श्रमिक अर्थात श्रम गर्नेवाला चाहे दिनमा सय पचास काउने होस् चाहे मासिक तलब बुझ्ने, या चाहे सुविधा सम्पन्न नोकरी गर्ने नै किन नहोस् दोस्रो पक्षबाट नगद लिएर काम गर्ने हरकोही श्रमिक हुन् । फरक कुन स्तरको श्रमिक भन्ने मात्र हो । भोलिको दिन विश्वभरकै श्रमिकहरुको लागि महत्वपूर्ण दिन हो । किनभने मे फस्ट हो । अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस । विश्वका सबै मानिहरुलाई दुई भागमा बाँड्न सकिन्छ । एउटा श्रममजदुरी गर्ने बर्ग । अर्को गराउने बर्ग । विश्वको जुनसुकै देशमा पनि हेर्ने हो भने अधिकाँश मानिस श्रममजदुरी गर्ने बर्गका पाईन्छन् । केही केही व्यक्तिहरु मात्र मजदुरी गराउने बर्गका हुन्छन् । संसारका सबै मानिसहरु कुनै न कुनै रुपले एक अर्कासंग श्रमिक र मालिको सम्बन्धमा गाँसिएका छन् । बढ्दो वैदेशिक रोजगारीले गर्दा श्रमिक र मालिकको सम्बन्ध अब अन्तराष्ट्रिय तहसम्म पुगि सकेको छ । हाम्रो जस्तो अल्पविकसित धेरै राष्ट्रहरुको तितो यथार्थ हो यो । विश्वका अधिकाँश मानिस श्रमिक बर्गका भैकन पनि केही सीमित व्यक्तिहरुबाट (मालिक) शासित र पीडित हुनु पर्ने अवस्था आजको समयसम्म रहनु भनेको गम्भिर चिन्तनको विषय हो । आज पनि विश्वभरका श्रमिक बर्गहरु न्यून पारिश्रमिक अत्यन्तै जोखिमपूर्ण कार्य रोजगारीको स्थायीत्व नहुनु सम्मान नपाईनु, जस्ता शारीरिक मानसिक र आर्थिक समस्याहरुबाट पीडित छन् । श्रमिक बर्गहरुको यस्तै खालको समस्याहरु समाधान र सम्बोधन गर्न विभिन्न संघ संस्थाहरु नभएका पनि होइनन् । प्रत्येक राष्ट्रहरुमा राष्ट्रीय स्तरका संघ संगठनहरु छन् र अन्तराष्ट्रिय रुपमा पनि आईएलओ अर्थात मजदूरहरुको छाता संगठन अन्तराष्ट्रि श्रम संगठन छ । र पनि समस्याको सही सम्बोधन हुन सकेको छैन । भलै कागजी रुपमा सम्बोधन भएको होला तर व्यवहारिक रुपमा समस्याहरु जस्ताको तस्तै छ । अधिकाँश देशहरुमा ।
समस्या र बाधा अड्चनहरु हरेक क्षेत्रमा हुन्छन् । श्रमिक मजदुरको कुरा पनि त्यसबाट अलग रहने कुरा भएन । समस्याहरुलाई समय अनुकूल सम्बोधन गर्दै समाधान गरिनु पर्दछ । यो अलग पाटो हो । तर हाम्रो देशमा जति पनि श्रमिक मजदूर छन् तिनको समस्या त छँदैछ । त्यो भन्दा पनि दुःखद पक्ष अधिकाँश युवा पुस्ता आफ्नै देशमा श्रम मजदुरी गर्ने अवस्था नरहेर, नपाएर विदेशमा आफ्नो श्रम बेच्न बाध्य छन् । त्यो हाम्रो नमिठो यथार्थ हो ।
यस पटकको अन्तराष्ट्रिय श्रमिक दिवसमा विगतको बर्षहरुमा जस्तै भव्य र औपाचारिक कार्यक्रमहरु सायद नहोलान् । किनभने अहिले देशमा त्यो अवस्था छैन । यहाँनेर विगतका बर्षहरुमा श्रमिक दिवस कसरी मनाईन्थ्यो भन्ने कुराको छोटो स्मरण गर्न चाहें ।
१) नारा र मागहरु लेखिएका प्लेकार्ड सहितका ¥याली र कोण सभा अनि कोण सभामा श्रमिक नेताहरुको भाषण । सरकार समक्ष माग पत्र र माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी ।
