राजनैतिक परिवर्तन गर्नु भन्दा पहिले आधुनिकिकरणको सिद्धान्त प्रतिपादन गर्नु जरुरी छ । परनिर्भरताको सिद्धान्त परित्याग गर्नु पूर्वसर्त हुन्छ । विश्वका धनी देशहरुद्वारा गरिब देशहरुलाई गरिएको आर्थिक र प्राविधिक सहयोगले आन्तरिक उत्पादन र क्षमता अभिवृद्धिमा ठूलो धक्का लाग्यो । राजनैतिक दबाव विदेशीबाट बढ्न गयो । आयात र निर्यातबीचको असन्तुलनबाट अतिरिक्त मूल्य धनी देशहरुकै कब्जामा पुग्न गयो । यसको परिणाम के देखियमो भने गरिब राष्ट्रमा गरिबीको मात्रा बढ्नुको साथसाथै परनिर्भरता(Dependency ) झन बढेर गयो ।
नेपाल जस्ता देशले विकास प्रारम्भ गर्दा धेरै झमेला व्यहोर्नु पर्ने हुन्छ । तसर्थ निर्भरतामुखी विकासमा आश्रित हुनु परेको छ । जस्तै कहिले चीनबाट रेल ल्याउने र भारतबाट पानी जहाज ल्याउने सोच नेपालीको नभई विदेशीको इशारामा गरिएको अभिव्यक्ति हो । नेपालमा रेल चढ्न सक्ने र पानी जहाज चढ्नसक्ने व्यक्ति कति छन् ? पानी जहाज र रेलको पूर्वाधार बनाउन सक्ने क्षमता हाम्रो देशसंग छ कि छैन ? खोजी कसले गरेको छ ? प्रश्नको उत्तर पहिलो पूर्वसर्त जनताले खोजिरहेका छन् । नेपालले आफ्नो विकासलाई अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्न उत्पादनको संरचनामा परिवर्तन गर्नुपर्ने हुन्छ । आन्तरिक नीतिमा परिवर्तन, निर्यातमुखी औद्योगिकरण र आर्थिक विविधिकरण तर्फ सक्रियता पूर्वक कदम चाल्नु पर्ने हुन्छ । यसले बेरोजगारी कम हुन्छ । आम्दानीमा सन्तुलन ल्याउँदछ । केन्द्रको एकाधिकारलाई घटाउँछ । पर निर्भरताको स्थितीबाट बच्न र विकासको राष्ट्रिय अभियानालई तिब्र पार्न आन्तरिक उत्पादन व्यवस्थालाई मजबुत बनाइनु पर्दछ । पूजिको परिचालन(Capital mobilization) , बचत र पूर्ण लगानी(Saving and Full investment) लाई अभियानको रुपमा लगाउँदै निर्यामुखी ब्यापार नीतिलाई जोड दिनुपर्दछ । ठूला राष्ट्रले सहयोगको नाममा शोषणको जालो फालिरहेका छन् । जस्तै भारतले नेपाललाई । नेपाल कृषि अर्थतन्त्रमा आधार भएको, औद्योगिक उत्पादन अतिकम भएको शोषित राष्ट्रको सूचिमा रहेको छ ।
विकास प्रारम्भ गर्ने स्थानीयबासी व्यक्ति, सामाजिक, सांस्कृतिक, भौगोलिक वातावरणमा अनुभवि हुनाको साथै त्यस ठाउँको समस्यालाई चिनेका हुन्छन् । त्यस्ता व्यक्तिबाट जनताको वास्तविक माग(Felt Need) पहिचान हुन्छ । तिनीहरुबाट गरिएको कामबाट जनता संन्तुष्ट हुन्छन् । त्यस्ता व्यक्तिको खोजी गर्नु पहिलो आवश्यकता हो । के त्यस्तो अवस्था वर्तमान सरकारसंग छ त ?
हाम्रो अर्थव्यवस्था गरिबीको गहिराइमा फस्न पुगेको छ । तसर्थ हाम्रो समाज परनिर्भर बन्न पुगेको छ । विदेशमाथीको अत्यधिक परनिर्भरताले हाम्रो अर्थव्यवस्था अपाङ्ग हुन पुगेको छ । हाम्रा लगानीकर्ताले देश भित्रै उद्योगभन्दा खोल्नको सट्टा विदेशमा बेनेका आयातित बस्तु वेचेर नाफा कमाउनतिर बढी उत्साहित देखिन्छन् । तसर्थ लगानी कर्ताले परनिर्भरताको सिद्धान्त पूर्ण रुपमा अभ्यास गरेका छन् । राजनैतिक सिद्धान्त पनि आफ्नो नभई विदेशी व्यक्तिको नाम बेचेर गरिएको छ, जुन दूर्भाग्यपूर्ण अवस्था हो । विकासको उचाइमा पुगेका राष्ट्रहरु गरिब राष्ट्रका स्रोत साधन, कच्चा पदार्थ, श्रमिकको शोषण गरी औद्योगिकरण र प्रविधिकरण गर्न सफल भएका छन् । कच्चा पदार्थ निर्यात गरी महंगा वस्तु भित्र्याउन गरिब राष्ट्र वा नेपाल जस्ता देश बाध्य भएका छन् । तसर्थ समयमै सुधार गर्नुस् अर्थमन्त्री ज्यू, अन्यथा नैतिकताको आधारमा राजीनामा दिनु उत्तम हुनेछ । सुधारको शुभ कामना !