
बाल्यकालमा मलाई एउटा चरा असाध्यै मन पथ्र्यो— ‘चिबे चरो’ । कालो रङ्गको त्यो चरो, कालो भनेको नराम्रो हो भन्ने बुझाइमा हुर्केको मलाई राम्रो लाग्ने होइन तर त्यसको लामो पुच्छर रआहारा टिप्ने तरिकाले मलाई आकर्षित गर्ने गथ्र्याे । आज धेरै वर्ष भइसक्यो, त्यो प्रिय चिबेचरो देख्न नपाएको । त्यस्तै, कलात्मक घर बनाउने गौथलीहरू अनि राम्री पोथीका लागि अत्यन्त कलात्मक गुँड बनाउने दमैचरो नामले चिनिने इन्जिनियर चरो आजकल देखिन छाडेका छन् । डेढ/दुई दशकको यो छोटो अन्तरालमा प्रकृतिबाट एउटा जीव यसरी हराउँदै जानुले हाम्रो पारिस्थितिक प्रणाली कुन दिशामा जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ ।
वन्यजन्तुको अवैध शिकारका समाचार सुन्नु–पढ्नु हाम्रो दैनिकी बनेको छ । र यस्तो लाग्छ, दैनिक जसो बज्ने र छापिने यि समाचार हाम्रा लागि सामान्य हुँदै गएका हुन् । कहिले खाग झिकिएको अवस्थामा मृत गैडा भेटियो भन्ने समाचार त कहिले बंदेल मारिएको समाचार आइरहेकै हुन्छन् । बाँदरले अन्नवाली खाएर सताएको भन्दै वडावासीलाई वरपरका रुख काट्न उर्दी जारी गर्ने वडाध्यक्षका विज्ञप्ती पनि हामीले पढेको हो । रुख अर्थात वनस्पती र वन्यजन्तुहरु विचको अन्योन्याश्रित सम्बन्ध र त्यसको महत्व नबुझेका कथित नेताबाट यो भन्दा फरक अपेक्षा के नै गर्न सकिन्थ्यो र ?
चीनमा माओत्सेतुङको पालामा भङ्गेराले बाली खाएर हैरान पारेको भन्दै ’भङ्गेरा मारौँ अभियान’ चलाइयो । भङ्गेराहरू त सकिए, तर त्यसको केही समयमै बालीमा किराहरूको प्रकोप यति बढ्यो कि चीनले ठूलो अनिकालको सामना गर्नुप¥यो ।हाम्रो समाजमा ’घिनलाग्दो’ ठानिने गिद्धको अभावले अहिले रेबिज, प्लेग र हैजा जस्ता रोगका विषाणुहरू फैलिने जोखिम बढेको छ । गिद्धले जस्तोसुकै खतरनाक कीटाणुयुक्त सिनोलाई पचाएर वातावरण सफा राख्थ्यो, जुन क्षमता अन्य जनावरमा हुँदैन । सर्पले सूर्यको हानिकारक परावैजनी किरण सोसेर मानिसलाई छालाको क्यान्सरबाट बचाउन मद्दत गर्छ भन्ने तथ्य हामी कतिलाई थाहा होला र ?
केहीवर्ष अगाडीसम्म हाम्रा खारेको वा गोठालो लगेका भेडा, बाखा खाएर सताउने चितुवा देखिन छाडेको छ । पाटे बाघ विश्वबाट लोपहुने अवस्थामा पुगेपछि संसारभर नै संरक्षण अभियान प्रारम्भ भएको छ । चितुवा र पाटेबाघका मात्र के कुरा प्राकृतिक कुचिकार भनिने गिद्ध देखिन छाडेका छन् । अग्ला रुखहरुमा मात्र गुँड लगाउने गिद्ध, अग्ला रुखहरु मासिंदा र उनीहरुको आहरामा हुने डाइक्लोफेनाक नामक रसायनका मासिंदै गएका हुन ।
बाँदर भगाउन रुख काट्ने उर्दी जारी गर्नेहरुले गिद्ध हराउँदै गएको तथ्यबाट सिक्नु पर्ने हो । आकाशमा क¥याङकुरुङ गर्दै फर्सी, कांक्रा लगाउने समय भएको जानकारी दिन लामबद्ध उड्ने चराहरु बथानमा उडेको देख्न छाडिएको धेरै भयो । काफल पाक्यो चरा मात्र होइन कोइलीको कुहुकुहु सुनिन छाडेको छ । डांफे, ढुकुर, ठउवा, दशैंचरो जस्ता चराहरु हराउँदै गएको हामी धेरैले अनुभव गरेका हौं । देखिन छाडेका, कम देखिन थालेका वत्यजन्तु र पंछिको नाम उल्लेख गर्ने हो भने लामै सूचि बन्न
जान्छ । तर यो आलेखमा मैले तिनीहरुसँगको मानव सम्वन्ध अर्थात तिनको आस्तत्वसंग जोडीएको मानव अस्तित्वकोे चर्चा गर्ने जमर्को गरेको छु ।
विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ डिसेम्बर २० तारिखमा संयुक्त राष्ट्र संघको सभाले हरेक वर्ष मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रुपमा मनाउने घोषणा ग¥यो । हामीले यो घोषणासंगै आत्मसात गर्नुपर्ने कुरा के हो भने विश्वमा आस्तित्वमा रहेका हरेक प्राणी र वनस्पतीको लागि पृथ्वी साझा घर हो । चेतनशील प्राणी भएका नाताले सबै प्राणी र वनस्पतीको सुरक्षा, सम्वद्धन अनि जीवन रक्षा मानिसको दायित्व
हो । छिट्टै कमाउने लोभमा परेर तिनीहरुको अस्तित्व सामाप्त पार्दा हामीले मानव हुनुको दायीत्व भूलेको अर्थ त लाग्छ नै हामीले आफ्नै आस्तित्व र जीवनलाई संकटम्मा पारेको पनि बझ्नु पर्छ ।
हामी मध्ये धेरैलाई लाग्छ गड्यौलाको अस्तित्वसँग हाम्रो जीवनकों के साइतो ? तर एकछिन ठण्डा दिमागले सोच्यौ भने गंड्यौला र मानिसविचको नङ र मासुको सम्बन्ध छ । गंड्यालालाई सजिव हलो
भनिन्छ । यसको अर्थ गड्यौलाले जमिनलाई खुकुलो र मलिलो बनाइ राख्छ । मलिलो र खुकुलो माटोमा राम्रो उब्जनी हुने कुरा त हामीलाई थाहै छ । राम्रो उब्जनीले राम्रो पोषण र आम्दानी हुने कुरा भै नै
हाल्यो । भएन त नङ र मासुको सम्बन्ध ? प्राङ्गारिक मलका लागि गंड्यौला पाल्न थालिएको तथ्य सवैलाई विदितै छ ।
हामीले घृणाको दृष्टिले हेर्ने गिद्धको कुरा गरौं । गिद्ध मासिने हो भने जैविक फोहर ब्यवस्थापनमा हामीलाई समस्या हुन्छ । जैविक फोहर व्यवस्थापनमा समस्याको अर्थ दुर्गन्ध र रोगको संक्रमण हो । साग, बाघ र बाख्राको कथा पढेका हामीले खाद्य चक्रको सू– सञ्चालनमा सबै प्राणी र वनस्पतिको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बुझ्नु पर्छ । एकछिन कल्पना गरौं त, हाम्रो खोरको बाख्रा खायो भनेर सत्तोसराप गर्ने चितुवा वा बाघ लोप भए भने के होला ? हामीलाई थाहा छ, चितुवा वा बाघको आहारा खरायो, मृग, जरायो जस्ता वन्यजन्तु हुन् । चितुवा वा बाघ लोप हुँदा तिनले आहारा बनाउने वत्यजन्तुको संख्या केही वर्षमा दोब्बर– तेब्बर हुनेछ । बनमा खाने कुराको अभाव भएपछि ति जीवहरू हाम्रो अन्नवाली खान आउने छन् । खाद्य श्रृङ्खला विग्रने छ । यसरी नै हाम्रो अर्थात मानव जातीको आस्तित्वसंग नङमासुको सम्वन्ध रहेका थुप्रै वन्यजन्तु भेटिन्छन् । यसको अर्थ हो, मानव जातिको अस्तित्व वचाइराख्ने हो भने पृथ्वीमा भएका सबै प्राणीको आस्तित्व जोगाउनु अपरिहार्य तथ्य हो ।
पृथ्वीमा भएका १४ लाख प्रजातिमध्ये मानिस एक मात्र प्रजाति हो । विवेकशील प्राणी भएका नाताले अन्य प्रजातिको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी मात्र होइन, हाम्रो आफ्नै अस्तित्व रक्षाको आधार पनि हो । हामीले विकासलाई रोक्नुपर्छ भन्ने होइन, तर विकास
प्रकृति–मैत्री’ हुनुपर्छ । यदि हामीले समयमै सचेतता अपनाएनौँ भने हाम्रा भावी पुस्ताले एक कुरुप र निर्जीव पृथ्वी मात्र उपहार पाउनेछन् । के हामी चाहन्छौँ कि हाम्रा सन्तानले कोइलीको कुहुकुहु केबल युट्युबमा मात्र सुनुन ? बकुल्लाको ध्यान कथामा मात्र पढुन् ? यदि चाहँदैनौँ भने, आजैबाट वन्यजन्तु र वनस्पतिको संरक्षणमा हातेमालो गरौँ यस कारणकी उनीहरू बाँचे मात्र हामी बाँच्नेछौँ । मंगलबार सम्पन्न विश्व वन्यजन्तु दिवसको शुभकामना ।
