–देशका प्रमुख राजमार्गहरु मध्येको एक पृथ्वी राजमार्गको दुलगौंडा–कोत्रे सडक खण्डको अवस्था साह्रै दयनिय छ । दैनिक सयौं यातायातका साधन आउजाउ गर्ने उक्त सडकमा यात्रा गर्ने यात्रुले झण्डै दुइ किमीको उक्त सडक खण्डमा व्यहोर्नुपर्ने सास्तीको हिसाबै छैन । तर न त दैनिक सोही बाटो भएर यात्रा गर्ने यात्रुहरुले कुनै आवज उठाएको सुनिएको छ । न त स्थानीय समुदायल नै । सामाजिक सञ्जालका पानाहरुमा पनि यस विषयमा खासै चर्चा भएको पाइएको छैन ।
–केही दिन अगाडिको कुरा हो, प्रशिद्ध तिर्थस्थल छाब्दी बाराही जाने मोटरमार्ग कालोपत्रे गरेको केही दिनमै उप्किन थाल्यो । ठेकेदारको लापरवाहीले भएको कुरालाई कतिपयले ट्याक्टरका कारण भएको भनेर छोपछाप गर्ने प्रयत्न ग¥यौं तर यसका विरुद्ध थप आवाज उठाएनौं ।
यी त केही उदाहरणमात्र हुन हामीले आफ्ना सरोकारका विषयमा कति चासो राख्छौं, भन्ने कुराको । पछिल्लो समय पूर्व सहकर्मीको आत्महत्यामा दूरुत्साहन गरेको अभियोगमा टेलिभिजन पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि चितवन र देशभरको वातावरण तनावमय बन्यो । रविलाई राज्यले नियतवस् फसाउन खोजेको बुझाइमा आन्दोलन चक्र्याै । रविको न्यायको कुरा गर्दा मृतक पुडासैनीको न्याय र अस्मिता कार्कीको अस्मिताका बारेमा हामीले सम्वेदनशिलता प्रदर्शन गर्न सकेनौं । केही वर्ष अगाडी भारतीय चलचित्र अभिनेता ऋतिक रोषनले नेपाली नागरिक मन पर्दैन भन्दा काठमाण्डौमा सिनेमा हल र सडकका रेलिङ भाँच्न उद्धत हामी आफ्नो प्रत्यक्ष सरोकारका मुद्दाहरुमा भने किन आवाज गर्दैनौं, विस्मित तुल्याउने कुरा छ ।
रवि र अन्य त्यस्तै रविहरुलाई राज्यले अनाहकमा फसाउनु हुदैन तर हामी जसरी रविलाई पक्राउ गर्दा देशै उल्टर प्रदर्शनमा सहभागी भयौं, २१ औं शताब्दीका आधुनिक समाजको कलंकको रुपमा रहेको र हाम्रो समाजमा विद्यमान बोक्सी प्रथाका विरुद्धमा हामी किन जाग्न नसकेको ? बोक्सी भन्दै मलमुत्र खुवाइएका महिलाका पक्षमा र मलमुत्र खुवाउनेका विपक्षमा किन हामी रविको समर्थनमा झै सडकमा नआएका ? दाइजो नल्याएको निहुँमा जिउदै जालाइएका दिदी बहिनीको पक्षमा हामीले आवाज उठाएको खोई त ?
सरकार विद्यालय शिक्षा निशुल्क भन्छ, तर सामुदायिक विद्यालयहरु विभिन्न बहानामा धमाधम विद्यार्थीबाट शुल्क असुलिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले २५० रुपैयाँमा उपलब्ध गराउने एसईई प्रमाणपत्र विद्यार्थी तीन चार हजार देखि १० हजार सम्म तिरेर विद्यालयबाट लिनु परिरहेको छ । हजारौ बालबालिका शिक्षा आर्जन गर्ने आधारभूत मानव अधिकारबाट वञ्चित छन् , विद्यार्थीको हित रक्षाका लागि गठन गरिएका भनिएका विद्यार्थी संगठनहरुको आँखा यता किन नपुगेको होला ? एनसेल नामको दुरसञ्चार सेवा प्रदायक कम्पनी राज्यलाई तिर्नुपर्ने ६२ अर्ब भन्दा बढी राजस्व नतिरेर अटेरी गरेर बसिरहेको छ । हामी उसलाई पर्याप्त दवाव सृजना गर्ने खालका कार्यक्रम सञ्चालन गर्दैनौं । एक हप्ता एनसेलको सिम प्रयोग गर्न बन्द गरौं त, एनसेल आफै लुरुलुरु कर तिर्न ठूला करदाता कार्यालय जान्छ । तर हामी त्यसो गर्न सक्दैनौं, आखिर किन ? एक छिन सोचौं त एनसेलले आफुले तिर्नुपर्ने लाभांश तिर्ने हो भने हाम्रा बालकालिका पढ्नका लागि कतिवटा सुविधा सम्पन्न विद्यालय भवन बन्लान ? सडक सञ्जाल नपुगेका कति ठाउँमा सडक पुग्थ्यो होला ? कति किमी सडक कालोपत्रे हुन्थ्यो होला ? कति स्वास्थ्य चौकी बन्थे होलान् ? कति नागरिकले स्वास्थ्य सेवा र औषधि उपचार पाउथे होलान ? एकछिन् सोचौं त । यस्ता कुरामा हामीले आफ्ना आवाज दिनु पर्ने होइन ? खासगरी युवाहरुको यसमा भूमिका हुनु पर्ने होइन् ?
नेपालमा पुस्तौंदेखि रहँदै आएका नेपालीले नागरिकताको प्रमाणपत्र पाउन गाह्रो छ, तर भारतीयहरुलाई नागरिकता सहजै प्रदान गर्ने कानुन राज्यले निर्माण गर्न लाग्दा हामी चुपचाप बस्छौं । दक्षिण सिमानाका सिमा पिल्लरहरु रातारात हराउने गरेका छन्, यसमा पनि हामी केही बोल्दैनौं । विमानस्थलमा समातिएको सुन बाहिर आइपुग्दा पितल बनिसक्छ , हामी यस्तो कसरी भयो भनेर खोजीनीति गर्दैनौं ? वैदेशिक रोजगारीमा जाँदा धेरै तलब पाउने सहमतिमा हस्ताक्षर गरेर जान्छौं तर उहाँ पुगेर भनेजति पारिश्रमिक पाउँदैनौं । रोजगार व्यवसायिले हामीलाई ठगेको कुरामा हामी आवाज उठाउँदैनौं । राज्य नागरिकको बोल्ने, लेख्ने र विचार अभिव्यक्त गर्ने स्वतन्त्रता खोस्ने कानून ल्याउदैछ भन्ने जान्दा जान्दै हामी कुनै असहमती प्रकट गर्दैनौं । त्यसो भए हामी आफुसंग प्रत्यक्ष सरोकार रहेका विषयमा विमुख भएका हौं त ? नभए देशमा भएका यावत समास्यामा हामीले मत–अभिमत प्रकट गर्नुपर्ने होइन र ?