पृष्ठभूमिः
जमानत हाम्रो समाजमा चल्दै आएको कार्य हो । अहिले पनि सामाजिक व्यवहार, बैंकिङ्ग कारोवार, अदालती कारोवार, संघसंस्थाहरु संगको कारोबारमा यस्तो व्यवहार हुँदै चल्दै आएको छ । पछिल्ला दिनहरुमा जमान सम्बन्धी कानूनी व्यवस्था बुझेकाहरुले यसको गलत प्रयोग गरेको समेत पाईन थालेको छ । अथवा एकै छिनलाई हो तिमीले एउटा कागजमा सही लगाई दिए पुग्छ केही गर्नु पर्दैन । तिम्रो पुर्जा देउन भनेर लैजाने र जमानतको कागज गराएर सही गराउने अनि अर्कैको ऋण तिर्न आफ्नो सम्पत्ती जायजात लिलाम हुँदासम्म सहन पर्ने बाध्यतामा परेका उदाहरणहरु भेटिन्छन् । त्यसैले जमानत बस्दा दिंदा आफु सुरक्षित हुने गरी दिनु पर्दछ । त्यसका लागि जमानत कानूनमा के व्यवस्था छ आमनागरिकको सरोकारको विषय हो । कानूनको अज्ञानता क्षम्य नहुने सिद्धान्त समेतका आधारमा यो व्यवस्था सबैले जान्नै पर्दछ । थाहा पाउँनै पर्दछ ।
जमानतको वैधताः
कुनै एक व्यक्तिले अर्को व्यक्तिको ऋण तिरिदिन गरेको सहमतिको कानून बमोजिम तयार भएको सहमतिको कागज भएको छ भने त्यस्तो जमानतले बैधता प्राप्त गर्दछ । कागज लेख्दा विशेष गरी करार कानूनको दायराभित्र गरिएको हुनु पर्ने, रीत पुगेको हुनुपर्ने अवस्थालाई ख्याल गरी अभ्यस्त कानून व्यवसायीहरुबाटै लेखाउने प्रचलन बढी रहेको पाईन्छ । हाम्रो मुलुकी देवानी संहिता २०७४ को भाग पाँच परिच्छेद ७ मा जमानत सम्बन्धी व्यवस्था गरिएको छ । त्यसमा भनिएको छ– ‘कुनै एक व्यक्तिले लिएको ऋण वा कबुल गरेको दायित्व चुक्ता नगरेमा वा पुरा नगरेमा तेस्रो पक्षले चुक्ता वा पुरा गरिदिने गरी करार भएकोमा जमानत सम्बन्धी करार भएको मानिनेछ ।’ यस्तो ऋण तिर्नुपर्ने पक्षले नतिरेमा वा तिर्न नसकेमा तेस्रो पक्षले तिर्न पर्ने स्पष्ट कानूनी व्यवस्था छ । यसका सर्तहरु लिखितमा निर्धारित हुनुपर्दछ ।
जमानत दिनेको दायित्वः
दायित्व पुरा गर्नुपर्ने व्यक्तिले दायित्व पुरा गर्न नसकेको अवस्थामा जमानत दिनेको दायित्व सिर्जना हुन जान्छ । यो दायित्व ऋणी सरहको हुन्छ । सो दायित्वबाट मुक्त नभएसम्म जमानत दिने व्यक्ति जिम्मेवार रहने कानूनी व्यवस्था छ । सुरक्षण र जमानत दुवै भएको अवस्थामा सुरक्षणले खामेसम्म जमानत दिने व्यक्तिको दायित्व हुने छैन । असामीले नतिरेमा लिखित रुपमा जमानत दिने व्यक्तिबाट दायित्व बहन गराउन सकिने कानूनी व्यवस्था छ । यसरी जमानत दिने पक्षबाट दायित्व बहन गराउँदा ऋणीलाई सूचना दिनुपर्ने व्यवस्था छ ।
जमानत दायित्व मुक्त हुने अवस्थाः
सहमति बेगर करारका सर्तहरुमा हेरफेर गरेमा त्यसपछिको कारोबारमा जमानतको दायित्व रहने छैन । उही पक्षहरुका बीच दोस्रो करारबाट जमानतमा मुक्त गर्ने गरी दोस्रो करार भएमा त्यो जमानतको दायित्व समाप्त हुन पुग्दछ । ऋण मिनाहा भएमा पनि जमानत समेतको दायित्व समाप्त हुनपुग्दछ । साहूले ऋणीलाई कम रकम बुझेर ऋण मुक्त गरिदिएमा वा ऋण चुक्ता गर्ने अर्को थप समय साहूले असामीलाइ उपलब्ध गराएमा पनि जमानतको दायित्व समाप्त हुन पुग्दछ ।
जमानत दिने र ऋणीको सम्बन्धः