२) भव्य मञ्च, विशिष्ट व्यक्तित्वहरुको उपस्थिति, राष्ट्रका उच्च पदस्थ व्यक्तित्व र राजनीतिक नेतृत्वबाट श्रमिक मजदूर देश विकासको आधार स्तम्भ रहेको जानकारी गराउँदै भाषण, राज्य श्रमिक बर्गप्रति चिन्तित र जिम्मेवार रहेको जानकारी, मागहरु सम्बोधन गर्ने आवश्वासन, सहमति पत्रमा हस्ताक्षर, सामूहिक फोटो सेसन जलपान र कार्यक्रम समाप्त । विगत धेरै बर्षदेखि नेपालमा यसरी नै श्रमिक दिवस मनाईदै आएको छ । यसले श्रमिक दिवसको महत्व र बास्तविकतालाई एउटा औपचारिक कार्यक्रममा सीमित गराई दिएको छ । यसैले त आज पनि श्रमिक वर्गको अवस्था । उस्तै छ जस्तो, दश पन्ध्र बर्ष पहिले थियो ।
मे फस्टलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाईनु, श्रमिक बर्गको हक हित र अधिकारको लागि राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था हुनु र पनि श्रमिकहरुको समस्या र अवस्था अझै उस्तै रहनुको पछाडि धेरै कारणहरु छन् । यसको विस्तृत गहिराईसम्म त पंक्तिकारको अध्ययन पुग्दैन । तर पनि केही त्यस्ता कारणहरु पनि छन् जुन सतहमै छर्लङ्ग छन् । जस्तै श्रमिक बर्गको नेतृत्व जिम्मेवार नहुनु, श्रमिकहरुको बीचमा आपसी एकताको कमि र श्रमिक बर्ग एवं संघ संगठनलाई राजनीतिक शक्तिले आफ्नो लाभको लागि मात्र प्रयोग गर्नु ।
श्रमिक बर्गको नेतृत्व जिम्मेवार नहुनु, मजदूरहरुको समस्या सम्बोधन हुन नसक्नुको प्रमुख कारणहरु मध्ये एक हो । एउटा मजदूर आफ्नो मजदूर दाजूभाई र दिदीबहिनीको समस्यालाई सम्बोधन गराउने बाचा गर्दै मजदूर नेता भएर निस्कन्छ । तर जसै जसै उ नेता भएर निस्कन्छ । उसले आफ्नो वास्तविकता विर्सन थाल्दछ । उसले आफू त्यो ठाउँमा छु भन्ने विर्सन्छ ? अझ भनौं सम्झन चाहदैन । मजदूरहरुको हकहीतका लागि लड्छु भनेर नेतृत्व लिएको एउटा मजदूर नेताले आफूलाई मजदूर भन्न रुचाउँदैन । उ आफूलाई मजदूरहरुको राजा सम्झने गल्ति गर्दछ । आफ्नो अगाडि अरु मजदूर भनेको केही पनि होइनन् भन्ने सम्झन्छ । मजदूरहरुको हक हितको लागि नेता बनेको एउटा मजदूर अन्ततः तिनै मजदूर माथि शासन गर्न तम्सन्छ । व्यक्तिगत स्वार्थपूर्तिको लागि आफ्नो पदको दुरुपयोग गर्दछ । उसको कार्यकाल
सकिन्छ । अर्को एउटा मजदूर नेता आउँदछ । शुरुवातमा पहिलेकोले जस्तै प्रचण्ड भावना र जोश बोकेर । तर कालान्तरमा त्यही कथा दोहोरिन्छ । यसरी प्रत्येक दुई चार बर्षमा मजदूर नेता फेरिन्छ । तिनको जीवन फेरिन्छ । हैसियत फेरिन्छ । तर मजदूरको समस्या जहाँको त्यही ।
