भागिरथी देवकोटा
शिक्षकःमहेन्द्रोदय मावि ऋषिङ
पृष्ठभूमिः
कुनै पनि उद्देश्य लिएर मानिस एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने प्रक्रियालाई नै भ्रमण भनिन्छ । नयाँ स्थानमा गई नयाँ ज्ञान, सीप, अनुभवहरू बटुल्न र ती अनुभवबाट आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन हरपल प्रयत्नशील रहन्छ, मानिस । हाम्रा ऋषिमुनीहरु ज्ञानको खोजीमा विभिन्न ठाउँ घुमेका कथा हामीले पढेका छौं अनि गौतम बुद्ध ज्ञानको खाजीमै लुम्बिनीबाट बोधगयासम्म पुगेको सत्यपनि हाम्रा सामु छ र हामी पनि महेन्द्रोदय माविका विद्यार्थी लिएर भ्रमणमा निस्केका थियौं, ज्ञान, सिप र अुनभव बटुल्न । भ्रमणबाट ज्ञान र अनुभव संगाल्दै र अनुभूतिलाई नियाल्दै अगाडि बढ्नका प्रेरणा मिल्दछ । र त्यही अनुभवले भविष्यको मार्ग कोर्न सहयोग गर्छ ।
पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य हासिल गराउँदै विद्यार्थीहरूको सिकाइलाई दीगो बनाउन अवलोकन भ्रमणको व्यवस्था गरिन्छ । कक्षा कोठामा भनेका र सुनेका कुराले मात्र सिकाई प्रभावकारी नहुने हुँदा विभिन्न पक्षहरूको प्रत्यक्ष अवलोकन गराई त्यसबाट आफैँ छुने, हेर्ने अवसर प्रदान गरेर उनीहरुको सिकाइ दीगो र प्रभावकारी बनाउन सकिने विश्वास जोडिएको थियो ।
विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीसंगै दुई दिने शैक्षिक अवलोकन भ्रमणमा हामी शिक्षकहरु पनि थियौं । सहभागी विद्यार्थीहरूले विभिन्न स्थानको भूगोल, संस्कृति, सभ्यता आदिको अवलोकन गर्दै विभिन्न प्राकृतिक धार्मिक एवं सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त गरे । यसैसँग सम्बन्धित विविध पक्षलाई समेटेर तयार पारिएको एक प्रतिवेदन ।
भ्रमणका क्षेत्रहरूः
शैक्षिक भ्रमणको मुख्य केन्द्रबिन्दु बाग्लुङ कालिका मन्दिर, तातोपानी, रुप्से झरना, मार्फा गाउँ, कागबेनी तथा मुक्तिनाथ मन्दिर रहेको थियो ।
भ्रमणका उद्देश्यहरूः
नेपाल धार्मिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले सम्पन्न देश भएकाले ती क्षेत्रको प्रत्यक्ष अवलोकन गरी समग्र जानकारी हासिल गर्नु रहेको छ । भौगोलिक विविधताको प्रत्यक्ष जानकारी लिनु, प्राचीन कला संस्कृति र धार्मिक क्षेत्रको बारेमा ज्ञान हासिल गर्नु ,प्राकृतिक अवस्था र विकासका बारेमा आफ्नो समुदाय र सम्बन्धित क्षेत्रकाबीच भिन्नता पहिल्याउनु ।
भ्रमणका विधिहरूः अवलोकन, प्रश्नोत्तर,खोज अनुसन्धान विधि
भ्रमण गतिविधि र क्रियाकलापहरू ः
२०८१ कार्तिक ३० र मंसिर १ दुइ दिन विद्यालयले भ्रमण तिथी तय गरेको थियो । पहिलो दिन बिहान करिब ५ बजे विद्यालयबाट करिब ७० जनाको समूह भ्रमणको लागि दुईवटा सवारी साधनका साथ प्रस्थान गरियो । तनहुँबाट सुरु यात्रा कास्की, पर्वत हुँदै ११ बजे बाग्लुङ पुगेर कालिका मन्दिर दर्शन गरियो । यो मन्दिरलाई बाग्लुङ कालिका भगवती मन्दिर भनेर धेरैले चिन्ने रहेछन् । पश्चिम नेपालको बाग्लुङ नगरपालिकाको दक्षिण पूर्वमा अवस्थित यो मन्दिर हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र रहेछ । कालीगण्डकी नदीको दक्षिण किनारमा अवस्थित मन्दिर निर्माणको इतिहासका बारेमा स्थानीयले एक किंवदन्ती बताए । उनका अनुसार पर्वतका राजा प्रताबीनारायण मल्लको विवाह पाल्पाका मणीमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा सेनपुत्रीले माझको देवीलाई पनि दाइजोको रुपमा बुवासँग मागेर आफूसँगै ल्याएकी थिइन् । त्यसपछि पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली अहिले मन्दिर भएको ठाउँमा बिसाएर उठाउन खोज्दा नसकेपछि राजदम्पतीले सोही ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएका हुन् । मन्दिरमा वर्षको दुईपटक चैते दशैं र बडादशैँमा विशेष पूजा हुँदै आएको छ । नेपालको प्रसिद्ध यो शक्ति पीठमा विशेष पूजामा पञ्चबली पनि चढाइन्छ । छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गरेको यो मन्दिरमा चारै दिशामा ढोका भएतापनि पूर्वको ढोका कहिले पनि नखोलिने
रहेछ । कारण बुझ्दा यो ढोका खोल्दा नाग उत्पन्न हुने जन विश्वास रहको पाईयो । देवीको दर्शनपछि आजकल अनिवार्य जस्तै बनेको फोटोहरु खिच्ने काम सम्पन्न भयो ।
खाना खाएर मुस्ताङ यात्रा सुरु भयो । बालबालिकाहरु यात्राको क्रममा रमाइलो मान्दै सुन्दर पहाडहरू, लामा लामा झलुङ्गे पुलहरु अनि कलकल ध्वनीसहित बगिरहेकी काली नदीको दृष्यावलोकन गर्दै अगाडि बढ्यौं । म्याग्दी जिल्लामा कतिपय बाटो अलि साँघुरो र कच्ची रहेछ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डको अवलोकन गरियो यो बेनीबजारबाट ९ किलोमिटर दूरीमा रहेछ । मुक्तिनाथको यात्रामा प्रवेशद्वारको रुपमा बेनी बजारबाट ३ किमी उत्तरमा गलेश्वर धाम रहेछ ।
साँझ ८ बजे मार्फा पुगी होटलमा खाने र बस्ने व्यवस्था मिलाइयो । त्यहाँको गुन्द्रुकको अचार अनि जिम्बुले झानेको दाल खुब मिठो लाग्यो । अचार र दाल मिठो हो या भोक र थाकाईले मिठो अनुभूत गराएको हो, खुट्याउन कठिन भयो हामीलाई । दोस्रो दिन बिहान ५ बजेतिर हाम्रो यात्रा पुन आरम्भ भयो । मुस्ताङ जिल्लाको त्यो बिहानी पखको मिरमिरे उज्यालोमा हिमाल हेर्दा सबैको मन आनन्दित भएको थियो । बालुवा नै बालुवाले भरिपूर्ण त्यहाँको प्राकृतिक दृश्य अति सुन्दर देखिन्थ्यो । टुन्ड्रा वनस्पति पाइने त्यस स्थानमा अलिअलि मात्रै घाँसहरु देख्न पाइन्थ्यो । सबैजना रमाउँदै यात्रा अगाडि बढिरहेको थियो । यात्रामा कागबेनी पनी रहेछ जहाँ मानिसहरूले आफ्ना पितृजनको स्मरणमा श्राद्ध गर्दा रहेछन् । कागवेनीलाई बायाँ पार्दै हामी अगाडि बढ्यौं र मुक्तिनाथ वसपार्कमा बस बिसाएर करिब २ किलोमिटर जति पैदल यात्रा सुरु भयो, मुक्तिनाथका लागि । मन्दिर जाने क्रममा विद्यार्थीहरूलाई लाइनबद्ध तरिकाले अगाडि बढाइयो । लेक लाग्ने समस्या हुनेहरु, अशक्त वा सौखिनहरु रु ४०० तिरेर घोडा चढेर मन्दिरसम्म जानसक्ने रहेछन् । केही विद्यार्थीहरु घोडामा चढेर मन्दिरसम्म पुगे भने केही हिँडेर पुगियो । करिब १२१ वटा सिढी रहेको धर्म उकाली चढेपछि मन्दिर पुगिने रहेछ । हामी केही सर म्याडमहरु लाई माथि चढ्न अलि गाह्रो महसुस भएको थियो त्यहाँ लेक लाग्ने समस्याको कारण २,३ जना विद्यार्थी सवारी साधन भएको ठाउँमा बसे ।
समुन्द्र सतहबाट ३७१० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको बाह्रगाउँमुक्ति क्षेत्र गाउँपालिका वडा नम्बर १ मा पर्ने रहेछ । मुक्तिनाथ पनि भनिने यो क्षेत्र हिन्दू र बौद्ध मार्गी दुवैका लागि महत्वपूर्ण धार्मिक स्थल रहेछ । मन्दिर पुगेपछि १०८ धाराको जलद्वारा स्नान गर्दै र मन्दिर अगाडी रहेका दुईवटा कुण्डमा डुब्दै नहायौं । नुहाउन नसक्नेहरू शिरमा जल छर्किँदै लाइनबद्ध भएर मन्दिर दर्शन गर्न गयौं रमोक्ष प्राप्तीको कामना ग¥यौं । कालीगण्डकी नदीको मुहान मुक्ति क्षेत्र रहेको कुरा जानकारी प्राप्तीसंगै बौद्ध धर्म अन्तर्गत क्षेत्र पनि अवलोकन गराइयो जहाँ ठूलो बुद्ध भगवानको मूर्ति साथै विभिन्न गुम्बा रहेछन् । विष्णु भगवानको स्वरुप मानिने शालिग्राम त्यहाँ देख्न पाइयो । मुक्तिनाथलाई हिन्दुहरुले विष्णु र शिवको प्रतीक मान्दछन् भने बौद्ध मार्गीहरूले लोकेश्वरका रूपमा मान्दै आएका छन् ।
