पृष्ठभूमिः
विभिन्न सञ्चार माध्यममा रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई झुटो लागू औषध मुद्धामा प्रहरीले फसाँएको समाचार पढें । म झसंग भएँ– कुनै समय मैले न्याय क्षेत्र समन्वय समितिको सदस्यको रुपमा सहभागि हुँदा हिरासतमा लिएको दुई तीन दिनपछि मात्रै पक्राउ पुर्जी दिने प्रचलन रोक्न अनुरोध गर्दा एसएसपीसंग विवाद भयो । पछि अध्यक्षता गरेको व्यक्तिले भन्नुभयो, झुटो मुद्धामा फसिएला ! भनेर मलाई सजग गराएको संझेर ।
निर्दोष अभियुक्त पत्रकारको
सार्वजनिक बयानः
लागू औषध मुद्धामा फसाँएर नौ दिनसम्म प्रहरी हिरासतमा बसेका पत्रकार मोहम्मद मोजिबुल्लाहले प्रहरी हिरासतबाट छुटेपछि सार्वजनिक बयान दिएका छन् । उनले भनेका छन्– डीएसपी नारायण चिमरियाले अपशब्द बोल्दै ‘लागूऔषधको काम गर्छस् । हेर अब म तँलाई १० बर्षसम्म जेल हाल्छु ।’ भन्दै सुन्नै नसकिने शब्दबाट गालि गरे । हिरासतमा बस्दा मलाई राती १०÷११ बजेतिर निकालेर मुद्धा फाँटमा लगिन्थ्यो । सोधपुछ गरिन्थ्यो, मैले होटलवालाले बोलाएको भनिरहेको थिएँ, तर प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट तस्करी गरेको भनेर टाईप गरिरहेको थियो । मैले यो कागजमा लेखेको कुरा केही मान्दिनँ भनिरहेको थिएँ तर प्रहरी रोकिएन । परिवारलाई पनि भेट्न दिएन । बल्ल बल्ल १० पटकको प्रयासमा दाईलाई चाही एक पटक भेट्न दिइयो । होटलको सीसी क्यामरा चेक गरिदिन भनें । प्रहरी कार्यालयमा निवेदन दिनुपर्ने रहेछ । दाईले दिएको निवेदन फ्याँकि दिए । फुटेज पाउन सकिएन । पछि पत्रकार मदन ठाकूर मार्फत फुटेज हात प¥यो । त्यसमा कसैले मेरो मोटरसाईकलमा लागूऔषध राखिदिएको
देखियो ।’
समाचार शिर्षकहरुः
निर्दोष पत्रकारको मोटरसाईकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको पुष्टि, रौतहट घटनामा सीसी क्यामरा फुटेज मेटाउने प्रहरीको प्रयास, रौतहट प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी । यी त भए अनलाईन खबरमा प्रकाशित समाचार शिर्षकहरु ।
समाचारमा खुलेको तथ्यः
घुमुवा प्रहरी स.नि. उदय यादव र प्र.ज. मोहन शाहले नातेदार धिरज यादव र जितेश यादवलाई प्रयोग गरेर पत्रकारको मोटरसाईकलमा लागू औषध राखेको । क्यामेराको फुटेजबाट सत्यतथ्य सार्वजनिक भएपछि घटनामा संलग्न प्रहरी सहायक निरिक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको छ भने प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाउने तयारी भएको छ । कसूरमा प्रहरी उपरिक्षक शाहको संलग्नता बारे छानविन गर्न सहज वातावरण निर्माणका लागि जिम्मेवारीबाट हटाउने तयारी भएको हो । सो घटनाको छनविनको लागि बरिष्ठ प्रहरी उपरिक्षक कृष्ण महतको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन पनि संगठनले गरेको छ ।
निष्कर्षः
प्रहरी संगठनले नागरिक सुरक्षा गर्ने हो । अपराधको सहि र सत्य तथ्यको खोजी अनुसन्धान गर्ने हो । प्रतिषोध लिएर झुटो मुद्धामा कसैलाई फसाउनका लागि कपटपूर्ण अनुसन्धान गर्नका लागि यो संगठनको गठन भएको होइन । पत्रकारकै विरुद्ध गरिएको राज्यशक्तिको यो हदसम्मको दुरुपयोग भएका कारण यो घटनाको सत्यतथ्य छिटो सार्वजनिक हुन सक्यो । यो प्रतिनिधि घटनाले प्रहरी संगठन भित्र अपराधकर्मलाई उन्मुक्ति दिने र शत्रु साध्य गर्ने देशभर जारी अनुसन्धान प्रक्रियाप्रति नागरिक समाज, पत्रकार, सचेत प्राज्ञिक नागरिक समाज र व्यवसायीक निष्ठा भएका न्यायाधीश, सरकारी वकिल र कानुन व्यवसायीहरुलाई समेत संवेदनशिल गराएको
हुनुपर्दछ ।