सन्दर्भ १ः केही समय अगाडि व्यास नगर पालिकाका प्रमुखसंग दमौलीबाट प्रकाशित हुने पत्रिकाका सम्पादक प्रकाशक हरुको भेटघाट कार्यक्रम थियो । भेटका क्रममा सम्पादक प्रकाशकहरुले विज्ञापन नपाईने भएकाले आफुुहरुले आर्थिक समस्या भोग्नु परेको र प्रकाशन बन्द गर्नुपर्ने अवस्था आउन लागको बताए । उनीहरुको आग्रह थियो, स्थानीय पत्रिकाको आर्थिक समस्या समाधान गर्न नपाले सहयोग गरोस् । सबैको कुरा धैर्यतापूर्वक सुनेका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कुनै स्थानीय पत्रिकाले पनि ग्राहक बन्नका लागि आग्रह गर्न नआएको बरु बजारमा सित्तै पत्रिका बाँडिने गरको आफुले थाहा पाएको बताए ।
सन्दर्भ २ः सोही समयको सेरोफेरोमा राष्ट्रिय दैनिक पत्रिकामा एउटा विज्ञापन प्रकाशित गर्नुपर्ने भयो । प्रथम पृष्ठको एक चौथाई भागमा विज्ञापन प्रकाशित गर्ने निर्णय भएपछि कान्तिपुर कार्यालय पुग्यौं हामी । मध्यम वर्गिय परिवारको सदस्य म, विज्ञापनको दर सुनेर झण्डै वेहोस भएँ । विज्ञापनको मूल्य थियो, ४ लाख रुपैयाँ ।
पत्रिकाको ६० प्रतिशत स्थान समाचार र बाँकी ४० प्रतिशत स्थान विज्ञापनले भर्न पाउने प्रावधान रहेको छ । तर दमौलीबाट निस्कने अधिकांश पत्रिकाहरुलाई हेर्ने हो भने ६० होइन ९० प्रतिशत स्थान नै समाचारले भरिएको पाउन सकिन्छ । बाँकी १० प्रतिशत स्थान विज्ञापनले भरिएको त हुन्छ तर कतिपय विज्ञापन भुक्तानी नपाउने जान्दा जान्दै पेज भर्नका लागि प्रकाशित गरिएको व्याथा सुनाउने सम्पादक प्रकाशकको बाहुल्य छ, दमौलीमा ।
कोभिडको महा मारीका समयमा भएको बन्दाबन्दीले घर भित्रै बसेर इन्टरनेटको सहयोगमा अनलाईन मार्फत विभिन्न पत्रपत्रिका पढ्ने बानी परेका आम पाठकलाई फेरी पत्रिका पढ्ने बनाउन कठिन भएको छ । पाठक अभाव तथा सुस्ताएको आर्थिक क्षेत्रका कारण विज्ञापन अभावहुँदा कतिपय पत्रिकाको यसबीच प्रकाशन समेत बन्द भैसकेका छन् । कतिपय राष्ट्रिय स्तरका दैनिक समेत बन्दहुने अवस्थामा पुगको दुःखद समाचार हामीले सुन्नु ÷पढ्नु परेको छ । यसका प्रभाव स्थानीय पत्रिकाहरुमा नपर्ने कुरै भएन । र स्वाभाविक छ पहिल्यै देखि आर्थिक समस्या झेलीरहेका स्थानीय पत्रिकाहरु अझ समस्यामा छन्, यतिबेला ।
स्थानीय पत्रिका पनि किनेर पढ्नु पर्छ र स्थानीय पत्रिकाका सम्वाददाता, लेखक, सम्पादक तथा प्रकाशकले पनि परिश्रमको मूल्य पाउनु पर्छ भन्ने विचारको विकास हुन सकेको छैन त्यसैले स्थानीय पत्रिका सित्तै पढ्ने हो भन्ने ठान्छौं हामी । राष्ट्रि पत्रिका पढेर जुम्लाको स्याउ कतिमा विक्रि भयो भनेर थाहा पाउनु भन्दा स्थानीय पत्रिका पढेर बैदीको सुन्तला र मौसमले पाएको मूल्य थाहा पाउनु सायद हाम्रो चासोको विषय हो । पछिल्लो समय गाउँ गाउँमा स्थापना गरिन थालेका घरबासको प्रचार प्रसार गर्दै स्थानीय तथा आन्तरिक पर्यटनको विकासमा पनि स्थानीय पत्रपत्रिकाको महत्वपूर्ण भूमिका रहेको छ ।