झण्डै तीनसय रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिक्षेत्र बाह्य तथा आन्तरिक पर्यटकका लागि अत्यन्तै महत्त्वपूर्ण स्थान रहेछ । प्यागोडा शैलीमा निर्मित तीन तले मन्दिरमा विशेषगरी जनै पूर्णिमामा र दशैंको नौरथमा विशेष मेला लाग्ने र पर्यटकको आगमन हुने त्यहाँका बासिन्दाले जानकारी गराए ।
हामीहरूले अझै भुगोलको जानकारी लिन खोज्यौं । गोरङ्गा हिमालको फेदीमा रहेको मुक्तिनाथ मन्दिर विभिन्न शक्ति पीठहरूमध्ये एक रहेछ । बौद्ध धर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा भनिने रहेछ । जसको अर्थ तिब्बतीय भाषाअनुसार १०८ धाराको पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णु लगाएत देवी लक्ष्मी र गरुडको मुर्ती राखिएको छ । हामीलाई प्राप्त जानकारी अनुसार यी धार राजा मुकुन्द सेनले बनएका रहेछन् । तीब्बतीय धर्म दर्शन अनुसार गुरु रिम्पोचे टिवेटन बुद्ध धर्मका जन्मदाता मुक्तिनाथको वरपरका पर्वतमा तपस्या गरेर तिब्बत गएका थिए भन्ने ऐतिहासिक विम्बदन्ती रहेछ । मुस्ताङ जिल्लाको दामोदर कुण्डबाट सुरु भई आएको गण्डकी नदी जुन मुक्तिनाथको धाराको पानीले बनेको काली नदी कागबेनीमा आएर मिसिने रहेछ । कालीगण्डकी नदी मुक्तिनाथ धाराबाट सुरु भई देवघाटमा पुगी त्रिशुली नदीमा मिसिएपछि नारायणी नाममा र त्रिवेणी भैसालोटन हुँदै भारतमा गंगा नामले परिचित भई गंगासागरमा गएर मिसिने रहेछन् । अझ चाखलाग्दो कुरा नवलपरासीको गैडाकोटबाट सुरु भएको कालीगण्डकी कोरेडोर तिब्बतको सिमानाका कोरालासम्म ४३५ किलोमिटर छ भन्ने कुरा जानकारी लिन पाउँदा ज्यादै खुसी लाग्यो । मेरो जन्म जिल्लाबाट सुरु हुँदै तिब्बतको सिमानासम्म छोएको कोरोला नाकासम्म पुग्ने रहेछ त्यो सडक । हामी सम्पूर्ण त्यहाँबाट फर्कियो करिब १० बजेतिर बस भएको स्थानमा आएपछि सबैजना रमाइलो हिमालको दृश्य नियाल्दै मन प्रफुल्ल बनाउँदै पुन मार्फा गाउँ आइपुग्यौँ । त्यहाँ प्रशस्त मात्रामा स्याउ फलेको देखियो । फलेको हेर्दै ,खाँदै खाना खाने ठाउँमा आइपुग्यो र खाना खाएर करिब १ बजेतिर हामी मार्फा बाट फर्कन थाल्यौं । त्यसपछि रूपसे झरना अवलोकन गर्दै पर्वत, कास्की हुँदै करिब ११ बजेतिर घरसम्म आइपुग्न सफल भएका थियौँ ।
भ्रमणबाट प्राप्त भएका ज्ञान
अवलोकन भ्रमणको माध्यमबाट विभिन्न ज्ञान, सीप लगायत धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक आदि पक्षहरूको बारेमा जानकारी हासिल भएको पाइयो । अझै विशेषगरी ऐतिहासिक धार्मिक महत्व बोकेको मुक्ति क्षेत्रलाई विश्व सूचीमा सूचीकृत गर्नुपर्ने विद्यार्थीहरूको भनाइ थियो । र यसको गुठी जग्गाहरूको अवस्था खोजी गरी पर्यटकलाई बस्नको लागि ठाउँको व्यवस्था गर्नसक्दा पर्यटनको विकासमा सकारात्मक सहयोग पुग्ने विद्यार्थीहरूको धारणा थियो । भ्रमणले कक्षा कोठामा मात्र सीमित रहेमा पछाडि परिने कुरा महसुर भएको विद्यार्थीले बताए । अवलोकन भ्रमणको लागि हामीलाई सहयोग गर्नुहुने विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार, अभिभावक,गाउँपालिका, वडा र सवारी साधन चालक लगायत सवारी साधनका स्टाफहरू सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु ।