नगर सभाका अध्यक्ष
महोदय,
१) नगरपालिकाको आ.व. २०७८÷०७९ को बजेट यस गरिमामय सभामा राख्न पाउँदा अत्यन्त खुशीको अनुभूति गरेको छु । कोरोना भाइरसको प्रथम र दोस्रो लहरका कारणले अर्थतन्त्र र विकास कार्यक्रममा ठूलो प्रभाव परेको यस विषम परिस्थितिमा बजेट तथा कार्यक्रम निर्माणमा समेत कठिनाईहरु उत्पन्न हुन आएको महशुस गरेको छु ।
२) नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन एवं सम्बन्धित अन्य ऐनको सिमामा रही यस नगर सभाबाट स्वीकृत नगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेटको तर्जुमा भएको छ । साथै “विविधतायुक्त गाउँ(शहर समृद्ध मेरो व्यास नगर” भन्ने नगरपालिकाको दीर्घकालीन सोचलाई ध्यानमा राख्दै सामाजिक न्याय, दीगो विकास र उत्पादनमा बृद्धि गरी नगरवासीको अधिकत्तम हित हुने गरी आर्थिक, सामाजिक रुपान्तरण हुने गरी बजेटको तर्जुमा गरिएको छ । यो बजेट तर्जुमा गर्दा एकीकृत विकास परियोजना र आवधिक योजनालाई मध्यनजर गरिएको छ ।
३) यस बजेटमा नगरपालिकाको आफ्नो क्षेत्राधिकार भित्रको कर तथा गैरकर, राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखी निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन, सम्भाव्यता अध्ययन गरी लागत इष्टिमेट गराएर मात्र आयोजना सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
४) प्रशासनिक तथा प्राविधिक क्षमता, श्रोत तथा विनियोजनका बीचमा सन्तुलन हुने गरी श्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको छु
५) आ.व.२०७७।०७८ मा विनियोजित बजेट तथा कार्यक्रम कोभिड लागयत बाढी पहिरोका कारण समयमा सम्पन्न हुन नसकेको हुँदा आ.व.२०७८।०७९ कार्तिक मसान्तसम्म सम्पन्न गर्ने गरी क्रमागत योजना सम्पन्न गर्ने, सोभन्दा वाहेकका २०७७।०७८ भन्दा अगाडिका योजना तथा कार्यक्रमहरु आगामी वर्ष रकमान्तर नहुने व्यवस्था मिलाइएको छ ।
६) लोकतन्त्रका मूल्य मान्यता सहितको समाजवाद उन्मूख अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक श्रोतको आधार विस्तार, सुशासन प्रवद्र्धन र अन्तर सरकारी समन्वयका अनेक चुनौतिहरुका बीच यो बजेटको तर्जुमा गरिएको छ ।
अध्यक्ष महोदय,
७) आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट देहायका उद्देश्य प्राप्तिमा केन्द्रीत रहने छन्ः
क) बाह्य तथा आन्तरिक श्रोतको अधिकतम परिचालन तथा व्यवस्थापन गर्नु ।
ख) उत्पादनमा बृद्धि गरी नगरपालिकालाई आत्मनिर्भर र सवल बनाउनु ।
ग) अधिकार क्षेत्र भित्रका नीति, कानूनको तर्जुमा तथा संगठनात्मक संरचनालाई सुदृढ गर्नु ।
घ) पूर्वाधार विकासमा सन्तुलित र सामाजिक न्यायपरक लैगिंक सन्तुलित लागनी गर्नु ।
ङ) रोजगारीको अवसर सृजना गरी गरिबी न्यूनीकरण गर्नु ।
च) समानुपातिक, समावेशी र न्यायोचित वितरण गरी संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासनको प्रवद्र्धन गर्नु ।
८) “विविधतायुक्त गाउँशहर समृद्ध मेरो व्यास नगर” भन्ने नगरपालिकाको दीर्घकालीन सोचलाई सार्थक तुल्याउन नगरपालिका निर्माणको अग्रणी आधार, कृषि, पर्यटन, शिक्षा, सिर्जनात्मक मानव पूँजी निर्माण तथा विकास र सुशासन हुन् भन्ने विश्वासका साथ यस अघिका बजेटहरु जस्तै यस पटक पनि ती प्राथमिकताहरुका साथ साथै स्वास्थ्य क्षेत्रको विकासमा आगामी आर्थिक वर्षको बजेटमा निम्न क्षेत्रका लगानीलाई प्रमुख प्राथमिकता दिएको छु ।
क) सडक, खानेपानी, खेलकूद मैदान, कार्यालय भवन, पार्क निर्माण लगायतका पूर्वाधारको विकास ।
ख) कृषि क्षेत्रको जैविक तथा आधुनिकीकरणमा विकास ।
ग) पर्यटन क्षेत्रको एकीकृत विकास ।
घ) शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको प्रत्याभूति ।
ङ) उत्पादनमूलक उद्योगमैत्री कार्यक्रम ।
च) मानव संशाधनको विकास र सुशासनको प्रत्याभूति ।
अध्यक्ष महोदय
अब म आर्थिक वर्ष २०७६÷०७७ को यथार्थ आयव्यय, चालु वर्ष २०७७÷०७८ को संशोधित आयव्यय बजेट र आगामी आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित आयव्यय बजेट, खर्चको स्थिति प्रस्तुत गर्न चाहन्छु ।
९) आर्थिक वर्ष २०७६÷०७७ को यथार्थ आयमा आन्तरिक श्रोतबाट रु.११ करोड २५ लाख ४ हजार ९ सय ८८ रुपैयाँ, संघीय सरकारबाट प्राप्त अनुदान रकम रु.१ अरब ४ करोड ८० लाख ४५ हजार ३ सय ४७ रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु.२ करोड ८४ लाख ५० हजार रुपैयाँ, अन्य निकायबाट प्राप्त रकम रु.६ करोड ४ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ, जनसहभागिता नगद र संचित कोषमा अघिल्लो वर्षको अल्या रकम रु.१२ करोड ८७ लाख ९२ हजार २ सय ९४ रुपैयाँ गरी जम्मा आय रु.१ अरब ३७ करोड ८२ लाख ४० हजार ३ सय ४ रुपैयाँ रहेको छ भने खर्च तर्फ चालु खर्च रु.७९ करोड ७३ लाख ७४ हजार १ सय ४४ रुपैयाँ, पूँजीगत खर्च रु.४० करोड ३५ लाख ४६ हजार ४ सय २६ रुपैयाँ र संचित कोषमा फिर्ता खर्च समेत रहेको रकम रु.१७ करोड ९३ लाख १९ हजार ७ सय ३४ रुपैयाँ गरी जम्मा रु.१ अरब ३७ करोड ८२ लाख ४० हजार ३ सय ४ रुपैयाँ खर्च रहेको थियो । जसको विवरण अनुसूची १ मा समावेश गरिएको छ ।
१०) चालु आर्थिक वर्ष २०७७÷०७८ को जेठ मसान्तसम्म कुल यथार्थ आय रु.१ अरब ३५ करोड ९७ लाख ७ हजार ६ सय २१ रुपैयाँ र कुल व्यय रु.१ अरब १ करोड २० लाख ६३ हजार १ सय ६८ रुपैयाँ देखिएको छ । यस अघि २०७७ माघमा चौतीसौ नगर सभाबाट पारित चालु आर्थिक वर्ष २०७७÷०७८ को संशोधित आय संघ सरकारबाट प्राप्त अनुदान रु.१ अरब ६ करोड ९३ लाख ७३ हजार २ सय रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु.३ करोड ५३ लाख ८७ हजार, आन्तरिक श्रोतबाट प्राप्त रकम रु.२० करोड ४७ लाख, अन्य आयबाट प्राप्त रकम रु.१० करोड ६२ लाख ८१ हजार, लागत सहभागिताबाट र अघिल्लो वर्षको अल्या गरी रु.१५ करोड ६९ लाख ७० हजार ८ सय रुपैयाँ गरी कुल रु.