यो साता लोकतन्त्रमा विश्वास राख्ने नेपालीले कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्ती श्रद्धापूर्वक मनाए । विसं १९७१ साल भाद्र २४ गते जन्मेका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका पर्याय नै बने र नेपाली जनमनमा सदा स्मरणीय रहे ।
व्रिटिसको अधिनमा रहेको भारतमा चलेको भारत छोडो आन्दोलनमा लागेका कारण तीन महिना भारतीय जेलमा वसेका कोइरालाले नेपालमा रहेको जहानिया राणा शासन विरुद्धको आन्दोलनको अगुवाई गरे र २००७ सालमा त्यसको अन्त्य भई देशमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्र प्राप्तीपछिको कांग्रेस–राणा संयुक्त सरकारको गृहमन्त्रीको रुपमा ९ महिना काम गरेका कोइराला २०१६ सालमा भएको निर्वाचनबाट प्रधानमन्त्री बन्न सफल भए । नेपालको २२ औं प्रधानमन्त्री बनेका कोइरालाले कार्यकक्षमा किसानको तस्वीर राखेर तल्लो तहका जनताको पक्षमा काम गर्दैगर्दा उनी सत्ता विमुख हुन पुगे । दुर्भाग्यवश १८ महिना काम गर्न नपाउँदै प्रजातन्त्र अपहरण भयो र उनी जेलमा पुगे ।
आठ वर्ष लामो जेल जीवन पछि वनारस निर्वासनमा गएका उनी देशको अस्तित्व नै खतरामा पर्ने बुझेपछि २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए । तर तत्कालिन पञ्चायती सरकारले नेपाल फिर्तिको उनको गम्भीरतालाई बुझेन र पुनः जेल जीवन विताउन उनी बाध्य बनाए ।
प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् किनभने कोइराला नेपाली आख्यानमा मनोविश्लेषणको प्रयोग गरी साहित्य सिर्जना गर्ने पहिलो आख्यानकार समेत हुन् । तीन घुम्ती, नरेन्द्रदाइ, हिटलर र यहुदी, सुम्निमा, मोदी आइन बाबु, आमा र छोरा जस्ता उपन्यासका सर्जक कोइरालाका दोषी चश्मा, श्वेतभैरवी जस्ता कथा संग्रह तथा आफ्नो कथा, जेल जर्नल, सुन्दरीजल, फेरी सुन्दरीजल जस्ता पुस्तक प्रकाशित छन् ।
राजनीति र साहित्य दुवै फाँटका उज्जल तारा कोइरालाको सदा सम्झना ।
सम्झनामा जननायक- सम्पादकीय
previous post