निर्धारित समय भन्दा अक्सर दश पन्ध्र मिनेटदेखि आधी घण्टासम्मको ढिलाईमा सहभागिहरुको उपस्थिति । अझ कैयौं सहभागिहरु त कार्यक्रमको मध्यभागमा कार्यक्रमको एकाग्रता र रौनकतालाई नै खल्बल्याउने गरी दुई हात जोडेर भन्दा मुस्कान छर्दै ठूलो स्वरमा नमस्कार भन्दै उपस्थित हुन रुचाउने स्वभावका पनि हुन्छन् । अनि कार्यक्रमका कति सहभागि यस्ता खालमा पनि हुन्छन्, जो केबल माइनुटमा उपस्थिति जनाउनको लागि मात्र सहभागि भएका हुन्छन् । माईनुटको सहभागितामा हस्ताक्षर गरेपछि यसो मेसो मिलाएर सुटुक्क निस्कि हाल्छन् । कोही आरामसंग विदा मागेरै कार्यक्रमको मध्य भागमा निस्कने प्रबृत्तिका पनि हुन्छन् । कोही कार्यक्रमको सफलता र उपलब्धि भन्दा पनि ज्यादा खाजा पानीको विषयमा टिकाटिप्पणी गर्ने खालका पनि हुन्छन् । चाहे सभा, सम्मेलन, भेला होस् या कुनै मिटिङ्ग या सांस्कृतिक कार्यक्रमहरु नै किन नहोस्, यस्ता थरीथरीको सहभागिहरुसंग जमघट गर्ने अवसर मिल्छ । ती भिन्न भिन्न स्वभाव र प्रबृत्तिका सहभागिहरुमा अक्सर सानो संख्यामा एकथरी सहभागिहरुको जमात हुन्छ । जो कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्म बसेर कार्यक्रमको सवल र कमजोर पक्षहरु अनि कार्यक्रमको उपलब्धिहरु माथि छलफल र विश्वलेषण गर्न रुचाउँछन् । मैले यहाँ भन्न चाहेको सहभागिहरुको किसिम मध्ये अनितम किसिम बाहेक अन्य सहभागिहरु जो या त ढिलो आउँछन्, या त छिटो जान्छन्, या त फेरी ढिलो आएर छिटो निस्कन्छन् । उनिहरु सबैको एउटै बाद्यता हुन्छ, त्यो हो समयको व्यस्तता । मानौं यस्तो लाग्छ, कि कार्यक्रममा पूर्ण समय दिएर बस्ने सहभागिहरु कामै नपाएर बसेका हुन् । उनिहरुको समयको खासै मोल छैन । या फेरी यसरी भनौं, ति सहभागिहरु त्यति विशेष मान्छे होइनन् । जति समयको व्यस्तताले गर्दा ढिलो आउने या छिटो निस्कने सहभागिहरु हुन् । साँच्चै आजको समयका अधिकाँश हामीहरु कति व्यस्त छौं हगि ।
कुनै पनि कार्यक्रममा उपस्थिति हुने सहभागिहरु समयको हिसाबले कति व्यस्त हुन्छन् भन्ने कुरा त मोटा मोटी उल्लेख गरी हालें । सहभागिहरु भन्दा पनि अझ व्यस्त हुन्छन्, कार्यक्रमको अतिथि गण र प्रमुख अतिथि महोदय । सबै एकै प्रकारका हुन्छन् भनेर म भन्न सक्दिन र भन्न पनि मिल्दैन । तर अधिकाँश कार्यक्रमहरुमा यस्तै हुने गरेको देखिएको छ । कति कार्यक्रमको त अन्त्यमा मञ्चमा सभापति र सहभागिहरुको भिडमा आयोजक कमिटि साथीहरु र छिटपुट दुई चार जना सहभागिहरु मात्र बाँकी रहन्छन् । यो मैले अड्कल गरेर वा अन्दाजमा भनेको कुराहरु होइनन् । म स्वयम सहभागि भएको कैयौं कार्यक्रमहरुमा यो नियति भोगि सकेको छु, देखि सकेको छु, के गर्नु व्यस्तताले गर्दा पुरै समय बस्न सकिएन भनेर दुःखेसो पोख्ने कैयौं साथिहरुलाई मुस्कानका साथ हात मिलाएर विदाई गरेको छु मैले पनि धेरै पटक । कहिले काँही इष्र्या पनि लाग्छ, त्यस्तै व्यस्त हुन पाए पो, त्यस्तै विशेष हुन पाए पो । कुरा फेरी सहभागितिरै गएछ, एक पटक अतिथिगणहरु तर्फ फकौं होला । कार्यक्रममा लगभग आउनु पर्ने जति सहभागिहरु आए वा भनौं अब थपिने सम्भावना छैन भन्ने लागे पछि विस्तारै विस्तारै कार्यक्रमको उद्घोषकले कार्यक्रम सञ्चालन गर्न थाल्दछ । निर्धारित समय भन्दा एकाध घण्टा ढिलो । कार्यक्रम शुरु हुन्छ आशन ग्रहणबाट । सभापतिको आशन ग्रहणसंगै उद्घोषकले भटाभट, प्रमुख अतिथि र अतिथिहरुको नाम भन्न शुरु गर्दछ, मर्यादाक्रम अनुसार । कोही मञ्चमै हुन्छन्, कोही सहभागिहरुको भिडबाट मञ्चमा पुग्छन् । पछिल्लो समयमा देखिन थालेको एउटा चलन चाही के हो भने लगभग आसन ग्रहण सकिन सकिने लाग्दा, कार्यक्रमको मुख्य व्यक्तित्व अर्थात प्रमुख अतिथिको आगमन हुन्छ । सहभागिहरुको जोडदार तालीले प्रमुख अतिथिको आशन ग्रहण गराईन्छ । यहाँनेर कार्यक्रम सञ्चालकले पहिल्यै भनि सकेको हुन्छ, समयको व्यस्तताले गर्दा प्रमुख अतिथिको आगमनमा ढिलाई भएको कुरा । कहिले काही व्यस्तताले गर्दा समयमै सहभागि हुन नसक्नु वेग्लै कुरा हो । तर पछिल्लो समयमा यो चलन लगभग हरेक जसो कार्यक्रमहरुमा देखिन थालेको छ । मानौ समयमै उपस्थित भयो भने अतिथि पदको गरिमा घट्छ ।
यसरी ढिलो चाँडो, चलन चल्तिको भाषामा नेपाली समय अनुसार कार्यक्रम शुरु हुन्छ । प्रमुख अतिथिको आगमन पश्चात कार्यक्रमको औपचारिक उद्घाटन शुरु हुन्छ र शुरु हुन्छ मन्तब्यको कार्यक्रम । वास्तविक रमाईलो चाही अब शुरु हुन्छ । अब दुईवटा दृष्य देख्न पाईन्छ । अघिसम्म टम्म मिलेर बसेका अतिथि गणहरु आफ्नो बोल्ने पालो सकिएपछि विस्तारै विस्तारै मञ्चबाट बिलिन हुन थाल्दछन् । आफूलाई हतार भएकोले आफ्नो बोल्ने पालो पहिला राख्न सुझाउने अतिथिगणहरु पनि मञ्चमा प्रसस्तै हुन्छन् । आफ्नो पालोमा जोडदार प्रस्तुती दिन्छन् । सहभागिहरु समक्ष प्रतिबद्धता व्यक्त गर्दछन् । प्रमुख अतिथिलाई प्रश्न तेस्र्याउन छन् तर आफ्नो पालो सकिएपछि यसो मेसो मिलाएर फुत्त बाहिरिन्छन् । उनिहरुको प्रश्नप्रति, मागप्रति जिज्ञासाप्रति प्रमुख वक्ताले के कस्तो तरिकाले सम्बोधन गर्दछन् । त्योसंग खास लेनदेन हुँदैन । आफ्नो भनाई राखियो, हिड्यो । उनिहरु व्यस्त जो छन्, कहिले काही त कतिसम्म दयनीय अवस्था पनि आउँछ भने मञ्चमा प्रमुख अतिथि एक्लै उभिएर बोलि रहेका हुन्छन् । उनको भनाई सुन्न त्यहाँ कार्यक्रमको सभापति र घरि सहभागि तर्फ त घरि कार्यक्रमको सेड्यूल तर्फ आँखा लगाउँदै गरेका सञ्चालक मात्रै हुन्छन् । सहभागि कति छन् भन्ने कुरा चाहि मैले शुरु मै उल्लेख गरे जस्तो, समयको व्यस्तताले बाँधिएका सहभागिहरु कति छन् भन्ने कुराले निर्धारण गर्दछ ।
यो एउटा दृष्य भयो, यदि यो दृष्य देख्न पाइएन भने, अर्को दृष्य देखिन्छ, दुई चार जना बोलेपछि सञ्चालकले समयको व्यस्तताले प्रमुख अतिथि जानु पर्ने कुरा सुनाउँछन् र भनाई राख्न मञ्चमा बोलाउँछन् । प्रमुख अतिथिले धडाधड आफ्नो भनाई राख्छ र व्यस्तताले गर्दा पुरा समय दिन नसकेकोमा खेद प्रकट गर्दै नमस्ते गरेर विदा हुन्छ । त्यहाँ सहभागिहरु जिज्ञासा के छ, अन्य अतिथिहरुले आफूलाई के कस्तो प्रश्न गर्नुछ, त्यो विषयमा सोंच्ने प्रमुख अतिथिलाई फुर्सद नै हुँदैन । समयको व्यस्तता जो छ, प्रमुख व्यक्ती भएको नाताले त्यहाँ उठ्ने जिज्ञासाहरुको समाधान गर्नु प्रमुख अतिथिको दायित्व हो । तर यस्तो लाग्छ, कुनै पनि कार्यक्रममा प्रमुख अतिथिको काम आफ्नो पूर्व निर्धारित भनाईहरु राख्नु मात्र हो । जिज्ञासा र प्रश्नहरु उनको सरोकारका विषय नै होइनन् । साँच्चै कति व्यस्त हुन्छन्, कार्यक्रममा अतिथि बनेर आउने मानिसहरु ? कति अमूल्य हुन्छ है उनिहरुको समय !