जमानत दिने व्यक्तिले ऋणीबाटै ऋण चुक्ता गर्न लगाउनेछ । जमानत दिने व्यक्तिले जमानत दिएवापत धनमाल वा कुनै सुरक्षण लिएको भएमा त्यस्तो धनमाल वा सुरक्षण धितो बन्धक राख्न वा बेच विखन गर्न पाउने छैन । जमानत दिने व्यक्तिको मञ्जुरी बिना त्यस्तो ऋण वा दायित्वको उद्देश्य, स्वरुप वा त्यसका शर्तमा हेरफेर गर्न सकिने छैन । खासगरी जमान दिने र लिनेको दायित्व करारमा लेखिए बमोजिम हुनेछ ।
साहूको रुपमा प्रतिस्थापनः
जमानत दिने व्यक्तिले ऋणीको ऋण साहूलाई तिरे वा पुरा गरेपछि जमानत दिने व्यक्ति साहूको रुपमा प्रतिस्थापन हुनेछ । जमानत दिने व्यक्तिले साहू सरह त्यस्तो ऋणीबाट आफ्नो धन असुल उपर लिन सक्ने कानूनी व्यवस्था छ । साहू सरह त्यस्तो ऋणीबाट ऋण असुलीको कारवाही चलाउन सक्ने कानूनी व्यवस्था छ । जमानत दिने व्यक्तिले व्यहोरेको ऋण र व्याजको दायित्व समेतका दायित्व जमानत दिने व्यक्तिलाई तिर्नुपर्ने गरी कानूनले ऋणीलाई जिम्मेवार बनाएको छ ।
जमान सम्बन्धी विविध व्यवस्थाः
साहू स्वयंले वा निजको सहमतिमा अरु कसैले जमानत दिने व्यक्तिलाई गलत वा भ्रामक सूचना वा जानकारी दिई जमानत प्राप्त गरेमा त्यस्तो जमानत बदर गराउन सक्ने व्यवस्था छ । त्यसैगरी जमानतको विषय, धनमाल, तथा तथ्य नै लुकाएको वा उल्लेख नगरेको भएमा पनि जमानत बदर गराउन सकिन्छ । दुई वा दुई भन्दा बढी व्यक्तिहरुले जनमानत दिएको भएमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै जमानतको दायित्व समान हुनेछ ।
हर्जना र प्रत्याशनः
जमानत सम्बन्धी कानूनले हर्जना र प्रत्याशन सम्बन्धी करारको समेत व्यवस्था गरेको छ । हर्जाना करारका कुनै पक्षको निर्देशनमा काम गर्दा करारको अर्को पक्ष वा तेस्रो पक्षलाई हुन सक्ने हानी नोक्सानी आफूले व्यहोर्ने गरी भएको करारलाई हर्जाना करार भनिएको छ । त्यसैगरी प्रत्याशान (सब्रोगेशन) सम्बन्धी व्यवस्थाले पनि करारका पक्ष बाहेकका पक्षबाट हुन सक्ने हानी नोक्सानिको सुरक्षण करारका पक्षबाट गराउने गरी गरिएको करारलाई संकेत गरेको छ ।
निष्कर्षः
जमानत सामाजिक व्यवहार चलाउनका लागि, अप्ठ्यरो अबस्थामा सुभेच्छुक हरुले सहयोग गर्ने वातारणको वैधताका लागि आवश्यक छ । तर इमान र नैतिकतामा संकट परेको यो समयमा जमानत अपराधबाट भाग्नका लागि कसैलाई प्रभावमा पारेर झुक्याएर पनि बनाउने गरेको अवस्था छ । कानूनले सम्पत्ति माथिको स्वामित्व महिला, नवालक जो कोहीलाई गराउन सकिने अवस्था छ । हाम्रो समाजमा यो वा त्यो कारणमा प्रभावमा परेका मान्छेहरुका नाउँमा रहेको सम्पत्ति जमानतमा रखाएर आफूले अपराधबाट उन्मिुक्ति लिने प्रचलन बढेको छ । यस तर्फ वित्तिय संस्थाहरु, साहू, वा त्यस्तै जमानत स्वीकार गर्ने पक्षले यो अवस्थालाई ख्याल गरेर मात्रै जमानत स्वीकार गर्नु पर्दछ । कानूनले पनि गलत र भ्रामक सूचना वा जानकारी दिएर जमानत प्राप्त गरेको भए त्यस्तो जमानत करार बदर गराउन मुद्धा गराउन पर्ने कारण उत्पन्न भएको मितिले दुई बर्षभित्र नालिस गर्न सक्ने कानूनी व्यवस्था गरेको तर्फ सबै सजग हुनु पर्दछ । समयमै उपचार नखोजे आफ्नो नाउँको सम्पत्ती पनि गुम्न सक्ने अवस्था रहन्छ ।