हामीभन्दा ठूलो समय हो । समयभन्दा ठूलो विचार हो । समय समाप्त भएर जान्छ । विचार समाप्त भएर जाँदैन अर्थात मर्दैन । यो त झनै फैलिन्छ । झ्याँङ्गिन्छ । ठूलो हुन्छ । प्रचार प्रशार हुन्छ । समय एक नासले एउटै रप्mतारमा निरन्तर बगिरहन्छ । समाप्त भइरहन्छ । तर विचार प्रशारको गति सधैं एकै नासले हुँदैन । विचारको गति स्थिर, तिब्र र मन्द तीन किसिमले प्रवाह भैरहेको हुन्छ । समयको गति र विचारको गति सधैं मेल खान्छ भन्न सकिदैन । विचार र समयको गति मिल्यो भने क्रान्ति सफल हुन्छ । व्यक्ति महान
बन्छ । राष्ट्रले कोल्टे फेर्ने अबसर प्राप्त गर्छ । समयभन्दा विचारको गती अगडि दगुराउन खोज्ने हो भने दुर्घटना पनि हुनसक्छ । समयसँग आम मानिसको गति स्थिर रुपमा चलायमान हुन्छ । विचारको तिब्र गतीमा अधिकाँश मानिसले आफूलाई समायोजन गर्न सक्दैनन् । अन्ततोगत्वा समयको गतिलाई नै राम्रो उत्तम र विकल्पको रुपमा चुन्न बाध्य हुन्छन् । र भइरहेको पनि छ ।
समय आफ्नै किसिमको हुन्छ । यो समान किसिकको हुन्छ । यसमा रुचि वा अरुचि भन्ने हुँदैन । विचार आ–आफ्नो हुन्छ । एउटाको विचार अर्काेलाई मन नपर्न सक्छ । त्यही विचार कसैको लागि प्राण हुन्छ । सम्झदा पनि गर्वानुभूति हुन्छ । उसले त्यै विचारलाई जीवनको प्राण प्रतिष्ठा ठान्छ । अर्काेले त्यै विचारलाई तिक्त देख्छ । उसको विचारलाई विष र चरम नकारात्मक देख्छ ।
विचार प्रकृत्य हुँदैन । समयानुकुल हुन्छ । विचार मानिसको परिस्कृत मस्तिष्कबाट उब्जेको हुन्छ । समय प्रकृत्य हुन्छ । यो आफ्नै हिसाबले बदलिन्छ । कसैबाट निर्दिष्ठ हुँदैन । कसैको बसमा पनि पर्दैन । विचार, बहस, छलफल र गहन विश्लेषणबाट परिमार्जन गर्न सकिन्छ । समयलाई न त विचार नत विश्लेषण न त छलफलले केही गर्न सकिन्छ । सकिन्छ भने यसले छोडेर गएको प्रकृत्य अवशेषलाई मात्र विश्लेष, छलफल र निश्कर्ष निकाल्न सकिन्छ । विचारलाई उत्तम, विवेकपूर्ण र निर्भिक बहसले उर्जाशिल बनाउँछ । समयलाई कसैले उर्जाशिल बनाउन सक्दैन अपितु व्यक्तिले आफ्नो उमेरसँगै समयको महत्व बुझ्यो भने त्यो समयलाई उर्जाशिल मान्न वा बनाउन सक्छ ।
समयसँगको तालमेलमा एउटा मानिस दिगो र महान व्यक्ति बन्न सक्छ । समयको बेतालमा एउटा मानिसको जीवन खण्डहर बन्न सक्छ । समयको समायोजन र विचारसँगै सहकार्य गर्न सक्यो भने व्यक्ति कार्लमाक्स बन्न सक्छ । अहिंम्साका महान पुजारी महात्मा गान्धी बन्न सक्छ । मानवीयताका प्रतिमुर्ती मार्टिन लुथर किङ बन्न सक्छ । जननायक विश्वेश्वरप्रसाद कोइराला बन्न सक्छ । जबजका सुत्रधार मदन भण्डारी बन्न सक्छ ।
