आज भन्दा करिब दुई महिना अगाडिसम्म जतिबेला कोरोना भाईरसले स्पेन इटाली लगायतका सम्पन्न यूरोपेली देशहरुमा ताण्डव मच्चाई रहेको थियो, त्यतिबेला हामी नेपालीहरुमा कोरोनाको डर भएपनि संक्रमणको दृष्टिकोणले केही सुरक्षित थियौं । किन भने त्यतिबेलासम्म कसैलाई पनि संक्रमण देखिएको थिएन । तर विस्तारै नेपालमा पनि कोरोना संक्रमणको पुष्टि भयो । एक दुई हुँदै सरेको संक्रमण हेर्दाहेर्दै पाँच सयको हाराहारीमा पुगिसकेको छ । त्यो भन्दा पनि दुःखद र डरलाग्दो कुरा नेपालमा पनि कोरोना भाईरसका कारणले मानवीय क्षति हुन सुरु भएको छ । यस्तो नहोस्, तर अहिले जुन दरमा कोरोनाको संक्रमण नेपालमा बढिरहेको छ, यदि यही क्रम जारी रहिरहने हो भने स्थिति हामीले कल्पना गरेभन्दा ज्यादै नै भयावह हुने निश्चितप्रायः छ । त्यो अवस्थामा नेपाल एकल्लैले आफूलाई व्यवस्थापन गर्न सक्ने छैन । यदि नेपालको मित्र राष्ट्रहरुले त्यो अवस्थामा विनासर्त नेपाललाई सहयोग गर्न तयार भए वा भनौं सहयोग गर्न सक्न्े अवस्थामा रहे भने अलग कुरा हो । नत्र नेपालको अवस्था ज्यादै नै दयनीय हुन सक्दछ ।
कोरोना भाईरसलाई पूर्णरुपमा निष्कृय र निस्तेज पार्न सक्ने औषधी आजको मितिसम्म पनि पत्ता नलागेको हुँदा यतिखेर यो भाईरसबाट बच्ने प्रभावकारी उपाय भनेको आफू सुरक्षित रहनु हो । कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहनको लागि सरकारले लकडाउन सुरु गरेको पनि तीन महिना भैसकेको छ । पछिल्लो समयमा लकडाउन झन कडा बनाइएको छ र नयाँ नयाँ संक्रमणको केशहरु पनि दिनदिनै थपिदै गएको छ । भाईरसको संक्रमण अस्ति भन्दा हिजो, हिजो भन्दा आज तिब्र रुपमा फैलनुले संभवतः दुईवटा कुराको संकेत गर्दछ ।
१) लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न
सकिएन ।
२) परिक्षणको दर तिब्र भएको कारण संख्या बढेको छ ।
दुईवटै बुँदाहरुको आ–आफ्नै सबल र दुर्बल पाटोहरु पनि छन् । जस्तै लकडाउन प्रभावकारी भएन भनौ भने यति लामो समयदेखि विद्यालय, क्याम्पस, हाटबजार, सिनेहल जस्ता भिडाभाड युक्त सबै क्षेत्र ठप्प छन् । मानिसको दैनिकी अस्तव्यस्त भएको छ । प्रभावकारी भयो भनौं भने विहान बेलुकाको समयमा बजार खुलेकै छन् । मानिस निर्वाध रुपमा समूह समूह बनाएर मर्निङ्गवाक जाने, छोटो दुरीमा घुम्ने गरेकै छन् । अत्यावश्यक सामाग्री ढु्वानी भनेर यातायात पनि सञ्चालन भएकै छ । लकडाउन भन्दैमा पूर्ण रुपमा सबै जना आ–आफ्नै घरमा मात्रै सिमित हुन व्यवहारिक रुपमा सम्भव पनि छैन । तर विहान बेलुका बजार खुल्दा अत्याबश्यक सामाग्री ढुवानी गर्दा अस्पताल प्रहरी चौकी लगायतका ठाउँमा सेवा लिनु पर्दा अपनाईनु पर्ने सुरक्षा र सावधानी प्रयाप्त छ कि छैन भन्ने कुरा चाही महत्वपूर्ण
हुन्छ ।
अर्को कुरा गरौं, कोरोना परिक्षणको । परिक्षणको दर तिब्र छैन भनौ भने परिक्षण भएकाले नै यतिका संक्रमित पत्ता लाग्न सकेको हो । परिक्षणको दर तिब्र छ भनौं भने जुन गतिमा भैरहेको छ, यही चालाले संक्रमणको संभावित क्षेत्रमा मात्र पनि यो बर्षभरिमा परिक्षण सम्भव छैन । सबै नेपालीको परिक्षण धेरै परको कुरा भयो । परिक्षणकै कुरा गर्दा यहाँ अर्को कुरा पनि सम्झनु त्यतिकै आवश्यक छ । त्यो के भने के नेपालमा कोरोना परिक्षण विश्वास योग्य छ त ? हैन भने नजिक बस्दैमा, हात मिलाउँदैमा सम्म पनि सर्न सक्ने कोरोना २४सै घण्टा आफ्नो आमासंग बसेको त्यही आमाको दुःध पिएको बच्चामा कसरी नेगेटिभ देखियो । उनको परिवारको सबैको रिपोर्ट पनि नेगेटिभ भनिएको छ । के ति महिला जसलाई कोरोनाको कारणले मृत्यू भएको पहिलो नेपाली भनिएको छ, उनको मृत्यू वास्तवमै कोरोनो संक्रमणकै कारणले भएको हो त ?