मजदूरहरुको समस्या समाधान हुन नसक्नुको अर्को कारण स्वयम मजदूरहरु नै हुन्् । मजदूरहरुले पनि आफनो नेता छान्दा योग्य र राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिन्छन् । कतिपय अवस्थामा राजनीतिक विचारधाराको आधारमा बाँडिन्छन् पनि र एक हुन सक्दैनन् । अझ यसरी भनौं श्रमिक मजदूर बर्ग भित्रै एउटा छुट्टै राजनीति चलिरहेको हुन्छ । यसैपनि राष्ट्रिय राजनीतिमा पिसिएको मजदूरहरुमा यसरी विभिन्न बहानामा आपसी एकता हुन नसक्दा समस्या सुल्झनुको सट्टा अझ बढी उल्झने अवस्था आउँदछ ।
राजनीति अर्को प्रमुख कारण मध्ये एक हो । कुनै पनि देशको राजनीतिले उक्त देशको हरेक क्षेत्रमा प्रभाव पारेको हुन्छ । राजनीति कथा र राम्रो भए राम्रो, नराम्रो भए नराम्रो । दुःखको कुरा हाम्रो देशको राजनीति फोहोरी छ । यसैले मजदूरहरुमा यसको असर पनि नकारात्मक नै छ । नेपालको प्रत्येक राजनीतिक पार्टीको लागि मजदूरहरुको समस्या भनेको चुनावको एउटा एजेण्डा मात्रै हो । चुनावको समयमा नेताको भाषण सुन्दा यस्तो लाग्दछ त्यो नेता जति मजदूरको बारेमा चिन्ता गर्ने व्यक्ति राज्यमै अरु कोही छैन । तर सत्तमा पुगेपछि मेरो चुनावी एजेण्डमा मजदूर बर्गको समस्या पनि थियो है भन्नेसम्म पनि उसलाई याद रहँदैन । मजदूरहरुलाई विभिन् पार्टीको आधारमा संघ संगठनमा बाँडी तिनै मजदूरको पसिना माथि राजनीति गर्दै तिनै माथि शासन गरिरहन्छ । विचरा मजदूर एक पटक त दिन आउला नि भनेर पर्खदा पर्खदा उसको आफ्नै जीवनको दिन सकिई सकेको हुन्छ ।
श्रमिक मजदूर बर्ग राष्ट्रलाई अड्याउने एउटा प्रमुख आधार स्तम्भ मध्ये हो । जबसम्म मजदूरहरुको जीवन सरल र सहज हुँदैन, तबसम्म त्यो राष्ट्रले विकासको गति लिन सक्दैन । चाहे जुनसुकै स्तर र क्षेत्रको होस् जबसम्म श्रमिकहरुले हाँसी खुशी काम गर्ने वातावरण बन्दैन, तबसम्म हामी अपेक्षित लक्ष्यमा पुग्न सक्दैनौं । त्यसकारण श्रमिक र मजदूरहरुको वास्तविक समस्या के छ र त्यसको सही सम्बोधन कसरी गर्न सकिन्छ भन्ने कुरामा राज्य सचेत र जिम्मेवार हुनु पर्दछ । राजनीतिक पार्टीहरुले पनि आफ्नो स्वार्थ सिद्धीका लागि मात्रै मजदूर बर्गको प्रयोग गर्नु भन्दा उनिहरुको आवश्यकता पूर्तिको लागि पहल गर्नु पर्दछ । स्वयम मजदूर नेतृत्वले पनि आफ्नो वास्तविक धरातल र जिम्मेवारीलाई विर्सने गल्ति गर्नु हुँदैन । मजदूरहरु पनि एकतामै बल हो भन्ने कुरालाई स्मरण गर्दैै आफ्नो समस्या समाधानको पक्षमा एक हुनु आवश्यक छ । तसर्थ श्रमिक मजदुर बर्गको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ हामी सबैले सोंचौ र प्रयास पनि गरौं । राज्य पनि अझ बढी जिम्मेवार होस् । तब मात्र मे फस्टलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउनुको सार्थकता रहन्छ । होइन भने २÷४ वटा भाषण सहमति पत्रमा हस्ताक्षर केही औपचारिक कार्यक्रम र सार्वजनिक विदामा मात्र मे फस्टलाई सीमित गराउनु भनेको अन्तराष्ट्रिय श्रमिक दिवस र सम्पूर्ण श्रमिक मजदूरहरुको परिहास मात्र हो ।
श्रमिक, श्रमिक दिवस, श्रमिकको समस्या
previous post