राजनीतिमा सत्ता नै सर्वोपरी हुन्छ । सत्ता प्राप्त गर्न र शक्तिमा रहिरहन राजनीतिक दलका नेतृत्व वर्गले जे पनि गर्न सक्छन् । हुने पनि गर्छन्, नहुने पनि गर्छन् । जतिसुकै निम्न हदसम्म पनि सक्छन् । नेपालको राजनीतिमा घटिरहेको पछिल्लो घटनाक्रमले वस्तुतः यहि कुरालाई प्रमाणित गरेको छ ।
संघिय शासन पद्दतिको अवलम्बन पश्चात यहि वर्ष गत मंसिर ४ गते नेपालमा दोस्रो पटक प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । ठूलो दलहरुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनबाट चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए भने नेकपा एमाले गठबन्धनको प्रमुख प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिएको थियो । अन्य साना दलहरु कोहि गठबन्धनमा समावेश थिए त कोहि एमालेसँगको साँठगाँठमा थिए । चुनाव सकियो । चुनावको मत परिणामलाई आधार मान्ने हो भने धेरै अप्रत्यासित र अकल्पनीय नतिजाहरु पनि आए । अन्ततह चुनावको अन्तिम मत परिणाम आउँदासम्म नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बन्यो । नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बन्यो । मत परिणामको अङ्कगणितको हिसाबमा । तर पछिल्लो समयमा एकाएक जसरी राजनीतिक घटनाक्रमको परिवर्तनले मोड लियो त्यसपछि नेकपा माओवादी सबैभन्दा शक्तिशाली पार्टी भएको छ । नेकपा एमालेले माओवादीसँग सत्ता साझेदारीको लागि हात मिलाएको छ । सबैभन्दा धेरै सिट जितेर ठूलो पार्टी बनेको नेपाली काँग्रेस सर्वस्व गुमाएर प्रतिपक्षमा बस्न बाध्य भएको छ ।
दास्रो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दौरानमा गठबन्धनको प्रमुख दल नेपाली काँग्रेस र माओवादीले गरेको प्रचारप्रसार र सम्झौतालाई सम्झने हो भने यतिबेला नेपालमा काँग्रेस र माओवादीको गठबन्धनको सरकार बन्नुपर्ने हो तर नेतृत्व तहमा शक्तिको लागि पदको भागबन्डामा कुरा नमिल्दा आकस्मिक रुपमा गठबन्धन टुट्न पुगेको छ । सरकारमा हुनुपर्ने पार्टी प्रतिपक्षमा पुगेको छ, प्रतिपक्षमा हुनुपर्ने पार्टी सरकारमा पुगेको छ । प्रतिगमनलाई तह लगाउन, देशमा विकास र समृद्धि ल्याउन, देशमा शासन व्यवस्थाको रक्षा गर्न गठबन्धन आवश्यक छ र यो कुनै पनि हालतमा टुट्नु हुँदैन पनि भनेर आफैले गरेको भाषण । बाचाहरु नेताहरुले सपनामा बोलेको जस्तै बनाईदिएका छन् । नागरिकको हित र देशको विकासको दुहाई दिने नेताहरुले शक्ति र पदको लागि यि दुबै कुराहरु निरर्थक र आवश्यकहिन सावित गरेका छन् ।
राजनीतिमा जे पनि गर्न मिल्ने भएपछि राजनीतिलाई व्याख्या जसरी गरे पनि मिल्ला । आफुले उठाएको कदम एकदम ठिक भनेर तर्क गर्न नेताहरुसँग प्रसस्त बहानाहरु पनि होलान् तर धेरै यस्ता प्रश्नहरु पनि छन् जसको उत्तर बहानाबाजीको आधारमा दिएर सम्भव छैन तर उत्तर दिनु आवश्यक छ । प्रधानमन्त्रीको रुपमा सपथ लिएर नेपालको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा पुष्पकमल दाहाल प्रचण्डको जवाफ दिनै पर्छ कुन नैतिकताले एमालेसँग सत्ता साझेदारी गर्न सहमत हुन सके ? कि अब प्रचण्डमा नैतिकता नामको कुनै चिज नै बाँकी छैन ? हिजो त्यति लामो र विरतापुर्ण सशस्त्र विद्रोहको इतिहास बोकेको पार्टी माओवादीलाई शक्ति र सत्ताको लोभमा नेकपा एमालेमा विलिन गराएर, बाम गठबन्धन, पार्टी एकताको नाटक मञ्चन गरेर आफ्नो स्वार्थ पुरा हुने छाँट नदेखिएपछि फेरी विद्रोह गरेर केपी ओलीलाई मिल्ने सम्मको गाली गर्ने, केपी ओलीको मुखै हेर्दिन, हात मिलाउने त कुरै छोडिदिनुस् भन्दै हिड्ने प्रचण्डले आज त्यहि ओलीसँग हात मिलाउँदा नैतिकताको आधारमा जवाफ दिनु पर्छ कि पर्दैन ?