अर्को एउटा प्रसंगको पनि कुरा गरौं । संक्रणको आशंका गरिएका र संक्रमित व्यक्तिहरु क्वारेन्टाईनबाट भागेको खबर समय समयमा सामाजिक संजालमा आईरहन्छन् । जुन ज्यादै खतराको कुरा हो । आखिर किन भाग्दैछन् क्वारेन्टाईनबाट उनिहरु ? के त्यहाँ उनिहरुलाई यथोचित मानवीय व्यवहार हुँदैन । के उनिहरुमा उनिहरुमा मनोवैज्ञानिक त्रास छ । या फेरी अरु नै केही कारण छन् । स्वस्थ भोजन र आवश्यक सावधानी अपनाउँदा अधिकांश अवस्थामा कोरोना भाईरसको संक्रमणको निको हुन्छ भनिएको छ । यही कारणले हो संक्रमित व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखिने पनि । र पनि किन भाग्दैछन् उनिहरु । कतै उनिहरुलाई मनोवैज्ञानिक परामर्शको अवश्यकता त छैन ? सम्बन्धित निकायले यस तर्फ पनि ध्यान पु¥याउनु आवश्यक छ ।
गाउँघरतिर बुढापाकाको एउटा भनाई प्रचलित छ । जति लामो दाम्लो बाटेपनि गाँठो आखिर एउटै । मैले यति लामो भूमिका बाँध्नुको तात्पर्य पनि के मात्र हो भने औषधी पत्ता नलाग्दाको अवस्थासम्म यो भाईरसबाट बच्न हामीले गर्नु पर्ने र गर्न सक्ने भनेको आफू संक्रमण मुक्त भएको निश्चित गरेर सुरक्षित बस्नु नै हो । सुरक्षित बस्ने कुरा त हर कोहीले आफ्नो लागि आफैले व्यवस्थापन गर्न सक्ला ? तर आफूमा संक्रमण भए नभएको पत्ता लगाउने भनेको चाहि परिक्षणबाट नै हो । यसमा भने अलिक समस्या छ । भरखरै मात्र सरकारले कोरोना भाईरसको संक्रमण सम्बन्धि सशुल्क परिक्षणका लागि जुन नीतिगत व्यवस्था ल्याएको छ, यसमा केही कुरा सोचनीय छन् । त्यो आपतकालिन अवस्थामा ल्याईएको नीतिगत व्यवस्था गलत छ भन्न त सान्दर्भिक नहोला । तर पूर्ण रुपमा ठीक पनि छैन । एउटा दृष्टिकोणबाट हेर्दा हुने खाने सम्पन्न बर्गले त पैसा खर्च गरेरै भएपनि मेरो स्वास्थ्यको बारेमा जानकारी लिन्छु भन्न किन नपाउने ? देश उनिहरुको पनि हो । सरकार उनिहरुको पनि हो । सरकारले उनिहरुको लागि पनि व्यवस्था गरिदिनु पर्दछ । तर अर्को दृष्टिकोणबाट हेर्दा सो नीतिगत व्यवस्थाले समाजमा धनी र गरिब बीच रेखा तान्ने काम गरेको छ । यसले समाजमा बर्गिय विभेद ल्याउने जोखिम बढेको छ । अब अर्को कोणबाट हेरौं । के यो व्यवस्था वास्तवमै जनहितको लागि हो या केही मेडिकल माफियाको लागि ? हिजो कोरोनाको कुरा उठ्नासाथ देशमा ताल्चा मारेर टाप ठोकेका नीजि अस्पतालहरु, ती अस्पतालहरु जसले सामान्य रुपमै ज्वरो आएका र खोकी लागेका विरामीलाई पनि पिपिईको अर्थात व्यक्तिगत सुरक्षा सामाग्रिको अभाव छ भन्दै छिछि र दुरदुर गरे । आज प्रतिव्यक्ति पन्ध्र हजा पाउने भएपछि सेवामा तत्पर ? कोरोनाको लागि स्थापना भएको राहत कोषमा के कति रकम जम्मा भयो अत्तोपत्तो छैन । तीन अर्ब भन्दा बढी रकम कोरोनाको लागि खर्च भैसकेको स्वास्थ्य मन्त्रालय बताउँछ । चीनले पनि धेरथोर सहयोग गरेकै छ । र पनि परिक्षण समाग्रीको अभाव छ । यस्तो अवस्थामा पन्ध्र हजार तिर्नासाथ परिक्षण गर्नका लागि कसरी व्यवस्थापन हुन सक्यो त्यतिका परिक्षण समाग्रीको ? यदि साँच्चै नै सरकारसंग प्रयाप्त मात्रामा परिक्षण सामाग्री मौज्दात छ भने सर्वसाधारणको परिक्षणमा किन यति ढिला सुस्ति ? सरकारले हुने खानेका लागि त नीतिगत व्यवस्था ल्यायो । ठिकै छ गलत केही भएको छैन । तर राज्यमा हुने खाने भन्दा पनि हुँदा खाने बर्ग धेरै छन् । अधिकाँश नेपालीमा यति लामो लकडाउनबाट दुई छाक कसरी टार्ने भन्ने समस्या आएको अवस्थामा पन्ध्र हजार तिरेर कोरोना परिक्षण गर्नु त धेरै नागरिकको पहूँच भन्दा बाहिरको कुरा हो । सरकार हुने खाने मात्र होइन हुँदा खाने बर्गका नागरिकहरु पनि यही राज्यकै नागरिक हुन् । स्वास्थ्योपचार र बाँच्न पाउने अधिकार उनिहरुको पनि त्यतिकै जति हुनेखानेको छ । त्यसैले सरकार हुनेखानेका लागि त व्यवस्था गरिदियौं । अब हुँदा खानेको लागि पनि व्यवस्था गरि पाउँ ।
सन्दर्भ कोरोना परिक्षणको
previous post