कुन दलका नेताले के भने, कुन कार्यालयले कस्तो विज्ञप्ती जारी ग¥यो भन्ने कुरालाई मात्र समाचार बनाउन छाडेर छिम्केश्वरीमा बाख्रा पालन गर्ने किसाने भोग्नु परेका समस्या वा उसको सफलताका कथालाई समाचार बनाउन सक्दा, ऋषिङ र देवघाटका किसानको सुन्तला खेती र त्यसबाट प्राप्त उपलब्धीबारेको समाचार बनाउन सक्दा अनि यस्तै थुप्रै अन्य विषयहरुमा खोजमुलक समाचार बनाउन सक्दा पत्रिकाले पाठकको मन जित्ने र पत्रिका मागेर होइन किनेर पढ्ने हो भन्ने विचारको विकास हुनेछ । यसले हाम्रो पत्रकारितालाई व्यवसायिक बनाउन मद्दत गर्नेछ । कर्मकाण्डी र स्वार्थ प्रेरित पत्रकारिता गर्न छाड्ने हो र किसान, उद्यमि, व्यापारी, शिक्षक, कलाकार आदि समाजका सबै क्षेत्र र तहका संघर्ष र सफलताका कथा पत्रिकामा छाप्न सक्दामात्र पत्रिकाले पाठकको विश्वास आर्जन गर्नेछ र त्यसलाई व्यवसायिक हिसाबले सफल बनाउन सहयोग पुग्नेछ ।
व्यासका नगरप्रमुखको भनाई पनि यहाँ मननिय छ । दमौलीमा दैनिक प्रकाशन हुने ५÷६ वटा दैनिक पत्रिका र झण्डै त्यतिनै संख्यामा साप्ताहिक रहेका छन् । र ति सबै पत्रिका सित्तै घरदैलोमा बाँडिन्छन् । पत्रिका बाँडेर सुको आम्दानी हुँदैन तर वितरकलाई पारिश्रमिक भने दिनु पर्छ । कमसेकम एउटा पत्रिकालाई दुइ रुपैयाँमा बेच्ने वातावरण बनाउन सक्ने हो भने पत्रिका वितरकलाई पारिश्रमिक दिएर पनि केही बचत हुन सक्छ र त्यसले सञ्चारगृहमा लगानी बढाउन वा सम्बाददातालाई थप पारिश्रमिक दिन सहयोग पुग्छ । तर सायद हाम्रा सञ्चारगृहका सञ्चालकहरुले यतातर्फ खास ध्यान दिएका छैनन् । एकदिन गएर पत्रिकाको ग्राहक बन्न आग्रह गर्दा आनाकानी गरेपछि भैगो छाडिदिउँ भन्ने प्रवृत्तिले पनि काम गरको जस्तो देखिएको छ । तर हामीले सिक्नु पर्ने कहाँ बाट हो भने, गौथलीले एकै दिनमा घर बनेन भनेर छोड्ने हो भने के माटोले बनेको सुरक्षित, कलात्मक र न्यानो घर बनाउन सक्ला ?
कान्तिपुरको ४ लाखको विज्ञापनको सन्दर्भ मैले यहाँ किन उठाएको भने स्थानीय स्तरमा विज्ञापन माग्न गयो भने हजार रुपैयाँ माग्दा, ओहो ! यति धेरै भनेर जिब्रो काढ्नेहरु धेरै छन् । अझ भनौ विज्ञापन भनेको व्यवसाय प्रवद्र्धनका लागि विभिन्न क्षेत्रमा गरिने लागनीको एक अंश हो भन्ने कुरालाई आत्मसाथ गर्न सकेको अवस्था स्थानीय स्तरमा छैन । यसलाई फजुल खर्च ठान्नेहरुकै बाहुल्यता रहेको छ । यसलाई फजुल खर्च नभई उत्पादित वस्तुको राम्रो बजारका लागि गरिने लगानीको एक अंशको रुपमा अथ्र्याएर सम्बन्धित उद्यमी वा व्यवसायिको व्यापार प्रवद्र्धन पनि गर्ने र आफुलाई पनि व्यवसायिकता तर्फ लैजाने अवस्थाको सृजना पनि सञ्चारगृहहरुले नै गर्ने हो ।
नेपाली पत्रकारिताको प्रवृत्तिलाई व्यङ्ग गर्दै भन्ने गरिन्छ, “पत्रकारहरु जे देख्छन त्यो लेख्दैनन्, जे लेख्छन् त्यो
देख्दैनन् ।” यसबाट आफुलाई अलग बनाउँदै देखेको लेख्ने र लेखेको देख्ने कुरामा पाठकलाई विश्वस्त तुल्याउन सक्ने हो भने पनि व्यवसायिक लाभका बाटाहरु खुल्दै जान सक्छन् । सम्पादक, सम्वाददाताहरुले महिनौ पारिश्रमिक नपाएर भोकै , तिर्खै बस्ने पर्ने अवस्थाबाट माथि उठन र आफ्नै अस्तित्व रक्षाका लागि पनि यसलाई व्यवसायिक बनाउनु जरुरी छ । व्यवसायिक रुपमा सफल भएका सञ्चारगृहका अनुभवहरुबाट सिक्दै तनहुँको पत्रकारिता पनि विश्वासनिय र व्यवसायिक बन्दै जाओस् भन्ने कामना ।