जवाफ प्रचण्डले मात्र होइन केपि ओलीले पनि दिनुपर्छ । हिजोको दिनमा प्रचण्डलाई बाँदरको सङ्ज्ञा दिँदै हिड्ने, औलो दिँदा हातै निल्न खोज्ने फटाहा हो भन्दै हिड्ने, प्रचण्डको बिचल्लि हुन लागेर मैले शरण दिएको हो तर मलाई नै सिध्याउन लाग्यो यस्तो दुष्विचार बोक्ने प्राणिसँग अब सहकार्य सम्भव छैन भन्दै मौका मिल्नासाथ भाषणै पिच्छे प्रचण्डलाई गाली गर्न नछोड्ने ओलीले आज त्यहि प्रचण्डसँग अङ्कमाल गर्दै गर्दा अलिकति लाज मान्नुपर्छ कि पर्दैन ? जवाफ दिनु पर्दैन कमरेड ?
जवाफदेहिताको कुरा गर्दै गर्दा गठबन्धनको सबैभन्दा ठूलो हिस्सेदार भएको नाताले नेपाली काँग्रेस सबैभन्दा बढि जवाफदेहि छ अझ पार्टी सभापति भएको नाताले शेरबहादुर देउवा । देशको शासन व्यवस्था र अस्तित्व रक्षा गर्न कुनै पनि हालतमा गठबन्धन टुट्नु हुँदैन भनेर भोट मागेको शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थको लागि, प्रधानमन्त्रीको कुर्चीमा पहिला आफै बस्नुपर्छ भन्ने अड्डी लिएर किन गठबन्धन टुटाए ? यसको जवाफ शेरबहादुर देउवाले दिनै पर्छ । काँग्रेसको कार्यकर्ता र मतदाताहरुले दिलोज्यान दिएर सबैभन्दा ठूलो पार्टी बनाएको काँग्रेसको सर्वस्वहरण गर्ने अधिकार कसले दियो देउवालाई ? आखिर किन टिकिरहेका छन् शेरबहादुर देउवा राजनीतिमा ? एउटा ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको कुरा प्रमाणित गराउनको लागि मात्र ? म नै काँग्रेस हुँ, काँग्रेस नै म भन्ने गर्दा देउवाको अहमताले गर्दा आज काँग्रेसले हात आएको सबै गुमाउनु परेको छ । शेरबहादुर देउवाले काँग्रेसको मतदातालाई यसको जवाफ दिनै पर्छ ।
गठबन्धन टुटेर माओवाली र एमालेको संयुक्त सरकार बन्दै गर्दा गठबन्धनको कमाण्डर मै हुँ भनेर फुर्ती छाडेका नेपाली काँग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जवाफ दिनुपर्छ । माओवादीलाई भोट हाल्नुपर्छ, नडराईकन हैसिया हतौडामा भोट हाल्नुस्, देशको लागि गठबन्धन आवश्यक छ, गठबन्धनको कमाण्डर मै हुँ भनेर भाषण छाड्ने रामचन्द्र पौडेलले आज किन गठबन्धनलाई बचाउन सकेनन् ? प्रचण्डजीले धोका दिनुभयो, सभापतिले सल्लाह गर्नुभएन, सल्लाह दिएको मान्नुभएन भनेर सुख पाईदैन । ठोस जवाफ दिनुपर्ने हुन्छ । किनभने गठबन्धन टुट्नुमा रामचन्द्र पौडेलको एकपटक भएपनि देशको ठूलो पदमा बस्ने चाहनाले पनि भूमिका खेलेको छ । चाहन त रामचन्द्र पौडेल देशको प्रधानमन्त्री नै हुन चाहन्थे तर राष्ट्रपतिको ललिपपमा लोभिएर संसदीय दलको नेताको लागि देउवाको प्रस्तावक बनेपछि त्यो बाटो बन्द भयो । अनि उनि अड्किए राष्ट्रपतिको पदमा । राष्ट्रपतिको पदलाई सत्ता बाँडफाँडको छलफलमा आउनै दिएनन् । देशको लागि गठबन्धन अति आवश्यक छ भन्ने रामचन्द्र पौडेलले राष्ट्रपतिको पद माओवादीलाई छोडिदिएको भए सायद प्रचण्ड मानिहाल्थे कि ? गठबन्धन टुट्ने थिएन कि ? तर अहँ अन्तिम समयसम्म पनि ठूलो पद नपाएपछि राष्ट्रपतिको कुर्ची त छोड्दै छोड्दिन भन्ने पौडेलको हठपनि गठबन्धन टुट्नुमा सहायक सिद्द भयो । राष्ट्रपतिको पद सत्ताबाँडफाँडमा छलफलको विषय बनाउनै चाहेनन् । प्रधानमन्त्रीको कुर्चीबाटै सबैकुरा मिलोस् र आफु विवादरहित रुपमा राष्ट्रपति बनौं भन्ने आशामै झुलिरहे । फलतः पौडेलको