१ अरब ५७ करोड २७ लाख १२ हजार रुपैयाँ आय अनुमान रहेको छ भने संशोधित चालु खर्च अनुमान रु.९३ करोड ८५ लाख ५६ हजार ४ सय ५० रुपैयाँ र संशोधित पूँजीगत खर्च अनुमान रु.६३ करोड ४१ लाख ५५ हजार ५ सय ५० रुपैयाँ गरी जम्मा रु.१ अरब ५७ करोड २७ लाख १२ हजार रुपैयाँ संशोधित खर्च अनुमान गरिएको छ । जसको विवरण अनुसूची २ मा समावेश गरिएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रम निम्नानुसार प्रस्ताव गर्दछु ।
११) यस वर्ष पनि कोरोना भाइरसका कारणले राजश्व संकलन, अनुदान प्राप्त अवस्था सन्तोषजनक नभएकोले विकास आयोजनाहरुमा गति लिन नसक्दा यसवर्ष सम्झौता भइसकेका तर सम्पन्न हुन नसकेका नगरवासीको भावना र सरोकारसँग जोडिएका योजनाहरुमा सम्झौता भएका चालु अवस्थामा रहेका अधुरा योजनाहरु र निरन्तर क्रमागत योजनाहरुमा रु.१० करोड विनियोजन गरेको छु ।
१२) आ.व. २०७८।०७९ का लागि क्षेत्रगत रुपमा (आर्थिक विकास तर्फ रु.१० करोड ११ लाख ९६ हजार, सामाजिक विकास तर्फ रु.९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकास तर्फ रु.४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ रु.४ करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु.२ करोड ५४ लाख ६६ हजार समेत जम्मा रु.१ अरब ७७ करोड ८९ लाख १२ हजार बजेट विनियोजन गरेको छुु, जसु अनुसार आर्थिक विकासमा ५.६९ प्रतिशत, सामाजिक विकासमा ५२.३८ प्रतिशत, पूर्वाधार विकासमा २५.५१ प्रतिशत, वातावरण तथा विपद् यवस्थापनमा २.६२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १३.८० प्रतिशत विनियोजन भएको छ । विस्तृत बजेटको शीर्षकगत विवरण अनुसूची ३ मा उल्लेख गरेको छु ।
१३) आ.व.२०७८।०७९ का लागि विनियोजित बजेट रकम मध्ये चालु खर्च तर्फ रु.१ अरब २ करोड ८७ लाख १२ हजार विनियोजन गरेको छु, जुन कुल बजेटको ६७.८३ प्रतिशत हुन आउँछ भने पूँजीगत तर्फ रु.७५ करोड २ लाख विनियोजन गरेको छु, जुन कुल बजेटको ४२.१७ प्रतिशत हुन आउँछ ।
१४) माथि लेखिए बमोजिम खर्च व्यहोर्ने श्रोतका लागि तल लेखिए बमोजिम कुल रु.१ अरब ७७ करोड ८९ लाख १२ हजारको आय प्रस्ताव गरेको छु ।
क) संघ सरकारको सशर्त अनुदान रु.५६ करोड १७ लाख रहेको छ ।
ख) संघ सरकारको सामाजिक सुरक्षा अनुदान रु.२१ करोड रहेको छ ।
ग) आन्तरिक श्रोतको आयबाट रु.२० करोड ५० लाख रहेको छ ।
घ) संघ सरकारको वित्तीय समानिकरण अनुदान रु.१९ करोड ७६ लाख रहेका छ ।
ङ) संचित कोष अल्याबाट रु.१५ करोड ३७ लाख १२ हजार रहेको छ ।
च) संघ सरकारको राजश्व बाँडफाँडबाट रु.१२ करोड ९८ लाख ५१ हजार रहेको छ ।
छ. राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्टूेशनबाट रु.१० करोड रहेको छ ।
ज) नगर विकास कोष ऋणबाट रु.१० करोड रहेको छ ।
झ. प्रदेश वित्तीय समानीकरण अनुदान रु.२ करोड ४४ लाख ७८ हजार रहेको छ ।
ञ) प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु.१ करोड ७४ लाख ७५ हजार रहेको छ ।
