
ऋषिराम पोख्रेल
अधिवक्ता
पृष्ठभूमिः
विवाह मानव जिवनको अभिन्न अभिन्न हो । अपवादमा बाहेक सबै मानिसको विवाह हुन्छ । सन्तानको विवाहदान गराई दिनु अभिभावकीय जिम्मेवारी पनि हो । तर आजकल विवाह गर्न २० बर्ष उमेर पुग्नै पर्दछ भन्ने कुरामा अभिभावक सजग रहनु पर्दछ । सहमति बेगर विवाह गराई दिन हुँदैन भन्ने कुरामा पनि सजग रहनु पर्दछ । २० बर्ष नपुग्दै अल्लरे बुद्धिमा आफ्ना सन्तानले प्रेम गरेर विवाह गरे भने कानूनले दण्डनीय तुल्याउँछ , सजाय भागी हुनु पर्दछ भन्ने कुरामा पनि अभिभावकले आफ्ना सन्तानलाई सजग तुल्याउनु पर्दछ ।
दुइ बर्ष कैद हुने कसूरः
विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गरे गराएमा दुई बर्षसम्म कैद हुने व्यवस्था छ । कैदको साथसाथै २० हजारसम्म जरिवाना समेत हुने व्यवस्था छ । तर २० बर्ष उमेर नपुगेकाको हकमा मञ्जुरी लिएकै भएपनि मन्जुरी लिएको मानिने छैन । त्यस्तो विवाह दण्डनीय हुन्छ । जवरजस्ती करणी मानिन सक्दछ ।
हाडनातामा जन्मकैद
हाडनातामा विवाह गर्न हुँदैन । जन्मकैद हुने हाडनातामा विवाह हुन सक्ने कल्पना त सायदै गर्न नसकिएला । तर पनि सातपुस्ता भित्रको नातामा विवाह गर्न निषेध गरेको छ । गराउनेलाई समेत तीन महिनासम्म कैद र तीन हजार रुपयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था छ ।
तीन बर्ष कैद हुने कसूरः
बीस बर्ष उमेर नपुगि कसैले विवाह गरे वा गराएमा तीन बर्षसम्म कैद र बीस हजार रुपयाँसम्म जरिवाना हुन्छ । यस्तो विवाह सदर पनि हुँदैन । स्वतः बदर हुने विवाहमा पर्दछ ।
पाँच बर्ष कैद हुने कसूर
विवाहजन्य कसूरमा दाइजोको दम्भ देखाउनेहरुलाई पाँच बर्षसम्म कैद हुने व्यवस्था छ । तर यो विवाह भैसकेपछि माग गरिने चल अचल सम्पत्ति वा दाईजो मागी हैरान पार्ने, सताउने, अमानवीय व्यवहार गर्ने, अपमान गर्नेहरुका विरुद्धमा लक्षित छ । कसैले विवाह गरिसकेपछि चल अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल अचल सम्पत्ति वा दाईजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमको हैरान पार्न, सताउन वा कुनै अमानबीय वा अपमानजन्य व्यवहार गर्न कानूनले रोक लगाएको छ । यो कानूनको विपरित कसूर गर्नेलाई पाँच बर्षसम्म कैद र पचास हजार रुपयाँसम्म जरिवाना वा दुवै सजाय हुने गरी कानूनले तोकेको छ ।
बहूविवाहमा पाँच बर्ष कैद
बैवाहिक सम्बन्ध कायम रहिरहेको अवस्थाका अर्को विवाह गर्नेलाई एक बर्षदेखि पाँच बर्षसम्म कैद हुने व्यवस्था छ । साथै दश हजारदेखि पचास हजारसम्म जरिवाना हुने व्यवस्था छ । बहुविवाह स्वतः बदर हुने विवाहमा पर्दछ । पहिलोसंग सम्बन्ध विच्छेद नगरी गरेको दोस्रो विवाह सदर कायम हुन सक्दैन । तर पति पत्निले कानून बमोजिम अंशबण्डा गरी लिई भिन्न भएको अवस्थामा भने सम्बन्ध विच्छेद नभएको भएपनि पुनः विवाह गर्दा बहूविवाह कसूर गरेको नमानिने कानूनीे व्यवस्था छ ।
निष्कर्षः
उमेर नपुगी विवाह गर्दा वैवाहिक जबरजस्तीमा पर्न सकिन्छ । उमेर नपुगेको छोरी मान्छेलाई पत्नि तुल्याएमा जबरजस्ती करणीमा पर्न सकिन्छ । विकशित समाजमा विवाह गर्नुपूर्व गम्भिर भएर सोच्नु पर्ने भएको छ । विज्ञान र प्रविधिको युगमा विकसित भएको सूचना र प्रविधिले छोराछोरी १३÷१४ बर्ष पुगेपछि अभिभावक चनाखो हुनु पर्ने अवस्था आयो । विवाह भनेको के हो यसको परिणाम के हुन्छ भन्ने नुबझ्दै विवाह गर्ने आल्लरे स्वभावको परिणाम जिवनमा पाईने दुःख र हैरानीप्रति हरेक अभिभावकले आफ्ना सन्तानलाई सजग र सर्तक बनाउनु पर्दछ । सहमतिमै विवाह गर्दा पनि उमेर नपुगेको अवस्था रहेछ भने वैवाहिक जवरजस्तीमा परिणत भएका अदालती अभ्यास छन् । सहमतिमै विवाह हुँदा पनि उमेर नपुगेकी रहिछ भने माइतीको दवावमा जबरजस्ती करणीमा कारवाई हुन सक्ने खतरा रहन्छ । व्यवहारिकतामा देखिएका समस्या हुन् । कूल परम्परा मात्रै भनेर अब विवाह गर्न सहज छैन । कानून बुझ्न, बुझेकाको सहयोग लिन पर्दछ ।