
आज विश्व–सिमसार दिवस । हरेक वर्ष फेब्रुअरी २ तारिखमा विश्वभर विश्व–सिमसार दिवस मनाउने गरिन्छ । मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरुका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना भन्ने नाराका साथ यो वर्ष अर्थात सन् २०२३ को विश्व–सिमसार दिवस मनाईँदैछ ।
संयुक्त राष्ट्र संघले सन् २०२१ दखि २०३० सम्मको एक दशकलाई पारिस्थितिक पद्धतिको पुनः स्थापना दशकको रुपमा संसारभर मनाउने घोषणा गरेको छ । बढ्दो विभिन्न खाले मानवीय क्रियाकलापका कारण संसारभरको पारिस्थितिक पद्धतिमा नकारात्मक असर पर्दै गएको छ । यसको अर्थ हो, हामी मानव समुदायसंग संगै सम्पूर्ण प्राणी जगतको अस्तित्व संकटमा पर्दै आएको छ । मानव र प्राणी जगतको संकटमा परेको अस्तित्व जोगाउँदै पृथ्वीलाई सबैखाले प्राणीका लागि वस्न योग्य बनाउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।
कतिपय पाठकहरुलाई सिमसार के हो ? जसका विषयमा विश्व दिवस नै मनाउनु पर्ने भन्ने लागेको हुन सक्छ । अझ यसको मानव समुदाय र सम्पूर्ण प्राणी जगतसंग के त्यस्तो साईनो छ ? जसका कारण संयुक्त राष्ट्र संघले सिङ्गो एक दशक त्यसको संरक्षणमा खर्चन चाहेको छ ? भन्ने प्रश्न पनि हामी मध्ये कतिको मनमा उब्जेको हुन सक्छ । त्यसैले आज यो आलेखमा सिमसार भनेको के हो ? यसको मानव र सम्पूर्ण प्राणी जगतसंगको नाता के हो ? अनि यसको संरक्षण र पुनः स्थापना किन आवश्यक छ भन्ने विषयमा चर्चा गर्न चाहन्छु ।
पानी र जमिन मिश्रित दलदल भएको भू–भाग सिमसार हो, जुन थलो ओसिलो र धापिलो हुन्छ । बाह्रै याम पानी नसुक्ने भूमि भएकाले यो वनस्पतिका लागि आकर्षक भूमि हो भने खासगरी दुर्लभ पंछीहरुका लागि आश्रय थलो पनि हो । समुन्द्रबाट कोशौं टाढा जमिनै जमिनले घेरिएको देश भएपनि नेपालमा प्रसस्त सिमसार क्षेत्रहरु रहेका छन् । प्रकृतिको वरदानका रुपमा रहेका यस्ता क्षेत्रको संरक्षण र पुनःस्थापना गरेर माथि भनिए झैं नेपाललाई सम्पूर्ण प्राणी र वनस्पती जगतको आश्रयस्थल बनाउनु आवश्यक छ । यसले हाम्रो पारिस्थितिक पद्धतिमा सकारात्मक योगदान मात्र दिएका छैनन् । यी क्षेत्रहरुले त नेपालको पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान गरेका छन् ।
बाह्रैमास पानी हुने भएकाले सधैं हरियाली हुने यो क्षेत्रले आधुनिक फिल्टरका काम गर्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर यथार्थ के हो भने पृथ्वीको मृगौला भनेर समेत चिनिने यो क्षेत्रमा भएका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका सरायनहरूलाई छानेर सफा र स्वच्छ बनाइ दिन्छ । यतिमात्र होइन, नेपालको सिमसारको कुरा गर्ने हो भने वर्षेनी यही क्षेत्रमा अण्डा पार्न र चल्ला कोरल्न उपयुक्त वातावरण पाएने भएकाले विश्वका विभिन्न देशबाट चराहरु आउने गर्दछन् । हाम्रो तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । विश्व रामसार सूचिमा नेपालका दशवटा क्षेत्र मात्रै सूचिकृत भएका भएपनि ठूला साना गरी ४ हजारभन्दा बढी सिमसार क्षेत्र भएको अनुमान छ । भनिरहनु परेन, जैविक विविधताका दृष्टिले यि हाम्रा अमूल्य निधी हुन् ।
तर दुर्भाग्य, हाम्रो विवेकहिनता, बलमिच्याईँ र धनाशक्तिले आफ्नो जीवनसंग जोडिएका यस्ता क्षेत्रको विनाश हुँदै गएको छ । कतै घर बनेका छन् । कतै कारखाना खोलिएका छन् । कतै व्यापारीहरुले प्लटिङ गरेका छन् र समग्रमा सिमसार संगै मानव तथा अन्य प्राणी र वनस्पतीको समेत विनाश भइरहको छ । मानव जातिको हितका लागि पारिस्थितिक प्रणालीका प्राकृतिक सम्पदाको जगेर्ना गर्न सिमसारको बुद्धिमत्तापूर्ण र दिगो प्रयोग अनिवार्य छ । सिमसारमा आश्रित सङ्कटापन्न जीवजन्तु, जलचर, सापेक्षिक जङ्गली जनावर तथा अन्य जल आश्रित आनुवंशिक स्रोतको संरक्षण गर्न सक्दा मात्र मानव जातिको हित हुनसक्छ । काठमाण्डौं उपत्यका लगाएतका क्षेत्रमा बढ््दो भूमिगत पानीको दोहन, पोखरा लगाएतका सहरमा भएका तालहरुको घट्दो क्षेत्रफलले हामीलाई चिन्तित तुल्याउनु पर्ने हो तर धनाशक्तिले हाम्रो विवेकमा विर्काे लागेको जस्तो देखिँदैछ । आफ्नै अस्तित्व संकटमा पार्दैछौं ।
स्पष्ट छ, सिमसारको संरक्षण गर्न र यसको पुनः स्थापना गर्न नसक्ने हो भने हामीले पछिल्लो पुस्ताका लागि स्वच्छ पानी दिएर छोड्ने छैनौं । प्राकृतिक फिल्टरको रुपमा रहेको सिमसारको संरक्षण गर्न नसक्नु भनेको आगामी पुस्तका लागि हामीले रोग, भोक र गरिबी उपहार दिनु हो । के हामी हाम्रा सन्ततीलाई यस्ता उपहार छाढ्न चाहन्छौं ? के हामी चाहन्छौं कि हाम्रा सन्ततीले हामीलाई श्रद्धापूर्वक सम्झनु साटो गाली गरुन् ? अवश्य चाहँदैनौं ।
त्यसैले आउनुहोस्, आफ्ना सन्तानका लागि सुन्दर अनि सुरम्य पृथ्वी छोड्नका लागि आजैबाट यो बहुमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा सहभागी बनौं । रामसार महासन्धीमा हस्ताक्षरकर्ता राष्ट्रको रुपमा नेपालले बुझोस्, यो समय, सिमसार पुनः स्थापनाको हो । सिमसार दिवसको अवसरमा विश्व समुदायमा सिमसार क्षेत्रको संरक्षण र पुनः स्थापना गर्ने चासो बढोस् ।