पृष्ठभूमिः
नेपाली समाजमा पनि सम्बन्ध विच्छेद पश्चिमा मुलुकमा जस्तै सामान्य भैसकेको छ । अझै संकट नेपालको के छ भने नेपाली संस्कारले पनि नछोडेको, पश्चिमा संस्कारको प्रभाव पनि बढेको संक्रमणमा रहेको छ । नेपाली सस्कारलाई चुनौति दिदै विकास भएको सम्बन्ध विच्छेद लहडकै भरमा हुन थालेको अवस्था छ । यसको सबभन्दा बढी प्रभाव नावालकलाई परेको पाइएको छ । नावालकको मनोविज्ञानमा परेको असर सम्बन्ध विच्छेद गर्ने जोडीले वेवास्ता गरेको महसुस सम्बद्ध क्षेत्रले गरेको छ ।
सम्बन्ध विच्छेदको अवरोधः
सम्बन्ध विच्छेदको अवरोधक नावालक कस्ले पाल्ने भन्ने रहेको छ । अझ एउटा उदाहरण त कस्तो छ भने सम्बन्ध विच्छेद भई फैसला कार्यान्वयन पनि भैसकेको अवस्थामा बच्चाको निर्णयले सम्बन्ध विच्छेद भएका जोडी एकैसाथ बसेको उदाहरण खोज्न पनि टाढा जानु पर्दैन । सम्पत्ति बाँडाफाँडमा पनि कुरा मिले पनि नावालाकको संरक्षकत्व कस्ले ग्रहण गर्ने भन्ने विवाद मिल्न गाह्रो भएको पाईएको छ । आमाको मनोविज्ञान नावालक मेरै साथमा रहँदा राम्रो संरक्षण हुन्छ भन्ने रहेको पाईन्छ । बाबुको मनोविज्ञानमा पति फेर्नेले मेरो बच्चाको उचित संरक्षण गर्न सक्दैन भन्ने रहेको पाईन्छ । कानूनले के भन्छ ? हामीले जानेको बुझेको प्राकृतिक कुरा नावालकलाई जन्माउने बाबुआमाले नै नावालकको हेरचाह, स्याहार सम्भार गर्नु पर्दछ । तर नमिलेका जोडीले मिलेर संयुक्त रुपमा संरक्षण गर्ने अभ्यास भैसकेको छैन । कानूनले नावालकलाई कस्को जिम्मा लगाएको छ, हामी सबैको सरोकारको विषय हो ।
दोस्रो विवाह गरेको अवस्थामाः
आमाले दोस्रो विवाह गरेको अवस्थामा पनि नावालक पाँच बर्ष भन्दा कम उमेरको भएमा आमाकै संरक्षणमा रहन पाउने कानूनी व्यवस्था छ । पाँच बर्ष भन्दा माथिको भएमा आमाले अर्को विवाह गरेको अवस्थामा बाहेक आमाले राख्न चाहेमा आमाकै जिम्मामा नावालक रहने व्यवस्था कानूनले गरेको छ । त्यो अवस्थामा बाहेक नावालक पिताको जिम्मामा रहने कानूनी व्यवस्था छ ।
पालनपोषणको जिम्माः
वैवाहिक सम्बन्धको अन्त्य भएका पतिपत्निको नावालक बच्चा भएमा दुई बीचमा आपसी सझदारी भएमा सोही बमोजिम हुने कानूनी व्यवस्था छ । सहमति हुन नसकेमा पाँच बर्ष पुरा नभएको नावालकको पालनपोषणको जिम्मा आमाकै हुने गरी कानूनले व्यवस्था गरेको छ । पाँच बर्षभन्दा माथि दश बर्ष पुरा नभएको नावालक भएमा पालनपोषणको जिम्मा बाबुको जिम्मा हुनेछ । दश बर्ष पुरा भएको नावालक भए निजले बाबु आमा मध्ये जोसंग बस्न मन्जुर गरेको छ निजको जिम्मा हुने कानूनी व्यवस्था छ ।
अदालतले तोके बमोजिमः
कानूनले आमा बाबु ले नावालकको आवश्यक हेरचाह गर्नुपर्ने व्यवस्था गरेको छ । माथि गरिएको चर्चा अनुसार नावालक पाल्ने आमा वा बाबु मध्ये नपाल्ने आमा वा बाबुको कमाई राम्रो भएको अवस्थामा आपसी समझदारीमा बालबच्चाको पालनपोषण र स्याहार संरक्षण गर्नुपर्ने व्यवस्था छ । त्यस्तो सहमति हुन नसकेमा अदालतले तोके बमोजिम हुने गरी कानूनले व्यवस्था गरेको छ ।
भेटघाटको सुविधाः
पति पत्निको नाता सम्बन्ध विच्छेद भएमा वा अंश लिई भिन्न भै बसेको अवस्थामा समेत नावालक छोरा छोरीसंग भिन्न भै बसेको आमा वा पिताले भेटघाट गर्न पाउने कानूनी व्यवस्था छ । आमा बाबुको सहमतिमा केही अवधिको लागि साथमा रहन दिनु पर्नेछ भन्ने कानूनी व्यवस्था छ । यो सुविधा लिंदा वा दिंदा नावालकको अधिकतम हितलाई प्राथमिकतामा राखिएको हुनु पर्दछ । नावालकको हित प्रतिकूल हुने कुनै संम्भावना देखिएमा त्यसरी भेट गर्न वा साथमा रहन दिनमा रोक लगाउने गरी सम्बन्धित जिल्ला अदालतले आदेश दिन सक्ने कानूनी व्यवस्था छ ।
निष्कर्षः
पितृसत्तात्मक हाम्रो पारिवारीक संस्कार भनौं या विश्वपरिवेशले नेपाली समाजमा सम्बन्ध विच्छेद फेसनकै रुपमा अगाडि बढेको छ । मानवीय मूल्य मान्यताको संरक्षण गर्न समाजलाई उत्प्रेरित गर्ने मूल ध्येयले आएको यो सम्बन्ध विच्छेदको अधिकार पछिल्ला दिनमा दुरुपयोग हुन थालेको छ । पुरुषले दोस्रो विवाह गर्ने प्रयोजनका लागि सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्ने, महिलाहरुले आफ्नो मनलाई नियन्त्रण गर्न नसक्दा गोप्यता भङ्ग भएका कारण सम्बन्ध विच्छेद गर्ने प्रचलन बढेको पाइयो । यो अधिकारको प्रयोग गर्दा आफूहरुले जन्माएको नावालकको हितलाई प्राथमिकता राख्न अबका आमाबुवाले विशेष ध्यान दिनु पर्ने भएको छ । बच्चा जन्माइ सकेको जोडी अपरिपक्व अथवा नावालकप्रति गैरजिम्मेवार बन्न भएन । आफ्ना इच्छा, कामबाशनालाई नियन्त्रण गर्न सक्नु प¥यो । आक्रोस, आवेग, झोंक, प्रतिषोधलाई नावालक छोराछोरीको अवोध, निर्दोष अनुहार, भविष्य हेरेर संयमित हुनु सक्नु परेको छ । सम्बन्ध विच्छेदको विकल्प परिवारको साथमा रहने बस्ने हो भने त्यसलाई अपनाउँदा छोराछोरीको भविष्य सुरक्षित हुन्छ ।