
केही दिन पछि कार्तिक १५ मा नेपाल र विश्वभर सहरीकरण दिवस मनाईँदैछ । अक्टोबर ३१ मा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सहरीकरण दिवस मनाउँदै गर्दा हामीले अब यसले निम्त्याउने समस्याबारे समेत छलफल गर्नु र समाधानका उपायहरुबारे चर्चा र बहस गर्नु आवश्यक छ ।
सहरीकरणका विभिन्न कारणहरु छन् । अर्थात ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा मानिसहरु बसाईँ सर्नुका विभिन्न कारणहरु छन् । सहरमा बस्नु सांस्कृतिक र आर्थिक रूपमा फाइदाजनक हुन सक्छ किनभने यसले श्रम बजारमा पहुँच, राम्रो शिक्षा, आवास, र सुरक्षा अवस्थाहरू प्रदान गर्दछ भने यसले आवागमन र यातायातको समय र खर्च समेत घटाउने गर्दछ । घनत्व, निकटता, विविधता र बजार प्रतिस्पर्धा सहरका विशेषता हुन् र मानिसका लागि लाभदायक मानिन्छन् र सोही लाभ प्राप्तको आकांक्षाले मानिस सहरमा वसाईँ सर्ने गर्दछन् ।
हामी कहाँ सहरीकरणको एक खालको होड नै चलेको छ । ७५३ वटै स्थानीय सरकारहरु आफुलाई सहरीकरण गर्न आतुर छन् । काठमाण्डौलाई आफ्नो काँठ क्षेत्रको सहरीकरण गर्नुछ । अरुहरुका पनि त्यही आकांक्षा होलान् । गाउँ पालिकाका प्रमुखहरुको भाषण सुन्यो भने, हरेकले पालिकालाई सुविधाले युक्त बनाएर सहर बनाउने घोषणा गरेका हुन्छन् । तर यसले निम्त्याउने समस्याबारे भने कमैको मात्र ध्यान गएको पाईन्छ ।
काठमाण्डौंका ढुङ्गे धारामा पानी आउन छाडेको बर्षाै भयो । किन ? काठमाण्डौमा मात्र किन सहर भनिएका अन्य ठाउँहरुमा पनि यस्ता मुल हराउँदै गएका छन् । इनार खनेर पानी निकाल्ने भन्यो भने धेरै गहिरो खन्दासम्म पानी भेटिँदैन । के पानी विना हामी जीवनको कल्पना गर्न सक्छौं ? अवश्य सक्दैनौं । त्यसो भए यो समस्या अव्यवस्थित सहरीकरणका कारण आएको हो भन्ने बुझेर सहरलाई कंक्रिटको जंगल हुनबाट जोगाउन तर्फ लाग्नु अपरिहार्य भैसकेको छ । फोहर र त्यसले फैलाउने दुर्गन्ध अनि दुर्गन्धसंगै आउने विभिन्न खाले रोगको कुरा गरिसाध्य छैन । डेंगी संक्रमण सहरमा धेरै हुने तथ्यहरुले पनि सहरीकरण बारे सोच्नु पर्ने बनाएको छ । आउनुहोस्, सहरीकरण रोक्न नसकिएला तर यसलाई व्यवस्थित र मानव अस्तित्व अनुकूल बनाउने तर्फ लागौं ।