ट) गाउँ नगर साझेदारी कोषबाट रु.१ करोड ६५ लाख रहेको छ ।
ठ) संघ विशेष अनुदान रु.१ करोड ३७ लाख रहेको छ ।
ड) प्रदेशको विशेष अनुदान रु.१ करोड रहेको छ ।
ढ) प्रदेशको सशर्त अनुदान रु.१ करोड रहेको छ ।
ण) प्रदेशको समपुरक अनुदान रु.१ करोड रहेको छ ।
त) संघ सरकारको सडक बोर्ड नेपालबाट रु.१ करोड रहेको छ ।
थ) जनसहभागिता नगदबाट रु.६० लाख रहेको छ ।
द) मूल्य श्रृंखला कार्यक्रम अनुदान रु.१५ लाख रहेको छ ।
ध) संघ सरकारको गरिवसँग विश्वेश्वर कार्यक्रमबाट रु.५ लाख ४६ हजार रहेको छ ।
न) संघ सरकारको रोयल्टी वापत प्राप्त अनुदान रु.६ लाख रहेको छ ।
प) संघ सरकारको एल.जि.सि.डि.पि. कार्यक्रमबाट रु.३ लाख ५० हजार रहेको छ ।
विस्तृत विवरण अनुसूची ४ मा संलग्न छ ।
अध्यक्ष महोदय,
अब म आर्थिक वर्ष २०७८÷०७९ को लागि राजश्वका संकलनका मुख्यमुख्य नीतिहरु प्रस्तुत गर्दछु ।
१५) व्यास नगरपालिका क्षेत्र भित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकत्तम परिचालन गर्ने नीति लिइएको छ । कर तथा गैरकर राजश्व सङ्कलनलाई प्रभावकारी बनाउन कानूनी तथा संस्थागत सुधार गरिने छ ।
१६) सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर, सम्पत्ति कर एवं भूमि कर, घर नक्सा पास दस्तुर, खानीजन्य ढुंगा, गिटी, वालुवा, ग्राभेल, रोडा, स्लेट ढुंगा, खरी, चुनढुंगा, ब्लक, इट्टा, कटिङढुंगा, कवाडी सामान र काठ आदिमा लिइने दस्तुर यथावत राखी करको दायरा फराकिलो पारिने छ ।
१७) कृषि व्यवसायसँग सम्बन्धित पुशपंक्षी, माछा, फलफूल, तरकारी, दुध आदिमा स्थानीय उत्पादनमा लाग्ने कर नलिने निर्णयलाई निरन्तरता दिइएको छ । साथै दुग्ध सहकारी मार्फत बिक्री हुने दुधमा प्रतिलिटर रु.१। र सहकारी मार्फत बिक्री हुने खसीबोकामा प्रति किलो रु.१०। सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको छु ।
१८) कर तथा दस्तुरहरु नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, संघ तथा गण्डकी प्रदेश सरकारको कानूनसँग नबाझिने गरी प्रस्ताव गरेको छु ।
१९) कर सम्बन्धी प्रस्ताव आर्थिक विधेयक २०७८ यसै साथ प्रस्तुत गरेको छु । कर सम्बन्धी प्रस्ताव सम्वत् २०७८ श्रावण १ गतेबाट लागु हुने व्यवस्था मिलाएको छु ।
२०) बजेट तर्जुमाका लागि मार्ग दर्शन गर्नु हुने नगर प्रमुख, नगर कार्यपालिकाका सदस्य, नगरपालिका सल्लाहकार, राजनैतिक दल, नगर सभासद्, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण नगरपालिकाका कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, निजी क्षेत्र, नागरिक समाज तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । यो बजेट कार्यान्वयन गर्नमा नेपाल सरकार, गण्डकी प्रदेश सरकार, व्यास नगरपालिकाका सबै शाखा र सम्पूर्ण नगरवासीको सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
धन्यवाद, जयनेपाल ।।
मिरा जोशी
उपप्रमुख
२०७८।३।१०