पृष्ठभूमिः
दमौलीबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा असोज २७ गते एक समाचार प्रकाशित भयो । शिर्षक थियो ं‘२७ फरार प्रतिवादी पक्राउ’ । समाचार थियो– ‘पक्राउ पर्नेमा वन, सम्बन्ध विच्छेद, नाता कायम, गाली बेइज्जती, कूलपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।’ यो समाचारले अनुभवी कानुन व्यवसायी, कर्मचारी, प्रहरी अधिकृतहरुलाई पनि अल्मल्यायो । मिसिल हेर्न पर्ने बनायो । नाजवाफ बनायो ।
फरार प्रतिवादीः
वन र घरेलुहिंसा मुद्धा बाहेकका अरु कुनै पनि मुद्धामा फरार प्रतिवादी भन्न मिल्ने अवस्था छैन भन्ने बुझाई कानुनी अभ्यासको मेरो लामो अनुभवमा थियो । तर समाचारमा आयो । पुष्टिका लागि जि. प्र.कार्यालय तनहुँका DSP संग जिज्ञासा राग्दा कानुन बमोजिम बाहेक हामीले पक्राउ गर्दैनौं भन्ने जवाफ आयो । अदालतमा सोधें । अदालत खुलेपछि मात्र मिसिल हेरेर जानकारी पाइयो कि फरार प्रतिवादीलाई पक्राउ गरिएको होइन रहेछ । सम्बन्ध विच्छेद, नाताकायम, लगायतका मुद्धाहरुमा त वादीलाई जरिवाना भएको रहेछ ।
जरिवानाको व्यवस्था छैनः
समाचार पढेपछि पक्राउ गर्ने कार्यालयले जरिवाना असुल गर्न पक्रेको जानकारी दिएपछि सम्बन्ध विच्छेद मुद्धामा कसरी भयो जरिवाना भनेर हेर्दा सम्बन्ध विच्छेदको महलमा जरिवाना गर्ने त कानुनी व्यवस्था देखिएन । नाताकायम मुद्धामा पनि जरिवाना गर्ने स्पष्ट व्यवस्था भेटिएन ।
कसरी भयो जरिवानाः
वन र घरेलुहिंसा बाहेकमा ती मुद्धामा प्रतिवादीलाई सजाय भएको होइन । फरार प्रतिवादीलाई पक्राउ गरिएको पनि होइन । वादीलाई जरिवाना गरिएको
हो । वादीले मुद्धा दायर गरेर वीचैमा मुद्धा छोडिदिएको अवस्थामा कानुन बमोजिम मुद्धा डिसमिस हुन्छ । मुद्धा डिसमिस गराउने वादीलाई अदालतले डिसमिस गराए वापत जरिवाना गर्दछ । सोही बमोजिम वादीले मुद्धा डिसमिस गराए वापत जरिवाना तिर्नु पर्दछ ।
शब्दले दिएको गलत सन्देशः
जरिवाना नतिरे वापत कायम भएको लगत बमोजिमको जरिवाना असुल उपर गर्नका लागि सम्बन्ध विच्छेद, नाता कायम, गाली बेइज्जती, कूलपानी, करकाप लगायतका मुद्धामा पक्षहरुलाई अदालतमा दाखिला गराइएको रहेछ । तर सूचना प्रवाह र समाचारमा प्रयोग भएको गलत शब्दावलीले कानुनका विद्यार्थीहरुलाई गलत सन्देश दिएको रहेछ । सोही समाचारले अल्मल्याएको
रहेछ ।
निष्कर्षः
सूचना प्रवाह गर्दा र समाचार प्रसारण तथा प्रकाशन गर्दा शब्दावलीको महत्व र अर्थ समेतलाई ख्याल गर्न सकियो भने सहि सन्देश प्रवाह हुन सक्दछ । सहि सन्देशले समाजलाई सहि मार्ग निर्देश गर्न सक्दछ । सूचना प्रवाह गर्नु र समाचार प्रकाशन तथा प्रसारण गर्नुको उद्देश्य पुरा हुन्छ ।
सम्बन्ध विच्छेद र फरार प्रतिवादी
previous post