
विहिबारबाट हाम्रो भित्ताका क्यालेण्डरहरु फेरिएका छन् । विसं २०७८ लेखेको भित्तेपात्रो फालेर हामीले विसं २०७९ लेखेको पात्रो झुण्ड्याएका छौं । पात्रो फेरिनु नियमितता हो । क्यालेण्डर फेरिएसंगै हाम्रो जीवन पद्धतिमा कुनै सकारात्मक परिवर्तन आयो कि आएन भन्ने कुरा महत्वपूर्ण हो ।
तानशाही भनिएको पञ्चायत व्यवस्था फालेर जनताका लागि, जनताद्वारा र जनताले गर्ने भनिएको शासन व्यवस्था अपनाएको पनि तीन दशक नाघिसक्यो । अझ उन्नत भनिएको लोकतन्त्रको स्थापना भएको पनि डेढ दशक भैकेको छ । हरेक वर्ष क्यालेण्डरहरु फेरिए, तर तीतो लागेपनि सत्य के हो भने आम नागरिकको जीवनमा कुनै फेरवदल आएन ।
बहुदल प्राप्तीको तीन दशको कुरा छाडेर पछिल्लो डेढ दशकको मात्र कुरा गर्ने हो भनेपनि जनताको जीवनमा आमूल परिवर्तनको कसम खाएका दलहरु सबैजासो सत्तामा पुगे, समयमा घटी, बढीको कुरा होला । तर दुःखका साथ भन्नु पर्छ ति सबैले हामीलाई सपना मात्र बाँडे समृद्धि बाँड्न सकेनन् । अझ भन्नु पर्दा चाहेनन् । यदि नागरिक समृद्ध भएमा अर्काे निर्वाचनमा फेरी समृद्धिको राग अलाप्न नपाईने ठानेर शायद नागरिकलाई समृद्ध बनाउने तर्फ कुनै दल र तिनका नेताले सोच्न र तदनुकुल काम गर्न चाहेको देखिएन । हामी उनीहरुले बाँडेका सपना यथार्थमा परिणत हुने दिनको प्रतिक्षामा रह्यौं । उता आफु र आफ्ना आसेपासेहरु समृद्ध भएपछि संसार समृद्ध भएको ठान्ने नेताका आफन्त, नातेदार,साथी र दिनरात छेवैमा बसेर गणेश भक्ती गर्नेहरुको जीवनमा भने साँच्चै समृद्धि
आयो ।
आजबाट सुरु भएको वर्ष २०७९ ले अब आफैलाई समृद्ध बनाउने अबसरको प्रदान गर्नेछ, आम नागरिकलाई । कुरा यत्तिमात्र हो, हामीले त्यो अवसरको सही सदुपयोग गर्न सक्छौं या फेरी चुक्छौं । यो वर्ष स्थानीय तह लगाएत प्रदेश र संघको निर्वाचन हुँदैछ । यस अर्थमा आफ्नै समृद्धिका लागि असल प्रतिनिधि छान्ने अवसर दिँदैछ, यो वर्षले ।
वर्ष २०७८ हाम्रालागि औसत रह्यो । कोरोनाले यो वर्षपनि दुःख दिन छाडेन । कोरोनाका कारण भएका लामालामा बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भयो । अर्काेतिर जनताको आवज बोल्ने प्रतिनिधि थलो संघीय संसदको घाँटी निमोठने प्रयत्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक यही वर्ष दोहो¥याए । यद्यपि सर्वाेच्च अदालतको फैसलाले ओलीको त्यो प्रयत्नलाई सफल हुन दिएन । र असार २९ मा ओली आफ्नै सर्वसत्ताबादी सोच र अहम् तथा छुद्रताका कारण बालुवाटार बाट बाल्कोट पुगे । आफुलाई सर्वज्ञाता सम्झने, आलोचनाको आलोक मन नपराउने, जतिसुकै खराब भएपनि आफ्ना आसेपासेको बचाउमा ओर्लने बानीका कारण ओलीको बाल्कोट यात्रा हुन नै थियो । केही ढिलो र चाँडोको कुरा मात्र हो । अनि बुढानिलकण्ठमा बसिरहेका देउवा रुचि नहुँदा नहुँदै ंिसंहदरबार पुगे । ओली राजको अवसानसंगै राज्य प्रमुखबाट सर्व साधारण दुत्कारिनु पर्ने दुःरावस्थाको अन्त्य भयो । यती र ओम्नीहरुको चुरीफुरी सेलायाो । औषधी जस्तो अत्यावश्यक वस्तुमा समेत कमिशनको खेल खेल्ने र जनताको