राष्ट्रपति बन्ने चाहनामा पूर्णविराम लाग्नुको साथै काँग्रेसले मुखैमा आएको गास निल्न पाएन । जिन्दगी भरी काँग्रेसको नामबाट राजनीति गरेर यति उमेरसम्म आईपुग्दा पनि पौडेलको अनुभवहिनता पनि अहिले काँग्रेसले सरकार बनाउन नपाउनुको एउटा कारण हो । हिजो गिरिजाप्रसाद कोईरालाको पालोमा शेरबहादुर देउवाले पार्टी विभाजन गर्दै गर्दा अनितम समयमा आएर आफूले गरेको व्यवहार, पार्टीको महाधिवेशनमा आफूलाई सभापतिको प्रमुख दावेदारको रुपमा प्रस्तुत गरेर फेरी चुप लाग्नु, निष्कृय भएर देउवालाई पार्टी सभापति स्वीकार्नु, आफूलाई भावि प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेर भोट माग्नु तर संसदीय दलको नेताको रुपमा फेरी उनै देउवाको प्रस्तावक बन्नु, देउवाले दिएको आश्वासनमै अल्भिरहनु, रामचन्द्र पौडेलको यस्तै व्यहार पनि काँग्रेसको यो दुदर्शा हुनुको कारण हो ।
माओवादी र माओवादीको सरकार बन्दै गर्दा अचम्म मान्नु पर्ने अरु पनि धेरै कुराहरु छन् । हिजोसम्म प्रचण्ड र ओलीलाई ड्यास हानेर नथाक्ने लिङ्देलहरु, अनि गाली गरेर नअघाउने रवि र ज्ञानेन्द्रहरु आज तिनकै सरकारमा सत्ताभोग गरिरहेका छन् । नेपाली राजनीतिमा लामो इतिहास बोकेको राप्रपाको अस्तित्व के कति छ थाहा छैन । तर पाँच सात महिला पहिला गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाएको छ । एउटा नयाँ जोशिलो, फुर्तिलो युवा केही नयाँ र गतिलो काम गर्ला भन्ने आशमा रवि लामिछानेलाई गृहमन्त्री बनाइयो या बहुमत पु¥याउनका लागि हुने सत्ताबाँडफाडको बाग्रेनिङ्गमा उनले गृह पाए – यो पनि चासो कै विषय हो । अझ रोचक कुरा त स्वयम् रवि लामिछानेको नागरिकता र पासपोर्टको विषयमा प्रश्न उठि रहेको बेला उनि गृहमन्त्री भएका छन् । हिजो न्यूज २४ मा सिधा कुरा जनतासंग कार्यक्रम चलाई रहँदा विष्णु पौडेलको सम्पत्ति छानविन हुनु पर्दछ भनेर कराउने उनि आज छानविन गर्न सक्ने ठाउँमा पुगेका छन् । उनले अब कति विष्णु पौडेलहरुको सम्पत्ति छानविन गर्दछन् त्यो भने हेर्न बाँकी नै छ । चर्को चर्को स्वरले नेतालाइ गाली गर्ने अभियान्ता ज्ञानेन्द्र शाही आज आफै नेता भएका छन् । आशा गरौं अब उनिहरुलाई चर्को स्वरमा गाली गर्न अर्को अभियान्ताको जन्म हुनु पर्ने नियती नआओस् ।
आलेखको अन्त्य गठबन्धन टुटेर माओवादी एमालेको सरकार बनेपश्चात नेपाली काँग्रेसका एकजना नेताले आफ्नो भाषणमा दिएको उदाहरण सहित गर्न चाहान्छु । उनले भनेका छन् ब्राण्डेड छुट्टाछुट्टै गाडिको सामान एसेम्बल गरेर गाडि बनाउँदा चल्छ कि चल्दैन । ग्यारेण्टी हुँदैन । जस्तै कि टोयटाको इन्जिन, होण्टाईको स्टेरिङ्ग, स्कारपियोको चक्का ब्राण्डेड हो भन्दैमा थरिथरीको पार्टपुर्जा एसेम्बल गर्दा फिट नहुन पनि सक्छ । अहिलेको सरकार पनि लगभग त्यस्तै हो ।
आशा गरौं काँग्रेस नेता मिन विश्वकर्माले भने जस्तो नहोस् । छुट्टछुट्टै कम्पनीको पार्टपुर्जा एसेम्बल्ड भएपनि गाडि स्तरीय बनोस् । ताकि सुरक्षित यात्रा गरेर गन्तब्यमा पुग्न सकियोस् । स्टेरिङ्गमा बसेको ड्राइभरलाई सजग गराई राख्नु पर्ने नेपाली काँग्रेसले पनि प्रतिपक्षमा बसेर आफ्नो भूमिका निभाओस् । विगतमा जस्तो ननिदाओस् । जय देश ।
सत्ताम् सर्वोपरीम् भवः
previous post