सबै मानिसको जिवनमा समयको आ–आफ्नै महत्व हुन्छ, त्यही अनुसार उनिहरुको व्यस्तता पनि । संसारमा यस्ता मानिसहरु पनि छन्, जसको समयको सेकेण्ड सेकेण्डको मूल्य लाखौं हुन्छ । अनि यस्ता फूर्सदिला मानिसहरु पनि छन्, जसको दिनको मूल्य पनि साथमा हिसाब गर्न सकिन्छ । मैले यहाँनेर जगजाहेर गर्न चाहेको प्रश्न चाही खाली के मात्र हो भने अहिले कार्यक्रमहरुमा चाहे सहभागि हुन्, अतिथि बर्ग उहाँहरुले देखाउने व्यस्तता के साँच्चिकै व्यस्तता हो त ? या फेरी फगत अरुलाई आफू व्यस्त भएको देखाएर कार्यक्रमबाट पन्छिने बहाना ? कुनै पनि कार्यक्रममा जब तल्लोदेखि माथिल्लो तहका सबै मानिसहरुको अर्थपूर्ण सहभागिता रहन्छ, अन्तरक्रिया हुन्छ, बहस हुन्छ, तबमात्र चुरो कुरा निस्कन्छ । हाम्रो त अतिथि बस्दा सहभागि नहुने, सहभागि हुँदा अतिथिलाई हतार । एउटाले अर्काको कुरा सुन्ने साईत जुर्नै गाह्रो । अनि त्यस्ता कार्यक्रमहरु उपलब्धिका दृष्टिले कसरी सफल हुन सक्छन् होला ?
हो, समय सबैको महत्वपूर्ण हुन्छ । मैले यो आलेखमा आदरणीय व्यक्तिहरुको अपमान गर्न चाहेको होइन । मेरो भनाई के मात्र हो भने कुनै पनि कार्यक्रमहरुमा सहभागि हुँदा सकेसम्म पूर्ण समय दिने प्रयास गर्नु पर्दछ । त्यो नभएपनि कमसेकम सहभागि र मञ्चमा आसिन व्यक्तिहरु बीच केही समय कुराकानी हुने अवस्था हुने अवस्था हुनुपर्दछ । एउटै व्यक्तिले एकै दिनमा दश ठाउँमा कार्यक्रम उद्घाटन गर्दै बोल्दै हिड्दा कत्तिको प्रभावकारी होला ? कैयौ पटक त कहाँ के बोल्ने हो भन्ने पनि झुक्किन्छ होला । अनि त्यस्तै सहभागिहरुले पनि एकछिन, एकातिर सुनेको छ, फेरी अर्कोतिर गएको छ, यसो हाजिर ग¥यो आफ्नै व्यक्तिगत कामतिर लाग्यो, के बुझ्छन् होला, तिनीहरुले त्यो कार्यक्रमबारेमा । अन्ततिर हेर्नुपर्दछ, कार्यक्रममा ढिलोगरी आउने सहभागि लाजले नबोलिकन सुटुक्क आएर बस्छ । हाम्रोतिर हेर्नुपर्दछ, ढिलो आउने व्यक्ति सबैलाई नमस्कार गर्दै ढल्किदै आईरहेको हुन्छ । मानौं सबै उस्लाई पर्खिरहेका छन्, उसले त्यो कार्यक्रममा आएर, सबैको भलो गरिदियो । कस्तो अचम्म ।
अतः यदि हामी साँच्चिकै व्यस्त हुन्छौं भने सबै तिर समय नदिऊ । जुन कार्यक्रमको लागि समय छुट्याउँछौं, त्यो कार्यक्रमको लागि हुँदासम्म पूर्ण समय दिउँ । आफ्नो सट्टा आफ्नो प्रतिनिधि पठाएर हुने भए, त्यो विकल्पलाई अगालौं । सबैतिर मै पुग्नु पर्दछ, भन्ने गलत मानसिकता त्यागि दिऊँ ताकि हामी आफैलाई पनि समय व्यस्थापन गर्न सजिलो होस् र हामी सहभागि भएका कार्यक्रमहरु पनि उपलब्धि मूलक रहुन । दुई चारवटा कुरा अझै थप्न मन थियो तर के गर्नु व्यस्तताले गर्दा आजलाई यहि विट मारें ।
समयको व्यस्तता
previous post