स्वास्थ्यमा खेलवाड गर्नेहरुको दिन पनि सकियो । साढे तीन वर्षमा साढे आठ खर्बभन्दा बढीको ऋणभार नेपालीको थाप्लोमा थपेर ओली बाल्कोट त पुगे तर नेपालीका दुःखका दिन सकिएका रहेनछन् । ओली सत्तामा हुँदा सरकार कसरी चलाउनु पर्छ हामी देखाईदिन्छौं भनेर संसदमा चर्काे स्वरमा बोल्नेहरु सत्तामा विराजमान हुन त पुगे । तर तिनले पनि केही गर्न सकेनन् । कमसेकम सत्ता आरोहणको यो नौ महिनामा सरकार चलाउने तरिका सिकाउँछु भन्नेहरु पनि को कति पानीमा छन् भन्ने देखियो । काठमाण्डौका नागरिकको दुइ दशक लामो मेलम्ची सपना पुरा हुनै लाग्दा प्राकृतिक प्रकोपको शीकार बन्यो । वर्षको अन्त्यमा युक्रेन र रसियाको युद्धका कारण विश्वव्यापी खनिज तेलको मुल्यमा भएको वृद्धिको मारमा हामी पर्न बाध्य भयौं ।
तर हामी नेपाली हत्तपत्त आत्तिने वा हतास हुने जाती होइनौं । सुखमा नमात्तिने अनि दुःखमा नमात्तिने भन्ने सिकाईबाट हुर्केका हामी नेपालीले भागवत गीताको अंश सम्झेर सामुन्ने आएको संकटलाई टार्दै र समयलाई आफु अनुकुल बनाउँदै लगेका छौं । यो कला हामीसंग छ । त्यो आत्म विश्वास हामीसंग छ ।
र यो वर्ष हामीलाई असल प्रतिनिधी छानेर आफ्नो सुनौलो भविष्य निर्माण गर्ने अवसर छ । विगतका हाम्रा छनौंटहरु बारे समिक्षा गरेर मतदानमा हामी सहभागी हुनु छ । वैशाख ३० मा हुने निर्वाचनले त हामीलाई आफ्नो सबैभन्दा नजिकको सरकार छान्ने अवसर दिँदैछ । आफ्ना दैनिक जीवनमा आइपर्ने समस्याको समाधानमा हामीलाई सघाउने स्थानीय सरकार बनाउने कुरामा हामीले अवश्य विचार पु¥याउनु पर्छ । हामी मध्ये धेरैलाई थाहा छ, मतदान गरिसकेपछि हातको बुढी औलामा निलो मसिले अंकित गरिन्छ, कि यो मानिस मतदानमा सहभागि भैसकेको हो । त्यो दाग केही दिनमा जान्छ । तर यदि हामीले मतदान जस्तो महादानका समयमा विवेक पु¥याएनौं र विवेकलाई बन्धक राखेर विभिन्न प्रलोभनमा परेर मतदान ग¥यौं भने हाम्रो स्वाभिमानमा दाग लाग्नेछ । दाग औलामा मात्र लाग्ने तर स्वाभिमानमा नलाग्ने बनाउने भनेको हामीले नै हो ।
हाम्रोमा विकसित तर नराम्रो संस्कार भनेको मत किन्ने हो । किनेको मतबाट निर्वाचित भएका प्रतिनिधिलाई हाम्रो मतको कुनै प्रवाह हुँदैन र उ हाम्रा प्रति जिम्मेबार पनि हुँदैन । जसरी हामीलाई कसैले कुनै वस्तु बेचेको छ भने अव त्यस वस्तुका बारेमा उसले प्रश्न गर्न पाउँदैन हामीले पनि आफ्नो मत बेच्यौं भने भोली प्रश्न गर्ने ठाउँ पाउँदैनौं । त्यसैले आम पाठकमा मेरो आग्रह तपाईँको मत कुनै पनि कुराले प्रभावित हुनु हुँदैन । हामीले आफ्नो स्वाभिमानमा दाग लगाउने कुनै काम गर्नु हुँदैन ।
वर्ष २०७९ हाम्रालागि अनन्त सम्भावना लिएर आएको छ । त्यो सम्भावनालाई हामीले आफ्नो पकडमा राख्न सक्छौं या सक्दैनौं भन्ने कुरामा हाम्रो भविष्य निर्धारण हुने गर्दछ । यसका लागि हाम्रो होइन राम्रो प्रतिनिधि छान्ने अठोट गरौं । र सन्ततिका लागि उन्नत राष्ट्र दिने कामको सुरुवात यहि निर्वाचनबाट होस् । यही कामना । साथै वर्ष २०७९ सबैका लागि सुदख र फलदायी रहोस् भन्ने कामना ।