समयलाई नचिन्ने नेता, सर्वसाधारण वा व्यक्ति दुःखका थुप्रा हुन् । अरुका लागि विष समान हुन् भने केहीका लागि खाने भाडो । समयलाई नचिन्ने नेता र स्वच्छ विचारलाई परिचालन गर्न नसक्ने व्यक्ति समाजका भार जस्तै हुन् । उनीहरूले समाजलाई सामाजिक, धार्मीक, सांस्कृतिक, आर्थिक लगायत हरेक क्षेत्रमा दुष्प्रभाव फैल्याउँछन् । त्यस्ताको हुँकार ठूलो हुन्छ । डुब्न लागेको घाम एकछिन तिब्र हुन्छ । उज्यालो हुने बेलामा संसार सबैभन्दा अन्धकार हुन्छ । निभ्ने बेलाको बत्ती तेज हुन्छ र मर्न लागको बेलामा मानिसले खुट्टा तन्काउँछ । यी हाम्रा आनिबानीसँग समयको कुनै मित्रता छैन । मोह छैन । प्रभाव पनि छैन । समयले यस्ता वाइघात फकिरहरूको कुरा सुन्दैन । बरु ‘राम्रो विचार लिएर मसँगै हिँड्’ भन्ने पवित्र धारणा प्रस्तुत गर्छ । समयसँगैको सहकार्यमा नेलशन मण्डेलाले शासन गर्न जाने । अब्राहम लिङ्कनले प्रजातन्त्रको परिभाषा दिए । रुसो र भोल्तेयरले सामाजिक नियम र बन्धनमा कलम चलाए । त्यसैले त विद्धानहरूले भन्ने गरेका छन् ‘धनुको बाण भन्दा विचारको बाण दश गुणा प्रभावकारी
हुन्छ ।’
विचार पक्षपाती हुन्छ । यो यो अलिक स्वार्थी पनि हुन्छ । यसले ओत्ने र ढाक्ने काम गर्छ । समय त्यस्तो स्वार्थी हुँदैन । न त कसैलाई ओत्ने वा ढाक्ने काम गर्छ । यो त एक ट्वाके हुन्छ । अटेर हुन्छ । दृढ हुन्छ । महान व्यक्तिहरू दृढ हुन्छन् । समय उनीहरूका लागि महान आदर्शवान् गुरु हुन्छ । त्यसै हुनाले दृढ व्यक्तित्व दृढ समयको परिणाम हो । समय खाए खा नखाए घिच हो । विचार त्यस्तो होइन । विचार अवस्था, समस्या र आवश्यकताको पहिचान हो । विचार पानी हो । समय स्पात हो । विचारको घर मस्तिष्क हो । समयको घर सदुपयोग हो । विचार समायनुकुल बनाउन सकिन्छ । तर समय तपाइँको विचार अनुकुल बन्दैन ।
सूर्यले हामीलाई जीवनभर प्रकाश दिन्छ । पृथ्वीले हामीलाई बस्ने र जीउने ठाउँ दिन्छ । पानीले हामीलाई जीवनदान दिन्छ । पानीविना हाम्रो शरीर सुकेर लुरे बन्छ, बालीबिरुवा मुर्झाउँछन्, जनावरहरू आत्तिन्छन् । हावाविना त झन ३ मिनट पनि बाँच्न मुस्किल हुन्छ । अनि हरियालीले हामीलाई शीतलता र स्फुर्ति दिन्छ । सूर्य, पृथ्वी, पानी, हावा, हरियाली सबैलाई हामीले सित्तैमा पाउँछौँ । कहि कतै किन्न पर्दैन । अनि उनीहरूको स्वार्थ पनि छैन । उनीहरू निश्वार्थ छन् । त्यसैले उनीहरूले हामीसँग केही माग्दैनन् । विचार पनि निस्वार्थ छ । कसैको विचार हामीले लिनै पर्छ भन्ने छैन । विचार सुन्न र सुनाउन सकिन्छ अपितु लाद्न मिल्दैन । विचारमा बरु थोर बहुत स्वार्थ हुन सक्छ तर अन्यमा त्यस्तो हुँदैन । आम मानिसले पनि आफ्नो विचारलाई घाम, पानी जस्तै बनाउनुपर्छ । आफ्नो विचारलाई घाम पानी जस्तै दानी बनाउन सकियो भने यसले जीवनभर शीतलता प्रदान गराउँछ ।
समय र विचार
previous post