै पछाडि फर्केर हेर्नु परेन । २०६७ सालदेखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका थिए । २०७३ भदौमा उद्योगमन्त्री बनेका जोशीले बन्द रहेको नेपाल औषधी लिमिटेडलाई सञ्चालनमा मात्र ल्याएनन्,अन्य बन्द भएका र रुगण अवस्थामा रहेका सरकारको लगानी भएका उद्योगहरुको पुनः सञ्चालनको वातावरण बनाए । २०७२ को महाभूकम्पका कारण सिथिल बनेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन र विदेशी लगानी ल्याउन लगानी सम्मेलन गर्ने र सो मार्फत झण्डै १२ खर्व रुपैयाँ बराबरको वैदेशिक लगानी आउने प्रतिवद्धता पनि उनैको पालामा आएको हो । दुर्भाग्यवशः उनको उद्योगमन्त्री पद खासिएसंगै त्यो अनुसारको वैदेशिक लगानी भने आउन सकेन । २०६४ देखि २०६९ सम्म नेपाली कांग्रेसको संसदिय दलको प्रवक्ताको रुपमा गणतन्त्र संस्थागत गर्ने तथा संसदिय अभ्यास र परम्परालाई परिस्कृत र सुसंकृति बनाउने कुरामा महत्वपूर्ण योगदान गरे । लौहपुरुष गणेशमान सिंहको सान्निध्यमा हुर्केका जोशीले काठमाण्डौं लगाएत देशभरका सांस्कृतिक सम्पदा संरक्षण तथा सहरको आधुनिकिकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बीर गणेशमान नामको चलचित्र बनाउने कामको अगुवाई गरेर जोशीले गणेशमान सिंहको राजनैतिक योगदानलाई आम नेपाली सामु लैजाने काममा समेत महत्वपूर्ण भूमिका निर्वाह गरे । सामान्य विरामी भएका बेला पनि विदेश उपचारका लागि जाने र राज्य कोषबाट लाखौ लिने राजनीतिक कर्मी नेपालमा प्रसस्त छन् । यो वा त्यो दलको भन्ने छैन । राज्यको दोहन गर्ने रोग राजनैतिक दलका नेताहरुमा बढ्दो रहेका बेला जोशीले भने सरकारले उनको उपचारमा दिने भनेको १० लाख उपचार खर्च पनि अस्विकार गरे । उनको भनाई थियो, म आफ्नो उपचार आफै गर्न सक्छु । मेरो उपचारमा राज्यले खर्चन लागेको रकम गरिब जनताको उपचारमा खर्च गरोस् , जो उपचार गर्न असक्षम छन् । नागरिकहरु सिटामोल खान नपाएर ज्वरोले हप्तौं थलिने अनि जीवनजलको पुरिया नपाएर कति झाडापखालाका विरामीले मृत्यु वरण गरको समाचार समान्य भएको बेला जोशीको यो निर्णय र व्यक्त विचारले सबै राजनैतिक दलका नेता उस्तै हुन्छन् भनेर सोलोडोलोमा व्यक्त गरिने प्रतिक्रियालाई निस्तेज बनाएको छ । र आम मानिसले भन्न थालको छन्, कोही त रहेछ हाम्रा बारेमा सोच्ने । विसं २०७४ को आम निर्वाचनमा बाम गठबन्धनका उम्मेदबारसंग झिनो मत अन्तरले हारेका जोशीले आम मतदातसंगबाट भने आफुलाई टाढा राखेनन् । कोभिडका बेला सरकार नागरिकसम्म पुग्न नसक्दा उनले आफ्नै पहलमा चिकित्सकको टोली बनाएर आवश्यक सल्लाह सुझाब दिने र कोभिड संक्रमणबाट जोगिने उपायहरुबारे निरन्तर सचेतना जगाइरहे । सरलता र सादगी अनि थोरै बोल्ने, धेरै गर्ने उनीबाट अरु राजनीतिज्ञले सिक्न सक्ने कुरा हुन् ।
नेपाली कांग्रेसमा शुद्धिकरण गर्दै यसलाई आम नागरिकको मनको पार्टी बनाउने उनको संकल्प अब अधुरो हुने भएको छ । सफल उपचार गरेर छोरा घर आउने आशमा दैलो कुरेर बसेकी जोशीकी आमाको आशाको त्यान्द्रो चुँडिएको छ । तर अब कांग्रेसले जोशीको आदर्श र संकल्पलाई आत्मसाथ गर्दै पार्टीलाई शुद्ध तुल्याउनु त छ नै उनका अन्य समृद्धि सपना पूरा गर्नु छ । सादगीका र इमानका पर्याय नेता जोशी प्रति शब्द श्रद्धा ।
सादगीको विदाई
previous post