२०४६ सालको प्रथम जनआन्दोलनका सर्वाच्च कमाण्डर तथा नेपाली जनमनको सर्वाेच्च नेता अनि लौह पुरुषका नामले समेत परिचित व्यक्ति हुन्, गणेशमान सिंह । विसं १९७२ साल कार्तिक २४ गते काठमाण्डौमा जन्मेका उनले नेपालको पहिलो राजनैतिक दल प्रजापरिषदको सदस्यको रुपमा रहेर जहानिया राणा शासन विरुद्ध लड्न आफुलाई राजनीतिमा होमेका थिए । फादर अफ डेमेक्रेसी अर्थात प्रजातन्त्रका पिताका नामले समेत परिचित सिंहको जन्म आमा सुभद्राकुमारी तथा बुबा ज्ञानमान सिंहको कोखमा भएको थियो ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासंग भारत प्रवासमा चिनजान र रानीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई जीवनका पछिल्ला दिनहरुसम्म नेतृत्व दिन उनी सफल भए । यद्यपि २ असोज, २०५४मा मृत्युवरण गर्दा उनी आफुले जन्माएको अनेक दुःख कष्ट सहेर हुर्काएको पार्टी नेपाली कांग्रेसको साधारण सदस्य समेत थिएनन् । यसका थुप्रै कारणहरु होलान् । निर्वाचनको संघारमा यी विषयमा थप चर्चा गर्दा अन्यथा अर्थ लाग्न सक्छ । तर प्रथम जनआन्दोलन २०४६ लाई सफलतामा टुङग्याउन उनले खेलेका भूमिकाको नेपाली जनले सदा स्मरण गर्नेछन् । नेपाली कांग्रेसलाई नेपाली जनमनको पार्टी बनाउन अझ भनौं लोकप्रिय दलको रुपमा उभ्याउन हरदम प्रयत्नरत सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थक थिए । पहिलो जननिर्वाचित मन्त्री मण्डलमा वरिष्ठ मन्त्री बनेका सिंह २०१७ पुष १ मा भएको प्रजातन्त्रको अपहरण पश्चात ८ वर्ष निरन्तर जेल परे । जेलबाट छुटे लगतै प्रवासमा गएर राजनीतिक संगठन विस्तामा सक्रिय रहेका सिंह २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर आफ्ना प्रिय नेता बीपीसंगै नेपाल फर्किए र तत्कालिन पञ्चायती व्यवस्था विरुद्ध लडिरहे ।
बीपीको निधनसंगै कांग्रेसको सर्वाेच्च नेताको रुपमा गणेशमानले २०४२ सालको सत्याग्रहको आरम्भ र अगुवाई गरे । १९९७ सालदेखि नै अनवरत रुपमा राजनीतिमा सक्रिय तर जुझारु स्वाभाव अनि कडा मिजासका नेता सिंहको नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । एक्ला एक्लै आन्दोलन गरेर निरंकुश पञ्चायती व्यवस्था ढाल्न सकिँदैन भन्ने निष्कर्षका साथ कम्युनिस्टहरुसगं मिलेर जनआन्दोलनको घोषणा र अगुवाई गरेका सिंह त्यागका पर्याय पनि हुन् । उनले जनआन्दोलनको सफलता पश्चात बन्ने सरकारको प्रधानमन्त्रीको रुपमा काम गर्न तत्कालिन राजा विरेन्द्रले आग्रह गर्दा अश्विकार गरेर आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । युग नेता सिंहको आज परेको जन्मजयन्तीको अवसरमा सम्झना र श्रद्धाञ्जली ।
सर्वाेच्च नेताको सम्झना-सम्पादकीय
previous post